यो प्रश्न मेरो होइन ।
यो
प्रश्न हो रेकर्ड नेपालका सम्पादक प्रणय राणाको । प्रणय नेपालका एक उम्दा
पत्रकारमध्ये एक हुन् -यो मैले भनिरहन पर्दैन । समसामयिक परिस्थितिमा टिप्पणी
गर्दै हालसालै उनले ‘स्वतन्त्र’ भनेर आउँदो निर्वाचनमा उमेदवार बन्ने घोषणा
गरिरहेकालाई प्रश्न सोझ्याएका छन् ।
यो
प्रश्नले सयौँ अरू प्रश्न बोकेको छ ।
पार्टी पद्दतिमा स्वाभाविक रूपमा राजनीतिक पार्टी प्रधान हुन्छन् । तर, पार्टी प्रधान हुँदा व्यक्तिको अधिकार पनि नखुम्चियोस् भनेर हरेक व्यक्तिलाई निर्वाचनमा प्रतिश्पर्धा गर्ने र आफ्नो क्षेत्रका जनताको प्रतिनिधित्व गर्ने अधिकार सुरक्षित गरिएको हुन्छ । यही अधिकार प्रयोग गरेर कुनै राजनीतिक पार्टीमा आवद्ध हुन नचाहने र पार्टीमा ठाउँ नपाएकाहरू स्वतन्त्र उमेदवारका रूपमा चुनावमा उमेदवारी दिन्छन् । सके जित्छन्, नसके हार्छन् ।
स्वतन्त्र
उमेदवारले चुनावमा प्रतिश्पर्धा गर्ने र विजय हासिल गर्ने सामान्य हो । तर, आजभोलि
‘स्वतन्त्र उमेदवार’को मान्यतालाई बुझ्ने र व्याख्या गर्ने जस्तो प्रवृत्ति सुरु
भएको छ त्यो असामान्य छ, र सम्भवतः लोकतन्त्रको आधारभूत मान्यताको प्रतिकुल पनि ।
यसको
चर्चा प्रणय राणाले उठाएको प्रश्नले सजिलो बनाउन सक्छ -स्वतन्त्र कसबाट ?
सिद्धान्ततः
हरेक व्यक्ति आफैँमा स्वतन्त्र हो । यो ब्लग लेख्ने म र यसलाई पढिरहनुभएको तपाईं दुबै
स्वतन्त्र व्यक्ति हौँ । हामी कुनै राजनीतिक पार्टीका नेताको समर्थन गरौँला, कुनै दलको
सदस्य भएका हुनसक्छौँ, आ-आफ्नो राजनीतिक आदर्श पछ्याएका हौँला -तर त्यसले हामीलाई
पराधिन बनाउने होइन । राजनीतिक पार्टीको समर्थन गर्नु, त्यसको सदस्य हुनु, निश्चित
विचारधारा बोक्नु र त्यसका आधारमा संगठित हुनु पनि स्वतन्त्रताको उपभोग गर्नु हो ।
मानिस
एउटा राजनीतिक पार्टीको नेता वा त्यसको आदर्शको दास भएर बस्दैन । आफूलाई सही लागेको
राजनीतिक नेता भोलि गलत लाग्न सक्छ, पार्टी फेर्न सकिन्छ, निश्चित राजनीतिक
आदर्शबाट विश्वास उठ्न सक्छ । त्यसो नहुन्थ्यो भने आवधिक निर्वाचन नै आवश्यक पर्ने
थिएन ।
त्यसैले,
‘स्वतन्त्र उमेदवार’ वा ‘स्वतन्त्र पार्टी’ भनेर जसरी चहलपहल सुरु भएको छ त्यसको
अन्तर्यमा एउटा अनुत्तरित प्रश्न छ -स्वतन्त्र कसबाट ? केबाट ?
राजनीतिक
पार्टीबाट ? विचारबाट ? इतिहासबाट ?
कुरा
सामान्य हो तर पनि उल्लेखनीय हो -राजनीतिक पार्टीसँग तीन विशेषता हुन्छन् जसले तिनीहरूलाई
प्रभावकारी बनाउँछन् । पहिलो -संगठन । दोस्रो -विचार वा निश्चित लक्ष । तेस्रो -जवाफदेहिता
र पारदर्शिता ।
हाम्रा पार्टीहरूको संगठन सामन्ती चरित्रको छ । ठालुहरूले खडा गरेका काँडे तारका पर्खाल पार गरेर सर्वसाधारणले संगठनमा प्रवेश पाउन असम्भव छ । पार्टीहरूले सत्ताको लोभमा विचारको सौदाबाजी गरेका छन् । पार्टी पारदर्शी र जवाफदेही छैनन् । पार्टीका विकृतिको कुरा गरि साध्ये छैन । तिनीहरूमा अनुशासनहिनता छ । गैरजिम्मेवार प्रवृत्ति छ । अवसरवाद छ । अपारदर्शिता छ । त्यसैले, आम मानिसहरूमा पार्टीहरूप्रति चरम निराशा छ । त्यसैले, स्वतन्त्र शब्द मानिसहरूका कानमा सुमधुर सङ्गीत बनेर आजभोलि गुञ्जीरहेको छ ।
तर,
दुःखको कुरा के भने पार्टी खराब भएर सिर्जना भएको समस्याको उपचार ‘स्वतन्त्र’ उमेदवारी होइन ।
पार्टीको
विकल्प खोज्नु समस्या समाधानको जिम्मेवारीबाट भाग्नु हो । पार्टी प्रणाली पूर्ण
होइन (न त राज्य नै पूर्ण हो), तर राज्य चलाउन उपलब्धमध्ये सबैभन्दा भरपर्दो प्रबन्ध
हो । त्यसैले, पार्टीको विकल्प अर्को पार्टीमात्र हो । पार्टीको विकल्प खोज्दा आइलाग्ने
समस्या पार्टी पद्दतिका समस्याभन्दा विकराल हुनेछन् ।
मैले
बुझेसम्म स्वतन्त्र उमेदवारीको आजभोलिको चर्चा दुई मुख्य भाष्यबाट निर्देशित छ ।
पहिलो
भाष्य -नेपाललाई भएको भन्दा राम्रो बनाउन क्षमतावान र इमानदार मानिस चाहियो ।
पार्टीमा त्यस्ता मानिस छैनन् । त्यसैले स्वतन्त्र उमेदवारले त्यो अभावको पुर्ति
गर्नुपर्छ ।
मलाई
लाग्छ नेपालका नीति सही नभएको र तिनको कार्यान्वयन प्रभावकारी नभएको क्षमतावान
मानिसको कमी भएर होइन -क्षमतावान मानिसले उचित भूमिका पाउने प्रणाली कमजोर भएर हो
। समाधान यसमा खोज्ने हो । क्षमतावान मानिस खोज्दै हिड्ने होइन ।
एउटा
व्यक्ति इमानदार भए नभएको त्यसको रगत जाँचेर पत्ता लाग्दैन । देश चलाउन इमानदार
व्यक्ति खोज्दै हिंडेर कतै पुगिन्न । भयङ्कर इमानदार ठहरिएर सत्तामा पुगेका
मानिसले गर्ने भ्रष्टाचारका कथा संसारभर प्रशस्त छन् । इमानदारिता प्रणालीमा खोज्नुपर्छ
-व्यक्तिमा होइन ।
दोस्रो
भाष्य -विचारमा अल्झेर देश पछि पर्यो । पार्टीले विचारका कुरा गरे । अब देश
बनाउने कुरा गर्नुपर्छ । यसका लागि पार्टीमा नजोडिएका (स्वतन्त्र?) मानिस चाहिन्छ
।
देश
‘नबनेको’ पार्टीहरू विचारमा अल्झेर होइन, तिनले विचारलाई लत्याएर हो । सत्ताका
लागि विचारलाई आलु, टमाटर सरह बेचिदिने पार्टी भएका कारण लोकतन्त्र र सामाजिक
न्याय धरापमा परेको हो । विपन्नता र अविकास बढेको हो । यदि नेपाली काँग्रेस आफ्नो विचारधारामा अडिग हुन्थ्यो वा
नेकपा माओवादीले आफ्नो राजनीतिक आदर्शको सम्मान गरेको हुन्थ्यो भने आजका प्रशस्त
वेथितिको समाधान उहिलै हासिल भइसक्ने थियो ।
विचार भनेको ठूलाठूला, अस्पष्ट, थ्यौरीमात्र होइन । देश के हो ? देशमा नागरिकको स्थान के हो ? कस्तो परिवर्तन चाहिएको हो ? परिवर्तनको माध्यम के हो ? यी प्रश्नका बारेमा जेजस्ता दृष्टिकोण जोडिएका छन् ती सबै विचार हुन् । देशको अवस्थासँग निश्चित जटिलता हुन्छन् । तिनलाई बुझ्न विचार चाहिन्छ ।
आजभोलि
केही मानिसले विचार वहिष्कार गर्नुपर्छ भन्ने आवाज सशक्त रूपमा उठाइरहेका छन् । यो
दृष्टिकोणले भन्छ देशका समस्या प्राविधिक मात्र हुन् । देश राम्रो बनाउन
इमानदारिता र सक्षम नेतृत्त्व भए पुग्छ । देश राम्रो बन्ने आर्थिक र भौतिक
पूर्वाधारबाट हो -बाँकी सब बकबास हुन् । यो पनि आफैँमा एउटा विचार हो ।
स्वतन्त्र
उमेदवारीको लोकप्रियतामा एउटा बुझाइले काम गरेको छ । त्यो हो -असल मानिसले
स्वतन्त्र उमेदवार भएर चुनाव लड्ने र जित्ने हो भने पार्टीहरूलाई दबाब पुग्छ ।
तिनीहरू असल हुन बाध्य हुन्छन् ।
यसमा
मेरो फरक बुझाइ छ ।
पार्टीमा
विद्यमान विकृति र विसङ्गती बृहत् समाजको प्रतिविम्ब हो । स्वतन्त्र भएर उठ्ने
उमेदवार पनि यही समाजका अंश हुन् । त्यसैले, पार्टीमा सुधार ल्याउन अप्ठेरो र
स्वतन्त्र उमेदवार भएर निर्वाचन जित्नेहरू इमानदार र जवाफदेही रहिरहनेछन् भन्ने
सुनिश्चित गर्न सजिलो हुन्छ भन्ने दृष्टिकोण सतही र अवास्तविक छ ।
पार्टीहरू
लोकतन्त्रका अंश हुन् । तर, पार्टी लोकतन्त्रका पर्याप्त संस्था होइनन् । लोकतन्त्र
प्रभावकारी र चलायमान हुन नागरिकको सक्रिय भूमिका आवश्यक छ । तर, नागरिकको भूमिकाका
बारेमा धेरै चर्चा हुँदैन । मानिसहरूमा नागरिक भएर पनि राज्य सञ्चालनमा प्रभावकारी
भूमिका निर्वाह गर्न सकिन्छ भन्ने बुझाइ बलियो छैन ।
त्यसैले,
धेरै मानिस पार्टी खोल्न र नेता हुन रहर गर्छन् ।
स्वतन्त्र
उमेदवार हुने, संसद्मा पुग्ने, देश हाँक्ने रहर बलियो हुँदा अन्ततोगत्वा
पार्टीतन्त्र नै थप बलियो हुने र नागरिकको स्थान र भूमिका थप सङ्कुचित हुँदै जाने पो
हो कि ?!
राजनीतिक
पार्टीलाई निश्चित दायरामा राख्न आवश्यक छ, तर यसका लागि अर्को पार्टी खोलेर होइन
-नागरिकको भूमिका सशक्त बनाउनु पर्छ ।
अन्तमा,
फेरि उही प्रश्न -स्वतन्त्र उमेदवारहरू केबाट स्वतन्त्र ? पार्टीबाट ? विचारबाट ?
मलाई लाग्छ स्वतन्त्र उमेदवारीको चहलपहल फेरि पनि उही सप्तरीको बरमझियाको सडक किनारामा खुलेका ‘न्यू बुढोबाजेको असली पेडा पसल’ भनेजस्तै हो । मेरो चिन्ता यतिमात्र हो कि यसले पार्टी पद्दतिलाई थप विकृत नबनाओस् । लोकतन्त्रमा पार्टीको स्थान र सीमितता बारेको बुझाइलाई थप जटिल नबनाओस् ।
No comments:
Post a Comment