जब समाज वा राष्ट्रलाई
सङ्कटले घेरेको हुन्छ र आममानिसमा नैराश्यता व्याप्त हुन्छ त्यसबेला मानिसहरूले
चमत्कारिक नेताको प्रतिक्षा गर्छन् । यस्तो नेता जसले मुलुकलाई सबै सङ्कटबाट मुक्त
गराउन सकोस्; जोसँग अँध्यारो सुरुङ्गको पल्लो छेउमा रहेको उज्यालो देख्ने साहस र
क्षमता दुबै होस्; जोसँग बल होस्, बुद्धि होस् र विवेक पनि होस् ।
कहिलेकाहिँ यस्तो संयोग
जुर्न पनि सक्छ । तर, 'सङ्कटले नेतृत्व जन्माउँछ' भन्ने थ्यौरी सधैँ सत्य हुन्छ भन्नेचाहिँ
छैन । सङ्कटका रङ्गहरू जति विविध र अस्पष्ट हुन्छन्, नयाँ नेतृत्वको संभावना पनि
उत्तिनै दुर्लभ हुँदैजान्छ ।
२०६३ आषाढ २ गते बालुवाटारको आँगनमा बोलिरहेका माओवादी
नेता पुष्पकमल दाहाल र बाबुराम भट्टराइलाई पहिलोपटक टेलीभिजनको पर्दामा देख्ने
नेपालीहरूमध्ये धेरैले मुलुकले साँच्चै नै नयाँ नेतृत्व पाएको अनुभव गरेका थिए ।
जेल दलेर सम्म मिलाइएका कपाल, हल्का निलो रङ्गका सामान्य लाग्ने कोट र ओठमाथिका
बाक्ला जुँगाहरू शान्त र समृद्ध नेपालका प्रतिक झैँ भएर टेलीभिजनको पर्दामा टल्किएको आभाष हुन्थ्यो । युद्ध रोकिएपछि जङगलबाट सहर पसेको माओवादी नेतृत्वले
जनतालाई कोसेलीमा शान्तिमात्र बोकेर आएको थिएन, नयाँ नेपालको नारामा लपेटेर
समृद्धिको रुमानी सपना पनि सँगै लिएर आएको थियो ।
तर, केही वर्षहरू पनि बित्न
नपाउँदै ति सबै सपना धुवाँ बनेर एकाएक आकासमा बिलाए ।
माओवादी नेताहरू पहिलेका
(कांग्रेस, एमालेका) नेताभन्दा फरक बन्न सकेनन् । वा भनौँ उनिहरूको प्राथमिकतामा
यो थिएन । बालुवाटारको ओछ्यान, सिंहदरबारका कुर्सी र दिल्लीका भेटघाटले उनिहरूलाई
पनि 'अरू'जस्तै बनाए । सिकारी आफैँ सिकार भयो ।
माओवादी समर्थित एक
विद्यार्थी नेताले कुनैबेला भनेको सम्झन्छु, "हाम्रो विद्रोह जलिरहेको आगोको
भट्टी हो, समाजमा भएका विभिन्न प्रकारका मानिसहरू यस 'भट्टी'मा प्रवेश गर्छन्,
सक्नेहरू इस्पात भएर निस्कन्छन्, नसक्नेहरू खरानी बनेर नासिन्छन् ।"
माओवादीले उठाएको विद्रोहले
मुलुकमा लगाएको आगो सम्झने हो भने यो साँच्चिकै 'भट्टी' भएकोमा शंका नहोला । यसको
रापले पुष्पकमल दाहाल र बाबुराम भट्टराइ 'इस्पात' भएर निस्के कि खरानी भए
भन्नेचाहिँ इतिहासले नै देखाउनेछ ।
तर, अभिनेत्री रेखा थापा पार्टी
प्रवेश गर्दा माओवादीमा देखिएको ऐतिहासिक उत्साहले भने राम्रो सङ्केत गर्दैन । रेखा
थापाले पाएको महत्त्वले एउटा कुरा प्रस्ट पार्छ -त्यो हो माओवादी 'शीर्ष'नेताको
चमक र दमक अब नेपालीलाई मनोरञ्जन दिलाउन अपर्याप्त भइसकेका छन् र यो दलमा चुनाव
जित्न अब एउटा नयाँ 'शृङ्गार रस'को आवश्यकता छ ।
गणेशमानले कुनै बेला भन्ने
गर्थे रे –काठमाडौँका जनता भेडा हुन् । यसलाई 'जेनेरलाइज' गरेर भन्न सकिएला –नेपालका
जनता भेडा हुन् । यो अभिव्यक्तिका पछाडि गणेशमानको आसयका विभिन्न व्याख्या/अपव्याख्या होलान् । मेरो
बुझाइ हो –काठमाडौँका मानिस नयाँ सोच्दैनन् । एउटाले जे गर्यो सबै त्यसै गर्न
खोज्छन् ।
काठमाडौँमा घरैपिच्छे
खुलेका सहकारी संस्था, हरेक दुईघरपछि देखिने अस्पतालका बोर्ड र पाइलैपिच्छे देखिने
+२ कलेजका अग्लाअग्ला घरहरू देख्दा यो भनाइ उति गलत होलाजस्तो लाग्दैन ।
आखिर राजनीतिक दल वा त्यसका
नेता पनि हाम्रै समाज वा बृहत् अर्थमा काठमाडौँ कै उपज हुन् ।
रेखा थापाको माओवादी
प्रवेशपछि नेपाली कांग्रेसलाई पनि केही देखाउनुपर्ने चुनौति आइलाग्यो । उसले कवि
श्रवण मुकारुङ्गमा 'शृङ्गार रस' भट्यो । कुनै चमत्कार भएझैँ गरि मुकारुङ्ग
कांग्रेस भए, कांग्रेस खुसी भयो ।
कुनै समय थियो कांग्रेस
आमनागरिकमा विश्वास गर्थ्यो । २०४७ सालमा बहुदलीय व्यवस्थाको पुनर्स्थापनपछिको
पहिलो आमनिर्वाचनमा गाउँगाउँबाट नेपाली कांग्रेस प्रवेश गर्ने मानिसहरूका नाम रेडियो
नेपालबाट वाचन हुन्थे । यसका आधारमा कतिपय मानिस सम्पूर्ण देश कांग्रेसमय भएको अड्कल
काट्थे । तर समय बदलियो । कांग्रेसलाई 'शृङ्गार रस'को आवश्यकता पर्यो । समाजले
'हिरो' बनाएका मानिसहरूको खोजी भयो । तिलक रावल र रामेश्वर खनाल भेटिए । अरू पनि
भेटिँदै जालान् ।
नेपाली कांग्रेसले आफ्नो
दलका सबै आर्थिक कारोबार अब हुने निर्वाचनअघि नै सार्वजनिक गर्ने प्रतिवद्धता देखाएको
भए; भ्रष्टाचारको अभियोग खेपेका वा कारवाहीमा परेका व्यक्तिहरूलाई ओपचारिक रूपमा
नै पार्टीबाट निष्काशन गर्न सकेको भए; गाउँदेखि जिल्ला र क्षेत्र तहसम्म संगठनका
सबै एकाइहरूमा स्वतन्त्र र पारदर्शी निर्वाचनमार्फत् नेतृत्व चयन गर्ने
प्रतिवद्धता जाहेर गरेको भए; तीन, सात वा चार दलीय भनिने कथित संयन्त्रका अर्थहिन
कोठे गफहरूमा अबदेखि सामेल नहुने वाचा गर्दै राज्यको पुनर्संरचना, शासकीय स्वरूप,
संघीयता आदि भावि संविधानका मूल विषयमा दलको एकीकृत विचार निर्माण गर्ने काममा
ध्यान केन्द्रीत गरेको भए –उसलाई श्रवण, तिलक वा रामेश्वरहरूको आवश्यकता पर्ने
थिएन । उसले जनताको विश्वास जित्न सक्थ्यो ।
विधिको शासनमा व्यक्तिको
भूमिका गौण हुन्छ । हामीलाई आज चाहिएको 'व्यक्ति विधिबाट निर्देशित हुने' पद्दति
हो । व्यक्तिलाई नै राज्यसत्ताको केन्द्र मान्ने 'माओवाद'ले रेखा थापाहरू खोज्नु
अनौठो हैन । तर, नेपाली कांग्रेस रामेश्वरहरूमा रमाइरहँदा गणेशमानको भनाइ धेरै गलत
थिएन कि जस्तो लाग्छ ।
भनिन्छ कुनै कुरामा गहिरो
आस्था भएपछि मानिसले यसको विकल्प देख्दैन । हामी कुनै चमत्कारिक नेतृत्वले देश
बनाउन सक्छ भन्ने कुरामा गहिरो आस्था राख्छौँ । हामीलाई एउटा मानिस चाहिएको छ ।
यस्तो मानिस जसले सबैलाई 'तह' लगाओस्; जो सबै कुरामा दक्ष होस्, इमानदार पनि होस्;
र देशको विकास गर्नमा प्रतिबद्ध होस् ।
No comments:
Post a Comment