Wednesday, December 13, 2023

कुराका कुरा

इस्लामाबादको कठ्याङग्रिने जाडो । अलिकति ह्विस्की तातोपानीमा मिसाएर स्वाट्टै पारेपछि म ओछ्यानमा छिरेको छु । कानमा ‘बड’हरू बज्दैछन् –‘याद पिया कि आए ऽऽऽऽ !’

तपाईंहरूमध्ये कतिलाई ह्विस्कीमा तातो पानी मिसाएको कुराले थोरै विचलित बनाएको हुनुपर्छ । ह्विस्की आइसमा मिसाउने हो -तातोपानीमा होइन । एकपटक जहाजमा व्हिस्किसँग तातोपानी माग्दा एअर होस्टेसले अचम्म मानेकी थिइन् र कन्फर्म गर्न फेरी सोधेकी थिइन् –‘आर यु स्योर ?!’

तर, म परख गरेर ह्विस्की पिउँदिन । म ह्विस्कीको पारखी होइन ।

आजको विषय रक्सी होइन ।

ल्यापटपमा युट्युब चलिरहेको छ । अनेकौँ नखरामा हरिहरण र उस्ताद राशिद खान स्टेजमा गाइरहेका छन् । दुबाइको लाइभ पर्फर्मेन्स हो क्यारे यो । उनिहरूको रेन्डिशन मन लोभ्याउने छ ।

हरिहरण दक्षिण भारतका लोकप्रिय गायक । आजभन्दा चानचुन ३० वर्षअघि उनले स्वर दिएका गीतहरूसहित ‘बम्बे’ सिनेमा रिलिज भएको थियो । ‘तु हि रे ऽऽऽ‘ भन्ने गीत त तपाईंले पनि सुन्नुभएको होला ।

म त्यसबेला २० वर्षको थिएँ । प्रेम र समर्पणको अनुभूति भर्खर हुँदै थियो । आफूलाई मन परेकी कुनै उनीसँगको कल्पनाले मन मस्तिष्क रामाञ्चित हुन्थ्यो । समुन्द्रको किनारको कुनै एकान्त ठाउँमा उभिएर सिनेमाको हिरोले ‘तु हि रेऽऽऽ‘ भनेर प्रेमिकाको अलाप गर्दा आफ्नै कलेजो ज्यानबाट बाहिर आएझैँ लाग्थ्यो ।

उस्ताद राशिद खान नामी कलाकार ! भारतको शास्त्रीय संगीतमा उनको विशेष स्थान छ । मलाई उनले ठुम्री गाएको असाध्यै मन पर्छ ।

ठुम्री राधाले कृष्णको प्रेममा गरेका अलापमा आधारित छन् । ठुम्रीमा थोरै विरह हुन्छ र धेरै आशक्ति । स्टेजमा राशिद र हरिहरण ‘बहिरी कोयलया कुक सुनावे, मुझ बिरहन का जिया जलाए, हाय राम’ भन्दै अलाप लिइरहेका छन् । दुवैले राधाको कृष्णप्रतिको आशक्तिलाई गलाको माध्यमबाट सिँगारिरहेका छन् ।

जब म यस्ता कुनै राम्रो सुफी वा शास्त्रीय सङ्गीत सुनिरहेको हुन्छु मलाई त्यसबेला लाग्छ -त्यो विशेष गीत, त्यसबेला सुनेको गीत कसैले नगाएको भए, कसैले संगीत नभरेको भए संसार कति अपूरो हुन्थ्यो होला !

सङ्गीतले मेरो अनुभवलाई कसरी प्रभावित पार्छ भनेर कहिलेकाहीँ विस्तारमा भन्न चाहन्छु, ता कि म आफ्नो अनुभूति बताउन सकौँ । तर, यो सम्भव छैन । हरेक अनुभव या अनुभूति भाषामा व्यक्त गर्न नसकिने रहेछ । आफूलाई लागेको हरेक कुरा चाहेर पनि अरूलाई बताउन सकिन्न, बुझाउन सकिन्न ।

म आज गीत-संगीतका बारेमा लेखिरहेको छैन ।

हिउँद कहिलै मन परेन मलाई ।

काठमाडौँ बसाइ सरेपछि हिउँदले मेरो सातो लियो । पुसको पन्ध्रदेखि माघे सक्रान्तीसम्म काठमाडौँको जाडो खपि नसक्नु नै हुन्थ्यो । खुट्टाका औँलाका टुप्पादेखि सुरु भएको चिसो तालुसम्म पुग्थ्यो । थुरथुर काम्दै मासको दाल र रायोको सागसँग भात खाएर बिहान लाग्ने कुहिरोभित्र छिर्‍यो र रात परेपछि घर फर्क्यो । हिउँदको दिनचर्यामा एक खालको ‘मेलाङ्कोली’ भएजस्तो लाग्थ्यो ।

हिउँदको दुःख जाडो मात्र होइन । छोटा र अँध्यारा दिन मात्र पनि होइनन् । यी दुवै कुरा हुन् । थप कुरा पनि होलान् । पूर्वी मधेशको गाउँमा जन्मेहुर्केको मलाई हिउँ, अँध्यारो, चिसो स्याँठसँग जति बल गरे पनि दोस्ती गर्न गार्‍हो छ ।

त्यसैले, मौसमसँग मेरो अलिखित र भद्र सम्झौता छ -हिउँदमा बाँच्ने, गर्मी महिनामा जिउने ।

नर्वेमा पढ्दा हिउँ र निरन्तरको झरीबाट वाक्क भएका बेला एकदिन त्यहीँको साथीलाई सोधेको थिएँ –‘तिमीहरूको हिउँद कहिलेसम्म चल्छ ?’ उसले साइकल घिस्याउँदै भनेको थियो –‘हामी भाग्यमानी भए अप्रिलमा सकिन्छ, कुनै वर्ष मे महिनासम्म हिउँ पर्छ, कहिलेकाहीँ गर्मी महिना सुरु नहुँदै हिउँद लाग्छ ।’

म नर्वेमा जिउन सक्दिनथेँ । जुन साता आफ्नो शोधपत्र बुझाएँ, त्यही साता घर फर्केँ ।

हरिहरण र उस्ताद राशिद गीत सकेर स्टेजबाट हिँडे । मैले युट्युवमा अर्को गीत छानेँ –‘ये दिल तुम बिन कहिं लगता नही हम क्या करें ।’

आठ वर्षजति भयो होला -बेंशीसहरमा काम परेर गएका बेला काउलेपानीबाट डिनर खाने र उतै बास बस्ने निम्तो आयो । निम्तो मान्न मध्य पुसको त्यो साँझ काउलेपानी पुग्दा डाँडाको टुप्पामा होमस्टेको स्वागत घरमा मुटु कमाउने जाडो थियो । सिमेन्टको भूईंको चिसो जुत्ताभित्र छिरेर घुँडासम्म पुगेको थियो, र अझ माथि उक्लिने धुनमा थियो । स्वागत खान प्लास्टिकका कुर्सीमा बसेको म चिसोले भित्रभित्र काँपीरहेको थिएँ ।

राजेन्द्र सरले लामो तर औधी रमाइलो स्वागत भाषण सके र हाम्रा हातहातमा सेलरोटीको थाल र त्यसको छेउमा स्टिलको ग्लासमा कोदाको रक्सी थमाइदिए । हामी ग्लासको तातो रक्सीले कुन बेला जिउ तताउला भनेर प्रतिक्षा गर्दैथियौँ त्यही बेला उनले रमाइलो भाखा हाले –“स्वर्गजस्तो यो काउलेपानी, मया लाउछ छोडेर काँ जानी” ! त्यसपछि वातावरण न्यानो भयो ।

काउलेपानीमा त्यो साँझ र त्यो जाडो सम्झँदा अहिले पनि आङ् सिरिङ्ग हुन्छ । तर, त्यो भन्दा सिरिङ्ग पार्ने राजेन्द्र सरको गीत थियो । घर छोडेर कहाँ जाने ? आफ्नो प्यारो ठाउँ छोडेर कहाँ जाने ? कसैले विरही स्वरमा सोधेका यी प्रश्न आफैंमा मार्मिक छन् । ठाउँसँगको माया गाढा हुन्छ । छोडेर जान सजिलो हुँदैन ।

म हिउँदको विषयमा लेखिरहेको छैन । म र हिउँदबिचको सम्बन्ध प्रस्ट छ ।

म गीत-सङ्गीतको बारेमा लेखिरहेको छैन । त्यो काम मबाट भन्दा राम्रो अरूबाट हुनसक्छ ।

साँच्ची मसँग अब लेख्नलाई बाँकी के कुरा छन् त ? सोच्छु । केही भेटिदैनन् । मेरा कुरा सकिए कि ? थाहा छैन । कुरा सकिन सम्भव छ ?  मलाई लाग्छ यस्तो हुन सक्छ ।

कुरा नगर्न भने सम्भव छ ।

त्यसैले म आजभोलि कुरा गर्दिन । नेपालको राजनीति र समाज, आर्थिक अवस्था, नेता, एमसिसी, राजतन्त्र -यी कुनै विषयमा मेरा टिप्पणी छैनन् । बहस र वादविवाद गर्ने जाँगर छैन । मलाई केही भन्नु छैन, र कसैका कुरा सुन्नु छैन ।

मसँग पहिले कुरा गर्न (वा कुरा लेख्न) जुन समय उपलब्ध थियो आजभोलि त्यो समयमा गीतहरू सुन्छु । थप किताब पढ्छु । यो उदासी होइन, सम्झौता हो । आफैँले आफैँसँग गरेको । कुरा नगर्ने सम्झौता ।

अहिले युट्युवमा उस्ताद हुसेन बक्श पञ्जाबी भाषाको गीत गुनगुनाउँदैछन् –‘सोनिये जे तेरेनाल दगा में कमावाँ, नि रब करे में मर जावां ऽऽऽ’

मलाई कुराहरूसँग रिसराग भएको होइन ।

मलाई लाग्छ कुरा गर्नैपर्छ । कुराहरू आवश्यक हुन्छन् । कुरा नगर्ने समाज सिथिल र निष्क्रिय समाज हो । कुरा नगर्ने कुरा तानाशाहीमा सम्भव छ । खुला समाजको जग भनेकै कुरा हुन् । चाहिने कुरा, नचाहिने कुरा । असल कुरा, खराब कुरा । भलादमी कुरा, फोहोरी कुरा । मन पर्ने कुरा, नपर्ने कुरा । कुरा र कुरामाथिका कुराले समाज जीवन्त बनाउने हुन् ।

मुख्य समस्याचाहिँ के हो भने आजभोलि कुरालाई खुला हिडडुल गर्न गार्‍हो छ । कुरा बाहिर निस्किनासाथ तिनीहरूको कि अपहरण हुन्छ कि तिनीहरूमाथि आक्रमण सुरु हुन्छ । कुराहरू आगनमा घुम्ने कुखुराका निरिह चल्लाजस्ता भएका छन् -जसलाई कुन बेला कताबाट उडिआउने चिलले झम्टिने हो ठेगान हुँदैन ।

त्यसैले, आजभोलि कुराहरू सङ्कटमा छन् ।

प्रविधि (techne/technology) का विषयमा मार्शल माक्लुहनको विचार मलाई असाध्यै सटिक लाग्छ । उनी भन्छन् -जब मानिसले एउटा नयाँ प्रविधिको विकास गर्छ त्यसपछि त्यो प्रविधिले थाहै नपाइ मानिसको जीवन, सामाजिक सम्बन्ध र सामाजिक संस्थाहरूलाई परिवर्तन गरिदिन्छ । मानिसले विकास गर्ने प्रविधि उसको नियन्त्रणमा रहँदैन, त्यसले मानिसमाथि नियन्त्रण गर्छ ।

उनको तर्क गहन भए पनि सरल छ -कसैले हवाइजहाजको आविष्कार गर्‍यो । त्यसपछि संसार परिवर्तन भयो । काम र काम गर्ने तरिका फेरिए । व्यक्ति र सरकारका शैली, ढाँचा र ढर्रा फेरिए । मर्ने, बाँच्ने तौरतरिका, सोख, लवज, सपना फेरिए । बाँच्ने तरकिब फेरिए । तमाशा फेरिए । आज हामी जस्तो संसारमा बाँचेका छौँ त्यसको चरित्रलाई उड्डयन प्रविधिले पनि प्रशस्त प्रभाव पारेको छ ।

इन्टरनेट यसको अपवाद होइन ।

मेरो कुरा कता जाँदैछ तपाईंले लख काटिसक्नुभयो । त्यसैले, थप लेखिरहन परेन । कुराको बिट मार्न यत्ति भन्छु -इन्टरनेट र यससँग जोडिएका औजारले आज सार्वभौम शक्ति हासिल गरिसकेका छन् । मानिसहरू ती औजारका अघि निरिह भएर तिनले खोजेजस्तो कन्टेन्ट बनाइरहेका छन् । ठुला कर्पोरेशनले मानिसको कमजोरी मज्जासँग चिनेका छन् र मानिस कठपुतलीजस्तो तिनीहरूले सेट गरिदिएको धुन र तालमा नाचेका छन् ।

अहिले आर्टिफिसल इन्टेलिजेन्सबाट कुनै मरिसकेका वा जीवित गायकको स्वरमा गीत बनाउन सम्भव होला । भइनसकेको भए पनि अब केही समयमै हुनेछ । त्यसपछि कम्प्युटरबाट धडाधड गीतहरू बर्सेलान् । जसरी युट्युवबाट समाचार र टिकटकबाट आन्दोलनहरू बर्सिरहेका छन् ।

तर, फत्तेमानले ‘मर्न बरु गारो हुन्नऽऽऽ’ भनेर आँखा चिम्म गएर गाएको त्यो गीत कुनै प्रयोगसालामा जन्मेला ? त्यो भन्दा सुरिलो र सुमधुर गीत बन्ला तर उनैले गाएको गीत बन्ला ? कृतिम तरिकाले बनाइएको गीतमा गीत र गायक बिचको सम्बन्ध कस्तो होला  ?

कुराको कुरा सक्ने हो की ?!

कुरा के हो भने -कुराले कुरा गर्नेको बोझ पनि बोकेको हुनुपर्छ । बोक्न सक्दैन भने कुराको अर्थ रहन्न ।

यदि कसैले अरूको प्रतिक्रिया पाउनका लागि कुरा गर्छ भने त्यो मानिसलाई आफ्ना कुराप्रति सम्मान छैन । कुरा यस्तो हुनुपर्छ कि त्यसले कुरा गर्नेको सोचको प्रतिनिधित्व गरोस् । इन्टरनेटको अल्गोरिदमले सिर्जना गरिदिएको हाइपररियल स्पेसमा आकर्षण, कुण्ठा र प्रतिश्पर्धाका लागि मनले नभएर मुखले गर्ने कुराहरूमा कुरा गर्ने मानिसको निष्ठा हुन्न ।

कुराहरू आज सङ्कटमा भएको कारण पनि यही हो । कुरा रित्ता र आडम्बरी हुने कारण पनि यही हो । उही पट्यारलाग्दा कुरा पटकपटक दोहोरिने कारण उही हो । एकै खाले कुरा पटकपटक दोहोरिएर उफ्रिरहनु र नयाँ कुरा ओझेलमा पर्ने कारण उही हो ।

काउलेपानीको गीत यतिका वर्षमा पनि बिर्सिन सकेको छैन –“ऽऽऽ माया लाउछ छोडेर काँ जानी !” जब यो गीतको सम्झना आउँछ म सोच्न थाल्छु - राजेन्द्र सरको गलाबाट निस्केको त्यो मिठो गीत काउलेपानीमा अझ गुञ्जीरहेको होला त ?! कसैले राजेन्द्र सरलाई काउलेपानीको डाँडाबाट कुनै कृतिम र पट्यारलाग्दो सहरतिर बसाइ सर्न बाध्य पो पार्‍यो कि ?!

एघार बज्यो । तातोपानीसँग मिसाएर पिएको ह्विस्कीले लेख्दालेख्दै कुन बेला छोडेर गयो पत्तो भएन । अहिले मेरो ल्यापटपमा उस्ताद आमीर अली खानको स्वरमा अर्को गीत बजिरहेको छः

"माहिया तेरे बेखण लै, चुक चर्खा गलिके बिच ढावाऽऽऽऽ" ! 

Friday, April 28, 2023

किन जटिल छ राजनीतिक पार्टीको सुधार र पुनर्संरचना

लामो समयदेखि बहसमा आएको विषय हो पार्टीको सुधार र पुनर्संरचना । तर, के यो भनेजस्तै सजिलो छ ? वा, के सम्भव छ ?

"हामी अब सुध्रिन्छौँ, पार्टीलाई पहिलेको जस्तो हुन दिन्नौँ" भन्ने केही राजनीतिकर्मीको मुखबाट सुन्दा राम्रो लागे पनि यो सजिलो काम होइन । पार्टी संरचना, विधिविधान र आर्थिक गतिविधिलाई समेट्दै समग्र रूपमा पुनर्संरचना नगरी पार्टीका सतहमा देखिएका कमीकमजोरीमा सुधार सम्भव छैन । यस्तो पुनर्संरचना केही व्यक्तिले चाहेर वा अरूले कामना गरेर मात्र पनि सम्भव छैन ।

राजनीतिक पार्टीमा सुधार गर्ने कुरा चल्दा तिनमा भएका मूल समस्या के हुन् भनेर बुझ्न पनि आवश्यक छ । राजनीतिक पार्टीप्रतिको आम असन्तुष्टिको कारण तिनिहरूका अकर्मण्यता, एकदुई गलत काम वा उच्च नेतृत्त्वमा निश्चित मानिसको हालीमुहालीमात्र होइन । नेपालका राजनीतिक पार्टी स्थानीय तहदेखि केन्द्रसम्म सार्वजनिक सम्पत्तिको लुट र गैरकानुनी गतिविधिको संरक्षणमा लिप्त भएका छन् । आर्थिक र सामाजिक अपराधमा राजनीतिक पार्टीको भूमिका सोचेभन्दा भयावह छ । त्यसैले, पार्टी र तिनका नेता-कार्यकर्ताको मानसिकता परिवर्तन गरेर एकाएक असल, साधु बनाउने काम त्यति सजिलै सम्भव छैन ।

राजनीतिक पार्टीको संरचना बृहत् समाजको अवस्थितिसँग जोडिएको हुन्छ । समाजको आर्थिक, सांस्कृतिक वा शक्तिवितरणको तौरतरिकाले राजनीतिक पार्टी कसरी चल्छन् भनेर निर्धारण गर्ने हो । सामाजिक मूल्यमान्यतामा पारदर्शिता, जवाफदेहिता, समावेशिता छैन भने राजनीतिक पार्टीमा पनि यी विशेषता स्वतः हावी हुन्छन् । राजनीतिक पार्टीमा गरिने सुधार समग्र समाजको रूपान्तरणसँग जोडिएको हुन्छ र हुनुपर्छ । सामाजिक संरचनामा रहेका जटिलतालाई सम्बोधन गर्दै पार्टीको संरचना र प्रणाली चुस्त, दुरुस्त बनाउन निकै ठूलो र दीर्घकालीन पहल चाहिन्छ ।

अब यो विषयलाई अर्थराजनीतिको कोणबाट हेरौँ ।

समाज (वा राज्य) हरेक पक्षले देखेको स्वार्थ वा सुरक्षाबाट गतिशिल भएको हुन्छ । नेपाली भाषाको शब्द स्वार्थलाई यस सन्दर्भमा अङ्ग्रेजीको शब्द इन्सेन्टिभ (Incentive) भनौँ । समाज वा राज्यको कुनै अवस्थामा रूपान्तरणको विषय उठ्दा हामीले त्यसका लागि संलग्न विभिन्न पक्षहरूको इन्सेन्टिभ के छ भनेर केलाउनुपर्ने हुन्छ । यसका लागि एउटा प्रश्नले थप सजिलो बनाइदिन सक्छ -राजनीतिक पार्टीमा आवश्यक सुधार ल्याउने चासो र चिन्ता कसमा छ ?

पार्टीलाई सुधार गर्दा आफूलाई फाइदा होला भनेर सोच्ने मानिस राजनीतिक पार्टीमा कति छन् ?

अहिले नेपालका प्रमुख राजनीतिक पार्टीहरूमा आजीवन राजनीतिबाट लाभ उठाउने र राजनीति छोड्नासाथ असान्दर्भिक हुने सीमित मानिसको हालिमुहाली छ । राजनीतिक पार्टीमा सुधार गर्नु भनेको उनीहरूको बर्चस्वको अन्त हो । शेरबहादुर, केपी ओली वा प्रचण्ड र तिनका वरिपरी घुमीरहने स्वार्थ समूहले आफ्नै अहित हुनेगरि पार्टीलाई पुनर्संरचना वा सुधार गर्ने मुद्दामा रुचि राख्लान् भन्ने अपेक्षा गर्न नसकिएला ।

राजनीतिक पार्टीको पुनर्संरचना गर्न अनिच्छुक हुने उच्च तहका नेता मात्र होइन । केन्द्र, प्रदेश र स्थानीय तहमा पार्टीको जस्तो साङ्गठनिक संरचना छ त्यसमा पुनर्संरचना र सुधारको मुद्दा सान्दर्भिक छैन । जसले विभिन्न तहमा पार्टी सङ्गठन चलाइरहेका छन् उनीहरूलाई किन चाहियो सुधार ?!

राजनीतिक पार्टीलाई सुधार गर्ने कुरा किन र कसरी चलिरहन्छ त ?

मलाई लाग्छ यो मूलतः नागरिकको तहमा भएको अपेक्षाको अभिव्यक्ति हो । समाजको बुद्धिजीवी वा चेतनशील भनिएको वर्ग चाहन्छ पार्टीहरू सुध्रिउन्  र विगतका गल्तीकमजोरी नदोहोर्‍याउन् । सुधारको कुरा गर्ने दोस्रो पक्ष ती राजनीतिकर्मी हुन् जो विद्यमान संरचना र प्रणालीबाट सन्तुष्ट छैनन् । तर, बुझ्नुपर्ने कुरा के छ भने पार्टीमा पुनर्संरचना गर्नका लागि उनीहरूको अहिलेको भूमिका पर्याप्त छैन ।

पार्टीको पुनर्संरचनाका लागि एउटा सशक्त राजनीतिक आन्दोलन चाहिन्छ -चाहे त्यो सडकमा होस् वा पार्टीभित्र । यस्तो आन्दोलनका लागि विभिन्न राजनीतिक पार्टीमा रहेका सुधारको कुरा गर्ने राजनीतिकर्मीहरू तयार छन् त ? मेरो विचारमा उनीहरू अझ पनि यो चुनौतिका लागि अझ तयार छैनन् । तयार भए पनि उनीहरूसँग संरचना र सुधारका लागि पार्टीमा सशक्त विद्रोह गर्ने सामर्थ्य छैन ।

तर, म गलत पनि हुन सक्छु । भविष्यले देखाउला ।


(अनुमतिबिना प्रकाशन नगर्न अनुरोध छ ।)

Tuesday, April 25, 2023

चुनाव परिणामले दिएको उत्साह र यथार्थ

उपनिर्वाचनको परिणाम र त्यसमा पनि विशेष गरि स्वर्णीम वाग्ले र रवि लामिछानेको विजयलाई लिएर विभिन्न प्रतिक्रिया सुन्न र पढ्न पाइएको छ । मूलधारे मिडिया र सोसल मिडियाका टिप्पणी रोचक छन् र तिनले नेपालको समसामयिक राजनीतिक बारेमा धेरै कुरा बोलेका छन् । तिनै उपलब्ध टिप्पणीलाई मिसमास गरेर केही अमौलिक टिप्पणी तल राख्न चाहन्छु ।

जसले जानीजानी चोट लगाउँछ उसैबाट औषधिको अपेक्षा गर्नु व्यवहारिक होइन । नेपालको अहिलेको अवस्थालाई खराब मान्ने हो भने यसको अपजस प्रस्ट रूपमा कांग्रेस, एमाले वा माओवादी पार्टीमा जान्छ र जानुपर्छ । उनीहरूको अकर्मण्यता माफ गर्न योग्य छैन । त्यसैगरि, उनीहरूलाई जनताको पिरमर्का र अपेक्षाबारे ज्ञान नभएको होइन । उनीहरूले जानाजान नै व्यक्तिगत र दलीय स्वार्थलाई सर्वोपरी मानेर देशलाई यो अवस्थामा पुर्‍याएका हुन् । देश तथा जनताको बृहत् स्वार्थमा काम गर्न यी दलहरू सक्षम छैनन् भन्ने पटकपटक प्रमाणित भएको छ । त्यसैले, यस चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीको विजयबाट पुराना राजनीतिक दलमा व्यापक सुधार होला भनेर अपेक्षा गर्न सकिन्न ।

राष्ट्रिय स्वतन्त्र पार्टीको लोकप्रियता अब केही समय नेपाली राजनीतिको केन्द्रविन्दुमा रहनेछ । अबदेखि मानिसहरूले कांग्रेस, एमाले वा माओवादी पार्टीले के भने वा के गरे भन्नेमा होइन, राष्ट्रिय स्वतन्त्र पार्टी र त्यसमा पनि रवि लामिछानेले के भने वा के गरे भन्नेमा बढी चासो दिनेछन् । यो चासो रास्वपाका लागि भारी होला, तर यसले नेपालको राजनीतिमा एउटा नयाँ गतिशिलता र फरकपन भने अवश्य ल्याउने छ ।

नेपालमा असफल एका राजनीतिक दलमात्र होइनन् -बृहत् नेपाली समाज समग्र रूपमा असफल भएको छ । अर्थतन्त्र धराशायी अवस्थामा छ । सार्वजनिक संस्थाहरू सेवा प्रवाहमा असफल सिद्ध भएका छन् । भ्रष्टाचार र कमिशनखोरी गहिरिएको छ । राज्यका विभिन्न निकाय (अदालत, सेना, कर्मचारीतन्त्र, आदि) दलीय प्रभावमा परेर भ्रष्ट र निकम्मा भएका छन् । त्यसैले, आम मानिसमा निराशा र छटपटिले सीमा नाघेको छ । यस्तो छटपटीका बेला भएको निर्वाचनको परिणाममा मानिसले विकल्प रोज्नु अस्वाभाविक होइन ।

ाष्ट्रिय स्वतन्त्र पार्टीप्रतिको अभिरुचि र सम्मान उपध्रो छ । धेरैका लागि यो अत्यासलाग्दो होला -तर यो अस्वाभाविक भने होइन । प्रचलित संरचना र पद्दतिविरुद्ध विद्रोह गर्ने मानिसको स्वभाव हो । पुराना राजनीतिक दलको अकर्मण्यताबाट आजित भएका आम मानिसले रविन्द्र मिश्र, बालेन शाह वा ज्ञानेन्द्र शाहीलाई ठूलो सम्मान दिएको हामीले देखेका छौँ । विगत आम निर्वाचनमा कतिले राजेन्द्र लिङ्देनले नियमित राजनीतिको विकल्प देलान् भनेर पनि आश गरे र प्रजातन्त्र पार्टीका उमेदवारहरूलाई जिताए । पुराना दलको अकर्मण्यताको विकल्प खोज्ने आम मानिसको यस्तो चाहनालाई गलत भन्न मिल्दैन ।

विकल्पका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीसँग नेपालको असफलतालाई राम्रोसँग बुझ्ने र यसको समाधानका लागि काम गर्ने क्षमता होला त ?! अहिलेको मूलभूत प्रश्न यही हो । यसका लागि उल्लेख्य जनादेश पाएको यस पार्टीले भविष्यमा के गर्छ भनेर पर्खिनुपर्ने हुन्छ । जसरी बालेन शाह, हर्क साम्पाङ् वा ज्ञानेन्द्र शाहीले आफ्नो औचित्य प्रमाणित गर्ने अवसर पाएका छन् (तर त्यसमा असफल भएका छन्), त्यसैगरि रवि लामिछाने वा स्वर्णिम वाग्लेले पनि जनप्रतिनिधिको भूमिका निर्वाह गर्ने अवसर पाउनुपर्छ । हामीले आशा गर्ने के हो भने उनीहरू बालेन शाह वा हर्क साम्पाङ्ग भन्दा फरक होलान् र आफ्नो भूमिका प्रभावकारी रूपमा निर्वाह गर्लान् ।

तर, व्यक्तिगत रूपमा यस्तो सम्भावना म देख्दिन । मलाई के कुराको डर छ (र जसमा म गलत हुन चाहन्छु) भने -विकल्पका रूपमा मानिसले विश्वास गरेको स्वतन्त्र पार्टी काठमाडौँको मेयरका रूपमा बालेन शाहको अहिलेसम्मको भूमिका जस्तै एउटा भद्दा अनुभवमा सीमित हुनेछ ।

कुनै अमूक मानिसले चोट पुर्‍यायो भने त्यसको प्रभाव धेरै गाढा नहोला । तर, आफूले माया अति अनि सम्मान गरेको मानिसले चोट पुर्‍याउँदा त्यसको असर बिर्सिनसक्नु हुन्छ । आनन्द वक्शीको एउटा पुरानो गीत छ जसलाई किशोर कुमारले मीठो स्वरमा गाएका छन् –“कोही दुश्मन ठेस लगाए, तो मित जिया बहलाए; मनमित जो घाव लगाए उसे कोन मिटाए !”

यस उप-चुनावमा तनहु र चितवनका मतदाता मात्र नभएर समग्र देशका सर्वसाधारण मानिसले आशा र सम्भावनाका रूपमा हेरेका रवि लामिछाने र स्वर्णिम वाग्लेले जे-जस्तो दृष्टिकोण बोकेका छन् र त्यसलाई प्रस्तुत गरेका छन् ती न नेपालको असफलताको यथार्थसँग नजिक छन् न त तिनका आधारमा कुनै सकारात्मक रूपान्तरण सम्भव छ । रवि लामिछानेलाई राज्य र नागरिक तथा तिनलाई बाँध्ने नीतिनियमप्रति कुनै वास्ता र सम्मान छैन । रविका बारेमा लामो कुरा गरिरहन नपर्ला । स्वर्णिम वाग्लेले बुझेको नेपालको समस्या र यसको समाधान काँचो र सतही छ -उनी यस हिसाबमा भाग्यमानी छन् कि लोलोपोतोबाट माथि उठेर उनका सतही बुझाइमाथि प्रश्न उठाउन साहस गर्ने मानिस नेपालमा छैनन् ।

एउटा देश असफल हुँदैछ भने त्यसका कारण बहुआयामिक हुन्छन् । बहुआयामिक समस्यासँग जुध्न प्रणालीगतगत चिन्तन त चाहिन्छ नै सँगसँगै विभिन्न व्यक्ति, समूह, पक्षबिच सहकार्य र समन्वय पनि चाहिन्छ । सामाजिक सञ्जालमा आजभोलि रवि लामिछाने र स्वर्णिम वाग्लेको आलोचना सुन्नै नचाहने जमातप्रति म चिन्तित किन छु भने उनीहरू निकट भविष्यमा बालेन शाहबाट जस्तै दुखित हुनुपर्ने सम्भावना टड्कारो छ । आफ्नो अपेक्षा सीमित राखे र रवि र स्वर्णिमका सीमितता बुझे भविष्यमा धेरै दुखी हुनुपर्दैन ।

बसन्त वस्नेतले हालसालै नारायण वाग्लेको किसानी जीवनमाथि एउटा रिपोर्ताज गरेका छन् । त्यो सम्पूर्ण रिपोर्ताज रोचक त छ नै -त्यसमा विकास वा सकारात्मक रूपान्तरणका बारेमा नारायण वाग्लेको निकै गहन र उपयोगी चिन्तन समेटिएको छ । अहिले अनुपयोगी सिद्ध भइसकेको आधुनिक अर्थशास्त्रीय हिसाबकिताबबाट नेपाल समृद्ध हुन सम्भव छैन । नेपालक समृद्धि मौलिक, वातावरणीय हिसाबले प्रभावकारी र रैथाने ज्ञानमा आधारित हुनुपर्छ । त्यो समृद्धि दिगो हुनसक्छ र त्यसले नेपाललाई आत्मनिर्भर बनाउनेछ ।

राष्ट्रिय स्वतन्त्र पार्टीसँग नेपालको समस्यालाई समग्रतामा बुझ्ने क्षमता देखिएको छैन -न त त्यसको नेतृत्त्वसँग समृद्धिका बारेमा चित्तबुझ्दो खाका छ ।

यस निर्वाचनले मानिसमा उत्साह र आशाको सञ्चार गरेको छ । यो खुशीको कुरा हो । तर, कुनै एक वा दुई नेताले देश बनाइदिने होइन । देश बनाउने काम सामुहिक र सर्वपक्षीय हुन्छ । यसमा सबैको सार्थक सहभागिता चाहिन्छ । नयाँ राजनीतिक दलबाट प्रशस्त अपेक्षा गरिरहँदा नागरिकका रूपमा हामी सबैको भूमिका पनि नबिर्सौँ ।

 (लेख स्विकृतिबिना अन्य माध्यमबाट प्रकाशित नगर्नुहोला ।)