Wednesday, February 21, 2024

बसिबियाँलोः नेपाल फर्किने कि नफर्किने ?

फेरी उही बेतुकका कुरा । तैपनि बसिबियाँलो गरौँ है !

पहिलो त मलाई यो प्रश्न नै सतप्रतिशत निरर्थक लाग्छ । किन भने -कुनै पनि मानिस आफूले अँगालेको पेशा, प्राप्त गरिरहेको सुविधा (सुख होइन, सुविधा), पेशाको भविष्य र आफ्नो बौद्धिक-पेशागत सञ्जाल छोडेर फगत आफू जन्मेको देशको स्वार्थका लागि कुनै देशमा बस्ने वा त्यो देश छोड्ने निर्णय गर्दैन । कसैले यसो गरिदेला भनेर आशा गर्नु नै मुर्खता हो ।

तर, नेपालमा धेरै कुरा दुर्लभ भए तापनि मुर्खता दुर्लभ छैन । न सार्वजनिक बहसमा सामेल हुने सर्वसाधारण मानिसमा मुर्खताको कमी छ, न त देश चलाउनेहरूमा ।

राजा महेन्द्रले पनि देशको स्वार्थका लागि आफ्नो स्वार्थ त्यागेर गाउँ फर्किन नेपाली जनतालाई आव्हान गरेका हुन् । शहरमा वा विदेशमा बस्ने मानिस आफ्नो सीप र पुँजी लिएर गाउँ जाउन् र गाउँलाई समृद्ध बनाउन् भन्ने उनको चाहना थियो । गाउँ फर्क अभियानको प्रचार-प्रसार त प्रशस्त भयो -तर महेन्द्रको चाहनालाई आत्मसात गर्दै कति मान्छे गाउँ फर्के त ?! यसबाट गाउँमा कस्तो समृद्धि आयो त ?!

गाउँफर्क अभियानको अपार असफलता पछि पनि गाउँ, देश फर्किनुपर्छ भन्ने चिप्ला कुरा गर्नेहरूको सङ्ख्यामा कमी आएन । यसमा आजभोलि एउटा नयाँ प्रवृत्ति थप भएको छ -म देशको हितका लागि देश फर्केँ भनेर घोषणा गर्ने ।

मेरो कुरा त उही हो -कुन काम गर्ने, कुन देशमा बस्ने, कहिलेसम्म बस्ने र कहिले फर्किने भन्ने व्यक्तिको अनुकुलता वा रुचि कुरा हो । तर, यदि कसैले म देशकै लागि देश फर्केँ भन्छ भने चाहिँ यस्तो दाबीमा केही गडबड छ ।

एउटा सचेत, सक्षम र आफ्नो पेशामा सफल व्यक्तिले देश र नागरिकको सम्बन्धका विभिन्न आयामलाई गहिराइमा बुझेको हुन्छ । मानव हितका लागि असल काम जहाँ बसेर गरे पनि हुन्छ भन्ने कुरा बुझ्न त्यति गार्‍हो पनि छैन । यो सामान्य कुरा बुझेको व्यक्तिले केवल देशका लागि भनेर आफ्नो पेशा र भविष्य त्याग गर्दै गर्दैन ।

आफ्नो अध्ययन, पेशा, व्यवसाय, सञ्जाल सबै त्यागेर देशका लागि देश फर्किने मुर्ख हो । मुर्खहरू जहाँ बसे पनि जता फर्के पनि त्यसको अर्थ रहन्न ।

यसको अर्को पाटोलाई हेरौँ ।

देश भनेको के हो ? एउटा संस्था, वा परम्परा, निश्चित बुझाइ, साझा पहिचान । यी सबै कुरालाई ठोस जस्तो बनाउने तत्व हुन् निश्चित भूगोल, जनसङ्ख्या र केही औपचारिक संस्था । यी सबैको महत्त्व आफ्नो ठाउँमा छ -तर देशका जटिलता व्यक्तिको पहुँच र सम्भावनाभन्दा सधैँ माथि हुन्छन् । नेपाल देश अहिले जुन अवस्थामा छ त्यसलाई राम्रो बनाउन कुनै अमुक व्यक्ति वा व्यक्तिहरूको समूह देश फर्केर राम्रो काम गरेर मात्र सम्भव छैन ।

'म देशलाई राम्रो बनाउन देश फर्किन्छु वा फर्किएँ' भन्ने सन्देशभित्रको अर्को समस्या के हो भने यसले देशभित्र देशलाई राम्रो बनाउन सक्षम मानिस नै छैनन् भन्ने आसय बोकेको छ । नेपालको अवस्था खराब भएको देशभित्र पर्याप्त असल वा सफल मानिस नभएर होइन -ता कि विदेश बस्नेले यसको अभाव पुर्ति गर्न आफ्नो कामधाम छोडेर देश फर्किनु परोस् ।

अब एउटा प्रोभोकेटिभ कुरा गरौँ ।

नेपालको समस्या के हो भने नेपाल न त सफल छ न असफल । ‘धिकिर धिकिर करैछी, मरैछी न जियैछी’को यो अवस्थामा देशलाई राखिरहने स्वार्थ समूह नेपालमा बलियो छ । कुशासन, भ्रष्टाचार र सारा बेथिति निश्चित स्वार्थ समूहको संरक्षणमा भइरहेको छ । यही अवस्थामा टिकीरहँदा नेपालको भविष्य दशकौँसम्म यस्तै रहन सक्छ । त्यसैले, नेपालको अवस्था योभन्दा खराब हुन जरुरी छ, ता कि सुधारका ठोस सम्भावनाको खोजी र उपयोग हुन सकोस् ।

जुन देशले सवारी चालकको प्रमाणपत्र छापेर निवेदकलाई बाँड्न सक्दैन, १३ महिनामा बनाउनुपर्ने पुल ७ वर्षसम्म बनाउन सक्दैन, हरेक महत्त्वपूर्ण ओहोदामा पदाधिकारी नियुक्ति गर्दा जसलाई नियुक्ति दिने हो उसबाट रकम असुल्छ, मध्यपूर्वका पेट्रो-डलरबाट धनी भएका क्रुर तानाशाहसँग आफ्ना नागरिकलाई श्रमिक बनाइदेऊ भनेर गुहार माग्छ त्यस्तो देश र यस्तै मानसिकतालाई बलियो बनाउन आवश्यक छैन । यसलाई त भत्काउन पर्ने हो ।

अब एउटा अन्तिम तर्क ।

नेपाल राम्रो बनाउन के गर्नुपर्छ भन्ने कुरा प्रस्ट छ । सुशासन, कानुनी शासन, आर्थिक नीतिमा आमूल सुधार, स्रोत र सम्पत्तिको पहुँचमा समानता, लोकतान्त्रिक विधि र पद्दतिको परिपालन ! यसो गर्न देशमा भएकालाई कसले रोकेको छ ? सबै कुरा थाहा भएर पनि देशको हितमा असल काम गर्न नसक्नेहरूले सिर्जना गरेका समस्या विदेशमा भएका मानिस फर्केर कसरी समाधान हुन्छ ?

राजनीति गरेर सांसद् बन्ने हो, मन्त्री बन्ने आश छ, कुनै देशको राजदूत वा कुनै अमूक कामरेड, दाइ वा भाउजुलाई पैसा ख्वाएर मालदार संस्थानको प्रबन्धकमा नियुक्ती पाउने सम्भावना र नैतिक चरित्र छ भने नेपाल फर्के भयो । आफ्नो पेशा, सीप, परीश्रम र सम्भावनालाई सम्मान गर्नेले देश बनाउन देश फर्किने कुरा बिल्कुल वाहियात नै हो ।

कुनै मानिस नेपाल बनाउन कै लागि नेपाल फर्केको छ भने मलाई त्यस्तो मानिससँग सकेसम्म सङ्गत गर्नु नपरोस् !

1 comment:

  1. Damdar xa tarka sir ko agreed! Ajha dasaun lakh ko jagir xodera vanne vaasya pani xa..

    ReplyDelete