म पहिले भाषामा शुद्धता महत्त्वपूर्ण हुन्छ भन्ठान्थेँ । आफूले बोल्ने भाषा शुद्धसँग लेख्नु र बोल्नुपर्छ भन्ने विचार थियो । तर, पछि यो विचारमा केही परिवर्तन आयो । किन भने चाहेर पनि सबैले आफ्नो भाषा, चाहे त्यो मातृभाषा नै किन नहोस्, शुद्ध तरिकाले बोल्न, लेख्न सक्दैनन् । भाषाको शुद्धतावादी मापदण्डले विभिन्न तरिका र लवजमा भाषाको प्रयोग गर्नेहरूमाथि अन्याय गरेको हुन्छ ।
अंग्रेजी शुद्ध लेख्न र बोल्नमा जोड दिने मानसिकतालाई
उपनिवेषवादी मानसिकता भनेर आलोचना पनि गर्ने गरिन्छ । हुन पनि शशी थरुरको
अङ्ग्रेजी भाषामाथिको अत्यधिक गर्व मलाई पनि आजभोलि ढोंगी र कृतिम लाग्छ ।
भाषा विचारको लुगा हो । त्यसैले, जोड दिनुपर्ने कुरा विचार
हो । भाषा राम्रो छ भनेर गमक्क पर्नुको खासै अर्थ छैन ।
मैले हाम्रो नेपाङ्ग्रेजीलाई लिएर ठट्टा गर्ने मूलतः
रमाइलोका लागि नै हो ।
हामी अङ्ग्रेजी शब्दलाई आफ्नो जिब्रोको स्वादअनुसार ठोकठाक
पारेर टक्क मिलाउन माहिर छौं । किलिन्डर,
टडक, लप्टन, सुइटर, हरन, क्यामरा, रेस्टुराँ, सिताफल (sweet apple), पल्टन आदि नेपाली शब्द भइसकेका
छन् ।
तर केही शब्द नेपालीकरणको प्रारम्भिक अवस्थामा छन् । आजको बसिबियाँलोमा हाम्रो
हुर्मत् लिने यस्तै केही अंग्रेजी शब्दावली, जसलाई हामी आफ्नो जिब्रोको ताल,
सुरमा ढाल्दैछौं, तिनका कुरा गर्नेछु ।
एउटा अलि कम प्रयोग हुने तर नेपालीहरूको प्रिय शब्द हो violence । हामी यो शब्दमा i कता छ र o कता छ भन्ने कुराको हेक्का
पाउँदैनौँ । अङ्ग्रेजिको voice मा
बानी परेर हुनसक्छ हामी violence लाई
'भोइलेन्स' भन्छौँ, र निर्दोष 'भाअलेन्स'माथि हिंसा गर्न पुग्छौँ ।
यो त भयो कम चलनचल्तिको शब्द । असाध्यै चलेका तर हामीले
प्राय नेपालीकरण गरिदिएका शब्द कति छन् कति !
‘प्राइस’
-नेपालीमा मूल्य । आजभोलि टिकटक वा इन्स्टाग्राममा आफ्नो वा अरूको सामानको प्रचार
गरेर व्यापार-व्यवसाय गर्नेहरू प्रशस्त छन् । तर, उनीहरूलाई आफ्नो पेशासँग सम्बन्धित सम्भवतः सबैभन्दा
महत्त्वपूर्ण शब्दले सधैं झुक्याइरहेको हुन्छ । प्राय सबैले सामानको मूल्यलाई 'प्राइस' नभनेर ‘प्राइज’ (पुरस्कार) भनिरहेका हुन्छन् । यसको एउटा
उदाहरण हो आजभोलि निकै चर्चित र सोसल मिडियामा प्रशस्त प्रचारप्रसार गर्ने घरजग्गा
व्यवासाय ‘लालपुर्जा डट कम’ । यो कम्पनीका सिइओदेखि सबै ‘रिअल्टर’हरू आफ्ना
भिडियोमा घरजग्गाको मूल्यलाई ‘प्राइज’ नै भनिरहेका छन् । उनीहरूलाई लाग्दो हो
–‘प्राइस त सबैले भन्छन् । प्राइज भन्दा पो अलि गजब र ‘प्रिमियम’ सुनिन्छ’ !
प्राइज भन्ने र प्राइसका कुरा गर्ने चलन लालपुर्जा डट कममा
मात्र सीमत छैन । टिकटकमा (नक्कली) जुत्ताको प्रचार गर्ने जुत्ता पसले भन्छ
–‘हेर्नुस् यस्तो दामी जुत्ता अब एकदम कम प्राइजमा’ । अनि कमेन्टमा ग्राहक सोध्छन्
–‘प्राइज चाहिँ कति हो नि’?
अङ्ग्रेजीका ‘ब्लु’ र ‘ट्रु’मा आउने इ (e)ले हामी नेपालीलाई सधैं
कन्फ्युज गराएको छ । त्यसैले, हामी ब्लुलाई अप्ठेरो तरिकाले 'ब्लिउ' र
ट्रुलाई 'ट्रिउ' भनिरहेका छौँ र जिब्रोलाई
अनावश्यक दुःख दिइरहेका छौँ । तर, अक्षर यताउता परेर नेपाली जिब्रो झुक्याउने शब्द निकै छन् । एकजना टिकटकर पर्ल (perl)को व्यापार गर्नुहुन्छ ।
आफ्नो सामानको प्रचार गर्दा उहाँ मोतीलाई ‘प्रल’ भन्नुहुन्छ । ‘प’ पछि ‘र’ आउने शब्दमा बानी परेको हाम्रो
जिब्रो, र
पछि ल आउँदा त फसाद परिहाल्छ !
निर्माण व्यवासायमा संलग्न नेपालीलाई झुक्याउने शब्द हो
‘साइट’ । उनीहरूले गर्नु पर्ने हो ‘साइट भिजिट’ -तर सधैं सुनिरहेको ‘साइड’ शब्दले
यति कन्फ्युज गराएको छ कि उनीहरू साइट भिजिट नगरेर 'साइड भिजिट'
गर्न दौडिरहेका छन् ।
elite नेपालीलाई
दुःख दिने अङ्ग्रेजीको अर्को शब्द हो । हामीलाई यो शब्द
असाध्यै मन पर्छ । सोसल मिडिया र अनौपचारिक कुराकानीहरूमा यो शब्द प्रशस्त सुनिन्छ
। तर, हामीलाई
लाग्छ पोलाइट शब्दको lite उच्चारण गर्दा लाइट हुन्छ भने elite मा रहेको lite पनि ‘लाइट’ नै हुनुपर्छ । त्यसैले, सामान्य वर्गमा पर्ने 'एलिट'लाई हामी ‘इलाइट’ वा 'एलाइट' भनिदिएर वर्ग परिवर्तन गर्दै र संभ्रान्त बनाउँदैछौँ ।
हुँदाहुँदा media लाई
m पछि
e देखेर
'मेडिया' र त्यही 'मेडिया'को लहैलहैमा video
लाई 'भेडियो' भन्ने
साहस पनि संसारमा हामी नेपालीहरूसँग मात्र छ ।
ट्रेकिङ् वा हाइकिङ् जाँदा ‘ट्रायल’मा हिड्न आवश्यक छैन ।
ट्रायल भनेको त जाँच वा परीक्षा हो । तर, हामी नेपाली भाषाका कारण सधैँ हाइकिङ् जाँदा परीक्षा दिइरहेका हुन्छौँ । किनकि
हामीलाई ‘ट्रेल’ (trail) र
ट्रायल (trial) यी दुई शब्दले सधैं झुक्यादिन्छन् । नझुक्याउन् पनि किन ? हेर्नुहोस् त तिनमा i र a यसरी यताउता भएका छन् कि
कुन शब्दको अर्थ के हो भनेर याद गर्न नै गार्हो छ । त्यसैले, सामान्य बाटो (trail) नै हाम्रा लागि
परीक्षा (trial) बनिदिन्छ ।
"फल्ना ठाउँमा हाइकिङ् जान्छौ भने फल्ना ट्रायलबाट
नजाऊ, चिल्ना
ट्रायलबाट जाऊ", भनेको
तपाईंले पनि सुन्नुभएको होला ।
शेयर बजारमा प्रयोग हुने शब्दमध्ये एउटा शब्दले शेयर
कारोबारी नेपाली भाषीलाई कायल बनाएको छ । त्यो शब्द हो –‘स्क्रिप’ (scrip) । हामीले सधैं सुनिरहने 'स्क्रिप्ट'सँग मिल्दोजुल्दो यो शब्द निर्माण यदि
कुनै मानिसले गरेको भए त्यो मानिस पक्का पनि अल्छी हुनुपर्छ । त्यसले भइरहेको शब्द
(script) बाट एउटा t निकालेर बिलकुल फरक अर्थ बोकेको शब्द scrip बनाइदियो र हामी नेपालीलाई कन्फ्युज गराइदियो । त्यसैले, शेरबजारमा लगानी गर्ने वा
त्यसको विश्लेषण गर्ने मानिसहरू प्राय सबै 'स्क्रिप' भन्नुपर्दा
जिब्रोलाई अलि पर पुर्याएर 'ट'मा
मात्र रोकिन्छन् र 'स्क्रिप्ट' भनिरहन बाध्य छन् ।
मलाई लाग्छ ‘जोक्स’ र ‘लुक्स’लाई नेपाली एकवचन शब्दका रूपमा
विश्व शब्दकोषमा दर्ता गर्नुपर्छ । हामी नेपाली एउटा जोक भने पनि जोक्स नै
भनिरहेका हुन्छौँ । एउटै कुरा वा एकपटकको हेराइ पनि हाम्रा लागि लुक्स नै हो ।
मैले जोक्स र लुक्सको रमाइलोको कुरा १२
वर्षअघिको यो ब्लगमा गरेको रहेछु । यी दुई शब्द हाम्रा लागि किन बहुवचन प्रिय
भए त्यो मैले बुझ्न सकेको छैन । सम्भवतः किन भने जोक र लुक शब्द अलि कमजोर
सुनिन्छन् -राम्ररी खान नपाएजस्तो । अन्तमा ‘s‘को ‘टच’ दिएपछि अलि ‘प्रिमियम’ सुनिन्छन् ।
हामी नेपालीलाई कायल बनाउने अर्को शब्द हो breakfast । fast शब्द एक्लै आउँदा
सधैँ फास्ट (ब्रत) वा फ्यास्ट (छिटो) हुन्छ । अनि खानेकुराको नाममा अगाडि ब्रेकसँग
जोडिएर आउँदा कसरी त्यसैलाई ‘फस्ट’ भन्नु । त्यसैले, हामी ब्रेकफस्ट खाँदैनौँ -ब्रेकफा~~~~स्ट खान्छौँ । किनकि हामी
वीर र इमानदार नेपाली जे गर्छौँ त्यही भन्छौँ । अर्थात्, हामी विहानको खाना खाएर फास्टलाई ब्रेक गर्छौँ -त्यसैले हामी गर्वका साथ 'ब्रेकफास्ट' खान्छौँ !
यो ब्लग ताजै हुँदा फेरी अर्को रमाइलो शब्द फेला पर्यो !
गएको साता अमेरिका र क्यानडामा ठूलो हिउँबतास (snowstorm) चल्यो र त्यहाँ बस्ने नेपाली भाषीहरूको
सातो लियो । नेपाली भाषीहरूले खुब जोसजाँगरका साथ 'इस्नो स्ट्रोम'ले पारेको प्रभावको विवरण टिकटक, इन्स्टाग्राममा पोस्ट गरे ।
शब्दको सुरुमा आउने आधा s ले पनि हामी नेपालीलाई नै हैरान बनाएको छ । हामी आधा 'स'का अगाडि 'इ' लगाउन त बानी परेका छौँ ।
जस्तै, इस्कुल, इस्मार्ट, इस्नेक, इस्माइल, इस्ट्रोङ्, इस्टाइल, इस्नो । त्यसैगरि, r पछि o भएका शब्द (जस्तै, ब्रदर, प्रोफेसर, आदि) सजिलो लाग्ने हामीलाई ro का ठाउँमा or आएर त्यसपछि कोन्सोनन्ट (m) आएपछि हैरान भइहाल्छ ।
त्यसैले, अरूलाई
'स्टोर्म' ले सताउँदा नेपालीलाई 'स्ट्रोम'ले सताउँछ । यसपटकको हिउँदमा अमेरिका, क्यानडा बस्ने नेपाली
भाषीहरूलाई हिउँले मात्र दु:ख दिएन,
भाषाले समेत दुःख दियो ।
सबै त होइन,
तर ठूलो सङ्ख्यामा नेपालीहरूले गलत तरिकाले बोल्ने
शब्दहरूको माथिको बेलिबिस्तारपछि बिट मार्ने क्रममा केही कुरा भन्न चाहन्छु । हामी
कुनै काम गर्दा राम्रोसँग गर्न चाहन्छौँ । आफ्नो ओछ्यान बनाउने होस् वा स्वेटर
बुन्ने होस् । सम्भवतः काम राम्रोसँग गर्न चाहने मानिसको स्वभाव हो । यदि यसो हो
भने हामीले प्रयोग गर्ने शब्दहरू, चाहे ती अङ्ग्रेजी हुन् वा नेपाली वा थारु,
सही तरिकाले लेखेको वा बोलेको छु, छैन भनेर आफैंलाई सोध्नु र
सकेसम्म सच्याउन प्रयास गर्नु अपराध होइन -अनुशासन हो । अङ्ग्रेजी शब्द प्रयोग
गर्ने तर शब्दको सही अर्थ र उच्चारणमा ध्यान नदिने हो भने कहिलेकाहिँ आफूले भनेको
कुरा सुन्ने मानिसले नबुझ्न सक्छ।
तर, हामी
गोर्खे जे कुरा पनि 'चलिहाल्छ
नि', 'भइहाल्छ
नि', 'हामी
नेपाली त हो', 'बुझे
त भइहाल्छ नि' भन्ने
सोचमा गर्व गर्छौँ । भाषालाई
तोडमोड गरेर आफ्नो जिब्रोको आकारमा ढाल्छौँ । यसो गर्न नपाए अरूलाई शुद्धतावादी
भनेर गाली गर्छौँ ।
भाषा र यसको प्रयोग अवश्य गतिशील हुन्छ र हुनुपर्छ । शब्दका
उच्चारण नफेरिने होइनन् । मेरो
विचारमा शुद्धता मापदण्ड हुनुहुँदैन । तर भाषामा परिवर्तन आउने अल्छे भएर अरूले
नबुझ्ने गरी बङ्ग्याएर होइन । शुद्ध लेख्न र बोल्न भने प्रयास चाहिँ गर्नैपर्छ ।
कसैले भक्तपुरलाई "भातपुर' र पाटनलाई 'पतन' भन्छ भने त्यो भाषा परिवर्तन भएको होइन, अशुद्ध प्रयोग हो । यसलाई सच्याउन आवश्यक छ ।
No comments:
Post a Comment