Friday, November 30, 2012

तर्क, प्रमाण, विज्ञान र उत्तरआधुनिकतावाद

म अङ्ग्रेजी साहित्यको विध्यार्थी थिएँ कुनै बेला । जीवनको प्रमुख लक्ष नै 'अङ्ग्रेजी शिक्षक बन्ने' थियो । सुनसरी र धनकुटाका सरकारी कलेजहरूमा 'मेजर इङ्लिस' भनिने अङ्ग्रेजी साहित्य पढिन्थ्यो । पढिन्थ्यो के भन्नु घोकिन्थ्यो । उपन्यास, कथा र कविताका लगभग दुईतिहाइ कुरा बुझिंदैनथे । शिक्षक वा प्राध्यापकले पनि कुरोको चुरो ओकल्न नसक्ने । तैपनि परिक्षामा 'पास' भइयो । एमए पढ्न ५२ सालतिर काठमाडौं आउँदा अङ्ग्रेजी विषय नै पढ्ने लक्ष थियो । पढाइ सकेर सुनसरीतिरै माध्यमिक विध्यालयमा शिक्षक हुने सपना काखि च्यापेर अङ्गरेजी विभाग किर्तिपुरमा भर्ना लिइयो ।

तर पढाइ सुरु हुँदानहुँदै मेरो अङ्ग्रेजी साहित्यसँग मन मरिसकेको थियो । कारण थिए मेरा एक नजिकका आफन्त जसले समाजशास्त्र-मानवशास्त्रमा एमए पास गरेर काठमाडौंमा एउटा गतिलै जागिर पाएका थिए । घरतिर उनको चर्चा हुन्थ्यो -एनजिओमा काम गर्छ ; महिनावारी ३० हजारभन्दा बढी कमाउँछ ; छोराछोरी काठमाडौँको 'बोर्डिङ्' पढाउँछ ; आदि । एकदिन उनलाई भेट्न गएँ र उनले पनि अङ्ग्रेजी भन्दा 'सोसोलोजी' कै 'स्कोप' भएको सल्लाह दिए । उनीसँगको भेटपछि अङ्ग्रेजीको मास्टर हुन मन भएन ।  अघिल्लो दिनसम्म रसिला लाग्ने विषय अर्कोदिन अचानक रिसउठ्ता लाग्न थाले । "१९औं र २०औं शताब्दिका अङ्ग्रेजी उपन्यास, कथा र नाटक पढेर के काम ?" भन्ने विचार आयो । त्यहि 'डेजी मिलर', उही 'फार फ्रम द म्याडिङ्ग क्राउड' उनै किट्स, उनै शेली, उही शेक्सपियर । भो मलाई पुग्यो । अब 'सोसोलोजी, एन्थ्रोपोलोजी' पढेर एनजिओमा जागिर खाइन्छ भन्ने विचारले मन रमाउन थाल्यो। समाजशास्त्रको नयाँ भर्नाका लागि एकवर्ष कुर्ने निर्णय भयो । अर्को वर्ष किर्तिपुरको ओल्लो भवनबाट पल्लो भवनमा बसाइ सरियो ।

जसैजसै समाजशास्त्र-मानवशास्त्र विभागमा भर्ना भइयो मनमनमा आफूलाई अरूभन्दा फरक र विशिष्ट सोच्ने क्रम पनि सुरु भयो । समाजशास्त्र र मानवशास्त्र 'विज्ञान' हुन् भनेर परिभाषा पढिन्थ्यो र मनमनै दङ्ग परिन्थ्यो । मैले पढेका विषय 'गफ' हैनन् । अझ साहित्यजस्ता 'अर्थहीन गन्थन्' हैनन् । बरु विशुद्ध 'विज्ञान' हुन् । समाज विज्ञान । मेरो अध्ययन समाज र संस्कृतिलाई वैज्ञानिक पद्धतिले बुझ्नलाई हो ता कि यसलाई उन्नत बनाउन मैले विशिष्ट योगदान गर्न सकौं । समाज विज्ञानले अरूलेजस्तो गफका आधारमा नभइ थ्यौरी र अनुसन्धान विधिको प्रयोगले समाज र संस्कृतिको विश्लेषण गर्छ । यस्तो विषय पढ्ने म पनि भविष्यको वैज्ञानिक नै हुँ ।

यस्तो सोचाइ ममामात्र थिएन । समाजशास्त्र र मानवशास्त्र केन्द्रीय विभाग किर्तिपुरका प्राय सबै प्राध्यापक र विध्यार्थीहरू 'समाजशास्त्र र मानवशास्त्र वैज्ञानिक विषय (Scientific Disciplines) हुन्' भन्ठान्थे । कसैले यिनको वैज्ञानिकतामाथि प्रश्न गरेमा यसको कडा प्रतिवाद गरिन्थ्यो । यतिमात्र हैन, अरू सबै समाजविज्ञानभन्दा समाजशास्त्र र मानवशास्त्र उन्नत र विकसित विज्ञान हुन् भन्ने सोचिन्थ्यो । यही आत्मरतिले पाठ्यक्रममा भएका थ्यौरी र अनुसन्धान पद्धति मन लगाएर पढ्न हामीलाई हौसला पनि दिइरहेको हुन्थ्यो ।

सन् २००० मा मैले किर्तिपुरमा आफ्नो अध्ययन पूरा गरें । त्यसपछि सन् २००२ देखि २००४ सम्म नर्वेको बर्गेन विश्वविध्यालयमा भर्ना भएर मानवशास्त्रको थप २ वर्षे अध्ययन पनि पूरा गरियो । नर्वेको पढाइ सकेर नेपाल फर्केपछि आफैंले पढेको त्रिवी केन्द्रीय विभागमा मानवशास्त्रका थ्यौरी पढाउन थालियो -मुख्य गरि मार्क्सवाद र उत्तरआधुनिकतावाद । तर, यसबेलासम्म समाजशास्त्र र मानवशास्त्रलाई हेर्ने मेरो दृष्टिकोण पूर्णरूपमा परिवर्तन भइसकेको थियो । म आफूलाई 'वैज्ञानिक' हैन 'गफाडी' ठान्न थालिसकेको थिएँ । समाजशास्त्र र मानवशास्त्रलाई साहित्यको कोटिमा राख्नुपर्छ भन्ने तर्क गर्नथालेको थिएँ । कारण थियो उत्तरआधुनिकतावादी चिन्तनमाथि मेरो केही अध्ययन ।

त्रिवीमा मेरो पहिलो लेक्चरमा मैले विध्यार्थीलाई यसो भनें -मलाई थाहा छ तपाईंहरू समाजशास्त्र र मानवशास्त्रलाई वैज्ञानिक तथा प्राविधिक विषय ठान्नुहुन्छ । समाजशास्त्री र मानवशास्त्री बनेर भविष्यमा आफ्नो समाज र राष्ट्रलाई उन्नत बनाउने उपाय पत्ता लगाउने उद्देश्य पनि राख्नुभएको होला । म पनि यस्तै रहरले आजभन्दा ७ वर्षअघि यही विभागमा भर्ना भएको हुँ । तर, समाजशास्त्र र मानवशास्त्रलाई वैज्ञानिक विधाका रूपमा परिभाषित गर्नु र समाजशास्त्री र मानवशास्त्रीलाई वैज्ञानिकको दर्जा दिनु बिल्कुल गलत हो । एकप्रकारको अत्याचार पनि हो । मानिसको सामाजिक व्यवहार र संस्कृतिको वैज्ञानिक अध्ययन संभव छैन । समाजशास्त्र र मानवशास्त्रको इज्जत झुठो दावीले बढ्ने हैन बरु हामीले आफ्नो अध्ययनको सीमितता बुझ्न आवश्यक छ ।

प्रतिक्रिया मिश्रित थियो । कसैलाई मैले उठान गरेको विषय रोचक लाग्यो ; कतिले मेरो नियतमाथि शंका गरे । तर सबैले आफ्नो गहीरो विश्वासको आधार हल्लिएको महशुस भनें गरे । मेरो उद्देश्य पनि यही थियो । मैले उनीहरूलाई आश्वस्त पार्दै भनें -म मानवशास्त्रको विध्यार्थी भएकोमा गर्व गर्छु तर यसका लागि मानवशास्त्रलाई विज्ञान भनिरहनु पर्दैन । मैले लगभग ५ वर्षजति त्रिवीलगायत त्रीचन्द्र कलेज, सगरमाथा कलेज र क्याम्पियन कलेजमा एमए कार्यक्रममा पढाउँदा सबैतिर यही सन्देश प्रवाह गरें । मेरो भागमा परेको पाठ्यक्रम पनि उत्तरआधुनिकतावाद नै थियो जसले गर्दा मलाई विज्ञान र वैज्ञानिकताको सीमितता र मिथ्याप्रति आफ्ना विध्यार्थीलाई सजग गराउन सजिलो भयो ।

समाज र संस्कृतिको अध्ययन वैज्ञानिक हुनसक्दैन भन्ने मान्यता विश्वका धेरै मुलुकमा र नेपालमै पनि क्रमश स्थापित हुँदै गइरहेको छ । मानिस समाजबाट सिकेको संस्कृति र मान्यताबाट मात्र निर्देशित हुँदैन बरु हरेक मानिसले आफ्नो उन्नत दिमाग र भाषाको प्रयोगले जीवन र जगतलाई आफ्नै मौलिक तरिकाबाट बुझ्छ र व्याख्या गर्छ । यो व्याख्या व्यक्तिपिच्छे फरक हुनसक्छ । मानवीय व्यवहार अन्य जनावरजस्तो 'इन्सटिङ्क्ट'बाट नभइ 'मौलिक बुझाइ'बाट निर्देशित हुनेहुनाले मानवीय व्यवहारको समष्टिगत अध्ययन र व्याख्या संभव छैन । उदाहरणका लागि बाँदरले आफ्नो भोक कसरी अभिव्यक्त गर्छ भन्ने कुराको वैज्ञानिक अध्ययन हुनसक्छ तर यही कुरा मानिसका सन्दर्भमा संभव छैन । कसैले अध्ययन गरेर कुनै व्याख्या प्रस्तुत गर्छ भने यो उसको बुझाइ मात्र हो । यसको सीमितता हामी सबैले बुझ्न आवश्यक छ ।

अधिकांश मानिसहरू 'विज्ञान'लाई नि:सर्त सम्मान र समर्थन गर्छन् । विज्ञानप्रतिको श्रध्दा यति बलियो र सर्वव्यापी छ कि सबै नयाँ आविष्कार, सुधार, प्रगति वा परिवर्तनलाई हामी विज्ञानको देन भन्ठान्छौं । विचार पनि राम्रो हुन वैज्ञानिक हुनुपर्छ (जस्तै, मार्क्सवाद) । जीवन र जगतप्रतिको दृष्टिकोण 'गफ' मात्र भएर पुग्दैन -यसमा तथ्य र प्रमाण हुनुपर्छ । हामी ठान्छौं परम्परागत विश्वास गलत हुन् किनकि तिनमा वैज्ञानिकता छैन अनि विज्ञानले 'सपोर्ट' नगरेका कुरा रूढीवादी हुन् र तिनमा विश्वास गर्नुहुन्न । विज्ञानप्रतिको यस्तै गहिरो आस्थाका कारण मानिसहरू विज्ञानको ऐतिहासिकता र सीमितता बुझ्ने प्रयास गर्दैनन् ।

विज्ञान युरोपेली इतिहासको निश्चित कालखण्डको उपज हो । त्यसैले यसको निश्चित ऐतिहासिकता र अर्थ-राजनीतिक सन्दर्भ पनि छ । यस विषयमा यहाँ बढी चर्चा गर्न चाहान्न । तर, तलका केही प्रश्नहरूमार्फत विज्ञानको सीमितताको चर्चा गर्न चाहान्छु ।

१. विज्ञान र यसले दिएका उपलब्धिले मानव जीवन र विश्वलाई के साँच्चीकै सहज, सुखी वा शान्त बनाएको छ ? संसारमा फैलिरहेको द्वन्द्व, आतङ्कवाद, आधुनिक तथा जैविक हातहतियारको प्रतिश्पर्धा, वातावरणीय विनास, चरम आर्थिक असमानता, साधन-स्रोतमाथिको असमान पहुँच र मानिसहरूको बढ्दो निराशाले के संकेत गर्छन् ? के विज्ञानले दिएका उपलब्धि नै दोश्रो विश्वयुद्ध, वातावरणीय विनास, आतङ्कवादको विश्वव्यापीकरण आदिका आधार हैनन् ?

२. विज्ञान र वैज्ञानिक पद्दतिको मापन वा पुष्टि कसरि र कसले गर्ने ? उदाहरणका लागि हाम्रो गाउँघरका बुढापाकाले जीवन र जगतका विषयमा हासिल गरेका बुझाइ र अनुभवको मूल्य के हुने ? उनीहरूको ज्ञान र अस्तित्वको हैसियत के ? तिर्खाको विकल्प कोकमात्र नभएजस्तै ज्ञानको सही स्रोत विज्ञानमात्र होला र ?

३. के सामाजिक उन्नति वा प्रगतिको माध्यम विज्ञानमात्र हो ? युरोपमा पनि उन्नाइसौं शताब्दिअघि महत्त्वपूर्ण आविष्कारहरू भएका छन् । अन्यत्र पनि मानिसले आफ्नो जीवनलाई सहज र रोचक बनाउन आफ्नै विधिले विभिन्न आविष्कार गरेका छन् । यस्ता विधि र आविष्कारको मूल्य वा सान्दर्भिकता के हुने ?

४. तथ्य र प्रमाण, जसलाई विज्ञानले हरेक तर्कको आधार मान्छ, आफैंमा बहुल हुन्छन् भने कुनै एक 'वैज्ञानिक' विश्लेषणलाई कसरि सही वा निर्विकल्प मान्न सकिन्छ ?

हामी विज्ञानको आतङ्कबाट त्रसित समाजमा बाँचिरहेका छौं । कहिलै स्कूलको मुख नदेखेका कारण ७५ वर्षे बुढाबाभन्दा ५ कक्षा पढ्ने उनका नातिको समाजमा बढी इज्जत छ । हाम्रा मौलिक बुझाइ, मान्यता, परम्परा र दृष्टिकोण वैज्ञानिकताको कसीमा नापिन्छन् र तथ्य र प्रमाणका अभावमा रूढिवादी र निकम्मा घोषित हुन्छन् । थ्यौरी र अनुषन्धान पद्दतिको जामा भिरेको विज्ञानले हाम्रा बहुल बुझाइ र सोचाइलाई उत्पत्ति नहुँदै मार्ने कसम खाएको छ । यो त्रासबाट मुक्त हुनका लागि हामीले अरूको विचारको मूल्याङ्कन गर्दा उक्त विचार कुनकुन तथ्य र प्रमाणले सुसज्जित छ भनेर हैन, कत्तिको रोचक छ भनेर हेर्न जरुरी छ । तथ्य र प्रमाण त जेका लागि पनि जुटाउन सकिन्छ । जीवन र जगतको हरेक बुझाइ एकप्रकारको व्याख्या हो र कुनै पनि व्याख्या अन्तिम हुन सक्दैन ।