Tuesday, May 29, 2012

किन असफल भयो नेपालको संविधानसभा ? मेरो सामान्य विश्लेषण


१. प्रक्रियागत ढंगले हेर्दा संविधान लेखनको प्रक्रिया सुरु हुनुअघि राजनीतिक दलहरूबीच केही आधारभूत विषयमा सहमति हुनुपथ्र्यो । संघीयता, शासन प्रणाली, अर्थतन्त्रको स्वरूप तथा मौलिक अधिकारका मूल विषयमा उच्चस्तरको राजनीतिक सहमति भएपछि मात्र संविधानसभाबाट विस्तृत संविधान मस्यौदा गर्ने कार्य अघि बढ्न सक्थ्यो । यस विषयमा राजनीतिक दलहरूलाई नागरिक समाज र सञ्चारमाध्यममार्पmत् सचेत नगराइएको पनि होइन । तर, राजनीतिक नेतृत्वको अहं र बलमिच्याईंका कारण संविधानसभाले उचित तथा प्रभावकारी उपाय अवलम्बन गर्न पाएन । सबै कुरा संविधानसभाले निर्णय गर्छ भन्ने तर निर्णयका लागि राजनीतिक आधार वा दिशानिर्देश नदिने प्रवृत्ति संविधानसभाका लागि घातक भयो ।

२. शान्ति प्रक्रिया र संविधान लेखनको प्रकृया एकसाथ अघि बढाउन खोज्नु राजनीतिक नेतृत्वको भूल थियो । यसले गर्दा शान्ति प्रक्रियामा उत्पन्न अवरोधको प्रत्यक्ष प्रभाव संविधानलेखन प्रक्रियामा पर्नगयो । अझ, ठोस रूपमा भन्दा माओवादीको आफ्नो अलग्गै सेना राखिरहने लोभ र अन्य दलको माओवादी सेनाप्रतिको अनावश्यक भयका कारण संविधान लेखन ओझेलमा पर्न गयो ।

३. इतिहासले बताउला, नेपालको राजनीतिक नेतृत्वले जातीय भेदभाव र असमानताको अन्त्यका लागि विभिन्न जनजाति आदिवासीका आकांक्षाहरू पुरा गर्ने क्रममा गम्भीर गल्ती गरेका हुन् । संघीय प्रणालीका विशेषता र त्यसमा अन्तर्नीहित चुनौतिलाई राम्रोसंग नबुझि जातीय प्रश्नका सबै हल संघीय संरचनामार्पmत् गर्ने गलत सोच संविधानसभाको असफलताको ठूलो कारक हो । कुनकुन जातीय प्रश्नको हल संघीय संरचनामार्पmत् गर्ने र कुनकुन जातीय प्रश्नहरू शासकीय वा नीतिगत सुधारमार्पmत् गर्ने भन्ने विषयमा कुनै पनि राजनीतिक दलले स्पष्ट धारणा बनाउन नसकेकाले हाम्रो संविधानसभा अन्तिम चरणमा आएर जातीय असन्तुष्टि वा द्वन्द्वको प्रतिकमा रूपान्तरित भयो ।

४. संविधानसभाका अध्यक्ष सुबास चन्द्र नेम्बाङ्ग साँच्चै ‘सूचने’ मात्र भए । उनको नेतृत्व सबल र सकारात्मक भइदिएको भए संविधानसभा वास्तविक रूपमै संवैधानिक छलफलको केन्द्र हुनसक्थ्यो । उनको प्रमुख काम राजनीतिक नेतृत्वलाई सचेत गराउनेमात्र भयो । संविधानका विषयवस्तुमाथिको छलफल संविधानसभाभित्रै गरौँ भन्ने अभियान चलाउन नसक्नु उनको कमोरी रह्यो ।

५. हाम्रो संविधानसभा समावेशी र प्रतिनिधिमूलक थियो होला तर प्रभावकारी थिएन । वास्तवमा संविधानसभाका दुईतिहाइभन्दा बढी सदस्यमा संवैधानिक कानुन र राज्यसंचालनका आधारभूत विषयमा कुनै ज्ञान थिएन । यसलाई ध्यानमा राख्दै संविधानसभाले उनिहरूको क्षमता निर्माणका लागि कुनै उल्लेख्य प्रयास गरेन । हाम्रा धेरैजसो सभासद्को समय विकासे एनजिओले चलाउने टुक्रे, असान्दर्भिक छलफलमा भाग लिएर तारे होटमा मासुभात खाँदैमा बित्यो ।

६. अन्त्यमा, बाबुरामले भीरमा निर्वाचनरूपि चिन्डो झुण्याइदिएका छन् हाम्रा लागि । हेर्दा राम्रो तर टिपेर खान मुश्किल । एउटा संविधानसभा असफ भइसकेको अवस्थामा अर्को संविधानसभाको चुनाव हास्यास्पद र लज्जाजनक दुबै छ । यसले हाम्रो राजनीतिक संकट हल गर्दैन, बरु बढाउँछ । अब फेरी उहि कामका लागि उतिनै संख्यामा सभासद् चुनेर उहि प्रक्रियाबाट नयाँ संविधान लेखिन्छ भन्ने कुरा गरेर जनतालाई बेबकुफ बनाउन गाह्रो छ । हालका लागि उत्तम विकल्प आत्मआलोचना, गोलमेच सम्मेलन, मूल मुद्दाहरूमा साझा दृटिकोण, स्पष्ट राजनीतिक रोडम्याप र निश्चित संख्याको अर्को ५ वर्षका लागि संसदका रूपमा परिणत गर्न सकिने संविधानसभाको निर्वाचन नै हुनसक्छ ।
अस्तु ।

3 comments:

  1. ..कुरो सँगसँगै गर्न सँकिदैन भन्ने होइन, शान्ती प्रकृया एउटा सिङल-लेन बाटो पनि होइन जहाँ अरु कुनै गतिबिधी निषेध हुनुपर्ने |(कुरो बुँदा नम्बर २ को) आन्तरिक बिरोधकै माझमा साँचो र हतियार सरकारलाई बुझाईएको हो, त्यस पछी पनि एक बाली रोपेर थन्क्याउन मिल्ने समय पाए दलहरुले, मुख्य कारणनै नेताहरुको इच्छा शक्ती हो, जुन शुन्य-प्राय थियो | तर अब यी सब तर्कना र गाली बिरोधले केही अर्थ राख्ला जस्तो लाग्दैन, अब ति राजनैतीक लङुरबुर्जा खेलाउनेहरुप्रति जनताको विश्वाश शुन्य भन्दा पनि तल (माइनसमा) पुगेको छ !

    ReplyDelete
  2. राजनीति समाज र देश बिकाशका लागि गर्नु पर्ने मा व्यापार गरि धनमाल र व्यक्तिगत सम्पति आर्जन गरि धनाढ्यको सूचीमा पर्ने गलत आकांक्षा अनि आफुले मात्रै काम गरे जस्तो देखाउन पटक पटक को सरकार परिबर्तन पनि संबिधान सभा असफल हुन को कारण हो l

    ReplyDelete
  3. nice analysis, i strongly agree with first point. thula party haru ek-arka sanga dherai sanka ra abiswas plus the issues were was taken as Maobadi vs old parties (congress n UML) it was never discussed as development issue

    ReplyDelete