Wednesday, February 10, 2016

विकासको अल्लारे नारा र नयाँ शक्तिको भविष्य

गत साता एमाओवादीका पूर्व नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्ना पुराना सहयात्री र केही विज्ञ पूर्वप्रशासकको समूहलाई मिलाएर 'नयाँ शक्ति'को प्रारम्भिक संरचना सार्वजनिक गरेपछि धेरै कुरा भइरहेर पनि केही नभएजस्तो काठमाडौँको शिथिल राजनीतिक माहोल मध्य हिउँदमा थोरै गरम भएको छ। आफ्नो राजनीतिक अभियानलाई नयाँ शक्तिका रूपमा परिभाषित गरेर डा. भट्टराईले यसका सदस्यको नाम सार्वजनिक गरेपछि राष्ट्रिय राजनीतिमा एउटा नयाँ दल थपिने निश्चित भएको छ। नयाँ शक्ति नयाँ दलका रूपमा दर्ता भएपछि नयाँ अनुहार, नयाँ नारा र नयाँ शैलीका प्रचारप्रसारले नेपालको राजनीतिक माहोल सकारात्मक बनाउला कि नबनाउला भन्ने जान्न केही समय पर्खनु पर्ने हुन्छ। तर, यो माहोल निश्चय पनि मनोरञ्जनले भरपूर हुने आशा भने गर्न सकिन्छ।