सामान्य नागरिक भएर सोच्दा भारतले लगाइदिएको अमानवीय नाकाबन्दी नेपालका लागि
अवसर (blessing in disguise) हो । नाकाबन्दी भाजपाको अतिवादी, असहिष्णु र अपरिपक्व
राजनीतिको परिणतिका रूपमा आयो । यसले आफूलाई र छिमेकीलाई बुझ्ने, आफ्नो हैसियत मनन् गर्ने र
लामो समयदेखि थाती रहेका राष्ट्रिय स्वार्थका काम अघि बढाउने अवसर नेपाललाई दिएको
छ ।
भारतमाथिको एकछत्र परनिर्भरता हटाउन नेपालले प्रयत्न ठूलै गर्नुपर्ने थियो ।
भारत आफैँले यसो गर्न नेपाललाई सजिलो वातावरण बनाइदिएको छ । नेपाललाई अब आफ्नो
व्यापार विविधीकरण गर्न गार्हो छैन । त्यसैगरि, नेपालको केन्द्रीय राजनीतिदेखि घरेलु
झिनामसिना कुराको व्यवस्थापन गर्न अघि सर्ने भारतले अब निकै सतर्क रहनुपर्ने
परिस्थिति उत्पन्न भएको छ । अख्तियारका प्रमुख आयुक्तदेखि मालपोतका हाकिमसम्म
आफूले रोज्न पाइयोस् भन्ने लैनचौरको चाहना भविष्यमा सजिलै पूरा हुननसक्ने निश्चित
छ ।
भारतको अपरिपक्व र छुद्र छिमेक नीति मजासँग पराजित भएको छ । यसबाट नेपाल
लगायत उसका अन्य छिमेकी मुलुकमा थोरै आत्मसम्मान र आत्मविश्वास बढेको छ ।
नयाँ संविधान जारी गरेर नेपालले लोकतन्त्र र विधिको शासनबाट विचलित नहुने
सन्देश विश्वलाई दिएको थियो । त्यसपछिको नाकाबन्दीबाट स्वाभिमान र स्वाधिनता पनि
नेपाली राष्ट्रका विशेषता हुन् भन्ने सन्देश विश्वलाई दिन पाएको छ । जसरि नयाँ
संविधान नेपालका लागि गौरवको विषय थियो, नाकाबन्दी स्वाधिनता र विकासका मार्गमा
अघि बढ्न अर्को अवसर हुनसक्छ ।
तर, मधेश आन्दोलनको व्यवस्थापनमा वर्तमान सरकारले देखाएको उदासिनताले संविधान र
नाकाबन्दीबाट नेपालले प्राप्त गरेका अवसरलाई निश्क्रिय बनाइदिन सक्छ ।
प्रधानमन्त्री केपी ओली र सरकारका जिम्मेवार सदस्यका कुरा सुन्दा मधेश
आन्दोलनलाई देशभित्रको असन्तुष्टिका रूपमा स्वीकार गर्नमा वर्तमान सरकार इच्छुक
देखिएको छैन भन्ने बुझिन्छ । सरकारको आन्दोलनप्रतिको दृष्टिकोण मधेशी दलको नेतृत्व
र सडकमा, सञ्चारमाध्यममा उठेका नाराबाट बढी निर्देशित छ । सरकार आन्दोलनको राजनीतिक र
सामाजिक पक्षप्रति संवेदनशील हुनचाहेको छैन । सरकारले जिम्मेवार भएर आन्दोलनलाई बुझ्ने प्रयास
गरिरहेको पनि छैन ।
नाकाबन्दी र मधेश आन्दोलन एकअर्कासँग जोडिएका छन् । यो दुर्भाग्यपूर्ण अवश्य छ
। यसबाट मधेशी दल र यसको नेतृत्वले भविष्यमा राजनीतिक मूल्य चुकाउनुपर्ने होला ।
तर, सरकारका
लागि नाकाबन्दी मधेशी दलसँग वार्ता नगर्ने बहाना बन्नु हुँदैन । मधेशी दलहरू सडकमा
छन् । सडकका सबै नारा र रणनीति व्यवहारीक र उचित हुन्छन् भन्ने छैन ।
राष्ट्रिय स्वाभिमान हरेक राष्ट्रका लागि महत्त्वपूर्ण हुन्छ । नेपालको लागि
पनि छ । तर, मधेशीबिनाको स्वाभिमान अर्थहिन बकबक मात्र हो । राज्यको अभिन्न समूह सडकमा
सुतिरहेका बेला बाँकी देशले स्वाभिमानको गफमा रमाउनु भद्दा ठट्टा हो । मधेश र पहाड
सँगै मिलेर मात्र नेपालको स्वाभिमान सार्थक हुनसक्छ । वर्तमान सरकारले यो कुरा
अन्य पक्षलाई बुझाउन सक्नुपर्ने हो । प्रधानमन्त्री ओली स्वयं मधेशी आन्दोलनले
स्वाभिमान कमजोर भएको चर्चा गरिरहेका छन् । यो गलत बुझाइलाई सरकारले यथाशीघ्र
सच्च्याउन आवश्यक छ ।
नेपालले आफ्नो राजनीति र अर्थतन्त्रलाई स्वाधिन बनाउन आवश्यक छ । यसका लागि
राजनीतिलाई विदेशी हस्तक्षेपबाट टाढा राख्ने र व्यापार विविधिकरणमा ध्यान दिनुपर्छ
। भारतको परनिर्भरता हटाउन चीन वा अन्य मुलुकसँग व्यापार प्रवर्धन गर्ने कुरामा
जोड दिनु अवश्य पनि राम्रो कुरा हो । तर, व्यापार विविधिकरण प्रतिशोध र हताशामा
हुनु हुँदैन । दिगो र परिपक्व शैलीमा नेपालले व्यापार विविधिकरणका मार्ग पहिल्याउन
आवश्यक छ ।
नेपालका लागि चीन र भारत दुवै देशसँगको सम्बन्ध महत्त्वपूर्ण छ । यी दुई मध्ये
कुनै एक देश अर्को देशको विकल्प हुनसक्दैन । भारतका प्रम मोदीले नेपाल र भारतको
दुईपक्षीय सम्बन्धलाई बिगार्ने अधिकार कुनै एक प्रधानमन्त्रीलाई छैन भन्ने कुरा
आत्मसात गर्न सकेनन् । वर्तमान सरकारले पनि यो कुरा बिर्सनु हुँदैन । सरकारहरू
आउँछन् जान्छन् -दुई देशबीचको सम्बन्ध आम मानिसका दैनिक जीवनसँग जोडिएका हुन्छन् ।
यसलाई बिगार्ने गल्ती उत्तर कोरियाका जस्ता क्रुर तानाशाहले मात्र गर्छन्
-लोकतान्त्रिक सरकारले गर्दैनन् ।
भाजपाका नेता र प्रम नरेन्द्र मोदीले आफ्नै मुलुकका एक समूहलाई अर्कोसँग
भिडाएर राजनीतिमा सफल हुने बाटो रोजे । मोदी आज तीब्र गतिमा अलोकप्रिय भइरहेका
मात्र छैनन्, समग्र भारत अभूतपूर्व आन्तरिक किचलोमा फसेको छ । घृणा र विद्वेश मुलुकभर
फैलेको छ । यसबाट विवेकशील भारतीयमा ठूलो चासो र चिन्ता उत्पन्न भएको छ । वर्तमान
नेपालको सरकारले पनि मधेशीविरुद्धमा अन्य समुदायलाई उकास्ने रणनीति अपनाएमा हामी
भारतको भन्दा ठूलो द्वन्द्वमा फस्नेछौँ ।
मधेशी दलका नेताले उठाएका माग पूरा गर्न नसकिने छैनन् । सीमांकन र
प्रतिनिधित्वका मागहरूमा ठूला दल र आन्दोलनरत मधेशी दलहरू सहजै सहमतिको बिन्दुमा
पुग्नसक्छन् । सरकारको नेतृत्वमा रहेको पूर्वाग्रह हट्नुपर्यो । मधेशीविरुद्ध
अरूलाई उकासेर सरकार केही दिन बढी टिक्ला तर आम मानिसको कष्टको क्षतिपुर्ति
हुनसक्दैन ।
नाकाबन्दीलाई सहनु र यसको विरोध गर्नु मात्र सच्चा राष्ट्रवाद हो भन्ने सन्देश
अर्को अतिवाद हो । सरकार-सरकार वा राजनीतिक दलका बीचको किचलोका कारण उत्पन्न संकटको
मूल्य सामान्य मानिसले किन चुकाउने ?! नाकाबन्दीबाट नेता वा उच्च प्रशासकलाई
केही फरक पर्दैन, तर गरीब र सर्वसाधारण मानिसमा पर्ने क्षतिको पुर्ती कसले गरिदिन्छ ?! तसर्थ, सरकारले नाकाबन्दीलाई
राष्ट्रवादको पुरियामा पोको पारेर सामान्य मानिसलाई भुलाउन खोज्नु गलत र
गैरजिम्मेवार हो ।
आन्दोलनरत मधेशी दललाई जिम्मेवार बनाउने उनिहरूलाई अर्तिउपदेश दिएर वा गाली
गरेर मात्र होइन -उचित सम्मान र स्थान दिएर हो । अहिलेको सरकारले औपचारिक वा
सांकेतिक रूपमा उनिहरूलाई सम्मान गर्नमा चासो देखाएको छैन । यति ठूलो संकटमा
प्रधानमन्त्री आफैँ सक्रिय हुनुपर्ने हो । आन्दोलनका नेताहरूको कुरा सुन्ने र
संवादको प्रक्रियालाई छिटो अगाडि बढाउनेमा पनि प्रम ओलीले चासो दिएका छैनन् ।
ओलीले आम मानिसमा फैलिएको 'मौसमी राष्ट्रवाद'लाई नै सहजताका रूपमा उपयोग गर्न खोजेजस्तो देखिन्छ ।
नाकाबन्दीले कालान्तरमा नेपाललाई फाइदा नै पुर्याउला । तर, अहिलेको संकट सामान्य होइन
। मानिसले मोटरसाइकल वा गाडीमा तेल नपाएर कचकच गरिरहेको मात्र परिस्थिति होइन यो ।
सामान्य मानिसको दैनिक जीवन पूर्णरूपमा ठप्प भएको छ । इन्धन संकटले मानवीय संकट
उत्पन्न भएको छ । यो संकटलाई देशका लागि त्यागका रूपमा सामना गर्ने क्षमता आम
मानिसमा छैन, हुनसक्दैन । सामाजिक सञ्जालमा मानिसले पोख्ने उत्साहजनक राष्ट्रवादी भावनाबाट
सरकार हौसिनु राम्रो होइन । अस्पतालमा अक्सिजन नपाएर मानिसले ज्यान गुमाउनुपर्दा
वा बढी यात्रु बोकेको बस दुर्घटना हुँदा यसको अपजस सधैँ मधेशवादी दललाई मात्र लगाएर
सरकार उम्किन पाउँदैन । नाकाबन्दीलाई राजनीतिक कारणले उत्पन्न समस्याका रूपमा लिएर
यसको राजनीतिक समाधानमा सरकार सक्रिय हुनुपर्छ ।
बिहार निर्वाचनमा मोदीको पराजयलाई उनको र भाजपाको नीति देशभित्र पनि अलोकप्रीय
हुँदैगएको संकेतका रूपमा लिनसकिन्छ । यद्दपि, नेपालका लागि हाम्रो समस्या समाधानको ठोस
आधार बन्न सक्दैन । वर्तमान सरकारले बिना कुनै पूर्वाग्रह वा प्रतिशोध मधेशी दलसँग
वार्ता गरेर उनिहरूद्वारा प्रस्तुत मुल मागहरूमा सहमति निर्माण गर्न सक्नुपर्छ ।
No comments:
Post a Comment