Bluesky

@sanpokh.bsky.social

Monday, October 13, 2025

Has China Won?

चीनले विगत दुई दशकमा हासिल गरेको परिवर्तन संसारलाई चकित पार्नेखालको छ । अर्थतन्त्र र भौतिक पूर्वाधार विकासका क्षेत्रमा चीनको प्रगति अकल्पनीय प्रकृतिको छ । यो प्रगतिको उल्लेख्य पक्ष के छ भने चीनमा मध्यम र निम्न वर्गको आम्दानी निरन्तर बढिरहेको छ ।

के चीनले अमेरिकालाई जितिसक्यो ? के निकट भविष्यमा चीन अमेरिकाभन्दा बढी समृद्धि हासिल गरेर संसारको नम्बर एक देश बन्न गइरहेको छ ? यी प्रश्न आजको विश्वमा धेरै सोधिने र छलफल गरिने विषय हुन् । सिंगापुरका पूर्वकूटनीतिज्ञ तथा प्राध्यापक किशोर मेहबुबानीको पाँच वर्षअघि प्रकाशित ‘ह्याज चाइना वन ?’ नामको पुस्तक यिनै प्रश्नमा केन्द्रित छ ।

तीव्र गतिमा परिवर्तित विश्व परिवेस र चीन-अमेरिकाबीचको सम्बन्धमा केही वर्षयता आएका उतारचढावले पुस्तकका केही सन्दर्भलाई बासीजस्तो बनाएका छन् । तर, पुस्तकमा मेहबुबानीले प्रस्तुत गरेका तर्क अमेरिका र चीनको पृथक अवस्था बुझ्न र उनीहरूको सम्भावित भविष्यको आकलन गर्न निकै उपयोगी छन् ।

मेहबुबानीले आफ्नो पुस्तकमा प्रस्तुत गरेका प्रमुख तर्क तलका पाँच बुँदामा प्रस्तुत गरेको छु । लेखको अन्तमा मेहबुबानीका तर्कमाथि आफ्ना टिप्पणी छोटकरीमा प्रस्तुत गर्नेछु ।

१. चीनले विगत दुई दशकमा हासिल गरेको परिवर्तन संसारलाई चकित पार्नेखालको छ । अर्थतन्त्र र भौतिक पूर्वाधार विकासका क्षेत्रमा चीनको प्रगति अकल्पनीय प्रकृतिको छ । यो प्रगतिको उल्लेख्य पक्ष के छ भने चीनमा मध्यम र निम्न वर्गको आम्दानी निरन्तर बढिरहेको छ ।

उता चीनको प्रतिद्वन्द्वीका रूपमा चिनिने अमेरिकाको अवस्था यसको ठीक विपरीत छ । अहिलेको अवस्थामा (अर्थात्, सन् २०१९ मा) निश्चय पनि अमेरिकामा निम्म र मध्यम वर्गको आय चीनको तुलनामा बढी छ, तर अमेरिकामा आय असमानता तीव्र गतिमा बढिरहेको छ र देशको सम्पत्तिमा धनीहरूको कब्जा चुलिएको छ । यो अवस्था कायम रहे चीन संसारको नम्बर एक देश बन्ने सम्भावना थप बलियो हुँदै जानेछ ।

. चीनको सामरिक क्षमताको वास्तविक परीक्षण भएको छैन । चीन अन्य देशसँगको युद्धमा प्रत्यक्ष रूपमा संलग्न छैन । यसबाट चीन सामरिकरूपमा कमजोर छ वा आफ्नो क्षमतामा विश्वस्त छैन भनेर निष्कर्ष निकाल्नु गलत हुनेछ ।

संसारका विभिन्न स्थानका द्वन्द्वमा संलग्न नहुने र आफ्नो आन्तरिक क्षमता बलियो बनाउने चीनको सुझबुझपूर्ण रणनीति हो । अरब (जस्तै, इराक, अफगानिस्तान, सिरिया, लिबिया, आदि) लगायत संसारका अन्य क्षेत्रको लडाईंमा सामेल भएर अमेरिकाले आफ्नो संसाधन र सामरिक क्षमता कमजोर बनाएको छ । यसको विपरीत बाह्य द्वन्द्वमा सामेल नहुने रणनीति बनाएको चीन सामरिकरूपमा थप बलियो हुँदै गएको छ ।

३. अमेरिकाका राजनीतिज्ञहरू (विशेषगरी डोनाल्ड ट्रम्प र रिपब्लिकन पार्टी) अन्य देशहरूसँगको व्यापार घाटा र असमान व्यापार सम्बन्धको कुरा गरिरहन्छन् । अमेरिकाको व्यापार घाटा वास्तवमा अन्य देशहरूको बदनियतको परिणाम होइन- अमेरिकाको आन्तरिक समस्याको उपज हो ।

यो आन्तरिक समस्या के हो भने अमेरिकामा जेजति मात्रामा वस्तु र सेवाको उपभोग हुन्छ, त्यसको अनुपातमा वस्तु र सेवाको उत्पादन हुँदैन । यसको परिपूर्ति अमेरिका आफ्नो मुद्रा (अमेरिकन डलर) छापेर गरिरहेको छ ।

संसारभर व्यापार र विनिमयका लागि अमेरिकी डलर प्रयोग हुने भएकैले अमेरिकाको अर्थतन्त्रको आधार बलियो भएको हो। तर, डलरको सहारामा अमेरिका आफ्नो अर्थतन्त्रलाई सधैँ उच्च स्थानमा राखिरहन सक्छ भन्ने छैन ।

संसारसँगको व्यापार घाटा कम गर्ने हो भने अमेरिकाले अन्य देशलाई दोष दिन र उनीहरूसँग शत्रुता बढाउनमा भन्दा आफ्नो आन्तरिक उपभोग कम गर्नमा र उत्पादन बढाउनमा जोड दिनुपर्छ ।

४. युरोप र अमेरिकाका देशका राजनीतिज्ञ र बौद्धिकहरूमाझ चीनलाई बुझ्ने कुरामा गहिरो समस्या छ । उनीहरू चीनलाई कम्युनिस्ट पार्टीको अधीनमा रहेको बन्द समाजका रूपमा बुझ्ने गर्छन् । यथार्थ यसको विपरीत छ।

चीनका शासकहरू नामले त कम्युनिस्ट हुन् तर चीनको कम्युनिस्ट पार्टी र यसका नेताहरूलाई मार्क्सवाद, लेनिनवाद वा कम्युनिस्ट सिद्धान्तअनुसार चल्ने तथा संसारमा कम्युनिस्ट प्रणाली फैलाउने कुरामा कुनै चासो छैन ।

लोकतन्त्र र आफूले सही ठानेका मानकहरू संसारभर प्रवर्धन गर्नमा अमेरिका प्रशस्त लगानी गर्छ, तर चीन संसारलाई आफूजस्तो बनोस् भन्ने अभिप्रायबाट निर्देशित छैन । चीनका शासकहरू चिनियाँ सभ्यताले विगतमा हासिल गरेको सामाजिक-सांस्कृतिक गौरव फर्काउन चाहन्छन् । यसका अतिरिक्त युरोप र जापानबाट विगतमा भोगेको अपमानलाई केन्द्रमा राखेर चीन आन्तरिक मजबुती बढाउने लक्षमा हिँडिरहेको छ ।

वास्तवमा चीन न त कम्युनिस्ट हो, न त बन्द समाज हो- चीन खुला मस्तिष्क भएका शासक र जनताको समूह हो, जुन आफ्नै प्राचीन चिनियाँ सभ्यताका मानकहरूबाट निर्देशित हुन चाहन्छ ।

५. संसारका लोकतान्त्रिक भनिने देशहरूमा चीनको कम्युनिस्ट पार्टी अधिनायकवादी भएको र चीनमा अभिव्यक्ति स्वतन्त्रता नभएकोमा प्रशस्त चासो देखिने गरेको छ । वास्तवमा यो बुझाइ चिनियाँ समाजबारेको गलत र अपूरो बुझाइमा आधारित छ ।

चीनको जनसङ्ख्या विशाल छ र यसको सबल व्यवस्थापन गर्ने कुरा सहज छैन । केन्द्रको सरकार बलियो र प्रभावकारी नहुँदा विगतमा ठूला संकट भोगेको अनुभव चिनियाँहरूसँग छ । त्यसैले, चीनका जनतालाई व्यक्तिको अभिव्यक्ति स्वतन्त्रतामा भन्दा समाजको सन्तुलन, स्थिरता र निरन्तरतामा बढी चासो छ ।

चीनका जनता आफ्नो सरकार बलियो र शक्तिशाली होस् भन्ने चाहन्छन् । त्यसमाथि व्यक्तिगत स्वतन्त्रता भनेको के हो ? भन्ने प्रश्नमा पनि विचार गर्न जरुरी छ । जुन समाजमा व्यक्ति आफ्नो पेशा, उपभोग वा मनोरञ्जनका गतिविधिको छनोट गर्नमा स्वतन्त्र छ, त्यो समाजमा व्यक्तिगत स्वतन्त्रता नभएको भनेर टिप्पणी गर्नु सही हुँदैन । संसारका कतिपय लोकतान्त्रिक देश (जस्तै, भारत)का तुलनामा चीनमा बढी व्यक्तिगत स्वतन्त्रता छ ।

मेहबुबानीका तर्कमाथि टिप्पणी

केही समयअघि अमेरिकाका अर्का कूटनीतिज्ञ हेनरी किसिन्जरको ‘अन चाइना’ भन्ने पुस्तक पढेको थिएँ, जसले चीनको इतिहास र यसका आधारमा निर्माण भएको चिनियाँ सामाजिक संरचना तथा कूटनीति साङ्गोपाङ् बुझ्न केही सघाएको थियो ।

किशोर मेहबुबानीको चीनको वर्णन किसिन्जरले प्रस्तुत गरेको चीनको वर्णनसँग निकै मिल्दोजुल्दो छ । यो पुस्तकले चीनको अर्थतन्त्र र शासनसत्ताको ताजा तस्बिर त प्रस्तुत गर्छ नै, सँगसँगै चीनलाई थप गहिराइमा बुझ्न सघाउँछ ।

पुस्तकमा किशोर मेहबुबानीले अमेरिकाको घट्दो आन्तरिक क्षमता र चीनको निरन्तर बढीरहेको प्रगतिलाई तुलना गरेका छन् । उनले प्रस्तुत गरेका विवरण र तर्कहरू निकै बलिया छन् र यसका आधारमा चीन संसारको नम्बर एक देश हुने कुरामा जो कोही थप विश्वस्त हुन सक्छ ।

सन् २०२४ को निर्वाचनमा डोनाल्ड ट्रम्प विजयी भएर त्यस यता उनले गरेका निर्णयहरूलाई हेर्ने हो भने त झन् विश्वमा अमेरिकाको साख थप घट्दै जाने सम्भावना बलियो भएको छ ।

तर, के चीन साँच्चै नै किशोर मेहबुबानीले प्रस्तुत गरेको जस्तो भद्र र जिम्मेवार देश हो ? पुस्तक पढ्दा मलाई ठाउँ ठाउँमा कस्तो लाग्यो भने यदि सी चिनफिङले मेहबुबानीको पुस्तक पढेको भए वा भविष्यमा पढे भने उनलाई पनि चीनको यति धेरै भद्रता वा परिपक्वतामा विश्वास लागेन होला वा लाग्ने छैन होला । पुस्तक पढ्दा प्रस्ट महसुस गर्न सकिने कुरा के हो भने किशोर चीनका पक्षधर र प्रशंसक हुन्।

चीनको उन्नतिका सन्दर्भमा बिर्सन नहुने कुरा के छ भने चीनले हासिल गरेको भनिएको भौतिक वा आर्थिक विकास लोकतान्त्रिक भनिएका संसारका पुँजीवादी देशहरूको प्रगतिको जगमा उभिएको विकास हो ।

अमेरिकी समाज वा राजनीतिको क्षयीकरण चीनको सबलताको आधार हुन सक्दैन- हुन त यसको चर्चा स्वयं मेहबुबानीले पनि पुस्तकको अन्तमा गरेका छन् । त्यसमाथि, चीनले पूर्वाधार विकासका नाममा चीनभित्र र संसारका अन्य स्थानहरूमा गरिरहेको लगानी आर्थिक रूपमा मात्र नभएर जलवायु परिवर्तनसँग जोडिएका जोखिमका दृष्टिकोणबाट पनि गैरजिम्मेवार प्रकृतिका छन् ।

लोकतन्त्रको रक्षा गर्ने स्वघोषित जिम्मेवारी बोकेको अमेरिकाका गतिविधि गैरजिम्मेवार भएको कुरामा शंका छैन- तर तिनले चीनलाई स्वतः भद्र र जिम्मेवार भएको प्रमाणित गर्दैनन् ।

डोनाल्ड ट्रम्पको वा दक्षिणपन्थी अतिवादीहरूको प्रभाव चुलिएको अमेरिका तथा विश्वका अन्य लोकतान्त्रिक प्रणाली भएका मुलुकमा लोकतन्त्र कमजोर भएको छ । तर, यसले चीनको शासन व्यवस्थालाई स्वतः सही वा प्रभावकारी प्रमाणित गर्न सक्दैन ।

एउटा देशका आम नागरिक केवल सरकार प्रभावकारी रहेको देख्न चाहन्छन् र अरू केही चाहँदैनन् भनेर चीनको शासक वर्गले गरेको प्रचार सबै दृष्टिकोणले भ्रामक र हास्यास्पद छ ।

मेहबुबानी आफ्नो पुस्तकमा सबैभन्दा कमजोर देखिएको सन्दर्भ हो सी चिनफिङले आफ्नो शासन अवधिको समयसीमाका बारेमा गरेको निर्णय । एक व्यक्ति दुई अवधिभन्दा बढी राष्ट्रपति हुन नपाउने चीनको परम्परालाई तोड्दै चिनफिङले आजीवन राष्ट्रपति बन्न पाउने नियम पारित गरेको सन्दर्भलाई मेहबुबानीले चीनको इतिहास र परम्पराका आधारमा सही भनेर व्याख्या गरेका छन् । मलाई लाग्छ, यो तर्कले उनका अरू तर्कलाई पनि कमजोर बनाएका छन् र सन्देहको घेरामा खुम्च्याइदिएका छन् ।

चीनका जनता के चाहन्छन् ? यस प्रश्नको जवाफ पाउन सजिलो छैन । सञ्चार माध्यम लगायत अभिव्यक्तिका हरेक माध्यममा राज्यको तीव्र नियन्त्रण रहेको चीनको अवस्थालाई चिनियाँ जनताको स्थिरताको चाहनासँग लगेर जोड्नु तार्किकरूपमा गज्जप सुनिए पनि बौद्धिक रूपमा गलत छ ।

रुचि वा अभिव्यक्तिको स्वतन्त्रता राज्यले अपनाएका लोकतान्त्रिक प्रणालीबाट सिर्जित भएका होइनन् – ती मानवजातिका आधारभूत हक हुन् । ती हकमा कुनै पनि बहानामा राज्यको नियन्त्रण हुनु गलत हो ।

राज्य मानव अस्तित्वको इतिहासमा धेरै पछि निर्माण भएको संस्था हो, जसको काम नागरिकको स्वतन्त्रताको रक्षा गर्नु हो- त्यसलाई नियन्त्रण गर्नु होइन।

अमेरिका वा संसारका लोकतान्त्रिक भनेर चिनिने मुलुकमा पनि अभिव्यक्ति स्वतन्त्रता कमजोर छ र थप कमजोर भइरहेको छ । यसमा सुधार हुन जरुरी छ । तर, चीनको विद्यमान अवस्थालाई उचित भनेर स्वीकृति दिनु एक बौद्धिकका लागि सुहाउँदो काम होइन।

यो लेख अनलाइनखबरडटकममा २०८२ असोज २७ गते प्रकाशित छ ।