Bluesky

@sanpokh.bsky.social

Wednesday, December 24, 2025

बसिबियाँलोः वर्षको अन्तमा पढेका तीन पुस्तक

आज फेरी किताबका कुरा गरौँ है ! तर, कुरा सुरु गर्नु पहिले मलाई मन पर्ने उर्दु कवि जोन एलियाको एउटा कविताका दुई टुक्राः

तुम जब आओगी तो खोया हुआ पाओगी मुझे
मेरी तन्हाई में ख़्वाबों के सिवा कुछ भी नहीं
मेरे कमरे को सजाने की तमन्ना है तुम्हें
मेरे कमरे में किताबों के सिवा कुछ भी नहीं

इन किताबों ने बड़ा ज़ुल्म किया है मुझ पर
इन में इक रम्ज़ है जिस रम्ज़ का मारा हुआ ज़ेहन
मुज़्दा--इशरत--अंजाम नहीं पा सकता
ज़िंदगी में कभी आराम नहीं पा सकता

कविताको पहिलो खण्ड त प्राय पाठकका लागि सहज छ । दोस्रो खण्डमा जोन भन्दैछन् -यी किताबहरूले ममाथि ठुलो अन्याय गरेका छन् । मेरा किताबहरूमा एक प्रकारको रहस्य छ, जसले मेरो मस्तिष्क बिथोलेका छन् । यिनकै कारण म चैन, आराम, सुख पाउन सक्दिन, म जीवनमा आराम पाउन सक्दिन । 

जोन एक उदासी कवि थिए । म उनीजति उदासी छैन ;-) । तर, किताबहरूले मस्तिष्कमा छोड्ने असरका बारे भने जोनसँग पुरापुर सहमति छ मेरो । मलाई लाग्छ मन मस्तिष्क मजासँग नबिथोल्ने किताब सही अर्थमा किताब होइनन् । 

मैले एकदुई त्यस्ता किताब पढेको छु जसलाई पढिसकेपछि ग्लानी मात्र महसुस भएको छ । गत वर्ष रणजित रेद्वार लिखित ‘काठमाडौँ डिलेमा’ पढेको थिएँ । पढिसकेपछि रिस उठ्यो, ग्लानी भयो । झुठ र पाखण्डले भरिपूर्ण अर्को पुस्तक एक नेपाली सेनाका पूर्व सेनापतिको आत्मकथा पढ्दा पनि त्यस्तै अनुभव भएको थियो । म यस्ता पुस्तकहरू रहरले पढ्दिन, केवल नेपाल र विशेष गरी काठमाडौँको सम्भ्रान्त वर्गको मानसिकतालाई पनि बुझ्नुपर्छ भन्ने सोचले मलाई यस्ता पुस्तक पढ्न बाध्य बनाउँछन् ।

खराब पुस्तकका कुरा यहीं बिट मारौँ, र कुरा गरौँ रहरले पढेका पुस्तकको ।

हालसालै मैले तीन पुस्तक पढेँ । पहिलो पुस्तक थियो गेब्रिअल गार्सिया मार्केजको ‘वन हन्ड्रेड यियर्स अफ सोलिट्युड’ । 

‘म्याजिक रिअलिज्म’ शैलीमा मार्केजले लेखेको यो उपन्यास फरक स्वादको छ । एउटा नयाँ बस्ति बसाउने बुन्दिया परिवारका सात पुस्ता र उनीहरूका जीवनको उतार चढाव उतारिएको यस पुस्तकमा मार्केजले आफ्नो कल्पनाशीलताको ‘जादू’ देखाएका छन् । तर, उपन्यासमा कल्पनाशीलता मात्र छैन । उपन्यासका घटना र यसका पात्रका जीवनका भोगाइहरू यस्ता छन् कि जसलाई हामी आफ्नो जीवनका अनुभवहरूसँग मजाले ‘रिलेट’ गर्न सक्छौँ ।


बुन्दिया परिवारका विभिन्न पात्रका भोगाइका अतिरिक्त उपन्यासमा उपनिवेष र पुँजीवादले स्वाधिन जीवन बिताइरहेका निर्दोष समुदायमाथि थोपरेका शोषण, दमनका कथाहरूलाई मिहिन र गम्भीर रूपमा मार्केजले उतारेका छन् ।

यो उपन्यास मैले यसअघि केही पटक पढ्ने प्रयास गरेको थिएँ, तर हरेकपटक केही पानाभन्दा अघि बढ्न सकिनँ । आलस्यका कारण । यसपटक उपन्यास छिचल्न प्रतिबद्ध थिएँ । बीसतीस पाना पुगेपछि उपन्यासले आफैँ तान्न थाल्यो -त्यसपछि लामो उपन्यास छोटो बन्यो ।

मैले अलबेअर कामुको ‘द स्ट्रेन्जर’ नामको उपन्यास लगभग बीस वर्षअघि पढेको थिएँ । अहिले फेरी पढ्न मन लाग्यो । विशेष गरी फ्रान्ज काफ्काको ‘द ट्रायल’ नाम गरेको उपन्यास पढेपछि उस्तै चिन्तन समेटिएको ‘द स्ट्रेन्जर’ फेरी पढ्ने जाँगर चलेको थियो ।

कामुको ‘द स्ट्रेन्जर’ले मस्तिष्क बेसरी घुमायो । एउटा सामान्य मानिस (मरसो) एक दिन आवेगमा एउटा व्यक्तिको हत्या गर्नपुग्छ । मरसो कसरी कानुनको फन्दामा पर्छ र उसलाई सजाय दिने क्रममा के-कस्ता कुराले महत्त्व पाउँछन् भन्ने विवरण समेटिएको कामुको उपन्यास समाजले एक सामान्य मानिसलाई कसरी चेपुवामा पार्छ भन्ने कुरा दर्शाउने एक विशिष्ट कृति हो ।

उपन्यास पढ्दा कति ठाउँमा मरुन्जेल हाँसो उठ्छ -तर ति हाँसउठ्दा घटनाहरूभित्र एउटा तितो यथार्थ समेटिएको छ । त्यो तितो यथार्थ के भने समाज पाखण्डैपाखण्डले भरिएको सञ्जाल हो जसमा फरक चीन्तन राख्ने र पाखण्डहरूबाट स्वतन्त्र रहन चाहने मानिसको जीवनलाई प्रशस्त कष्ट र असुरक्षाले घेरेको हुन्छ ।

गत महिना पढेको तेस्रो पुस्तक थियो -अरुन्धति रोयद्वारा लिखित ‘मदर मेरी कम्स टु मि’ । अरुन्धति उम्दा लेखक र अभियन्ता हुन् । सत्य कुराप्रति वास्ता नराख्ने आजको युगमा अरुन्धति र उनीजस्ता भारतका प्रशस्त चिन्तक, विद्वान, लेखक, विश्लेषकका कुरा बालुवामा पानी हालेजस्तै हो । यद्यपि, अरुन्धतिको लेखनमा राजनीति र उनको आदर्शमात्र छैन -बेजोडको कथा र कल्पनाशीलता पनि छ । यस वर्ष प्रकाशित आत्मकथाको शैलीमा लेखिएको यो पुस्तक उनका उत्कृष्ट मध्येको एक हो ।


पुस्तक अरुन्धति र उनकी आमाको जीवन वरिपरी घुम्छ । पुस्तकमा एकातिर उनकी आमा मेरीको असफल विवाह, दमको रोगसँगको संघर्ष, चरम गरीबीमा आफ्ना दुई सन्तान हुर्काउने चुनौति, माइतिसँग अंशका लागि गरेको विद्रोह र विभिन्न चुनौतिबिच एउटा विद्यालय स्थापना र सञ्चालन गरेको कथा छ । अर्कातिर अरुन्धतिको बाल्यकाल, वयष्क हुँदा उनले अध्ययन गर्ने क्रममा र करिअरमा खेपेका चुनौति, प्रेमका विभिन्न शृङ्खला तथा कला र साहित्य क्षेत्रमा उनको यात्रा र सफलताका कथा छन् ।

पुस्तकमा हरेक पाठकलाई गहिरो प्रभाव पार्ने पक्ष अरुन्धतिको उनकी आमासँगको सम्बन्ध छ । छिटो रिसाउने, आक्रामक, छोरीका रुचि र अपेक्षालाई कति पनि सम्मान नगर्ने आफ्नी आमासँग अरुन्धतिले आफूलाई कसरी मानिसरूपमा जोड्छिन् -त्यो विवरण, मेरो विचारमा, पुस्तकको सबैभन्दा गहन पक्ष हो । पुस्तकमा संक्षिप्तमा अरुन्धतिका बुबाको प्रसङ्ग पनि छ । जसले अरुन्धतिको यस जीवनकथामा थप मसला थपेको छ ।

यतिबेला बेलायती लेखक डरिस लेसिङ्ले लेखेको उपन्यास ‘द गोल्डेन नोटबुक’ पढिरहेको छु । सम्भवतः यो नै मेरो यस वर्षको अन्तिम पुस्तक हुनेछ । यो पुस्तकबाट पनि म गहिरो रूपमा प्रभावित भएको छु -तर यसबारेको गन्थन भने पछि कुनैबेला गर्नेछु ।