Monday, July 28, 2014

किन बिर्सने जातपातका कुरा ?

पशुपति शर्मा र देविका केसीको तीज गीतका विषयमा बहस चर्केको रहेछ । यो बहसमा विभिन्न पक्ष-विपक्षका तर्कमा खासै नयाँपन देख्न सकिनँ । मेरा तर्क पनि पूरानै हुन् । तिनलाई यो सन्दर्भमा दोहोर्‍याउन उपयुक्त ठानेर यो ब्लग लेख्दैछु ।

सर्वप्रथम, शर्मा र केसीको गीत र यसले दलितको मनोभावनामा पुर्‍याउने असरका विषयमा सेतोपाटीमा प्रकाशित भोजराज विश्वकर्माको लेख नै पर्याप्त छ । यस विषयमा मेरो थप भन्नु केही छैन । खोक्रो राष्ट्रियता र कोरा जातिवादले धमिल्याएको जातीय प्रश्नका सेरोफेरोमा म आफ्ना विचारलाई सीमित पार्नेछु ।

नेपालमा विशेष गरि उच्चजातका शहरीयाहरू माझ जातपातका कुराप्रति विशेष वितृष्णा छ जसलाई शर्मा र केसीको गीतले राम्रैसँग उजागर गरेको छ । यो सोचको बढ्दो प्रभावस्वरूप जातपातका कुरा नगरौँ, हामी सबै नेपाली हौँ, जातपात कलहको बिउ हो आदि तर्क सोसल मिडियादेखि सामान्य कुराकानीमा मात्र होइन गीतसंगीतमा पनि प्रशस्त ठाउँ पाउन थालेका छन् । यस सन्दर्भमा केही समयअघि निस्केको हरिवंश आचार्यको 'खोक्रो सारङ्गी' भन्ने गीत पनि उदाहरण हुनसक्छ ।

यो भावना इमानदार होला, तर सतही र घातक छ । यसले न त विगतमा विभेद भोगेका र हालसम्म पनि भोगिरहेका समूहलाई सम्मान गर्छ न त सकारात्मक परिवर्तनका लागि आधार तयार पार्न सघाउँछ । जातपातविरोधी सतही राष्ट्रवादी सोचभित्र उच्चजातका मानिसको दम्भ र उनिहरूले मन पराउने खोक्रो आदर्श लुकेको छ । 

हामीले बुझ्नुपर्ने र स्वीकार गर्नुपर्ने कुरा के हो भने नेपालको जातीय संरचना र यसको राज्यसंयन्त्रसँगको सम्बन्धका कारण हिन्दू जात समूहमा तल्लो जातमा पारिएका र अल्पसङ्ख्यक जनजाति समूहले विभेद र असमानता भोगेका छन् । यो विभेदका सामाजिक-सांस्कृतिक, आर्थिक र मनोवैज्ञानिक आयामहरू छन् । जुन समूहले विभेदको सामना गर्नुपरेको छ त्यसले मात्र स्पष्ट रूपमा यी आयामहरूको अनुभुति गर्न सक्छ । नेपालमा कुल जनसङ्ख्याको झन्डै १३ प्रतिशत दलित र ५० भन्दा बढी सीमान्तीकृत जनजाति समूहले विगतको राज्यले प्रश्रय दिएको संरचनात्मक विभेद भोगेका छन् जसको अन्त्य हालसम्म भइसकेको छैन । 

डोकाले छोपेर, मनबाट निकालेर, बिर्सेर, बेवास्ता गरेर -यो विभेद हराएर जाँदैन । "हामी सबै नेपाली हौँ, जातपातको कुरा बिर्सौं" भन्ने भावना विभेदको सही उपचार होइन । भोका र अघाएका; खुट्टा भएका र नभएका; होचा र अग्ला समान गतिमा कुद्न/उफ्रन सक्दैनन् । 

देशप्रतिको माया आकाशबाट बर्सिने होइन -यसका लागि ठोस आधार चाहिन्छ । कसैका मनमा देशप्रतिको माया पलाउन उसले सबैभन्दा पहिला देशले पनि आफूलाई माया गरेको अनुभूति गर्न सक्नुपर्छ ।

यदि इतिहासको कुनै पक्ष वा समय दुखद थियो भने त्यसको परिपूरणका लागि त्यसका स्मृति नामेट बनाउने होइन झन् गाढा बनाउनु आवश्यक हुन्छ । विगतका आततायी र दुःखद युद्धका स्मृतिलाई संगहालयमा राखिनुको उद्देश्य युद्धप्रतिको मोह होइन, त्यसको संझनाले भविष्यमा हामीलाई युद्धले निम्त्याउने विनाशप्रति सचेत बनाओस् भन्ने हो । त्यसैगरि, हाम्रो समाजमा विद्यमान जातीय विभेदलाई हामीले हाम्रो स्मृतिबाट हटाउने होइन, यसलाई गाढा बनाएर राख्नुपर्छ ।  पशुपति शर्मा र देविका केसीको गीतका विषयमा भइरहेको बहसमा विद्वान र चेतनशील मानिसहरूले विगतलाई बिर्सन गरिरहेको आग्रह आश्चार्यलाग्दो छ ।

त्यसमाथि, नेपालमा जातीय विभेद विगतको कुरामात्र पनि होइन । यसको उपस्थिति र प्रभाव समाजमा हालसम्म पनि कडारूपमा विद्यमान छ । दलित वा सीमान्तिकृत समुदायले समाज र राज्यबाट अनेकन विभेद र असमानता खेपिरहेका छन् हालसम्म । 'हामी सबै नेपाली बनौँ' भन्ने बकम्फुसे नाराले यसको अन्त्य गर्दैन ।

जातीय प्रश्नको कोरा समाधान खोज्ने उग्र जातिवादीका गतिविधिले नेपालमा समता र समावेशिताका मुद्दालाई धमिलो बनाएको तथ्य नकार्न मिल्दैन । आज दलित अधिकारका विषयमा हुनेगरेका टिप्पणीको अश्लीलताको आधार यो पनि हुनसक्छ । जातीय मुक्तिका नाममा उछृङ्खल र अव्यवहारिक शैलीका राजनीतिक भाँडभैलोमा संलग्न जातिवादी र तिनलाई निसर्त समर्थन गर्ने सीमित बुद्धिजीविले समावेशिताका मूल प्रश्नलाई बहकाइदिएका छन् -जसबाट समावेशिता र समताका प्रयत्नको व्यवहारिकतामा शंका गर्ने मानिसहरूको सङ्ख्या बढ्दै गएको छ जसलाई दुखद मान्नुपर्छ ।

यसो भन्दैमा दलित र सिमान्तिकृत जातीय समुदायले भोगेको विभेद र असमानतालाई नकार्नु उचित र शोभनीय हुँदैन । जुन राज्यसंरचनाले दलित र सिमान्तीकृत जनजाति समूहलाई विभेद भोग्न बाध्य बनायो त्यसको संस्कार र संरचनामा ठोस परिवर्तनबिना तिनै दलित र जातीय समूहलाई त्यही राज्यप्रति आस्थावान बन्न प्रेरित गर्नु भद्दा ठट्टामात्र हो ।

पशुपति शर्मा र देविका केसीको गीतले उत्पन्न गरेको तरङ्गले हामीलाई आफ्नो समाजको थिति र संरचनाका विषयमा सोच्न बुझ्न झक्झक्याएको होला । यो परिणामलाई सकारात्मक मान्नुपर्छ । तर, गीत आफैंमा नेपालका उच्च जातका मानिसको मनमा रहेको सतही राष्ट्रवादी सोचको उदाहरण हो जुन हामीले चाहेको सुधार र प्रगतिको खिलाफमा छ ।

गीतमा भनिएको जस्तो उच्च जातका मानिसहरूले आफ्ना छोराछोरीको विवाह दलितसँग हाँसीखुशी गराएको कुरा कोरा कल्पना हो । दलित र अन्य जातका सदस्यका बिच भएका वैवाहिक सम्बन्धका कारण सामाजिक वहिष्करणमा परेका र मारिएका समेत घटना देखिरहेका दलितलाई शर्मा र केसीको गीतले गिज्याएको छ -सम्मान गरेको छैन । 

सकारात्मक परिवर्तन न त कोरा र अवास्तविक कल्पनाको जगमा उभिन सक्छ न त लालुपाते सतही राष्ट्रवादको आडमा जीवित रहन । दलित र जनजातिको सम्मानका लागि उनिहरूका गीतमा अन्तर्निहित भावना र संवेदनालाई चिन्न आवश्यक छ । शर्मा र केसीको गीत मेरो विचारमा उत्ताउलो तीज गीत मात्र हो जुन शहरीया उच्चजातका मानिसको कोरा बुझाइमा आधारित छ ।

2 comments:

  1. पहिलो कुरो :'त्यसैगरि, हाम्रो समाजमा विद्यमान जातीय विभेदलाई हामीले हाम्रो स्मृतिबाट हटाउने होइन, यसलाई गाढा बनाएर राख्नुपर्छ ।'

    यस्ता कुराले त द्वेष राखिरहनु पर्छ भन्ने अर्थ लागेन र ? यदी जाती पाती चलन हट्यो भने पनि पछी कोट्याइ कोट्याइ निहु खोज्ने ठाउँँ राख्नु पर्छ जस्तो अर्थ बुझेँ । (बढी बुझेको भए माफी चाहन्छु )

    दोश्रो कुरो : 'गीतमा भनिएको जस्तो उच्च जातका मानिसहरूले आफ्ना छोराछोरीको विवाह दलितसँग हाँसीखुशी गराएको कुरा कोरा कल्पना हो । दलित र अन्य जातका सदस्यका बिच भएका वैवाहिक सम्बन्धका कारण सामाजिक वहिष्करणमा परेका र मारिएका समेत घटना देखिरहेका दलितलाई शर्मा र केसीको गीतले गिज्याएको छ -सम्मान गरेको छैन ।'

    सम्मान गीतले कसरी गर्ने हो ? यश कुमारले जस्तो आफ्नै आँगनमा इनार खनाएर भन्दा त यो गीतले अली सजिलै बुझ्न मदत् गर्दैन र ? हुन त हाम्रो समाजमा चेतना नभएर दबाइएको पनि हैन र चेतना नभएर दबिएका पनि हैनन । सँस्कार जादु जस्तो एकै पटकमा परिवर्तन गर्न नसकिने हुनाले जस्तो लाग्छ । अहिले कै गतिमा हेर्ने हो भने पनि अबको केही बर्षमा जाती पाती हट्ला जस्तो लाग्छ । हजुरबाले छिटा हाल्थे, बाउले छोएको मात्र खान्थेनन छोराले सँगै बसेर खान्छ ।

    त्यसैले हजुरको यो फरक बिचार या आफ्नो फरक टिप्पणी खासै केही लागेन ।

    ReplyDelete
  2. मित्रलाभ र ज्ञानलाभका अवसरमा पशुपति शर्माको चर्चा हुन्छ । प्रायः धेरैले भनेको सुनेको छु; पशुपति शर्मा उट्पट्याङ गीत गाउँछन् । 'क्याम्पस पढ्न आउने सरले उता पढाउने, हाम्ले आँखा जुधाउँने, चित्त बुझाउने होस् वा म पनि क्रिकेट खेल्छु चौका छक्का हान्छु,' उनका गीत सुन्नलाई रमाईला छन् । 'मलाई अमेरिका यही मलाई जापान पनि यही गाएर भने उनले आफ्नो उटपट्याङ शैलीलाई बदल्न खोजेका थिए । अहिले आएर हामी सबै नेपाली बनौ भन्ने गीतमा उनी नराम्ररी चिप्लीएका छन् । यो उनको दोष हैन । गीतका रचनाकारको जातियमुक्ति र बिभेद बिरोधी आन्दोलनको बारेको अल्पज्ञान हो । शर्मामा थोरैमात्र लोकप्रीयताको लोभ थिएन भने उनले यो गीत ठाडै अस्वीकार गर्थे गाउनलाई । तर उनले गाए र हामीले यसरी बहस गर्न पायौ ।

    कसलाई आफ्नो थर कसरी लेख्ने त्यो छुट छ । दलित आफैमा थर हैन । यो छुवाछुत बिरुद्धको संगठित आन्दोलन हो । बिभेद बिरुद्धको अभियान हो । अन्तरजातीय विवाह समाजमा पहिलेदेखि बिद्यमान छ । मेरी फुफुकी छोरीले राईसँग बिहे गरेकी थिईन । गाउँकै एकजना आफन्तले राईकी छोरी बिहे गरे । मेरो गाउँको वडा नं ९ मा दलित बस्ती थियो । त्यहाँ बस्नेहरु आफुलाई बिश्वकर्मा, दर्जी भनेर औपचारिक रुपमा चिनिन रुचाउँथे । त्यो वडाका धेरै दाजुभाई दिदीबैनीले अर्को समुदायका केटाकेटीसँग बिहे गरेका थिए । बिहे गर्दैमा जातीय बिभेद अन्त्य हुन्थ्यो भने त्यो वडा उहिल्यै नमूना नेपाल हुनसक्थ्यो होला । तर त्यसो हुन सकेन । हाम्रो परिवारले राई भिनाजु चुल्होमा बसेर समान हैसियतमा बुबासँग खाने खाने अवसर सिर्जना गर्न सकेन । सचेत परिवारको रुपमा चिनीने घरमुलि बुबाले दर्जी भाउजुलाई हजुरबाको श्राद्धमा अचार बनाउने अधिकार कहिल्यै दिनुभएन । दिने सोच पनि पलाएन वहाँमा । मेरो बुबाको चाहना थियो होला र पनि वहाँलाई दलितहरु अछुत हुन्, राई लिम्बु, मगर गुरुङ हामीभन्दा सानाजातका हुन् भन्ने आधारमा शिक्षित बनाएको थियो । त्यही शिक्षाको व्यवहारिक प्रयोग हाम्रो परिवारको व्यवहारमा देखिएकोमात्र हो ।

    सुनसरीको पानमारामा एकजना ठुलाजात भनाउँदाले स्थानीय एक बिश्वकर्मा थरकालाई कुकुरले खाने भाँडोमा खान दिएको घटना बाहिर आएको धेरै भएको छैन । सार्वजनिक धारोमा पानी भर्दा कुटिएका उदाहरण समाजबाट लुकेका छैनन् । यस्ता घटनाहरु जातीय अहंकारबाट निस्कीएका दुर्गन्धीत व्यवहारमात्र हुन् । भोग्नेको आँखाबाट हेर्दा यस्ता घटनाले जातीय बिभेद गरेकाछन् र हिंसा जन्माएकाछन् । त्यसैले जातीय बिभेद बिरुद्धको आन्दोलन सामाजिक रुपान्तरणको अभियान हो । हालसालै पशुपतिमा बाहुन नै पुरोहित कर्म गर्न योग्य हुन्छ भनेर गरिएको प्रचारबाजी र बाहुनको खोजी पनि जातीय अहंकार र हेपाईका उदाहरण हुन् ।

    यस्ता हेपाईका घटनाहरु कम गर्दै सामाजिक रुपान्तरणका लागि प्रयास भैरहेको अहिलेको अबस्थामा जातका कुरा गर्नेको दिमाग कहाँ छ भनेर कसैले भन्यो भने त्यसको प्रतिकृया पनि त्यसरी नै आउँछ जुन अहिले आईरहेको छ । यो अस्वाभिव हैन । तर दलित आन्दोलनकै अगुवाहरुले भनेजस्तो यो गीतले जातीय सद्भाव कायम राख्न भुमिका खेलेको छ भनेर कुतर्क गर्ने हो भने दलित र जातीय मुक्तिका नारालाई खोलामा बगाएर पशुपतिनाथका अगाडि लम्पसार परौ र दिनरात भजन गाउँ । शान्ति र कल्याण त्यसैमा छ ।

    सञ्जीवजीको सम्पुर्ण तर्कमा सहमत । आसय मिलेमा बिचार चोरी भनेर नबुझिदिनुहोला ।

    ReplyDelete