Wednesday, November 21, 2012

सोसल मिडियामा 'नकारात्मक सोच'

मानिसहरू भन्छन्  -हाम्रो (नेपालीले चलाउने) सोसल मिडियामा 'नेगेटिभिज्म' बढी भयो । सकारात्मक कुराको चर्चा भएन । जेमा पनि खोट लगाउने काम मात्र भयो । सोसल मिडिया प्रयोग गर्नेहरू गाली फ्यालेर ताली बटुल्ने आत्मरतिमा लिन भए । यस्तो नकारात्मकताले सृजनशीलतालाई खियाउँछ । समाजमा नकारात्मक सोच हावी हुन्छ । राम्रो कामले आवश्यक प्रेरणा पाउँदैन । आदि आदि ।

सकारात्मक सोचका यी पक्षपातिहरू भन्छन् -सकारात्मक सोचले समाजमा सद्भाव कायम राख्छ । राम्रो काम गर्नेलाई प्रेरणा मिल्छ ।  जनमानसमा हौसला बढाउँछ । सबैको सोच सकारात्मक भए समाज रचनात्मक ढंगले अगाडि बढ्छ, द्वन्द्व र बैमनश्यतामा कमी आउँछ । समग्रमा सकारात्मक सोच शान्तिपूर्ण र उन्नत समाजका लागि आवश्यक छ । आदि आदि ।

झट्ट सुन्दा कुरो गलत हैन । सकारात्मकताको वकालत गर्ने केही मित्रहरूका टिप्पणीले मलाई पनि कहिलेकाहीँ झस्काएका छन् । 'म कतै नकारात्मकताको रोगबाट ग्रसित त छैन' भन्ने शंका पनि मनमा घरिघरि नउब्जेको हैन । तर, जब म यस विषयलाई गहन रूपमा सोच्न खोज्छु तब मलाई नकारात्मक सोचका बारेमा सोसल मिडियामा हुनेगरेका धेरैजसो टिप्पणी गलत लाग्छन् । आज केही समय लिएर यस विषयमा चर्चा गर्न खोज्दैछु ।

१. के 'नकारात्मक सोच' समाजका लागि साँच्चिकै घातक हो त ?! 

हैन । आफ्नो नाक मुन्तिरका वस्तु र परिस्थितिका नराम्रा पक्षहरू खोतल्नु, तिनिहरूमाथि टिप्पणी गर्नु र आक्रोश पोख्नु न त गलत हो न त अनुपयोगी नै । आलोचना समाज परिवर्तनको ऊर्जा हो । अठारौं र उन्नाइसौं शताब्दीमा युरोपियनहरूले आफ्नो समाजका अधिकांश संस्था र मान्यताहरूलाई पुन:संरचना गरे -फ्रान्सेली क्रान्तिका दौरान । यो सामाजिक अभियान हामीले भन्नेगरेको नकारात्मकताकै ऊर्जाबाट सञ्चालित थियो । नेपालमै पनि केन्द्रीकृत राज्यप्रणाली, असमावेशी संरचना, सामाजिक-आर्थिक विभेद, लैङ्गीक असमानता आदि समस्याहरूको उठान त्यहि नकारात्मक सोचका उपज हुन् । छोटकरीमा भन्दा, नकारात्मक सोच गतिशील समाजको परिचायक हो र यसबाट कसैले डराउनु पर्दैन ।

नकारात्मक सोचको विरोध गर्नेहरूले के बुझ्नुपर्यो भने शंका र अविश्वासका माध्यमले मात्र जीवन र जगतका बारेमा थप वा नयाँ ज्ञान प्राप्त गर्ने सकिन्छ । शंका र अविश्वास (जसलाई प्रशिद्ध दार्शनिक कार्ल पपरले conjectures भनेका छन्) विज्ञानका आधारस्तम्भ हुन् । शंकाका आधारमा स्थापित मान्यतालाई गलत प्रमाणित (refute) गरेर विज्ञान अघि बढ्छ । अठारौं र उन्नाइसौं शताव्दीमा युरोपियनहरूले चर्च, संभ्रान्त वर्ग र राजतन्त्रप्रति शंका र अविश्वास (नकारात्मकता) नराखेका भए आज युरोपले ज्ञान र विज्ञानका क्षेत्रमा यति धेरै प्रगति हासिल गर्न सक्ने थिएन होला ।

२. के 'सकारात्मक सोच'ले समाजलाई उन्नत बनाउने हो ?!

हैन । मानिसले आफूले देखेका सकारात्मक कुराहरूलाई इमानदार भएर त्यही रूपमा प्रस्तुत गरेको राम्रो । तर, समग्र सोचलाई सकारात्मकताको साँचोमा ढालेर हरेक कुरामा सकारात्मकता खोज्नु सर्बथा गलत हो । नभएको सकारात्मकता बलजफ्ति खोज्ने कामलाई सही मान्न सकिन्न । यसबाट गलत सोच र व्यवहारले प्रश्रय पाउँछ । सकारात्मक सोचको रटानले समाजमा 'क्रिटिकल मास' निर्माण हुनसक्दैन जसको प्रतक्ष फाइदा शोषक वा तानाशाहहरूले पाउँछन् । नेपाललगायत विश्वका विभिन्न देशमा सकारात्मक सोचलाई तानाशाहहरूले थेगो बनाएको देखिन्छ ताकि उनीहरूका गलत नीति र गतिविधिमाथि कसैले प्रश्न नउठाओस् । सोसल मिडियामा पनि सकारात्मक सोचलाई निरपेक्षरूपमा समर्थन गर्ने प्रवृत्तिलाई आडम्बरमात्र ठान्छु म ।

कुनै विषयमा बलजफ्ति सकारात्मकता खोज्ने शैलीलाई अङ्ग्रेजी भाषामा Teleology भन्ने गरिन्छ । बीसौं शताब्दीको मध्यतिर सामाजिक सिद्धान्तकारहरूले प्रकार्यवाद (Functionalism) को नाममा यस्तो सोचको प्रचार गरे । उनीहरूका अनुसार समाजमा भएका सबै राम्रा-नराम्रा कुरा (सोच, रीतिथिति, संस्कार, आदी)को निश्चित उपयोगिता हुन्छ जसका कारण त्यसको अस्तित्व रहेको हुन्छ । उनीहरू भन्छन् -हामीलाई झट्ट हेर्दा कुनै चिज नराम्रो लागे पनि यसको निश्चित र सकारात्मक उपयोगिता रहेको विर्सनु हुँदैन । तर आज यो सिद्धान्त इतिहासका पानामा सीमित छ र यसलाई मनोरञ्जनका लागि मात्र पढिन्छ । समाजमा भएका गलत सोच, प्रवृत्ति, संस्कार र गतिविधिलाई 'कालान्तरमा यसको उपयोगिता छ' भनेर सुम्सुम्याएर राख्ने सकारात्मकता उल्लुपन मात्र हो ।

३. किन हुन्छ नकारात्मक सोचको आलोचना

हाम्रो सोच्ने शैलीमा एउटा समस्या छ । त्यो के भने हामी आफ्नो बुझाइ, मान्यता र विश्वासको  सीमितताप्रति सचेत छैनौं । हामी आफूले सोचेको कुरा सकारात्मक र अरूले सोचेका कुरा नकारात्मक ठान्ने गर्छौं । अनि जसले आफूलाई चित्त नबुझ्ने कुरा गर्छ त्यसलाई नकारात्मकताको बिल्ला लगाएर आफू सही भएको आत्मरतिमा रम्ने गर्छौं ।

र अन्त्यमा, नेपालीहरू सोसल मिडियामा पूर्णरूपमा नकारात्मक छन् भन्ने तर्क गलत छ । नेपालको हालको राजनीतिक र आर्थिक दुरावस्थाका कारण हामीमा नकारात्मकता बढी भएको हुनसक्छ । तर, सोसल मिडियामा सबै मुलुकका मानिसहरूमा 'नकारात्मकता' देखेको छु मैले । यसको सहज उदाहरण बिबिसी वा सिएनएनमा ट्विटर वा फेसबुकमार्फत् समसामयिक विषयमा पाठक/श्रोताले गर्ने टिप्पणीहरूलाई हेरे पुग्छ ।

त्यसैले, सकारात्मकताको आडम्बरबाट मुक्त हुन र अरूका अभिव्यक्तिलाई सकारात्मक वा नकारात्मकताको कसीमा मूल्याँकन नगर्न म सबैलाई अनुरोध गर्छु ।