म पहिले भाषामा शुद्धता महत्त्वपूर्ण हुन्छ भन्ठान्थेँ । आफूले बोल्ने भाषा शुद्धसँग लेख्नु र बोल्नुपर्छ भन्ने विचार थियो । तर, पछि यो विचारमा केही परिवर्तन आयो । किन भने चाहेर पनि सबैले आफ्नो भाषा, चाहे त्यो मातृभाषा नै किन नहोस्, शुद्ध तरिकाले बोल्न, लेख्न सक्दैनन् । भाषाको शुद्धतावादी मापदण्डले विभिन्न तरिका र लवजमा भाषाको प्रयोग गर्नेहरूमाथि अन्याय गरेको हुन्छ ।
दोस्रो वा पछि सिकेको भाषा
(जस्तै, अंग्रेजी)
शुद्ध लेख्न र बोल्नमा जोड दिने मानसिकतालाई उपनिवेषवादी मानसिकता भनेर आलोचना पनि
गर्ने गरिन्छ । हुन पनि शशी थरुरको अङ्ग्रेजी भाषामाथिको अत्यधिक गर्व मलाई पनि
आजभोलि ढोंगी र कृतिम लाग्छ ।
तर, अङ्ग्रेजी
शब्दले नेपाली जिब्रोको कसरी हुर्मत लिन्छन् भन्ने कुरा नियालेर हेर्ने हो भने
कम्ता रमाइलो हुँदैन ! हामी अङ्ग्रेजी शब्दलाई कसरी आफ्नो जिब्रोको स्वादअनुसार
ठोकठाक पारेर कसरी टक्क मिलाउँछौँ भन्ने उदाहरणहरू निक्कै गजबका छन् ।
आजको बसिबियाँलोमा हाम्रो हुर्मत् लिने अंग्रेजी शब्दहरूलाई
हेरौँ ।
‘प्राइस’
-नेपालीमा मूल्य । आजभोलि टिकटक वा इन्स्टाग्राममा आफ्नो वा अरूको सामानको प्रचार
गरेर व्यापार-व्यवसाय गर्नेहरू प्रशस्त छन् । तर, उनीहरूलाई आफ्नो पेशासँग सम्बन्धित सम्भवतः सबैभन्दा
महत्त्वपूर्ण शब्दले सधैं झुक्याइरहेको हुन्छ । प्राय सबैले सामानको मूल्यलाई
प्राइस नभनेर ‘प्राइज’ (पुरस्कार) भनिरहेका हुन्छन् । यसको एउटा उदाहरण हो आजभोलि
निकै चर्चित र सोसल मिडियामा प्रशस्त प्रचारप्रसार गर्ने ‘लालपुर्जा डट कम’ । यो
कम्पनीका सिइओदेखि सबै ‘रिअल्टर’हरू आफ्ना भिडियोमा घरजग्गाको मूल्यलाई ‘प्राइज’
नै भनिरहेका हुन्छन् । उनीहरूलाई लाग्दो हो –‘प्राइस त सबैले भन्छन् । प्राइज
भन्दा पो अलि गजब र ‘प्रिमियम’ सुनिन्छ’ !
टिकटकमा जुत्ताको प्रचार गर्ने जुत्ता पसले भन्छ –‘हेर्नुस्
यस्तो दामी जुत्ता अब एकदम कम प्राइजमा’ । अनि कमेन्टमा ग्राहक सोध्छन् –‘प्राइज
चाहिँ कति’?
अङ्ग्रेजीका ‘ब्लु’ र ‘ट्रु’मा आउने इ (e)ले हामी नेपालीलाई सधैं
कन्फ्युज गराएको छ । त्यसैले, हामीलाई ब्लुलाई ब्लिउ र ट्रुलाई ट्रिउ भन्नुपर्छ । तर, अक्षर यताउता परेर नेपाली
जिब्रो झुक्याउने यी शब्दमात्र होइनन् । एकजना टिकटकर पर्ल (मोती)को व्यापार
गर्नुहुन्छ । ‘मोती’भन्दा सामान्य सुनिने भएर होला उहाँ प्रायजस्तो आफ्नो सामानलाई
‘प्रल’ भन्नुहुन्छ । ‘प’ पछि ‘र’ आउने शब्दमा बानी परेको हाम्रो जिब्रो, र पछि ल आउँदा त फसाद
परिहाल्छ !
निर्माण व्यवासायमा संलग्न नेपालीलाई सधैं झुक्याउने शब्द
हो ‘साइट’ । उनीहरूले गर्नु पर्ने हो ‘साइट भिजिट’ -तर सधैं सुनिरहेको ‘साइड’
शब्दले यति कन्फ्युज गराइदिन्छ कि उनीहरू साइट भिजिट नगरेर सधैँ साइड भिजिट
गरिरहेका हुन्छन् ।
हामी नेपालीलाई अङ्ग्रेजीको एलिट (elite) भन्ने शब्द असाध्यै मन
पर्छ । सोसल मिडिया र अनौपचारिक कुराकानीहरूमा यो शब्द प्रशस्त सुनिन्छ । तर, हामीलाई लाग्छ पोलाइट
शब्दको lite उच्चारण गर्दा लाइट हुन्छ भने elite मा रहेको lite पनि ‘लाइट’ नै हुनुपर्छ । त्यसैले,
सामान्य वर्गमा पर्ने एलिटलाई हामी ‘इलाइट’ भनेर वर्ग
परिवर्तन गरिदिन्छौँ र संभ्रान्त बनाउँछौँ ।
ट्रेकिङ् वा हाइकिङ् जाँदा ‘ट्रायल’मा हिन्न आवश्यक छैन ।
ट्रायल भनेको जाँच वा परीक्षा हो । तर,
हामी नेपाली भाषाका कारण सधैँ हाइकिङ् जाँदा परीक्षा
दिइरहेका हुन्छौँ । किनकि हामीलाई ‘ट्रेल’ (trail) र (trial) यी दुई शब्दले सधैं झुक्यादिन्छन् । नझुक्याउन् पनि किन हेर्नुहोस् त तिनमा i र a यसरी यताउता भएका छन् कि
कुन शब्दको अर्थ के हो भनेर याद गर्न नै गार्हो छ । त्यसैले, सामान्य बाटो नै हाम्रा
लागि परीक्षा बनिदिन्छ ।
शेयर बजारमा प्रयोग हुने शब्दमध्ये एउटा शब्दले हामी
नेपालीलाई कायल बनाएको छ । त्यो शब्द हो –‘स्क्रिप’ (scrip) । हामीले सधैं सुनिरहने
स्क्रिप्टसँग मिल्दोजुल्दो यो शब्द निर्माण यदि कुनै मानिसले गरेको भए त्यो मानिस
पक्का पनि अल्छी हुनुपर्छ । त्यो मानिसले भइरहेको शब्दबाट एउटा अक्षर निकालेर
बिलकुल अर्को अर्थ लाग्ने शब्द बनाइदियो र हामी नेपालीलाई कन्फ्युज गराइदियो । त्यसैले, शेरबजारमा लगानी गर्ने वा
त्यसको विश्लेषण गर्ने मानिसहरू सबै स्क्रिपलाई स्क्रिप्ट भन्न बाध्य छन् ।
मलाई लाग्छ ‘जोक्स’ र ‘लुक्स’लाई नेपाली एकवचन शब्दका रूपमा
विश्व शब्दकोषमा दर्ता गर्नुपर्छ । हामी नेपाली एउटा जोक भने पनि जोक्स नै
भनिरहेका हुन्छौँ । एउटै कुरा वा एकपटकको हेराइ पनि हाम्रा लागि लुक्स नै हो ।
मैले जोक्स र लुक्सको रमाइलोको कुरा यसअघिको एउटा ब्लगमा गरेको छु । यी दुई शब्द
हाम्रा लागि किन बहुवचन प्रिय भए त्यो मैले बुझ्न सकेको छैन । सम्भवतः किन भने जोक
र लुक शब्द अलि कमजोर सुनिन्छन् -राम्ररी खान नपाजस्तो । अन्तमा ‘s‘को ‘टच’ दिएपछि अलि
‘प्रिमियम’ सुनिन्छन् ।
अन्तमा, हामी नेपालीलाई कायल बनाउने अर्को शब्द हो breakfast । fast शब्द एक्लै आउँदा सधैँ फास्ट (ब्रत) वा फ्यास्ट (छिटो) हुन्छ । अनि खानेकुराको नाममा अगाडि ब्रेकसँग जोडिएर आउँदा कसरी त्यसैलाई ‘फस्ट’ भन्नु । त्यसैले, हामी ब्रेकफस्ट खाँदैनौँ -ब्रेकफास्ट खान्छौँ । किनकि हामी वीर र इमानदार नेपाली जे गर्छौँ त्यही भन्छौँ । हामी विहानको खाना खाएर फास्टलाई ब्रेक गर्छौँ -त्यसैले हामी ब्रेकफास्ट खान्छौँ !
No comments:
Post a Comment