Tuesday, August 6, 2013

विभेदको डिस्कोर्स बुझ्न खोज्दा

मिशेल फुको: नामका फ्रान्सेली चिन्तक र इतिहासकारले 'डिस्कोर्स*' र शक्तिको गहिरो विश्लेषण गरेका छन् । उनी भन्छन् समकालिन समाजमा हामी डिस्कोर्सबाट घेरिएका छौँ । डिस्कोर्सहरूले 'सत्य'लाई साङ्गोपाङ्गो प्रस्तुत गर्छन् र तिनमाथि एकाधिकार कायम गर्छन् । आममानिस पनि डिस्कोर्सले पेश गरेका सत्यलाई वास्तविक सत्य ठान्छन् । त्यसमा प्रश्न गर्दैनन् । फुकोका विचारमा डिस्कोर्सहरू शक्ति प्रयोगका माध्यम हुन् । यिनीहरूको निर्माण र उपयोग सत्य उजागर गर्नमा भन्दा पनि मानिसहरूलाई उनीहरूको आफ्नो विचार वा चिन्तनबाट विमुख गर्ने अभिप्रायबाट निर्देशित हुन्छन् । 'आधुनिक' भनिने युगमा विज्ञान, यौन, राज्य आदि विषयलाई डिस्कोर्सहरूले एकाङ्की ढङ्गले प्रस्तुत गरेका छन् -जसका कारण सहज वा मौलिक विचार, समलैङ्गिक सम्बन्ध, व्यक्तिगत स्वतन्त्रता आदिको संभावना ओझेलमा परेका छन् । चिन्तक र इतिहासकारका रूपमा फुकोले आफ्नो समग्र ध्यान डिस्कोर्सहरूको चिरफार गर्नमा र  डिस्कोर्सले ओझेल पारिदिएको अर्को सत्य उजागर गर्नमा खर्च गरे ।