Wednesday, September 23, 2020

सर्वसत्तावादका निर्विकल्प अर्थमन्त्री

आजभोलि समाचार पढ्ने जाँगर घटेको छ । यसको एउटा सम्भावित कारण के होला भने समाचारहरूमा प्रतिविम्बित नेपालको अवस्था दिनानुदिन दु:खद बनिरहेको छ । राजनीतिमा आधारभूत मर्यादा समाप्त भएपछि समग्र राजनीतिक संस्था र लोकतन्त्रको भविष्य नाजुक बनेको छ । राजनीतिक नेतृत्व गैरजिम्मेवार भएर आफ्नो स्वार्थमा मात्र केन्द्रित रहँदा राज्यका आधारभूत संस्था र पद्धति असान्दर्भिक बनिरहेका छन् ।

मलाई आजभोलि यस्तो लाग्छ, हामी बर्खाको मौसममा अविरल पानी परिरहेका बेला खोलाकाे किनारमा उभिएर रमिता हेरिरहेका मानिस हौँ, जो विनाशकारी बाढीले मानिस, चौपाया र अन्य कुरा बगाएको देखिरहँदा पनि केही गर्न नसक्ने अवस्थामा छौँ । हाम्रो ‘एजेन्सी’ कमजोर र भुत्ते भएको छ ।

यही लाचारीबीच अहिलेको एउटा राजनीतिक घटनाक्रमबारे मनमा प्रश्न उठिरहेको छ, जसले यो लेख लेख्न घचघच्यायो । प्रश्न हो- निवर्तमान अर्थमन्त्री युवराज खतिवडाले प्रधानमन्त्रीका आर्थिक सल्लाहकारका रूपमा देशको अर्थतन्त्र चलाउने जिम्मेवारी पाउनुको अन्तर्य के हो ? यसले के संकेत गर्छ ? नेपालको अहिलेको समग्र रूपमा विकृत राजनीतिक परिवेशमा यसलाई आममानिसले कसरी बुझ्ने ?

मलाई लाग्छ, यो निर्णयको स्रोत वा यसको अर्थ सतहमा छैन । त्यसैले, सतहमुनि मैले देखेका एक/दुई परिस्थिति यहाँहरूसमक्ष राख्नेछु ।

कुरा सुरु गरौँ युवराज खतिवडालाई दिइएको जिम्मेवारी किन विशेष छ भन्ने प्रश्नबाट । नेपालको राजनीतिक इतिहासमा सम्भवतः युवराज खतिवडा पहिलो व्यक्ति हुन् जो एउटा महत्त्वपूर्ण कार्यकारी जिम्मेवारीबाट विमुख भएपछि चोरबाटोबाट उही जिम्मेवारीमा फेरि नियुक्त भएका छन्, नियुक्त हुन राजी भएका छन् ।

यसबाट के प्रस्ट हुन्छ भने जसले यसरी उनलाई नियुक्त गर्‍यो, त्यसको नजरमा उक्त पदका लागि अन्य योग्य मानिस छैनन् । जसले नियुक्ति पाएउनमा ‘मैले आफ्नो वैध कार्यकालमा जेजति काम गरेँ गरेँ, अब कार्यकाल सकिएपछि म बाहिर बस्नुपर्छ’ भन्ने आधारभूत मर्यादा छैन । नियुक्ति दिने र लिनेको मन मिलेपछि अब नेपालको इतिहासमा एक यस्ता अर्थमन्त्रीले देशको अर्थतन्त्र चलाउनेछन्, जो अर्थमन्त्री होइनन् ।

अस्तित्ववादका प्रमुख दार्शनिक जाँ-पाउल सार्त्रले मानिसको अस्तित्वको चर्चा गर्दा भनेका छन्मानिस हुनुको अर्थको स्रोत कुनै ठोस वा अलौकिक कुरा होइन -शून्यता (nothingness) हो । एकातिर मानिस छ अर्कोतिर शून्यता छ । अर्थात् मानिसको अस्तित्वभन्दा पर, भित्र केही छैन ।

मलाई युवराज खतिवडाको नियुक्तिको प्रसङ्गले सार्त्रको दर्शन याद आइरहेको छ । नेपालमा अहिले यस्ता अर्थमन्त्री छन् जसको पदीय हैसियतको अर्थ अर्थमन्त्री नहुनुबाट आइरहेको छ । यो नेपालको राजनीतिको न्यु नर्मल भएको छ ।

तर, यसो किन भयो त ? प्रधानमन्त्रीले युवराज खतिवडालाई किन निर्विकल्प ठाने ? युवराज खतिवडा संघीय सरकारका अर्थमन्त्री भएर २ वर्ष ६ महिना काम गर्दा देशको अर्थनीति र अर्थतन्त्रमा के-कस्ता सकारात्मक परिवर्तन आए, जसले अर्थशास्त्रीका र प्रभावकारी अर्थमन्त्रीका रूपमा युवराज खतिवडालाई निर्विकल्प बनाए ?!

त्यस्तो त केही देखिएन । कमसेकम सर्वसाधारणले यस्तो महसुस गरेजस्तो लाग्दैन । उनले बनाएका बजेटहरू परम्परागत हचुवा संरचनाबाट बाहिर निस्किन सकेनन् । आन्तरिक राजस्व संकलनमा प्रभावकारी योजना र पद्धति सुरु भएनन् । तीन तहका सरकारबीच स्रोत बाँडफाँटका लागि ठोस मापदण्ड र विधि बनेनन् । सरकारको खर्च गर्ने क्षमतामा कुनै सुधार आएनबरु खर्च नहुने अवस्था भयावह बनेर गयो । आर्थिक अनुशासनहीनताको अवस्था चुलिएर गयो, सरकारी स्रोत मनमौजी, निष्फिक्री र खुलेआम दुरुपयोग भइरह्यो । महँगी घटेन । आन्तरिक उत्पादन र निर्यात बढेन । अर्थतन्त्रमा कुनै संरचनागत सुधारका पहल भएनन् ।

घघडान अर्थशास्त्रीहरूले टेलिभिजनको पर्दामा नेपालका सम्भावना र चनौती भनेर अर्थतन्त्रका बारेमा जति बकबक गरे पनि नेपाल दशकौँदेखि धानिएको बर्खे पानी र विदेशमा नेपालीले कमाएर घर पठाएको पैसाले हो । यसको बलमा उपभोग टिकेको छ, अरू कामधन्धा चलेका छन्, सरकारले राजस्व पाएको छ ।

कृषि र रेमिट्यान्सबाहेक नेपालमा दुई थप आधार छन्, जसलाई आमजनता र विशेष गरी गरिब जनताले अविच्छिन्न रूपमा अपनाएका छन् । त्यसमध्ये पहिलो हो फेन्ड फर योरसेल्फ -अर्थात् आफ्नो जीउज्यानको सुरक्षा आफैँ गर । र दोस्रो हो- भोक । खान नपुगे भोकै सुत्न नेपाली अभ्यस्त छन् ।

मेरो मनमा प्रश्न उठ्ने कारण के भने यो अवस्थामा परिवर्तन ल्याउन निवर्तमान अर्थमन्त्रीले के नयाँ विकल्पहरू सोचे जसले गर्दा अहिलेको इतिहासमै सबैभन्दा शक्तिशाली सरकारका निर्विकल्प अर्थमन्त्री हुन पुगे ?

मेरो विचारमा निवर्तमान अर्थमन्त्री अर्थात् अहिलेका अर्थमन्त्रीलाई यसमा धेरै दोष दिन मिल्दैन । अरू धेरै मानिसहरू जसरी उनले पनि पाएको जिम्मेवारी लिए । सत्ता र शक्तिमा रहने चाहना धेरैको हुन्छ । उनमा पनि रहेछ ।

जिम्मेवारी जसले दियो, उसले किन दियो ? मेरो विचारमा यसलाई व्याख्या गर्ने दुई थ्यौरी छन् जुन बराबर सही हुन सक्छन् ।

पहिलो थ्यौरी होअहिलेका प्रधानमन्त्रीलाई अर्थमन्त्री चाहिएको छैन, अर्थमन्त्रीजस्तो केही चाहिएको छ । यसो गर्दा उनलाई अर्थ मन्त्रालयलाई आफ्नो पूर्ण नियन्त्रणमा राख्न सजिलो हुनेछ । भनेजस्तो गर्न पाइनेछ । रोकतोक हुने छैन । युवराज खतिवडा अर्थमन्त्री हुँदा प्रधानमन्त्रीले भनेको कुरा काटेनन् । अब अर्थमन्त्री नै नरहेपछि सल्लाहकारको त त्यति पनि हैसियत हुने भएन ।

मन्त्रीहरूलाई 'बुख्याँचा' बनाएर अहिले जसरी ओलीले सरकार चलाइरहेका छन्त्यसलाई हेर्दा यो थ्यौरी विश्वासिलो लाग्छ । तर, मलाई यो थ्यौरीमा विश्वास छैन ।

मेरो विचारमा आफ्नो सल्लाहकारका रूपमा युवराज खतिवडालाई नियुक्त गरेर प्रधानमन्त्रीले दुई स्पष्ट सन्देश दिएका छन् ।

पहिलो सन्देश हो- सरकार भनेको म हुँ । विधि, विधान, परम्परा, पद्धति र मर्यादा भनेको म नै हुँ । यसको स्रोत र औचित्य दुवै म नै हो । म नै साधन हो र म नै साध्य हो । त्यसैले, मलाई अलग्गै, विधिसम्मत अर्थमन्त्री चाहिँदैन । अलग्गै अर्थ मन्त्रालय पनि चाहिँदैन । सरकार मेरो हो र मैले जे मन लाग्यो, त्यही गर्ने हो ।

दोस्रो सन्देश हो- मलाई मन परेका मानिसलाई सरकारबाट निकाल भन्ने हैसियत कसैको छैन । म जसलाई चाहन्छु, उसलाई अरूले जतिसकुकै आलोचना गरे पनि मबाट टाढा बनाउन सक्दैन । मेरो विवेक र मेरो निर्णय अन्तिम हो । मानिसको गुण-दोष मैले निर्धारण गर्ने हो, बाहिरी दुनियाँले होइन ।

मेरो विचारमा प्रधानमन्त्रीलाई युवराज खतिवडाको क्षमतामा विश्वास छ भन्ने गतिलो आधार हामीसँग छैन । प्रधानमन्त्री ओलीलाई यदि कुनै कुरामा विश्वास छ भने त्यो हो आफ्नो असीमित, अलौकिक र बहुआयामिक क्षमता । यो विश्वासको अगाडि कुनै अर्को मानिस योग्य हुन सम्भव छैन ।

नेपालको राजनीतिमा यो नियुक्तिको अर्थ के त ?

मैले लेख सुरु गर्दा नेपालको निराशाजनक अवस्थाबाट सुरु गरेको छु । मेरो निराशाको स्रोत प्रमको सल्लाहकारको जिम्मेवारीमा युवराज खतिवडाको नियुक्ति होइन । यो नियुक्ति जसरी र जुन अभिप्रायले दिइयोत्यसले नेपालको वर्तमान राज्यव्यवस्थाको चुनौतीलाई उदाहरणका रूपमा प्रस्तुत गरेको छ । मलाई लाग्छजसलाई देशको माया छत्यसलाई यो निर्णयले गम्भीर बनाउनुपर्छ ।

प्रधानमन्त्रीले आफ्नो सर्वसत्तावादी सोच र शैलीमार्फत् नेपालको लोकतान्त्रिक पद्धति, संस्कार र आधारभूत मर्यादालाई जुन गति र जुन शैलीमा कमजोर बनाइरहेका छन्, त्यसबाट नेपालको आन्तरिक कमजोरी (Vulnerability) बढेको छ । हालको नियुक्ति गलत प्रवृत्तिको एउटा सानो उदाहरण मात्र हो ।तर यसले पनि नेपालमा जवाफदेही घट्ने र वित्तीय अव्यवस्था बढ्ने खतरा टड्कारो छ ।

सम्भवतः यसको हेक्का प्रधानमन्त्री स्वयम्‌लाई नहोलासबैमा आफ्नो अगाडिको जोखिम देख्ने क्षमता नहुन सक्छ । तर, समग्र देश एक व्यक्तिको कमजोरी र देशले धान्नै नसक्ने उसका इगोहरूका कारण लाचार भएको छ । यही क्रम बढिरहने हो भने नेपाल झन् विषम राजनीतिक र आर्थिक सङ्कट र यसबाट सिर्जना हुने मानवीय सङ्कटको भूमरीमा जाकिँदै जाने निश्चित छ ।

कसैले भन्ला, यो त परिस्थितिको नकारात्मक चित्रण भयो । यसमा मेरो भन्नु के छ भने परिस्थिति खराब हुँदा जस्तो छ, त्यही रूपमा चित्रण गर्नु नकारात्मक होइन । यथार्थ लुकाएर सकारात्मकताको झुटाे आत्मरतिमा रम्नुचाहिँ नकारात्मक हो ।

प्रधानमन्त्रीको सोच र शैलीले निम्त्याइरहेको सङ्कटका प्रत्यक्ष र अप्रत्यक्ष प्रभाव सबैलाई पर्ने नै छ । यसलाई नकार्नमा भन्दा आफ्नो तर्फबाट के गर्न सकिन्छ, त्यो बेलैमा सोचेको राम्रो ।


असोज १, २०७७ मा शिलापत्रडटकममा प्रकाशित (https://shilapatra.com/detail/41316) 

No comments:

Post a Comment