अर्थतन्त्रका समस्या जटिल बन्दैगर्दा र डेलिभरीका सबै क्षेत्रमा सरकारको असफलता चुलिंदै जाँदा सबैको मनमा यस्तो प्रश्न उठ्नु स्वभाविक हो -आकाश खुल्दै गएपछि र नजिकै आएका चाडबाड सकिएपछि राजनीतिले कस्तो बाटो लेला !?
रवि लामिछानेले सरकारको जतिसुकै बचाउ गरिरहे पनि आफ्ना कमजोर तर्कहरूले लामो समयसम्म काम नगर्ने उनलाई पक्कै थाह छ । सरकारको प्रभावकारिता तीव्र गतिमा घट्दै जाँदा सरकारको बचाउ गरिरहनु आफ्नो साख गुमाउनु हो भन्ने उनले पक्कै बुझेका छन् । त्यसैले, संसद्मा सबैभन्दा ठुलो दलको सभापतिका रूपमा उनी भविष्यमा पनि हिजोआजको जस्तै निरीह भएर बस्लान् जस्तो मलाई लाग्दैन ।
प्रधानमन्त्रीका बेलाबखतका टिप्पणी र हाउभाउ हेर्दा प्रस्ट देखिएको कुरा के हो भने रास्वपाको विशाल जनमतलाई उनले आफूले व्यक्तिगत रूपमा पाएको जनमत ठानेका छन् । उनका दृष्टिमा रास्वपाका सबै सांसद् माध्यम मात्र हुन् । रास्वपाप्रति प्रधानमन्त्रीको सम्मान नहुनुको कारण पनि यही हो भनेर बुझ्न गार्हो छैन । यसका अतिरिक्त उनको व्यक्तित्व अरूको आलोचना सुन्ने वा मनन गर्ने प्रकृतिको छैन । त्यसैले, सरकारको आलोचना तीव्र बन्दै जाँदा उनले पनि आफूमाथि आएको दबाबलाई कसरी निस्तेज बनाउने भनेर पक्कै सोचेका होलान् ।
प्रतिपक्षी दलका केही सांसद् आफ्नो भूमिकामा प्रभावकारी देखिएका छन् । तर, प्रतिपक्षी दलको नेतृत्व कलाहीन जोकरहरूको हातमा छ । माओवादी र एमालेका गतिविधिप्रति आम मानिसको चासो घृणाका लागि मात्र बाँकी छ । नेपाली कांग्रेस केही हदसम्म यसको अपवाद होला । तर, कांग्रेस एक्लैले पनि सरकारको अकर्मण्यतालाई लिएर कुनै सशक्त प्रतिरोध गर्नसक्ने क्षमता राख्दैन । पहिलो त यसका लागि उसँग उल्लेख्य जनमत छैन । यसका अतिरक्त कांग्रेसको नेतृत्व राष्ट्रिय राजनीतिका मूल मुद्दाको साटो हास्यास्पद रूपमा नेता व्यवस्थापन र मानपदवी वितरणको गोलचक्करमा फसेको छ ।
त्यसैले, अबको 'टक्कर' रवि र वालेनका बिच नै हुने हो भन्ने कुरा common sense भएका सबैले बुझेका छन् ।
रवि र बालेनका बिचको टक्करमा तीन फ्याक्टर महत्त्वपूर्ण छन् । पहिलो फ्याक्टर हो रवि मुछिएका मुद्दामामिला । दोस्रो, धेरै मानिसले शंका गर्ने गरेको वालेन शाह र नेपाली सेनाबिचको मधुर सम्बन्ध । र, तेस्रो फ्याक्टर हो रास्वपाका सांसद्हरूको loyalty कसप्रति हो र हुनेछ ? भन्ने प्रश्न ।
रवि लामिछाने मुछिएका मुद्दाको कानुनी पक्षबारे म टिप्पणी गर्न सक्दिन । राजनीतिक रूपमा हेर्दा मलाई कस्तो लाग्छ भने रवि लामिछानेले अहिलेको सरकारको असफलताको समाधान दिने विकल्पका लागि उनकै नेतृत्वमा सरकार बन्नुपर्छ भन्नेमात्र होइन ।
मलाई लाग्छ नेपाली सेनाले कमसे कम वालेनको काँध थाप्ने मुर्खता गर्नेछैन । यसका दुई कारण छन् । पहिलो कारण के भने सरकारको नेतृत्व गरेको आधा वर्ष नपुग्दै वालेनको लोकप्रियता रकेट गतिमा खसेको छ । सेनाले बुझेको हुनुपर्छ कि वालेन-सुधनलाई काँधमा बोकेर लामो दुरीको यात्रा तय गर्न सकिन्न । दोस्रो कारण नेपालको नजिकको अतित नै हो जसमा सेनालाई अघि सारेर शासन चलाउन गरिएका प्रयास पूर्णरूपमा असफल भएका थिए । सेना सर्वेसर्वा भएका अन्य मुलुकमा जस्तो राजनीति चलाउन चाहिने संगठनात्मक र रणनीतिक क्षमता सौभाग्यवश नेपाली सेनासँग छैन । छ महिने शासन चलाएर फेरी अर्कोपटक विवादमा फस्ने मुर्खता नेपाली सेनाले गर्ला भन्ने मलाई विश्वास छैन ।
बाकी रह्यो सांसद्हरूको लोयल्टीको प्रश्न । सांसद्हरूको मोह सत्तासँग हुनु स्वभाविक हो । त्यसमाथि रास्वपाका कतिपय सांसद् लामो समयदेखि वालेन शाहसँग नजिक रहेर काम गरेका मानिसहरू छन् । तर, मलाई लाग्छ राजनीतिमा लोयल्टी तरल हुन्छ । वालेन शाह सरकार चलाउने भूमिकामा जति कमजोर हुँदै जान्छन् उनीप्रतिको लोयल्टी पनि त्यति नै कमजोर हुँदै जान्छ । यस सन्दर्भमा विचार गर्नुपर्के अर्को कुरा के छ भने अरूसँग संवाद गर्ने, convince गर्ने वा सम्झौता गर्ने क्षमता वालेन शाहसँग छैन । उनलाई केवल गद्दीमा बस्ने रहर छ र आफ्नो अलौकिक क्षमताबाट सबै कुरा स्वत: ठिक ठाउँमा आउँछन् भन्ने विश्वास छ । त्यसैले, उनका पक्षमा सांसद्हरूको ठुलो समूह टिकिरहन्छ भन्ने मलाई लाग्दैन ।
त्यसैले, आजका सबै प्रश्नहरूमध्ये सबैभन्दा ठुलो प्रश्न यही हो -वालेन शाहको असफलताको निकासका रास्वपाका सभापति रवि लामिछानेले कस्तो कदम कहिले उठाउलान् ?!
भविष्य सधैं अनिश्चित हुन्छ । अनुमानहरू सधैँ अपूर्ण नै हुन्छन् । भविष्यका घटनाको अनुमानको पहिलो औचित्य वर्तमानको परिस्थितिलाई बुझ्ने र मनन गर्ने हो । दोस्रो औचित्य सम्भावित संकटका लागि तयार रहने हो ।
मलाई लाग्छ नेपालको राजनीति एउटा निकै ठुलो राजनीतिक संकटतर्फ उन्मुख छ र यसको क्षति कम गर्न रास्वपाले सुझबुझपूर्ण तयारी गर्न आवश्यक छ ।
नोट: धेरै टिप्पणीकर्ताहरूले मेरा ट्विटमा वालेन शाहलाई काम गर्न दिइनुपर्ने र उनको नेतृत्वको सरकारको विकल्पका बारेमा सोच्ने बेला भइनसकेको तर्क राख्ने गर्छन् । ती तर्कको म सम्मान नै गर्छु । मेरो ब्लग कुन बुझाइमा आधारित छ भने वालेन शाहले राम्रोसँग सरकार चलाउने सम्भावना कहिलै थिएन, र भविष्यमा पनि छैन । तर, यो बुझाइमा म गलत हुनसक्छु ।