Saturday, July 27, 2024

पितृसत्ताको विजय, नेपालको हार

कति कठिन छ यो देशमा आम मानिस भएर बाँच्न !

असहज बाटामा थोत्रा गाडी गुल्टिरहन्छन् र असङ्ख्य सपनाहरू बर्खे खोलामा निस्सासिएर मर्छन् । बिग्रेका हवाइजहाजमा सालैपिच्छे हुलका हुल मानिस खरानी भइरहन्छन् । सरकार मर्नेको गच्छे हेरेर कहिले आधा र कहिले पुरा झण्डा झुकाउँछ । समवेदना दिन कुनै कञ्चुस्याईं गर्दैन ।

दर्जनौं मानिस त्रिसुलीभित्र हराएका बेला र त्रिभुवन विमानस्थलमा खरानीका पोकामा निर्दोष मानिसका शबको गन्ति भइरहेका बेला देशमा अर्को एउटा चिज मरेको खवर आएको छ -एउटी पिडीतको न्याय पाउने आशा ।

गौशाला २६ ले राज्यको निकायसमक्ष गएर भनिन् –“भो अब मलाई पुग्यो । तिमीहरूको न्याय तिमीहरू नै राख । मलाई बाँच्न देऊ !”

यो सन्देशमा ती सबै किशोरी वा महिलाको मनोदशा समेटिएको छ जो सुरक्षित र सम्मानपूर्ण जीवनयापनको अपेक्षा गर्छन् र आवश्यक परेका बेला राज्यबाट न्याय पाउने विश्वास गर्छन् । यो दिन उनीहरूको आशा र विश्वास मरेको दिन हो । बलात्कार वा यौन हिंसाका पिडितहरूले अब बुझ्नेछन् -राज्य र बृहत् समाज बलात्कार पिडित महिलाका लागि न्याय सुनिश्चित गर्न सक्षम छैन ।

न्यायको लडाईंमा गौशाला २६ को हार नेपालको न्यायप्रणाली, प्रशासन र समग्र समाजको लज्जास्पद् हार हो । यो नेपालको अधोगतितर्फको तीव्र यात्राको एउटा सशक्त संकेत पनि हो ।

नेपालको विषाक्त पितृसत्ताका लागि महिला पूर्ण रूपमा मानिस होइनन् । यो पितृसत्ताले महिलाले पाएको सीमित स्वतन्त्रतालाई पुरुषको निगाह र उदारताको परिणाम ठान्छ । उनीहरूको श्रमलाई श्रमको मान्यता दिँदैन । उनीहरूमाथिको नियन्त्रणलाई सुरक्षा भनेर अर्थ्याउँछ । यौन हिंसा वा अन्य प्रकारका हिंसालाई सहजतापूर्वक स्वीकार गर्छ । लैंगीक विभेदका आधारमा खडा भएका भूमिका र जिम्मेवारीलाई स्वाभाविक हुन् भन्ने सोच राख्छ ।

पितृसत्तालाई ढाकछोप गर्ने र वैधानिकता दिन चाहनेहरू भन्ने गर्छन् –“नेपालका महिला सबल छन्, सुरक्षित छन् । अन्यत्रको जस्तो हिंसा नेपालमा कम छ ।” उनीहरू यस्तो पनि सोच्छन् –“महिलामाथि हुने भेदभाव कम हुँदैछ, यसका लागि समय पर्खिनुपर्छ ।”  

यही पितृसत्तात्मक आत्मरति सयौँ नेपाली महिलाको मृत्युको कारण बनिरहेको छ । महिलाले भोगिरहेका असमानता र हिंसाको अन्तका लागि यही चिन्तन जिम्मेवार छ । यो चिन्तनले घरमा, कार्यालयमा, सार्वजनिक स्थलमा, राज्यका नीति र कार्यक्रममा महिलामाथि हुने भेदभावपूर्ण व्यवहार देख्न र त्यसमाथि प्रश्न गर्न अवरोध खडा गरिरहेको छ ।

नेपालमा महिलाको स्तर पुरुष बराबर छैन । उनीहरू आर्थिक र सांस्कृतिक रूपमा कमजोर छन् । उनीहरूका आवाज कमजोर छन् । उनीहरूले भौतिक र मनोवैज्ञानिक हिंसाबाट त्रसित भएर जीवन बिताउनुपर्छ । यस यथार्थलाई आम मानिसले स्वीकार गर्न नसक्नु नेपालको दुर्भाग्य हो ।

संसारमा यस्ता देश पनि छन् जहाँ महिलाले आफ्ना बावुआमा वा परिवारले स्वीकार नगरेको पुरुषसँग बिवाह गर्दा उनीहरूबाट मारिनुपर्छ । यो अति दुखद् अवस्था हो । तर, के बुझ्नुपर्‍यो भने यस्तो विषाक्त पितृसत्ताको जग नेपालमा पनि क्रमशः बनिरहेको छ । भोलि नेपाल पनि त्यही अवस्थामा नपुग्ला भन्न सकिन्न ।

गौशाला २६ ले स्वीकार गरेको हार महिला हिंसा र महिलामाथि हुने भेदभाव अझ खँदिलो हुँदै गएको प्रमाण हो ।

आज म सोचीरहेको छु -के म आम मानिसका रूपमा आफ्ना परिवारका सदस्यलाई राज्यले आवश्यक परेको बेला न्याय दिनेछ भनेर सुनिश्चित गराउन सक्छु ?

किशोर अवस्थाकी मेरी छोरीलाई गौशाला २६ ले न्यायको लडाईंमा हार मानेको समाचार सुनाउँदा उनको मस्तिष्कमा कस्तो प्रभाव पर्ला ? यो समाचार मैले उनलाई कसरी सुनाउनु ?

असुरक्षित बाटोमा थोत्रा गाडी दुर्घटनामा दिनहुँ दुर्घटनामा परिरहनु र हवाइजहाज आकाशमा खरानी भइरहनुमा जिम्मेवार हाम्रो राज्य हो जसका लागि मानिसको जीवनको कुनै मूल्य छैन । यस्ता दुर्घटनाको स्पष्ट कारण थाह हुँदाहुँदै राज्य उपर्युक्त नीति बनाउन र तिनको कार्यान्वयन गर्न इच्छुक छैन । राज्य चलाउनेका प्राथमिकता फरक छन् ।

गौशाला २६ ले स्वीकार गरेको हारले पनि राज्य चलाउनेलाई पोल्ने छैन । किनकि न्याय उनीहरूको प्राथमिकता होइन । आम जनताको सुरक्षा र आत्मसम्मानमा उनीहरूलाई चासो छैन ।

देश एकैदिन असफल हुने होइन । हेटी, सुडान वा कोते दि-इभोर रातारात आजको अवस्थामा पुगेका होइनन् । दुखको कुरा नेपालका घटना हेर्दा यस्तो लाग्छ हामी पनि यही बाटोमा उन्मुख छौँ !

Thursday, July 25, 2024

अम्बानीको बिहा र मेरो 'मध्यमवर्गीय' ईर्ष्या

अनन्त अम्बानीको अनन्तकालदेखि चलिरहेको बिहाका बारेमा ब्लगमा केही लेख्न मन थियो । तर, मेसो मिलिरहेको थिएन । कहिले जाँगर नहुने त कहिले फुर्सद् नहुने । हिजो यसै बारेमा मुराहरी पराजुलीको लेख सेतोपाटीमा पढ्न पाइयो । त्यो लेख पढेपछि मलाई बल्ल लेख्ने जाँगर चल्यो ।

मुराहरी पराजुलीको लेख अनन्त अम्बानीको बिहाको प्रसंगलाई लिएर पुँजीवादको बचाउमा छ । म पुँजीवादका बारेमा भने लेखको अन्तमा आफ्ना कुरा राख्नेछु । सुरु गरौँ बिहाकै प्रसङ्गबाट ।

अनन्तको बिहामा कति खर्च भयो भन्नेमा विभिन्न अनुमान छन् । प्रशस्त पैसा खर्च भएको भन्ने चाहिँ प्रस्टै देखिएको छ । अनन्त (वा उनका बाआमा)ले बिहामा यति धेरै पैसा खर्च गर्न हुन्थ्यो कि हुन्थेन भन्नेमा मत विभाजित छ ।

एकथरिले भनिरहेका छन् –“उसको बाउको सम्पत्ति जेमा खर्च गरोस् अरूलाई के चासो ? अनन्तको आरिस गर्ने होइन, अनन्त जस्तै धनी बन्ने प्रयास गर ।”

अर्काथरिको मत छ –“चानचुन बीस प्रतिशत निरपेक्ष गरिबी भएको देशमा एउटा धनाढ्यको यस्तो व्यापक धन प्रदर्शन अशोभनीय र अनैतिक देखियो । अनन्तको भद्दा बिहे भारतका गरिबको उपहास पनि हो ।”

जसरी मुराहरी पराजुलीको लेख यी दुई मतमा केन्द्रित छ, म पनि यिनैको सेरोफेरोमा रहेर केही टिप्पणी गर्नेछु ।

सामाजिक-सांस्कृतिक समारोहमा गरिने फजुल खर्चको आलोचना अम्बानीको बिहाको प्रसङ्गमा मात्र भएको होइन । धनाढ्यहरूले गर्ने महँगा सामाजिक-पारिवारिक समारोहमाथि आलोचना हुने नै गरेको छ । बिहा वा यस्ता उत्सवको प्रसङ्गमा मात्र होइन -धनीहरूले उपभोगमा खर्च गर्ने असामान्य र ठूलो धनरासीले धेरैको ध्यान तानिरहेको हुन्छ । अम्बानीको बिहामा भएको खर्चमा पनि मानिसको व्यापक चासो अनौठो होइन ।

अम्बानीको बिहामा भएको खर्चको आलोचना गर्ने सबै अम्बानीझैं आफ्नो वा आफ्नो परिवारको बिहामा ठूलो धनराशी खर्च गर्ने चाहना राख्छन् भन्ने छैन । त्यसैले, आलोचनालाई ईर्ष्या भनेर ‘डिसमिस’ गर्नुभन्दा यसमा संलग्न तर्क वा धारणा बुझ्न आवश्यक छ ।

अम्बानीको सम्पत्ति कानुनी रूपमा उनले र उनका ‘बाउ’ले कमाएको हो । यसमा अरूको हक लाग्दैन । तर, धनाढ्यसँग भएको सम्पत्ति र यसको प्रयोगसँग केही नैतिक प्रश्न जोडिएका छन् ।

एउटा मानिस व्यक्तिगत क्षमता र उसको आवश्यकतालाई हेरेर कतिसम्म सम्पत्तिको मालिक हुनसक्छ ? करोडौँ डलर महिनावारी तलब बुझ्ने र मुनाफामा वर्षमा अरबौँ डलर आम्दानी गर्ने धनाढ्य यस्तो अकुत आयआर्जनका लागि के योग्य छन् ? धनाढ्यको तलब तोक्ने वा मुनाफामा छत लगाउने कानुन नहोलान् । यद्यपि, यसका बारेमा प्रश्न भने उठ्छ्न् नै । ती प्रश्न संसारमा बढिरहेको असमानताका बीच आज झनझन बलिया हुँदैछन् ।

टिम कुक वा इलन मस्कका तलब वा मुनाफाका तथ्याङ्कले सबैलाई आश्चार्यमा पार्छन् नै । उनीहरूमात्र नभएर धनी देशका सयौँ (वा हजारौँ) यस्ता धनाड्यले पाउने तलब र मुनाफामा प्रश्न उठिरहेका छन् । एउटा कम्पनीमा काम गर्ने सामान्य कर्मचारी वा मजदुरलाई महिनावारी घर खर्च धान्न धौधौ हुँदा त्यही कम्पनीको सिइओ हजारौँ गुना बढी महिनावारी तलब बुझ्छ भने यो अवस्था एउटा व्यक्ति वा केही व्यक्तिको मात्र समस्या होइन -समग्र प्रणालीसँग जोडिएको समस्या हो । त्यसैले यसका बारेमा बहस हुनु स्वाभाविक हो ।

एउटा क्षमतावान् उद्यमीले आफूले लिएको जोखिम वा आफ्नो क्षमताका लागि विशेष र प्रशस्त लाभ अवश्य पाउनु पर्छ । यस्तो लाभको लोभ नभए मानिसले परिश्रम गर्दैन, जोखिम लिँदैन, क्षमता विकास गर्दैन । तर, लाभको आकार कत्रो हुनुपर्छ भन्ने नैतिक प्रश्नले समाज र राज्यलाई सधैं पछ्याइरहेको हुन्छ ।

यदि एउटा धनाढ्यले अरबौँ डलरको व्यापार-व्यवसाय वा उद्योगधन्दा धानेको छ र त्यसले प्रशस्त नाफा कमाएको छ भने त्यस्तो उद्यमको व्यवस्थापक ऊ भए पनि त्यो सामाजिक सम्पत्ति हो । उद्यम व्यवस्थापनको जिम्मेवारी लगानीकर्ताको हो, कानुनीरूपमा त्यो उसको सम्पत्ति हो, उसँग त्यसबाट लाभान्वित हुने हक छ । तर, हरेक व्यापार व्यवसाय समाजका हिस्सा हुन् र तिनीहरूको नाफा वा घाटामा श्रमीक, उपभोक्ता वा राज्यको भूमिका जोडिएको हुन्छ । व्यापार वा उद्यम एलियनसँग भएको प्रमाण छैन, न त अन्तरिक्षमा हुन्छन् । नेपाल टेलिकम, टेस्ला, कर्मचारी सञ्चयकोष वा युनियन ब्याङ्कले गर्ने व्यापारका स्रोत र लक्ष दुवै मानिस हुन् ।

मुकेश वा अनन्तले चलाउने उद्यम उनीहरूका ‘बाउ’को सम्पत्ति मात्र होइन । कुनै उद्योग वा उद्यम कसरी चलेको छ र यसको नाफा-नोक्सानको हकदार को छ भन्नेमा सबैको चासो रहन्छ नै ।

व्यक्तिले लगानी गर्न पाउने र मुनाफामा लगानीकर्ताको हक सुरक्षित रहने अर्थव्यवस्था (म पुँजीवाद शब्दको प्रयोग गरिरहेको छैन र यसलाई तल प्रस्ट्याउनेछु) मा लगानीकर्ताको भूमिका उल्लेख्य रहन्छ तर उनीहरूको नाफा संभव र सुरक्षित हुनमा राज्यले भूमिका खेलेको हुन्छ । भारतको सन्दर्भमा त राज्यले सीमित धनाढ्य परिवारलाई विशेष संरक्षण गरेको छ । अम्बानी र अडानीले राज्यले उपलब्ध गराएको सार्वजनिक स्रोत प्रयोग गरेर निजी व्यापार विस्तार गरेको आलोचना भारतमा लामो समयदेखि भइरहेको छ ।

त्यसैले, यति धेरै पैसा खर्च गरेर यति ठूलो तामझामका साथ बिहा गर्ने अनन्त अम्बानीको मुकेशका छोरा हुनु बाहेक अन्य योग्यता वा हैसियत के रहेछ ? भन्ने उत्सुकता आम मानिसमा हुने नै भयो ।

अब लागौँ लेखको सुरुमा उल्लेख गरेको अर्को मततर्फ जसले अनन्तको बिहालाई नैतिक कसीमा राखेर हेर्छ । म आफू पनि प्रस्ट रूपमा यो मतका पक्षमा छु ।

भारतमा गरीबीको अवस्था व्यापक र तिव्र (wide and extreme) छ । आज समृद्ध मुलुकको कोटीमा पर्ने कतिपय पश्चिमा देशको तुलनामा भारतमा संरचनागत असमानता धेरै गुना बढी छ । ‘अल्छे र अभागी’मात्र होइन -सीमित क्षेत्र, वर्ग, जातिका मानिससँग लाभका विशेष अवसर छन् र त्यसमा नपर्ने अन्यका लागि अवसर शून्य बराबर छन् । असमानताका संरचनाबाट सिर्जित गरिबी यति तिब्र छ कि ठूलो जनसङ्ख्या पोषण, आवास र आत्मसम्मान (लुगाफाटा)को बन्दोबस्त गर्नसमेत सक्षम छैन ।

सम्भवतः अनन्त अम्बानीको बिहाको तामझाम भारतको अति विपन्न वर्गले देख्न र यसको रमाइलो लिन पाएन । तर, बिवाहको उत्सव र त्यसको रमाइलो उनीहरूको विपन्नताको जगमा मात्र सम्भव भएको यथार्थ नकार्न मिल्दैन । असाध्यै गरिब असङ्ख्य मानिसहरू नभइ सिमित मानिसहरू असाध्यै धनी हुन सम्भव छैन ।

अनन्त अम्बानीको बिहामा कति खर्च भएको भए ठिक हुन्थ्यो त ? यो प्रश्न जटिल छ । ‘ बिहा भद्दा भयो’ भनेर आलोचना गर्ने कसैसँग यसको जवाफ हुन सम्भव छैन । यद्यपि, के कुरा नकार्न मिल्दैन भने जुन तामझामका साथ बेलगाम पैसा खर्च गरियो र बिहाका नाममा जति समय उत्सवमा खर्च भयो त्यो भारतकै लागि पनि नौलो र अशोभनीय थियो ।

सम्पत्तिको असमानता यथार्थ हो । तुलनात्मक रूपमा बढी धनसम्पत्ति हुनेले यसका लागि प्रायश्चित नै गर्नुपर्छ भन्ने छैन । तर, हरेक व्यक्तिले आफ्नो स्थान र आफूले पाएको सुविधाको हेक्का राख्नुपर्छ । त्यो सुविधा कसरी प्राप्त हुनसक्यो भन्ने बारेमा सोच्नु पर्छ । यसले मानिसलाई जिम्मेवार बनाउन सक्छ र कमसे कम नैतिक बनाउँछ ।

अम्बानी परिवार र अनन्त अम्बानीसँग प्रशस्त सम्पत्ति भएको त हामीलाई थाहै छ, तर उनीहरूसँग आफ्नो हैसियतका बारेमा ‘रिफ्लेक्ट’ गर्ने चासो वा क्षमता नरहेको चाहिँ प्रस्ट देखियो ।

अब पुँजीवाद र अनन्त अम्बानीको बिहालाई जोडेर केही कुरा गरौँ र लेखलाई बिट मारौँ ।

मुराहरी पराजुलीलेसेतोपाटीको लेखमा ‘पुँजीवाद’को बचाउ गर्दै नाफा कमाउने र आफ्नो सम्पत्ति कसरी खर्च गर्ने भन्ने निर्णय अनन्तको (वा अनन्तको परिवारको) नै हुनुपर्ने तर्क राख्नुभएको छ, र लेखको पुछारमा उनको बिहामा भएको खर्चको नकारात्मक टिकाटिप्पणी गर्ने ‘मध्यम वर्ग’लाई ‘ईर्ष्यालु’को विशेषण दिनुभएको छ ।

नाफा कमाउने पुँजीपति वा लगानीकर्ताको नैतिक जिम्मेवारीको कुरा मैले माथि गरिसकेको छु । अहिलेलाई पुँजीवाद र समाजवाद भनेर चिनिने व्यवस्थाको कुरा गरौँ ।

नेपालका कम्युनिस्टहरू सपनाको एउटा अनौठो संसारमा बाच्ने गर्छन् (कम्तिमा यस्तो संसारको कुरा गर्छन्) । उनीहरू यस्तो समाजको परिकल्पना गर्छन् जहाँ व्यक्तिको स्वार्थका लागि कुनै स्थान हुँदैन । सबै मानिसले राज्यका लागि काम गर्छन् र राज्यले सबै मानिसका आवश्यकता पूरा गरिदिन्छ । यस्तो समाजमा नाफा पनि हुँदैन र असमानता पनि हुँदैन । यस्तो स्वर्गजस्तो सुन्दर समाज चल्ने व्यवस्थालाई उनीहरू समाजवाद भन्छन् ।

यथार्थमा यस्तो व्यवस्था संसारमा कहीँ छैन र हुन सम्भव पनि छैन ।

अर्कातिर पुँजीवादका उस्तै घनघोर समर्थक छन् जो व्यक्तिको भूमिकालाई बजार र राज्य व्यवस्थाको केन्द्रमा राख्नुपर्ने र सरकारको भूमिकालाई सकेसम्म कम गर्नुपर्ने तर्क गर्छन् । उनीहरूको विचारमा समाजको प्राकृतिक विकास वा उन्नतिको बाधक सरकारको भूमिका हो जसले व्यक्तिका स्वार्थलाई सङ्कुचित गरिदिन्छ । उनीहरूको विचारमा लगानी र मुनाफा कमाउने व्यक्ति (वा निजी क्षेत्र)को प्रधानता हुने समाज नै सुन्दर समाज हो जसमा सबैको हित स्वचालित रूपमा हुन्छ ।

यथार्थमा यस्तो आदर्श व्यवस्था पनि संसारमा आज कतै छैन ।

पुँजीवादका समर्थक, पक्षपातीहरूले सफल भनेर नाम लिने गरेका जति देशहरू छन् तिनले राज्य (वा सरकार)को भूमिकालाई सबल बनाएर नै उल्लेख्य उपलब्धि हासिल गरेका छन् । उत्तर-अमेरिका वा पश्चिमी युरोपका धनी देशहरूमा सकारात्मक विभेद, सामाजिक सुरक्षा र सार्वजनिक पूर्वाधारमा राज्यको लगानी प्रशस्त छ । समृद्ध र पुँजीवादी भनेर आज चिनिने कतिपय देशहरूले बजारलाई निजी क्षेत्रको नियन्त्रणमा छोडिदिने नीतिमा व्यापक फेरबदल गरेका छन् । यस्ता देशमा सामाजिक सुरक्षामा राज्यको भूमिका थप सशक्त भइरहेको छ ।

अर्थात्, आज संसारमा जति पनि सबल र समृद्ध देश छन् तीनका चरित्रमा समाजवादीले सपनामा देख्ने कतिपय कुरा र पुँजीवादीले सपनामा देख्ने कतिपय कुरा समेटिएका छन् । न त चीन समाजवादी छ, न त अमेरिका पुँजीवादी । आजको अवस्थामा फलानो देशमा पुँजीवाद छ र फलानो देशमा समाजवाद छ भन्ने खालको तर्क आत्मरतिबाहेक केही होइन ।

समाजवाद र पुँजीवाद यथार्थ हो भन्ने तर्क गर्ने मानिसहरूको समाजलाई वर्गमा बाँड्ने चिन्तन पनि उत्तिकै समस्यापूर्ण छ । आजको विश्वमा आर्थिक सूचकले वर्गहरू त छुट्ट्याउलान्, तर आर्थिक स्तर र चिन्तनका बिच कुनै स्पष्ट सम्बन्ध भने स्थापित गर्न सकिन्न । ‘वर्ग’को आर्थिक वर्गीकरणले न त अमेरिकामा डोनाल्ड ट्रम्पका मतदातालाई बुझ्न सघाउँछ न नेपालका राजावादीलाई । त्यसैले, ‘अनन्तको बिहाको आलोचना गर्नेहरू मध्यम वर्गका ईर्ष्यालु जमात हुन्’ भन्ने तर्कले कम्युनिस्टहरूले सर्वहारा वर्गका बारेमा गर्ने कृत्रिम बढाइचढाईंको झल्को दिन्छ ।

पुँजीवाद र अनन्त अम्बानीको बिहामा भएको तामझामको संयुक्त रूपमा बचाउ गर्दा अर्को जटिल प्रश्नको पनि सामना गर्नुपर्ने हुन्छ -के भारतमा साँच्चिकै पुँजीवाद छ ?

भारतले विभिन्न समयमा निजी लगानी र बजारको प्रबर्धन गर्ने नीति ल्याएको हो । यसैलाई हेरेर भारतमा पुँजीवाद छ भन्ने दाबी त्यहाँको वस्तुस्थितिसँग मिल्दैन । भारतको अर्थतन्त्र राजनीतिकर्मी, धनाढ्य वर्ग (जसलाई निजी क्षेत्र भन्न सकियो) र बिचौलियाको आपसी सहकार्य र समन्वयमा चल्ने गर्छ । क्रोनिज्म (cronyism) भनेर चिनिने यस्ता अर्थव्यवस्थामा पुँजीवादी वा लगानीकर्ताको क्षमता र चातुर्यको स्थान नहुने होइन -तर प्रशस्त लाभ लिन तिनले मात्र सक्छन् जो सत्ता वा शक्तिसँग नजिक छन् । अदानी वा अम्बानीको तीव्र रूपमा बढेको व्यापार साम्राज्य उनीहरूको लगानी र मुनाफाको मात्र परिणाम होइन -राज्यको कृपाको परिणाम पनि हो । त्यसैले, भारतमा जे हुन्छ (वा हुँदैन) त्यसको व्याख्या ‘पुँजीवाद’ले गर्न सक्दैन भन्ने कुरा नेपालका ‘कम्युनिस्ट’ र ‘क्यापिटलिस्ट’ दुवैले बुझ्नुपर्छ ।

भारतमा भएको गरीबी र असमानता अनन्त अम्बानीको बिहालाई भद्दा देखाउने एउटा कारण हो । तर, मलाई यो बिहा मन नपर्नुको कारण थप अरू पनि छन् ।

विवाह एउटा व्यक्तिगत र पारिवारिक घटना हो । यसमा जोडिएका परम्परागत सांस्कृतिक समारोहमा नातागोता, छरछिमेक सामेल हुन्छन् । तर, विवाहलाई असाध्यै ठूलो उत्सवका रूपमा मनाउनु र त्यसमा आफ्नो र अरूको प्रशस्त साधनस्रोत, ऊर्जा र समय खर्च गर्नु उचित होजस्तो मलाई लाग्दैन । विवाहमा समाजको भूमिका जति बढी भयो विवाह गर्ने जोडीको मनोवैज्ञानिक दायित्व त्यति नै बढी हुन्छ । निजी मामिलालाई सकेसम्म सीमित दायरामा राख्नुपर्छ भन्ने मलाई लाग्छ ।

त्यसै गरी, बिहा र यससँग जोडिएका मूल्यमान्यतालाई यथोचित स्थानमा राख्नुपर्छ कि ? भारत (र नेपालमा पनि) बिहालाई सुरुमा सबै कुराको समाधान मान्ने र पछि सबै समस्याको स्रोत मान्ने परिपाटी छ । यस्तो लाग्छ मानिसको जीवन अर्थपूर्ण हुने विवाहबाट मात्र हो । सिनेमा र गीतहरू पनि प्रेमको प्रसङ्गबाट सुरु भएर बिहामा पुगेर सकिन्छन् । हाम्रो सारा उपमहाद्वीप बिहाप्रति यति धेरै अबसेस्ड छ कि यसको मनोवैज्ञानिक र सामाजिक बोझले हरेक मानिसलाई हरेक समय पछ्याइरहेको हुन्छ ।

विवाहलाई समारोह बनाउन नचाहने, वैवाहिक सम्बन्धलाई आफ्नो रुचि अनुसार चलाउन चाहने र बृहत् समाजलाई आफ्नो निजी जीवनसँग जोड्न नचाहनेका लागि हाम्रो समाजमा कठिनाइका पहाडहरू छन् । विवाहमा गरिने तामझामले यसलाई झन जटिल र बोझिलो बनाउँछ ।

Monday, July 22, 2024

आजको विश्व बुझ्न सघाउने एउटा उम्दा किताब

'अहिले कुन किताब पढ्दै हुनुहुन्छ?' पत्रकार बसन्त बस्नेतले हरेकपटक फोनमा कुराकानी हुँदा सोध्ने प्रश्न हो यो।

किताब पढ्ने उहाँको बानी र अनुशासन साँच्चिकै लोभलाग्दो छ।

नयाँ किताब पढिरहेका बेला त फूर्तिका साथ म पनि भनिहाल्छु — फलानो पढ्दैछु।

Friday, July 19, 2024

संविधान कार्यान्वयनमा राजनीतिक अनिच्छा र नेपालको संकट

यसपटक नेपाल गएका बेला कान्तिपुरकर्मी रूपेश श्रेष्ठसँग कुराकानी गर्ने मौका मिल्यो । संघीयता, समृद्धि र नेपालको आम निरासाका बारेमा आफ्ना केही विचार राखेँ । तपाईंलाई रुचि र समय भए हेर्नुहोला है ।




Tuesday, June 18, 2024

पाकिस्तान

एउटा कुनै देशको बयान गर्न सजिलो छैन । देशलाई हामी भूगोल, जनसङ्ख्या वा त्यसका निश्चित ऐतिहासिक-सांस्कृतिक विशेषताका आधारमा चिन्ने गर्छौँ ।

Thursday, June 13, 2024

समसामयिक नेपालका ५ प्रतिनिधि पात्र

आजको ब्लग टुक्राटुक्रामा विभाजित छ । ब्लगमा व्यक्तिहरू नाच्नेछन् -तर मेरो उद्देश्य समसामयिक नेपालको मानसिक अवस्थाको चर्चा गर्ने हो । यसका लागि ५ पात्रलाई रोजेको छु ।

Monday, May 13, 2024

उठ्न थाले आवाज

प्रसङ्ग भारतको तर नेपालका लागि पनि उत्तिकै चाखलाग्दो र सान्दर्भिक होला -ध्रुव राठीले आफ्नो ताजा भिडियोमा नरेन्द्र मोदीले खडा गरेको झुठको साम्राज्यको सानो पर्दाफास गरिदिएका छन् । लिंक तल छ ।

यसपटकको लोकसभा निर्वाचनको परिणाम कसको पक्षमा आउने हो त्यो कुरा जुन महिनाको ४ तारिकमा मात्र थाहा हुनेछ । जसको पक्षमा परिणाम आए पनि एउटा कुरा के प्रस्ट हुँदैछ भने नरेन्द्र मोदीले खडा गरेको शिशाको महल चर्किने क्रम शुरु भएको छ । मोदी भनेको भारत होइनन् भन्ने धारणा आम मानिसमा विकसित हुँदैछ । भारतीयहरूमा मोदी र भाजपामाथि औंला उठाउने साहस पलाएको छ ।

Thursday, April 25, 2024

एउटा 'पेसिमिस्ट' ले देखेको संकट

केही महिनाअघि भारतका सम्मानित कवि र इतिहासकार कुमार विश्वासले 'लल्लन टप' टेलिभिजन शोमा सौरभ द्विवेदीसँग कुरा गर्दै भने — अहिले भारत अपूर्व संकटमा छ। यस्तो खराब समय चलिरहेका बेला धेरै ठूला अपेक्षा राख्नु हुँदैन, जीवित रहन सक्नु नै ठूलो कुरा हो।

कुमार विश्वासको यो टिप्पणी र भारतको प्रसंगमा अलिबेरमा फर्केर आउनेछु। अहिलेलाई एउटा पुस्तकको प्रसंग।

म यति बेला मार्टिन वोल्फले लेखेको किताब 'द क्राइसिस अफ डेमोक्र्याटिक क्यापिटलिजम' पढिरहेको छु।

Monday, April 15, 2024

शुभकामना र विमति

आज कुरा गरौँ एउटा टेलिभिजन टक शोको ।

सुधीर शर्माले ‘अनि, अब’ भन्ने टक शो सुरु गर्नुभएको छ । यसमा मलाई खुशी लागेको छ । नेपालका अधिकांश टक शोहरू टिभीमा आउँछन् जसका कारण तिनीहरूका सीमितता र कृतिमता धेरै छन् । समय र सन्दर्भको साँघुरो घेरामा सीमित नभएर खूला ढङ्गले कुराकानी गर्न युट्युब राम्रो माध्यम हुन सक्छ । छिमेकी भारतमा आजभोलि राम्रा कन्टेन्ट टिभीका लागि नभएर युट्युबका लागि बन्ने गरेका छन् -नेपालमा पनि यो क्रम सुरु हुनु स्वागतयोग्य छ ।

Saturday, April 13, 2024

Too Much Democracy

भारतमा चुनाव आउँदैछ । यस पटक पनि नरेन्द्र मोदीको भाजपाले नै चुनाव जित्ने र बहुमतको सरकार बनाउने निश्चित छ । भाजपा दुई तिहाई भन्दा बढीको बहुमत ल्याउन प्रयास गरिरहेको छ । मोदी-अमीत शाहको प्रयास सफल हुन पनि सक्छ ।

दुखको कुरा चाहिँ के छ भने मोदी जति शक्तिशाली हुँदै गएका छन् भारत त्यति नै कमजोर हुँदैछ । नागरिक स्वतन्त्रता, आम सञ्चार, विविधता, परस्पर सम्मान सबै कुरा कमजोर भएका छन् । यस विषयमा अलि विस्तारमा लेख्ने योजना छ ।

आज यही विषयमा एउटा गजबको डकुमेन्टरी भेटियो युट्युबमा । तलको लिंकमा भएको यो ताजा डकुमेन्टरी हेर्न नछुटाउनुहोला है ।


Too Much Democracy

Wednesday, February 21, 2024

बसिबियाँलोः नेपाल फर्किने कि नफर्किने ?

फेरी उही बेतुकका कुरा । तैपनि बसिबियाँलो गरौँ है !

पहिलो त मलाई यो प्रश्न नै सतप्रतिशत निरर्थक लाग्छ । किन भने -कुनै पनि मानिस आफूले अँगालेको पेशा, प्राप्त गरिरहेको सुविधा (सुख होइन, सुविधा), पेशाको भविष्य र आफ्नो बौद्धिक-पेशागत सञ्जाल छोडेर फगत आफू जन्मेको देशको स्वार्थका लागि कुनै देशमा बस्ने वा त्यो देश छोड्ने निर्णय गर्दैन । कसैले यसो गरिदेला भनेर आशा गर्नु नै मुर्खता हो ।

Monday, February 12, 2024

मान्छेको उद्देश्य सत्यको खोजी गर्नु होइन भनी बताउने किताब

 मानिस यस्तो प्राणी हो जो आफ्ना इन्द्रिय र विकसित मस्तिष्कको प्रयोगबाट यथार्थसम्म पुग्न सक्छ।” यो वा यस्तै कुरा त हामी धेरै सुनिरहेका हुन्छौं। तर, जीव विज्ञान र मानिसको मनोवैज्ञानिक चरित्रका विशेषतालाई आधार मान्दा यस्तो तर्क कतिको चित्तबुझ्दो छ त ?

मैले हालसालै पढिसिध्याएको एउटा पुस्तक ‘द केस अगेन्स्ट रिआलिटी’ का लेखक डोनल्ड होफमन भन्छन्- मानिससँग यथार्थ पत्ता लगाउने क्षमता हुन्छ भन्ने कुरा बिल्कुल गलत हो।

पाकिस्तान, इमरान खान र निर्वाचन

 पाकिस्तानमा बिहीबार सम्पन्न राष्ट्रिय सभाको निर्वाचन मतपरिणाम लगभग आइसकेको छ।

अलजजिराका अनुसार कुल २६५ सिटमध्ये अब ९ सिटको मात्र परिणाम आउन बाँकी छ।

यो निर्वाचन हुँदै गर्दा पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तेहरिक-इ-इन्साफ (पिटिआई) पार्टीका अध्यक्ष समेत रहेका इमरान खान जेलमा छन्।

पिटिआईलाई पहिलेको चुनाव चिह्न नदिइएपछि इमरान खानका समर्थकहरूले यसपालि स्वतन्त्र उम्मेदवारी दिएका छन्।

पाकिस्तानको राजनीति, निर्वाचन र त्यहाँ हुने कुनै पनि उतार-चढाव बुझ्न यसका केही अवस्थालाई बुझ्नुपर्ने हुन्छ।

Thursday, February 8, 2024

पुराना बेइमान, नयाँ अनभिज्ञ

गएको वर्ष जुन महिनामा स्वतन्त्र पार्टीका बारेमा ब्लग लेखेको रहेछु । रवि लामिछानेले राजनीतिक पार्टी खोल्लान् र त्यसका बारेमा गन्थन्-मन्थन् गर्नुपर्ला भनेर २-३ वर्षअघिसम्म सोच्न पनि सकिन्थेन, जुन आज यथार्थ भएको छ । आफैँलाई पनि विश्वास लाग्दैन कि म यही विषयमा दोस्रो पटक ब्लग लेख्दैछु ।

मलाई थाह छ यो मेरो बेबकुफी हो -सानो सन्तोषको कुरा के भने बेबकुफी स्वयंमा अपराध होइन ।

रमिताको कहिलै कमी नहुने देशमा पाँच-सात वर्ष पहिले निकै ठूलो रमिता भयो । एकजना अमेरिकावासी नेपाली पूर्व-पत्रकारले अनवरत २४ घण्टा अन्तर्वार्ता लिएर गिनिज बुकमा नाम लेखाउने भए । उनका लागि विशेष स्टुडियो बन्यो । स्टुडियोको भित्तामा ब्यानर थियो –“बुद्ध वज बर्न इन नेपाल !” यो म्याराथन इन्टर्भ्यूको महारमितामा नेपालका गन्यमान्य छोटेमोटेदेखि बडेसम्मका गन्यमान्यको लाइन लाग्यो । अनवरत अन्तर्वार्ता सम्पन्न भयो । गिनिजमा सम्भववत नाम लेखियो र बुद्ध नेपालमा जन्मेको कुरा भारतले चाल पनि पायो ।