Wednesday, June 11, 2014

आइमाई, महिला, नारी

आइमाई शब्दको प्रयोगले रमाइलो माहोललाई नरमाइलो बनाएका केही अनुभव छन् । गफगाफ र औपचारिक कुराकानीमा पुरुष र कहिलेकाहिँ महिलाले फ्याट्ट आइमाई भनिदिँदा अन्य महिलाले नमिठो मान्छन् । कहिलेकाहिँ यो नमिठो अनुभव मनमा मात्र राख्छन् तर कहिलेकाहिँ यसको कडा र ठाडो प्रतिवाद गर्छन् । औपचारिक कार्यक्रममा महिलालाई आइमाई भन्दा बोल्नेले माफी नै माग्नुपरेको पनि देखिन्छ कहिलेकाहिँ ।

'आइमाई भन्दा के भयो ? शब्दमा के खराबी छ ? आइमाई शब्द आर्यमाता जस्तो पवित्र शब्दबाट आएको त हो नि !" भनेर तर्क ट्विटरमा प्राय हरेक महिना देखिन्छ । अधिकांश पुरुष र त्यसमा पनि पढेलेखेका वौद्धिकहरू विभिन्न तर्क हालेर "महिलाभन्दा आइमाई शब्द उत्तम छ" भनेर कस्सिने गर्छन् ।

पहिला यो  बहसमा म पनि धेरैपटक सहभागि भएको छु् । आजभोलि जाँगर चल्दैन - समयको नाश जस्तो मात्र लाग्छ । मलाई यस अर्थमा मात्र दु:ख लाग्छ "महिलालाई आइमाई भन्नु ठीक" भनेर कसिने अधिकांश पुरुष पढेलेखेका विद्वानहरू नै बढी छन् । उनिहरू आइमाई शब्दले महिलालाई होच्याउँछ भन्ने तर्क गर्नेहरूलाई फेमिनिस्टको लेबल लगाएर आफ्नो एरोगेन्स प्रदर्शन गर्छन् ।

यो ब्लग यही बकम्फुसे शास्त्रार्थबाट समय बचाउने मेसो हो । यसमा मैले शास्त्रार्थमा उठाइने गरेका मूल तर्कहरूलाई प्रश्न बनाएर आफ्ना धारणा राखेको छु ।

१. आइमाई शब्द धेरै पहिलादेखि चलिआएको हो । किन फेर्नुपर्‍यो ?

समाज जस्तै भाषा पनि गतिशील हुन्छ । शब्दका अर्थ मानिसका भोगाइ र अनुभवसँगै फेरिँदै जान्छन् । हाम्रा भोगाइ र अनुभवमा आएका परिवर्तनसँगै दैनिक जीवनमा प्रयोग हुने कतिपय शब्दको अर्थ र तिनको शिष्टता र अशिष्टता बारेका हाम्रा बुझाइ पनि बदलिरहेका हुन्छन् ।

महिला र पुरुषबीचको सामाजिक-सांस्कृतिक असमानतालाई कुनैबेला सहज र स्वभाविक रूपमा हेरिन्थ्यो । आज महिला पनि पुरुषजतिकै सम्मानका योग्य छन् भन्ने धारणा स्थापित हुँदैछ । समाजमा महिलालाई हेर्ने दृष्टिकोणमा यस्तो परिवर्तन आइरहँदा विगतमा उनिहरूलाई जनाउन प्रयोग हुनेगरेका मूल्यमान्यता, उखान, शब्द, संकेत आदिमा पनि प्रश्न उठ्ने गरेका छन् । त्यसमध्ये आइमाई शब्द पनि एउटा हो । यो शब्दमाथि महिलाको प्रतिरोधलाई बुझ्न हाम्रो समाजमा विद्यमान अन्तर्विरोधलाई पनि बुझ्नुपर्छ ।

२. शब्द आफैंमा के खराबी छ ?

शब्दको प्रयोग सांकेतिक हुन्छ । भाषाशास्त्रको सामान्य ज्ञान राख्नेले यो बुझेको हुनुपर्छ । नाक शब्दमा नाकलाई जनाउने कुनै तस्वीर छैन, न त नाकको वासना नै छ । नाकलाई कान भनिएको भए पनि नाक नाक नै रहन्थ्यो । यसको अर्थ हो शब्दको अर्थ र शब्दको नापतौल, आकारप्रकारबीच कुनै सम्बन्ध हुँदैन । अर्थ केवल प्रयोगको परम्पराबाट आउने मात्र हो । तसर्थ शब्दमा हुने अन्तर्विरोध यसको प्रयोगमा हुने हो, मौलिक वा प्राकृतिक अर्थमा होइन ।

त्यसैले कुनै वर्ग वा समुदायले आफूलाई जनाउने शब्दको प्रयोगमा शब्दप्रति आपत्ति जनाउँछ भने त्यसमा संंवेदनशील हुनुपर्छ ।  कुरा यत्ति हो ।

ब्ल्याक भन्ने शब्द नराम्रो होइन -तर काला जातिका मानिसहरूले उनिहरूलाई जनाउन प्रयोग हुँदा यो शब्द मन पराउँदैनन् । नर्वे-फिनल्याण्ड वरपर बसोबास गर्ने आज सामी भनिने समुदायलाई पहिले 'लाप्स' भनिन्थ्यो । यो शब्द उनिहरूलाई होच्याउनका लागि प्रयोग भएको अनुभवका आधारमा आज सार्वजनिक र औपचारिक प्रयोगमा छैन । हाम्रै सन्दर्भमा पनि दलितहरूका लागि प्रयोग गरिने दमाई, कामी, सार्की आदि शब्दलाई हामीले अपमानजनक मानेर प्रयोग गर्न छोडिसकेका छौं । आदिवासी समूदायलाई पहिला अङ्ग्रेजीमा tribe भनिन्थ्यो । आदिवासी समुदायको अधिकारको आन्दोलनका क्रममा यो शब्दको पनि प्रतिरोध भयो र आज Indigenous groups भन्ने चलन छ ।

ब्ल्याक, ल्याप्स, आइमाई, दमाइ, tribe आदि शब्द आफैँमा नराम्रा होइनन् होला । तिनको प्रयोगबारे हाम्रा धारणा फेरिएका हुन् ।

३. शब्दको प्रयोगले मात्र के फरक पार्छ ?

अपमानजनक शब्दको प्रयोग अपमान सहनेका लागि भौतिक हिंसा जत्तिकै दुखद् हुनसक्छ । आइमाई भन्दा के हुन्छ ? भनेर गफ पेल्नेहरूले आफ्ना केही महिला मित्र, श्रीमती, आमा वा दिदीबहिनीलाई एकपटक "तिमीलाई आइमाई भनेको मन पर्छ कि महिला ?" भनेर सोध्ने कष्ट गर्नुहोला ।

सकारात्मक र सभ्य समाजको निर्माण परस्पर सम्मान र सहानुभुतिबाट मात्र सम्भव छ । शब्दबाट गरिने अपमानबाट प्रताडित समूहले त्यसको विरोध गर्छ भने त्यसलाई सकारात्मक रूपले हेर्दा के बिग्रिन्छ ? नेपालमा मात्र होइन, संसारभर पिछडिएको वर्ग, समुदाय, समूहका लागि प्रयोग गरिने शब्दमा प्रतिरोध हुने गर्छ । मानिसहरू परम्परादेखि प्रयोग भएका शब्द प्रयोग गर्न छोड्छन् -अरूप्रति सम्मान देखाउन । तर, दु:खका साथ भन्नुपर्दा नेपालमा भने बोक्रे परम्परावाद यति हावी छ कि यसले गर्दा मानिसलाई समाजमा रहेको अन्तर्विरोध देख्न, बुझ्न नै चाहाँदैनन् -यसलाई स्वीकार गर्नु त परको कुरा ।

महिलालाई सम्बोधन गर्न अन्य शब्द पनि नभएका होइनन् ।

1 comment:

  1. This must have helped many readers understand why it's not right to continue with the tradition of using "आइमाई" as normally as people tend to do! Thanks for bringing it up.

    ReplyDelete