Saturday, August 29, 2020

दर्शनशास्त्रका कुरा -२ः कान्ट, ह्युम र प्रबोधन

 प्रिय पाठक,

आज म यहाँहरूसँग ज्ञानको स्रोत, दर्शनशास्त्रको औचित्य र विज्ञानको सीमितताका विषयमा दुई प्रसिद्ध दर्शनशास्त्रीका विचारहरूको बेलिबिस्तार लगाउनेछु ।

यहाँहरूमध्ये कतिलाई सम्झना होला, यसअघिको मेरो लेख अस्ट्रियन दार्शनिक लुडभिग भिट्गेन्स्टाइन (Ludwig Wittgenstein) का बारेमा थियो । मैले लेखको शुरूमा प्लेटोको दर्शनको छोटो चर्चा गरेको थिएँ । एथेन्सका दार्शनिक सोक्रेटिज, प्लेटो र एरिस्टोटलले आजभन्दा लगभग २४०० वर्षअघि पाश्चात्य बौद्धिक इतिहासको जग बसाएका थिए ।

आजको लेखमा म यहाँहरूलाई त्यति परसम्म लाने छैन । यो लेखले ३०० वर्ष अघिको समयलाई समेटेको छ । एउटा यस्तो समय जसमा दर्शनशास्त्रका दुई महान विचारक लगभग उही बेला चानचुन १६०० किलोमिटरको दूरीमा जीवन र जगतबारे गहिरो चिन्तन गर्दै थिए र एकपछि अर्को गर्दै विश्वप्रसिद्ध कृति संसारलाई दिइरहेका थिए । यी दुई दर्शनशास्त्रीको योगदानले पाश्चात्य दर्शनशास्त्रको धरातल समृद्ध मात्र बनाएको छैन, युरोप र अन्य पाश्चात्य देशहरूमा आधुनकिताको जग पनि बसालेको छ ।

ती दुई मानिसहरू थिए डेभिड ह्युम (David Hume) र इम्यानुएल कान्ट (Immanuel Kant ) ।

गुगल म्यापमा स्कटल्याण्डको एडिनबरा र रसाको कालिनिनग्राद

रोचक कुरा के पनि छ भने कान्ट र ह्युम दुवै ज्ञान-विज्ञानको इतिहासमा प्रसिद्ध एउटा महत्त्वपूर्ण युगका साक्षी र अगुवा थिए । यो एतिहासिक युग र यसले अघि सारेका दृष्टिकोणलाई अङ्ग्रेजीमा ‘दी इन्लाइटेनमेन्ट’ (the Enlightenment) भनिन्छ, र यसभन्दा मुनि ‘प्रबोधन’ भन्नेछु ।[१] यो लेख त्यही प्रबोधनकाल र यससँग जोडिएको दर्शनशास्त्रमा केन्द्रित हुनेछ ।

लेखमा सर्वप्रथम प्रबोधनकाल र यससँग जोडिएका मूल्यमान्यताको छोटो चर्चा गर्नेछु[२] । त्यसपछि कान्ट र  ह्युमको दर्शनशास्त्रका मूल विशेषता केलाउनेछु।

प्रबोधनको अर्थमा प्रवेश गर्नुअघि यसभन्दा ठीक अघिको युगको छोटो परिचय हेरौँ  

इतिहासको वर्णनलाई हेर्ने हो भने सन् ५०० को हाराहारीमा पश्चिमी रोमन साम्राज्यको पतनपछि युरोप अस्थिरता, अनिश्चितता र आलस्यको चक्रमा फँस्यो । राज्यहरू कमजोर हुँदै गए । कला, वाणिज्य, सामाजिक गतिविधिमा गुणात्मक विकास हुनसकेन । यो क्रम लगभग एक हजार वर्षसम्म चल्यो । चौधौँ शताब्दीका इटालियन विद्वान तथा कवि Francesco Petrarca (Petrarch)ले युरोपको मध्य युग (Middle Ages) को विस्तृत चर्चा गर्दै भनेका छन् -यस युगका मानिसहरू अन्धकारबाट घेरिएका थिए र ज्ञानको अभावकै  कारण एकपछि अर्को गल्ती दोहोर्‍याउन बाध्य थिए । यसअघि ग्रीक र रोमन साम्राज्यले स्थापना गरेको कला, विज्ञान, दर्शन, वास्तुकला तथा राजनीतिक व्यवस्था मध्ययुग मा सङ्कटमा परेको थियो । त्यसैले, यो युगलाई Petrarch ले अन्धकारको युग (Dark Age) नै भनेर व्याख्या गरे[३]

युरोपको यो अवस्था प्रबोधन शुरू हुनुअघि १४औँ शताब्दीसम्म कायम रहेको विश्वास गरिन्छ । चौधौँ शताब्दीबाट युरोपमा ज्ञान (र विज्ञान) प्रतिको रुचि विकास हुनथाल्यो । यो रुचि यति शक्तिशाली थियो कि यसले समग्र पाश्चात्य दर्शनशास्त्रलाई समृद्धमात्र बनाएन, समग्र पाश्चात्य मुलुकको सामाजिक-सांस्कृतिक, आर्थिक र राजनीतिक अवस्थालाई बदलिदियो ।

आजको लेखमा समाविष्ट एक प्रमुख दार्शनिक कान्टकै शब्दहरू लिएर प्रबोधनको कोछोटोचर्चा गरौँ ।

कान्ट भन्छन् -अज्ञानी हुन सजिलो छ । प्रकृतिले मानिसलाई स्वतन्त्र बनाएको भए तापनि अल्छे र कायर मानिसहरू अज्ञानताको सजिलोमा नै रमाउन चाहन्छन् । मेरा लागि सबै कुरा सोचिदिने एउटा पुस्तक, मेरो अन्तरआत्मा भइदिने पादरी, के खाने के नखाने भनेर सुझाव दिने चिकित्सक -भएसम्म मैले केही कष्ट गर्नुपर्दैन । मैले सोच्ने आवश्यकता नै हुँदैन । पैसा तिर्न सक्ने हो भने म सोच्ने काम पनि अरूलाई जिम्मा दिनसक्छु ।

अरूका लागि सोचिदिने ‘अभिभावकहरू’[४] पनि चाहन्छन् कि (सर्वसाधारण) मानिसहरूले परिपक्व हुने कामलाई अप्ठेरो मात्र नमानुन्, खतरापूर्ण पनि ठानुन् । यी अभिभावकहरू पहिला आफ्ना ‘घरपालुवा जनावर’ लाई मूर्ख बनाउँछन्, र त्यसपछि यति कमजोर र आज्ञाकारी बनाउँछन् कि तिनीहरू आफूले समातेको डोरी छाडेर एक पाइला पनि आफ्नै बलमा नहिँडून्। त्यसपछि अभिभावकहरूले ती घरपालुवा जनावरलाई एक्लै हिँड्दा लड्न सकिने खतरा देखाइदिन्छन् । लडिने खतरा त्यति ठूलो हुन्न र एकदुई पटक लडेपछि हिँड्न जानिन्छ । तर, एकदुई पटक लडेका असफलताका उदाहरणबाट मानिस थप प्रयास गर्न इच्छुक हुँदैन ।

माथिका हरफहरू कान्टको १८८४ मा प्रकाशित छोटो र प्रसिद्ध लेख What is Enlightenment? बाट अनुवाद गरिएका हुन् ।

सोही लेखमा कान्टले दिएको प्रबोधनको परिभाषा हेरौँ  । उनी भन्छन् – प्रबोधन मानिसले आफैँ आफूमाथि लादेको ‘अपरिपक्वता’ (nonage) बाट बाहिर निस्कन सफल भएको अवस्था हो । मानिसले आफ्नो मस्तिष्क प्रयोग गर्नका लागि आवश्यक निर्णय लिन नसकेर वा त्यसो गर्न पर्याप्त साहस नभएर अपरिपक्वतालाइ स्वीकार गरेको हुन्छ । जब एउटा मानिस अरूको निर्देशनबिना आफ्नै सुझबुझ प्रयोग गर्न थाल्छ तब उसमा बौद्धिक जागरण शुरू हुन्छ -अर्थात्, ऊ प्रबोधित (Enlightened) बन्न थाल्छ ।

दर्शनशास्त्रमा रुचि हुने वा नहुनेहरूले समेत सुनेका प्रसिद्ध नामहरू फ्रान्सिस बेकन, रेने डेकार्ट, टोमस हब्स, ब्लेज पास्काल, जोन लक, भोल्टेअर, डेभिड ह्युम, इम्यानुअल कान्ट, जाँ ज्याक रुसो, आडम स्मिथ, हेगल, हेन्री डेभिड थोरोले प्रबोधनलाई आफ्नो दर्शनबाट समृद्ध बनाउन योगदान दिए । प्रशिद्ध प्रकृतिविद् तथा वैज्ञानिकहरू - जस्तै, खगोलशास्त्री योहानस केप्लर, गुरुत्वआकर्षणको सिद्धान्त विकास गर्ने आइज्याक न्युटन, जीव वैज्ञानिक लामार्क र चार्ल्स डार्विन आदिका सिद्धान्त र वैज्ञानिक आविष्कारले भौतिक संसारबारेको ज्ञानलाई नयाँ उचाइमा पुर्‍यायो । कार्ल मार्क्सको समाज रूपान्तरणको दर्शनलाई प्रबोधनको अर्को ज्वलन्त उदाहरण मानिन्छ ।

ज्ञानले नै जीवनलाई सार्थक बनाउँछ भन्नेमा गहिरो विश्वास गर्ने प्रबोधनकालका प्रसिद्ध दार्शनिक कान्टले सबैलाई ‘अनुशासित’ बन्न र ‘बौद्धिक जागरण’ हासिल गर्न आव्हान गरे । उनले भने - Sapereaude! अर्थात्, जान्ने साहस गर (Dare to know!)। कान्टका अनुसार -आफ्नै सुझबुझ/बोध प्रयोग गर्ने साहस हासिल गर्नु नै प्रबोधनको को मूल मन्त्र (Motto) हो ।

Anicet-Charles-Gabriel Lemonnier को तैलचित्र In the Salon of Madame Geoffrin । यसमा प्रबोधनकालको प्यारिसको सार्वजनिक जीवन प्रस्तुत गरिएको छ जसमा मानिसहरू यस्ता स्यालोनमा भेला भएर छलफल र अन्तर्क्रियाबाट ज्ञान बढाउने कुरामा उत्सुक थिए ।  चित्रमा त्यसबेलाका प्रसिद्ध व्यक्तित्वहरू देखाइएको छ ।

कान्टको माथिको भनाइ तपाईँलाई अनौठो नलाग्न सक्छ ।

माथिका भनाइ यिनै शब्दमा नभए पनि हामीले दैनिक सुनिरहने कुरा नै हुन् । ज्ञानको माध्यमबाट आफ्नो जीवन, समाज र राष्ट्रलाई थप उन्नत बनाउने कुरा वर्तमान युगको केन्द्रीय चेत हो । कान्टकै शब्दमा नभए पनि अन्य शब्द र भावमा विद्यालय, मिडिया, सरकार आदिले यीकुरा भनिरहेका हुन्छन् । अज्ञानताबाट मुक्त हुनुपर्ने र हरेक सर्वसाधारणले यसो गर्न सम्भव हुने कुरामा हामी प्रश्न गर्दैनौँ । मेरो विचारमा यसो हुनुको कारण के हो भने हामी अहिले बाँचिरहेको युग प्रबोधनकालकै विस्तार र निरन्तरता हो ।

प्रबोधन विचारको आलोचनात्मक टिप्पणी विस्तृतरूपमा उत्तरआधुनिकतावाद र उत्तरसंरचनावादको चर्चा गर्ने क्रममा आगामी लेखहरूमा गर्नेछु । यो विषय अहिलेलाई थाति राखेर प्रबोधनको दर्शनशास्त्रीय चुरोतिर लागौँ ।

प्रबोधनको बौद्धिक जागरण संसारलाई हेर्न र बुझ्न प्रयोगमा ल्याउन सकिने मानवीय क्षमताको पक्षमा थियो । माथि कान्टको उद्धरणले भनेझैँ यस जागरणसँग जोडिएका सबै विद्वान केमा सहमत थिए भने संसार बुझ्नसक्ने क्षमता मानिस आफैँसँग छ । मानिसका इन्द्रिय छन् र संसारको अवस्थिति प्रशोधन गर्नसक्ने शक्तिशाली मस्तिष्क छ । त्यसैले, इन्द्रियले परिक्षण गर्ननसक्ने वा मस्तिष्कले सही भनेर प्रमाणित गर्न नसकिने कुरामा विश्वास गरिरहन आवश्यक छैन ।

संसारलाई व्यवस्थित रूपमा बुझ्ने र व्याख्या गर्ने उद्देश्यबाट निर्देशित प्रबोधनकालमा जीवन-जगतबारे मानवीय चेतनासँग सम्बन्धित केही प्रश्न भने निरूपण हुन बाँकी थिए । ती प्रश्न थिए-

  • ज्ञानको प्राथमिक स्रोत इन्द्रियबाट प्राप्त अनुभव (Experience) हो कि मस्तिष्क (Reason)को सहायताले खोजिने कारण र परिणामको विश्लेषण हो ?
  • के मानिसका सबै ज्ञान वा विचारको परीक्षण इन्द्रियमार्फत् गरिने अनुभवबाट सम्भव छ ? इन्द्रिय वा विज्ञानको प्रयोगबाट परिक्षण गर्न नसकिने ज्ञान वा विचारलाई कसरी बुझ्ने (वा उपयोग गर्ने) ?
  • यसलाई अर्को एउटा प्रश्नका सहायताले हेरौँ  -सबै विचार अनुभवमा आधारित हुनैपर्छ  भनेर मान्ने हो भने त्यो “सबै विचार अनुभवमा आधारित हुनैपर्छ” भन्ने विचारको स्रोतचाहिँ के हो ? यसको परीक्षण कसले गर्‍यो ?

कान्टको दर्शनशास्त्र यिनै प्रश्नको सेरोफेरोमा घुमेको छ । त्यसैले, यसको विशिष्ट स्थान र महत्त्व त छ नै सँगसँगै यो रोचक र उपयोगी पनि छ ।

कान्टको जन्म आजभन्दा लगभग ३०० वर्षअघि सन् १७२४ प्रसिया साम्राज्यमा भएको थियो । उनी सामान्य परिवारमा जन्मेका थिए । उनका बुवा घोडा चढ्दा प्रयोग हुने काठी (saddle) बनाउने काम गर्थे । कान्टको अर्को परिचय के छ भने उनिमात्र ती बेलाका थोरै दार्शनिकमध्ये एक थिए जो प्राज्ञिक पेशामा थिए । प्रबोधनकालका का दार्शनिकहरूमा हेगलबाहेक अरू कोही पनि पेशाले ‘दार्शनिक’ थिएनन्[५]

इम्यानुअल कान्टको पोट्रेट

कान्टको जीवनी लेख्नेहरूका अनुसार उनी आफ्नो दैनिक समय तालिकामा यति धेरै अनुशासित थिए कि हरेक काम तोकिएको समयमा निश्चित उद्देश्यका लागि गर्नुपर्छ भन्नेमा विश्वास गर्थे । कोनिसबर्गको अल्बर्टस विश्वविद्यालयमा अध्यापन गर्ने कान्ट सदैव निश्चित समयमा घरबाट बाहिर निस्किन्थे र घर फर्किन्थे । कोनिसबर्गका शहरवासी कान्टलाई आफ्नो झ्यालबाट बाहिर देखेपछि कति बज्यो भनेर थाहा पाउँथे रे ! कान्ट कोनिसबर्ग शहरबाट कहिलै बाहिर गएनन् । विवाह गरेनन् । उनको जीवनका कुनै ठूला आरोह, अवरोह थिएनन् ।

सन् १७८१ मा कान्टको पुस्तक Critique of Pure Reason प्रकाशित भयो । यस पुस्तकलाई प्रबोधनको को एक प्रमुख कृति मात्र नभएर समग्र पाश्चात्य दर्शनशास्त्रको एक महत्त्वपूर्ण उपलब्धि मानिन्छ । पुस्तकमा कान्टले अनुभवबाट परिक्षण गर्न सकिने र नसकिने विचारहरूको विवेचना गर्दै दर्शनशास्त्रको विशेषता र औचित्यको चर्चा गरेका छन् । सन् १७८३ उनले उनको अर्को पुस्तक प्रकाशित भयो जसको शीर्षक थियो Prolegomena to Any Future Metaphysics। तलका अनुच्छेदहरूमा यिनै दुई पुस्तक र उनका अरू केही लेखहरूमा समाविष्ट मूल तर्क मोटामोटी प्रस्तुत गर्नेछु ।

यसभन्दा तलका केही अनुच्छेदमा कान्टले प्रस्तुत गरेका दुई  प्रकारका ज्ञान (Knowledge) र दुई प्रकारका कथन (Judgement) मेरो बुझाइका आधारमा संक्षिप्त रूपमा प्रस्तुत गर्नेछु । मलाई लाग्छ कान्टलाई बुझ्नका लागि यी चार प्रकारका कथन (Propositions) बुझ्न अपरिहार्य छ ।

कान्टको विचारमा स्रोत (Foundation) का आधारमा ज्ञान (Knowledge) लाई दुई प्रकारमा बाँड्न सकिन्छ ।

पहिलो ज्ञान परीक्षण गर्नसकिने ज्ञान (Empirical knowledge) हो । यो मानिसको ‘अनुभव’ (Experience) मा आधारित हुन्छ । यस प्रकारको ज्ञानको विशेषता के भने यसको स्रोत मानिसको नाक, मुख, आँखा, कान वा जिब्रोको प्रयोगमा आधारित अनुभव हो । जस्तै, खोर्सानी पिरो भए, नभएको चाखेर थाहा पाउन सकिन्छ । पानी तातो छ, छैन औँला डुबाएर वा छामेर थाहा पाउन सकिन्छ ।

म यी हरफहरू लेखिरहँदा पाकिस्तानको शहर इस्लामावादस्थित आफ्नो अध्ययन कोठामा छु । यतिबेला रातको दश बज्न लागेको छ । केही घण्टाअघि आकाशमा बादल थियो । मलाई लाग्छ बाहिर पानी परिरहेको छ । तर, कोठामा फ्यान घुमिरहेकाले पानी परिरहेको छ, छैन सुन्न सक्दिन । त्यसैले, बरण्डाको बत्ति बाल्छु र पर्दा खोलेर बाहिर हेर्छु । हो, साँच्चै पानी परिरहेको रहेछ ।

‘बाहिर पानी परिरहेको छ । यो कथन[६] Empirical knowledge[७] को उदाहरण हो । कान्टको विचारमा इन्द्रियहरूको प्रयोगमार्फत् अनुभवमा आधारित सबै ज्ञान परीक्षण गर्नसकिने ज्ञान (Empirical knowledge) हुन् ।

कान्टको विचारमा Empirical knowledge को ठीक उल्टो ज्ञान a priori knowledge हो ।  यसलाई बुझ्न तलका केही वाक्य हेरौँ  

  • अरूको सेवाबाट खुशी मिल्छ ।
  • रातो एकप्रकारको रङ्ग हो ।
  •  ७ मा २ जोड्दा ९ हुन्छ ।

यी कथनमा तिनीहरूका अर्थ कथनमा नै अन्तर्निहित छन् ।‘अरूको सेवाबाट खुशी मिल्छ’ भन्ने थाहा हुन कुनै परीक्षण गररिरहनु पर्दैन - न त रातो एक प्रकारको रङ्ग हो भन्ने दाबी गर्नका लागि तपाईँले आफ्नै इन्द्रियहरूको प्रयोग गर्नुपर्छ । दृष्टिविहीनहरूले पनि भन्नसक्छन् कि रातो एक प्रकारको रङ्ग हो । यस्ता कथनको स्रोत व्यक्तिको अनुभव (experience) नभएर मस्तिष्क (reason) हो । यस्तो ज्ञान इन्द्रियको अनुभवभन्दा पहिले (prior) आउँछ ।

कान्टको विचारमा गणित पनि a priori knowledge को उदाहरण हो । ७ मा २ जोड्दा ९ हुन्छ भन्ने ज्ञान अङ्कको प्रयोग गर्ने व्यक्तिले अनुसन्धान गरेर पत्ता लगाउने कुरा होइन । उनका अनुसार a priori knowledge का लागि यस माथिको विश्वास नै पर्याप्त हुन्छ।

कान्टले a priori knowledge को अर्को एउटा प्रमुख विशेषता उल्लेख गरेका छन् । उनको विचारमा a priori knowledge विश्वव्यापी हुनुपर्छ, अर्थात् संसारमा सबैतिर वा सबै समयमा त्यो सत्य हुनुपर्छ । रातो एक प्रकारको रङ्ग हो वा ७ मा २ जोड्दा ९ हुन्छभन्ने कुरा कुनै एक ठाउँमा वा कुनै एक बेलामात्र सत्य हुने हुँदैन ।

स्रोतका आधारमा ज्ञानको वर्गीकरणको चर्चापछि अब कान्टले प्रस्तुत गरेको कथन (Judgement[८]) को अर्को वर्गीकरणलाई हेरौँ ।

कान्टको विचारमा तिनीहरूले दिने अर्थ वा सन्देशलाई हेर्ने हो भने कथन मूलतः दुई प्रकारका हुन्छन् ।

केही कथन यस्ता हन्छन् जसको अर्थ त्यसभित्र नै पूर्णरूपमा समावेश हुन्छ । अर्थ सन्देशमा निहित रहने यस्ता कथनलाई कान्टले Analytic judgement (विश्लेषणात्मक कथन?) भनेर परिभाषित गरे ।

यो वाक्यलाई हेरौँ–‘नेपालका नागरिकहरू नेपाली हुन् ।’

यसलाई राम्रोसँग हेर्ने हो भने ‘नेपाली’को हो भन्ने व्याख्या (नेपालमा बस्ने मानिस) कथनमा निहित रहेको देख्न सकिन्छ । यस्तो कथनलाई परीक्षणको आवश्यकता पर्दैन किनभने  यसमा सत्य वा असत्य भनेर जाँच्नुपर्ने वा जाँच्न मिल्ने कुनै प्रस्ताव छैन । त्यसैले, कान्टले यस्तो कथनलाई व्याख्यात्मक (Explicative) भने ।

यसको विपरित एउटा अर्को कथनलाई हेरौँ -‘नेपालीहरू साहसी हुन्छन् ।’

यस कथनमा अन्तर्निहित सन्देशको प्रकृति यस अघिको कथनभन्दा फरक छ । यो कथनका दुई विशिष्टता छन् । पहिलो यसमा ‘नेपाली’ के हो भन्ने व्याख्या ‘नेपाली’ शब्दभित्र अन्तर्निहित (contingent) छ । दोस्रो, यस कथनमा कथनकारले - नेपालीहरू साहसी हुन्छन् भनेर - आफ्नो विचार जोडेको छ। यस्ता प्रकारका कथनलाई कान्टले Synthetic judgement भने ।

कान्टको विचारमा Synthetic judgement को विशेषता के हो भने यस्ता कथनको सन्देश Analytic judgement को भन्दा विस्तार भएको (ampliative) हुन्छ । ‘नेपालका नागरिक नेपाली हुन्’ भन्दा कथनको अर्थ सीमित हुन्छ तर नेपाली साहसी हुन्छन् भन्दा नेपालीका बारेमा कथनकारको विचार थपिएको हुन्छ । त्यसैले यस्ता कथनको सत्यता कथनभित्र समाहित हुँदैन -बाहिर गएर खोज्नुपर्छ ।

माथि उल्लिखित चार प्रकारका विभिन्न ज्ञान र कथनको चर्चा गर्दै कान्टले निष्कर्षका रूपमा भने - a prioriknowledge Synthetic judgement को जोडबाट बन्ने Synthetic a priori judgement दर्शनशास्त्रको आधार हो । यस्तो प्रकारको कथनमा मात्र हामी एउटा स्थापित परिभाषा (जस्तै, नेपालीको परिभाषा) र परीक्षण योग्य प्रस्ताव (जस्तै, नेपालीहरू साहसी हुन्छन् ।) भेट्न सक्छौँ ।

मेरो बुझाइमा कान्टको प्रबोधनको दर्शनको चुरो यही हो । कान्टलाई वास्तविक अनुभव (Experience) मात्र विचारका स्रोत हुनसक्छन् भन्ने प्रबोधनमा विकास हुँदै गएको अति-उत्साहबाट दर्शनशास्त्रलाई जोगाउनु थियो । यसका लागि उनले ज्ञानको स्रोत हाम्रो चेतनाभन्दा माथि (a priori) पनि हुनसक्छ भन्ने तर्क पेश गरे । अर्कातर्फ, परम्परावादी बौद्धिकतावाद (Rationalism / metaphysics) लाई नयाँ ज्ञान र विज्ञानका क्षेत्रमा हासिल नयाँ उपल्बधिका आधारमा परिमार्जन गर्नु थियो । यसका लागि उनले a priori ज्ञानलाई फैलाएर परिक्षणयोग्य बनाउन सकिन्छ भन्ने प्रस्ताव गरे । कान्टको विचारमा यसको माध्यम उनले प्रस्ताव गरेको Synthetic a priori judgement हो ।

यही दर्शनलाई अब प्रबोधनको बृहत् ‘फ्रेम’मा राखेर हेरौँ  

प्रबोधनकालका सबै दार्शनिकहरू अज्ञानताको दासत्वबाट मुक्ति पाउन मानिसका लागि सम्भव छ भन्नेमा सहमत थिए । यद्यपि, जसरी मैले माथि छोटो चर्चा गरेँ -ज्ञानको स्रोत के हो भन्नेमा विभिन्न दार्शनिकका फरक मत थिए । एकथरी दार्शनिकहरू इन्द्रिय (नाक, जिब्रो, कान, आँखा) बाट प्राप्त अनुभवमा आधारित ज्ञान(Empiricism) नै संसार बुझ्ने र व्याख्या गर्ने आधार हुन् भनिरहेका थिए । उनीहरू ठान्थे - वास्तविक र ठोस अनुभव नभइ संसार बुझ्न र व्याख्या गर्न असम्भव छ । जस्तै, रुखका बारेमा थाहा पाउन रुखलाई हेर्नुपर्छ - रुखबारेको विचारलाई होइन । यो विचार समूहमा जोन लक, डेभिड ह्युम, जर्ज बार्क्ले, आदिलाई राख्न सकिन्छ ।

अर्काथरी दार्शनिक भनिरहेका थिए ज्ञानको वास्तविक र अन्तिम स्रोत मस्तिष्क (Reasoning) हो । ज्ञानको खोजी विशुद्ध रूपमा मस्तिष्कको अभ्यास हो । हामी घरको कुर्सीमा बसिबसी बौद्धिकताको प्रयोग गरेर ज्ञान र विज्ञानका गम्भीर समस्याको छिनोफानो गर्नसक्छौँ-त्यसरी नै जसरी निकोलाउस कोपर्निकसले गणितको प्रयोगद्वारा (घरमा बसीबसी) पृथ्वि सूर्यको वरिपरी परिक्रमा गर्ने पत्ता लगाए[९]। ज्ञानको स्रोतका बारेमा उनीहरूको मत थियो - हामीले मान्नुपर्‍यो कि एउटा यस्तो अलौकिक बिन्दु (वा स्रोत) छ जहाँ विचारको शुरूआत हुन्छ[१०] । ज्ञानविज्ञान अगाडि बढ्ने मानिसका मस्तिष्कमा आउने विचार (reasoning) ले हो परीक्षण (Observation) ले मस्तिष्कमा आउने विचारलाई नै सही (वा गलत[११]) प्रमाणित गर्ने हो । यो विचार समूहमा बारुख स्पिनोजा, रेने डेकार्ट, लाइब्निज आदिलाई राख्न सकिन्छ ।

यो विवादलाई एउटा उदाहरणबाट हेरौँ  । मानिसले एउटा रुखलाई कसरी चिन्छ ? यो प्रश्नको जवाफमा अनुभवमा आधारित ज्ञानका पक्षपातीहरू (Empiricists) भनिरहेका थिए - मानिसले कहिँ कतै रूख नदेखी वा यसको भौतिक अस्तित्व महसूस नगरी रुखका बारेमा जान्न असम्भव छ । अर्कोतिर बौद्धिकताका पक्षधरहरू (Rationalists) भनिरहेका थिए कि रुखको विचार मानिसको मस्तिष्कको संरचनामा विद्यमान हुन्छ । रुख हेर्ने र यसबारे जान्ने काम आफ्नो मस्तिष्कमा रहेको ज्ञानलाई पुष्टि गर्ने कार्यमात्र हो ।

कान्टको दर्शन यी दुई फरक ध्रुवका प्रबोधनकालका विचारलाई संश्लेषण गर्ने र जोड्ने उद्देश्यमा केन्द्रित थियो ।

कान्टको यो योगदानलाई थप बुझ्न उनलाई एकैछिनका लागि यहीँ थन्क्याएर हामी एक अर्का प्रबोधनकालका दार्शनिक तिर लागौँ । उनको नाम हो – डेभिड ह्युम ।

तलका केही अनुच्छेदमा ह्युमले Causality Metaphysics का विषयमा प्रस्तुत गरेका रोचक धारणाहरूलाईआफ्नो बुझाइमा आधारित भएर प्रस्तुत गर्नेछु ।

ह्युमको जन्म कान्टभन्दा १३ वर्षअघि सन् १७११ मा स्कटल्याण्डको एडिनबरा शहरमा भएको थियो । उनको अध्ययन इतिहास, साहित्य, दर्शन र गणितमा थियो । केही समय उनले कानून व्यवसायीका रूपमा आफ्ना दाजुहरूसँग काम गरे । तर पछि दर्शनशास्त्री र लेखकका रूपमा जीवन बिताए । उनका विभिन्न पुस्तकमध्ये सन् १७३९ मा प्रकाशित A Treatise of Human Nature र सन् १७४८ मा प्रकाशित Enquiries concerning Human Understanding विशेष मानिन्छन् ।

दर्शनशास्त्रमा कान्टको सबैभन्दा ठूलो योगदान कारण र परिणामबीचको सम्बन्धका बारेमा उनले प्रतिपादन गरेको सिद्धान्त हो । यो रमाइलो सिद्धान्तको व्याख्या तल गर्नेछु । त्यता जानुअघि Induction[१२]बारे छोटो चर्चा गरौँ ।

घटनाविशेष वा तिनीहरूको निरन्तरतालाई हेरेर कुनै विषयमा बृहत् अवधारणा (वा थ्यौरी) बनाउने पद्धति Induction हो । यी तीन वाक्यलाई हेरौँ –“कोइलीले फुल पार्‍यो । कोइली चरा हो । सबै चराले फुल पार्छन् ।” यस कथनमा एउटा (वा केही) कोइली को प्रवृत्ति हेरेर त्यसका आधारमा कोइली र सम्पूर्ण चराको प्रवृत्ति व्याख्या गरिएको छ । यसरी तर्कको निर्माण गर्ने पद्धतिलाई Induction भनिन्छ । दैनिक जीवनमा Induction का सहायताले हामी आफू वरिपरीको संसार बुझ्न यस्तै अवधारणा बनाइरहेका हुन्छौँ। दैनिक जीवनमा मात्र नभएर दर्शनशास्त्रमा पनि Induction को ठूलो स्थान छ । दार्शनिकहरूले Induction कै सहायताले संसार बुझ्ने र व्याख्या गर्ने गरिरहेका छन् । ज्ञानको स्रोत मस्तिष्कलाई मान्ने (Rationalists) हरूको दार्शनिक चिन्तनको मुख्य पद्धति Induction हो ।

ह्युम Induction वा Inductive method का प्रखर आलोचक थिए । उनको विचार थियो, Induction ले सम्पूर्ण तर्कशास्त्र वा दर्शनशास्त्रलाई विकृत बनाएको छ । Treaties of Human Nature भन्ने आफ्नो पुस्तकमा उनले Induction को कडा आलोचना गर्दै विगतका सीमित अवलोकनले भविष्यका बृहत् घटनालाई व्याख्या गर्न नसक्ने तर्क गरेका छन् । यसका अतिरिक्त उनले कारण र परिणामबीचको सम्बन्धबारे विस्तृत आलोचनात्मक तर्क प्रस्तुत गरे । तलका अनुच्छेदहरूमा केही उदाहरणहरूबाट ह्युमका तर्कहरू उदाहरणसहित हेरौँ  

तपाईँलाई पानी तताउनु छ । पानीको भाँडो चुलोमा बसाउनु भयो । ग्यास बाल्नुभयो । पानी उम्ल्यो । तपाईँ भन्नुहोला यो घटनामा आगो बल्ने कारण हो र पानी उम्लिने परिणाम । ह्युम भन्छन् -यसरी दुई फरक फरक घटना (आगो बल्ने र पानी तात्ने) लाई कारण र परिणाम भनेर एक-अर्कासँग जोड्नु बिल्कुल गलत हो । आगो बल्ने र पानी उम्लिने कुरा अलग-अलग घटना (Events) हुन् । तिनीहरूका बीचमा कुनै सम्बन्ध छैन ।

हामी संसारका प्रशस्त घटना (Events)हरू देखिरहेका हुन्छौँ । ति घटनालाई समयको 'फ्रेम'मा अघि र पछि घटेको देख्छौँ । घटनाहरूको नियमितता (Regularity) देख्छौँ । यसका आधारमा पहिले आउने घटनालाई कारण र पछि आउने घटनालाई परिणाम भन्ठान्छौँ । र, यो विश्वास गर्छौं कि कारण र परिणामबीचको सम्बन्ध सधैँ यसैगरी दोहोरिन्छ ।

जस्तै, ग्यास बालिन्छ, पानी उम्लिन्छ । ग्यास बाल्ने काम पहिले हुन्छ र पानी उम्लिने काम पछि । यो कुरा हामीले हजारौँ  पटक देखेका छौँ । हिजो ग्यास बाल्दा पानी उम्लेको थियो, अस्ति पनि उम्लेको थियो । त्यसैले, हामी अनुमान गर्छौँ -ग्यास बालेर भाँडो चुलामा राखेपछि पानी जमेर आइस हुनेछैन, संरचना फेरिएर दूध बन्नेछैन, पानी विस्फोट भएर भाँडाबाट आगोका ज्वाला निस्किने छैनन् ।

हाम्रो दैनिक जीवनका अधिकांश अनुभव यसैगरी घटनाहरूबीचको सम्बन्धमा आधारित हुन्छन् । घडीले देखाउने निश्चित घण्टाहरूपछि आकाशमा सूर्य उदाउला, खुट्टाले भकुण्डो हिर्काएपछि गुडेर अलि पर जाला, हातले समातेको चक छोडिदिएपछि तल खस्ला भनेर हामी अनुमान गर्छौँ । तर, यी कुनै पनि उदाहरणमा पहिले र पछि भएका घटनाबीच कुनै अनिवार्य सम्बन्ध (Necessary connection) छैन । निश्चित समय र सूर्य उदाउनेबीच कुनै सम्बन्ध छैन। फुटबललाई लात्तले हिर्काउने र फुटबल गुड्ने कुराबीच सम्बन्ध छैन । हातले चक छोडिदिने र चक भुईँमा खस्नेबीच कुनै सम्बन्ध छैन । भए पनि त्यो सम्बन्ध के हो हामीलाई थाहा छैन, वा थाहा पाउन सम्भव पनि छैन । हामीले यी घटना (Events) हरूबीच सम्बन्ध देख्ने आधार आदत (Habit) र चलन (Custom) ले मात्र हो । ह्युमको यो अवधारणालाई theory of causality/causation भनिन्छ ।

ह्युम भन्छन् कारण-परिणामबीचको सम्बन्ध हामीले विगतका अनुभवका आधारमा भविष्यमा पनि यस्तै हुन्छ भनेर गरेको अनुमानमात्र हो । यो प्रक्रिया अन्य जनावरले आफ्नो परिवेशसँग अन्तर्क्रिया गर्न प्रयोग गर्ने प्रक्रियाजस्तै हो । यस्तो सम्बन्धको व्याख्या गर्न त सकिएला तर यसको कुनै अर्थ र उपयोगिता छैन । यस्तै प्रकारका अनुमान फरक मात्रामा जनावरले पनि गरिरहेका हुन्छन् ।

माथि Induction लाई व्याख्या गर्ने क्रममा प्रयोग गरेको उदाहरण एकपटक फेरि हेरौँ । कोइलीले फुल पार्‍यो, कोइली चरा हो, त्यसैले चराले फुल पार्छन् । यो कथनमा कोइलीले फुल पार्नुको कारण कोइली चरा हुनु मानिएको छ । त्यसैले, भविष्यमा पनि यस्तै कुरा दोहोरिने विश्वास गरिएको छ । तर, चरा हुनुमा के त्यस्तो तत्व (कारण) छ जसले कोइलीले फुल पार्नसक्छ (परिणाम) ? यो तत्व स्थापित गर्न सम्भव छैन । त्यसैले, ह्युमको विचारमा घटनाहरूबीचको कारण-परिणाम पत्ता लगाउन पनि सम्भव छैन, र यो भविष्यमा दोहोरिने अनुमान गर्न सकिन्न ।

त्यसोभए, हामी संसारलाई कसरी बुझिरहेका हुन्छौँ ?

अनुमान गर्नुहोस् एउटा कहिलै चुलो नदेखेको, पानी उमाल्ने भाँडो नदेखेको, पानी नेदेखेको मानिसलाई तपाईँले यी कुराहरू देखाएर तिनीहरूबीचको सम्बन्धबारे सोध्नुभयो भने के उसले पानी उमाल्ने कुरा अनुमान गर्न वा तपाईलाई बताउन सक्ला ?

तपाईँ चुलो बाल्दा पानी उम्लिन्छ भनेर विश्वास गर्नुहुन्छ भने त्यो विश्वास चुलो बाल्ने काम, ग्यास, पानी उमाल्ने भाँडा, पानी आदिको सम्बन्धको ज्ञानका आधारमा सिर्जना भएको होइन । तपाईँले उही कुरा, उही अवस्था (ह्युमका शब्दमा constant conjunction of resembling instances) मा देखिरहेकाले बनेका हो। त्यसैले, कारण वा परिणाम मुख्य कुरा होइन, नियमितता मुख्य कुरा हो ।

प्रसिद्ध स्कटिश चित्रकार Allan Ramsay ले बनाएको डेभिड ह्युमको पोट्रेट

प्रिय पाठक, मैले यसअघिको लेखमा प्लेटोको चर्चा गरेको छु । सोक्रेटिजबाट प्लेटो हुँदै एरिस्टोटलका विचारका जगहरूमा उभिएको समग्र पाश्चात्य दर्शनशास्त्रको मूल मान्यता के रही आएको थियो वा छ भने संसार जुन रूपमा हामी देख्छौँ त्यसको अन्तिम कारण छ । अर्थात्, संसारमा जे कुरा अस्तित्वमा छ, त्यसको अस्तित्वको अवश्य केही कारण छ (Whatever begins to exist, must have a cause of existence.) । हाम्रो चेतना र ज्ञानको उपयोगको उद्देश्य अस्तित्वको कारणसम्म पुग्ने हो - वा कारणको अनुमानका आधारमा संसारको व्याख्या गर्ने हो ।

ह्युमले ‘कारण’को अस्तित्वमाथि प्रश्न गरेर समग्र पाश्चात्य दर्शनशास्त्रको जगलाई नै हल्लाइदिए ।

कारण र परिणामबीचको सम्बन्धमा ह्युमका शङ्का (Skepticism)को प्रभाव दर्शनशास्त्रमा व्यापक र गहिरो थियो । पहिलो त Induction विधिका बारेमा उनको  दृष्टिकोणले यस विधिको उपादेयतामाथि प्रश्न खडा भयो । दोस्रो, यसको जगमा उभिएको मस्तिष्कको प्रयोग वा बौद्धिक विधिबाट संसार बुझ्ने दर्शनशास्त्रको एक प्रमुख धार Rationalism वा Metaphysics ले पनि अब आफ्नो बचाउ गर्नुपर्ने भयो ।

ज्ञान र विज्ञानको आधार मानिएको कारण र परिणामबीचको सम्बन्ध र Inductive विधिको आलोचना गर्ने ह्युमको विज्ञान र दर्शानशास्त्रप्रतिको दृष्टिकोण के त ? के हामी उनको आलोचनामा विश्वास गरेर धामी, झाँक्रीले झैँ संसार चल्ने अदृश्य, अलौकिक शक्तिबाट हो भनेर विश्वास गर्ने ? विज्ञान र अन्धविश्वासबीचको भिन्नता के त ?!

ह्युमको विचारमा जसरी घटनाहरूको नियमितताको अनुमान नगरी जीवन चल्दैन - त्यसैगरी, विज्ञानमार्फत् संसार बुझ्न पनि - कारण र परिणामको चक्करमा अल्झिने होइन कि -प्रकृतिका यिनै नियमितता (Regularities) हरूलाई हेर्नुपर्छ । एक पछि अर्को घटना (Event) कसरी दोहोरिइरहेको छ ? अनुभवमा आधारित अध्ययन (Empiricism) मार्फत् नियमितताहरूलाई यसरी व्यवस्थित ढङ्गले अध्ययन गर्ने हो भने हामी प्रकृतिका नियमहरू बुझ्न र व्याख्या गर्न सक्छौँ । विज्ञानले अध्ययन गर्नुपर्ने नियमिततालाई हो, कारण-परिणामको सम्बन्धलाई होइन ।

विगतलाई हेरेर भविष्यमा पनि यस्तै हुनेछ भन्ने अनुमान गलत छ भन्ने ह्युमको तर्कले कान्टको a priori प्रतिको सकारात्मक विश्वासलाई ठूलो चुनौति दियो । a priori ज्ञानको स्रोत विगत हो र विगतको निरन्तरता हो । ह्युमले भने विगतसँग वर्तमानको कुनै साइनो छैन ।

डेभिड ह्युम आफ्नो समय र त्यसपछिका पनि प्रसिद्ध दार्शनिक थिए । चार्ल्स डार्विन र अल्बर्ट आइन्सटाइनले उनको दर्शनको ठूलो प्रशंसा गरेका थिए र आफ्नो अध्ययनविधि उनीबाट प्रभावित भएको बताएका थिए ।

डार्विनमा ह्युमको प्रभाव हेर्न एकपटक उनको (डार्विनको) विकासवाद (Evolution) को सिद्धान्तलाई हेरौँ  -१) डार्विनको जीव विकासको सिद्धान्त कुनै ‘कारण’को खोजीमा लक्षित थिएन, २) उनले जीवका विभिन्न शारीरिक अवस्थाको निरन्तरता (र अनुपस्थिति) को क्रमबद्ध अध्ययन गरे -कारण र परिणाम खोजेनन्, ३) डार्विनको विकासवादको सैद्धान्तिक विश्लेषण पशुपंक्षी र तिनका अवशेषको अवलोकन (Empiricism) मा आधारित थियो मस्तिष्क (Reasoning) को सहायताबाट प्रतिपादन गरिएको थिएन ।

ह्युमले अघि सारेका यी गम्भीर प्रश्नहरू प्रबोधन दर्शनको केन्द्रमा थिए । यी कतिपय प्रश्नहरूलाई कान्टले पनि जवाफ दिएका थिए । संसार बुझ्न मस्तिष्कको भूमिका (rationality)Induction विधिबारे ह्युमका विचारले कान्टको दर्शनशास्त्रलाई निकै ठूलो प्रभाव पारेको थियो ।

ह्युम आफूलाई अनुभवमा आधारित परीक्षण विधिको पक्षपाती (Empiricist) ठान्थे[१३] । तर, कान्टले आफूलाई कुनै कित्तामा स्पष्ट रूपमा उभ्याएनन् । माथि भनिएझैँ उनी संसार बुझ्न मस्तिष्क (Rationality)र इन्द्रियका सहायताले गर्ने परिक्षण (Empiricism) दुवैको आवश्यकता छ रदुवैका सीमितता छन् भन्ने विश्वास गर्थे ।

अब एकैछिन ह्युमको दर्शनशास्त्रबारे कान्टका धारणाको छोटो चर्चा गरौँ [१४]

कान्टको जन्म भएको बाल्टिक सागरको दक्षिणपुर्वी किनारमा अवस्थित कोनिस्बर्ग शहर स्कटल्याण्डबाट चानचुन दुई हजार किलोमिटर टाढा पर्छ[१५] । ह्युम र कान्ट फरक भाषा बोल्थे । जर्मन भाषामात्र जान्ने कान्टका लागि ह्युमको जटिल अङ्ग्रेजी बुझ्न र जवाफ फर्काउन सम्भव थिएन - उनले ह्युमका पुस्तक र लेखको जर्मन अनुवादको प्रतिक्षा गर्नुपर्थ्यो । त्यसैले, ह्मुमको दर्शनमा कान्टको प्रतिक्रिया कान्टका विभिन्न लेख र पुस्तकमा विभिन्नरूपले आएको छ ।

सन् १७८३ मा प्रकाशित आफ्नो पुस्तक Prolegomena to Any Future Metaphysics मा कान्टले ह्युमको दर्शनको चर्चा गरेका छन् । पुस्तकको भूमिकामा Rationality Induction बारे ह्युमका धारणातर्फ सङ्केत गर्दै कान्टले भनेका छन् –“ह्युमका विचारले मलाई Dogmatic slumber (अ-बौद्धिकताको निद्रा?) बाट ब्युँझाइदिए ।”

यद्यपि, ह्युमले अघिसारेका कतिपय दृष्टिकोणमा सहमत हुँदाहुँदै कान्टले उनका विभिन्न दृष्टिकोणका ‘त्रुटी’हरूका बारेमा आफ्ना पुस्तक र तिनका भूमिकामा विस्तृत चर्चा गरे । ह्युमको दर्शनमा कान्टका दुई टिप्पणीको सङ्क्षिप्त चर्चा गरौँ  

पहिलो, प्रकृतिको नियमिततालाई हामी कसरी कारण र परिणामका रूपमा बुझ्छौँ भन्ने बारे ह्युमको व्याख्या मानव मनोविज्ञानमा आधारित थियो । ह्युमले ठानेका थिए मानिस मनोवैज्ञानिक रूपमा नै नियमिततालाई कारण र परिणामको  सम्बन्धमा राखेर बुझ्न उद्यत हुन्छ । ह्युमको यो विचारलाई कान्टले अस्वीकार गरे । कान्टको तर्क थियो -बाहिरी जगत (noumena) र तिनीहरूबीचको अन्तर्सम्बन्ध बुझ्न मानिसले केवल Impressions (क्षणिक धारणा?) को मात्र प्रयोग गरेको हुँदैन । जीवन-जगत बुझ्न मानिसले तर्कको प्रयोग गर्छ, स्पेस र टाइमका आधारमा धारणा बनाउँछ जसका सहायताले मानिसले आफू वरिपरीका घटनाहरू बुझ्छ र तिनीहरूको अन्तर्सम्बन्धको अनुमान गर्छ । कान्टका अनुसार यस्ता अनुमान a priori knowledge का ‘आधार’मात्र हुन् ।

अर्थात, कान्टका अनुसार बाहिरी जगतमा देखिने वस्तु वा अवस्था (things in themselves, noumena) को कारण-परिणाम सम्बन्धका बारेमा मानिससँग भएका a priori नै कुनै निश्चित प्राकृतिक नियमका a priori होइनन् र हुनसक्दैनन् ।

यसलाई उदाहरणबाट हेरौँ –गर्मी मौसममा घाम लागेको दिन कसैले घरभित्रबाट भन्ला (या सोच्ला) “घाममा बस्दा गर्मी हुन्छ, म भित्रै बस्छु ।” यो a priori होइन -निश्चित मानिसको कुनै सन्दर्भको विचार हो । कान्टका अनुसार यदि कसैले भन्छ –“घामको प्रकाशले पृथ्वीमा बस्तुहरूको तापक्रम बढाउँछ ।” त्यसबेलामा मात्र यो कथन a priori बन्नसक्छ -किनकि अर्को कुनै ठाउँ वा समयमा पनि यही नियम लागु हुन्छ र यसको परीक्षण सम्भव छ ।

कान्टको विचारमा ह्युम a priori कसरी बन्छ भन्ने कुरामा प्रस्ट थिएनन् । दैनिक जीवनमा हामीले गर्ने अवलोकनका आधारमा बन्ने विश्वास a priori होइनन् -ती विश्वासका आधारमा निर्माण गरिने नियमितताको अपेक्षाचाहिँ a priori हो ।

दोस्रो, कारण र परिणामबीच सम्बन्ध नहुन सक्छ भन्ने कुरामा कान्ट ह्युमसँग सहमत छन् । यद्यपि, कान्टको प्रश्न छ -तर पनि कारण र परिणाममा मानिसको विश्वास र भरोसा किन छ ? हामी किन संसारमा हाम्रो अगाडि घटेका घटनाहरूलाई कारण र परिणामको सम्बन्धमा जोड्छौँ । कान्टका अनुसार यसको कारण के हो भने हामी संसारका वस्तु तथा घटना कारण-परिणामको कुनै निश्चित नियम (Causal laws) बाट निर्देशित छन् भन्ने ठान्छौँ । यो कुरा मानिसको दिमागी संरचनामा अन्तर्निहित हुन्छ । यसैका सहायताले हामी संसारसँग अन्तर्क्रिया गर्छौँ । यो हाम्रो नियन्त्रण बाहिर छ ।

कान्टको विश्वासमा जीवन-जगतका कतिपय आयाम हामी बुझ्न सक्दैनौँ । कारण-परिणाम सम्बन्धको बुझाइले हाम्रो सोचाइको संरचना निर्देशित गरेको हुन्छ । यसो नगरे हाम्रो दैनिक जीवन सम्भव छैन । तर, यस्तो किन हुन्छ र कसरी हुन्छ भन्ने पूर्णरूपमा बुझ्न सकिन्न ।

प्रिय पाठक, यो लेख शुरू गर्दा मैले चानचुन २५०० शब्दमा सीमित हुने योजना बनाएको थिएँ । तर, लेख्ने क्रममा जब विभिन्न सामग्री पढ्दै गएँ र लेख्दै गएँ आफैँले लेखेका शब्दहरूभित्र हराउँदै गएँ । मैले यी कुरा छोटोमा लेख्न सकिनँ ।

म लेखको अन्त्यतिर छु । तपाईँले ४ हजारभन्दा बढी शब्द पढिसक्नु भएको छ । तर पनि मलाई लेखको अन्त्यमा केही थप गन्थन गर्न मन छ ।

मैले माथि चर्चा गरेँ -कान्ट र ह्युमका दर्शन केही महत्त्वपूर्ण प्रश्नको वरिपरी रुमलिएका छन् । ती प्रश्न हुन् -अन्तिम र विशुद्ध ज्ञान कहाँ छ ? कसको बसमा छ ? यो कसरी प्राप्त हुन्छ ?

कान्ट र ह्युम संसार बृहत् र जटिल छ भन्ने कुरामा एकमत थिए । जटिल कुरा बुझ्न आवश्यक छ भन्ने दुवैले स्वीकार गरे । यो क्षमता मानिससँग छ भन्ने विश्वास दुवैमा थियो । तर, जीवन र जगतको जटिलता कसरी केलाउने भन्ने बारेमा उनीहरूको फरक मत थियो ।

कान्टको महत्त्वपूर्ण योगदान के हो भने उनले जीवन-जगतका आयामलाई दुई भागमा बर्गीकरण गरे । एउटा यस्तो संसार जसलाई प्रत्यक्ष अनुभव गर्न, जाँच्न, बुझ्न सकिन्छ । यसलाई उनले Phenomenal world भने । अर्को एउटा संसार छ जसलाई हामी विश्वासका आधारमा विश्वास गर्छौँ । त्यसमा हाम्रो पहुँच छैन । उनले यसलाई Noumenal world भने । कान्टको विचार थियो हामीले बुझ्ने संसार Phenomenal संसार हो ।

हेर्न सकिने संसारका बारेमा पनि कान्टको विचार उल्लेख्य छ । कान्टले भने -संसार ऐनाजस्तो छर्लङ्ग छैन । हामी आफ्नो चश्मा नलाई संसार देख्न, बुझ्न सक्दैनौँ । हाम्रो चश्माको एउटा रङ्ग हुन्छ । मानिलिनुहोस् हामीले हरियो रङ्गको चश्मा लगाएका छौँ । हामी जीवन-जगत हरियो रङ्गमा देख्छौँ । हामीलाई हरियो नै वास्तविकता जस्तो लाग्छ । समय, स्थान, गणीत वा कारण-परिणामको सम्बन्ध हामी यही हरियो रङ्गमा देख्छौँ । बिर्सन नहुने कुरा के छ भने -यो हरियो हाम्रो चश्माको रङ्ग हो, वास्तविक संसारको रङ्ग होइन । वास्तविक संसार कस्तो छ हामीलाई थाहा छैन । किनकि हामी आफ्नो चश्मा खोल्न सक्दैनौँ ।

ह्युमको विशिष्ट योदगानको चर्चाबिना यो युगको परिचय पूर्ण हुँदैन । ह्युमले हामीलाई झट्ट हेर्दा सहज लाग्ने कुरा कति जटिल रहेछन् भनेर बुझ्न सिकाउँछन् । जीवन र जगतको व्यवस्थित अध्ययनबाट प्राप्त ज्ञान मात्र संसारका नियमहरू बुझ्न उपयोगी हुने ह्युमको विचार उनको आफ्नो समयमा अत्यन्त क्रान्तिकारी विचार थियो । ह्युमले कारणको अस्तित्वमा प्रश्न गरेर Transcendental philosophy को पाश्चात्य परम्परामा एउटा नयाँ आयामको शुरूआत गरे । दर्शनशास्त्रमा ह्युमको योगदान व्यापक र बहुआयामिक छ ।

कान्ट भने प्रबोधनकालका मात्र नभएर हालसम्मकै महत्त्वपूर्ण दार्शनिक हुन् । उनका विचारको प्रभाव विज्ञान र दर्शनशास्त्रमा हालसम्म कायम छ, र केहीको बुझाइमा अहिले झन् बढिरहेको छ । एकातिर विज्ञानको क्षमता असीमित छ भन्ने प्रबोधनकालको चेतमा कान्टले प्रश्न गरे, अर्कोतिर उनले धर्म र अलौकिक शक्तिको अन्धविश्वासमा प्रहार गरे । कान्टको समयका लागि उनका विचार अत्यन्त क्रान्तिकारी थिए जसको उपयोगिता आज झनै बढेको छ ।

डेभिड ह्युम ६५ वर्ष बाँचे र पेटको क्यान्सरका कारण १७७६ मा उनको मृत्यु भयो । सन् १८०४ मा ८० पुग्नैलाग्दा कान्टको मृत्यु भयो ।

आगामी लेखहरूमा पनि म यी दुई महान दार्शनिकलाई बेलाबेलामा सम्झिरहनेछु ।


[नोटः यो लेख अन्य कुनै माध्यममा प्रकाशित नगरिदिनुहुन अनुरोध छ ।]

पादटिप्पणी

[१]Enlightenment लाई जनाउन नेपालीमा यसका लागि मिल्दो नजिकको शब्द संस्कृतको ‘प्रबोधन’ प्रयोग गरेको छु । यसले दार्शनिक र बौद्धिक जागरण तथा त्यसका कारणले हुने समाजको बहुआयामिक परिवर्तन बुझाउँछ भन्ने मलाई लाग्छ ।

[२]Enlightenment लाई जर्मन भाषामा Aufklärung (खोजी, प्रस्टीकरण) र फ्रेन्च भाषामा siècle des Lumières (प्रकाशको शताब्दि) भनेर चिनिन्छ ।

[३] केही इतिहासकार र दार्शनिक मध्युगलाई यसरी नकारात्मकरूपमा वर्णन गरिएकोमा असन्तुष्ट छन् । उनीहरूको विचारमा यो अवधिमा पनि कला, साहित्य, दर्शनमा प्रशस्त उपलब्धि भएको थियो । यद्यपि, प्रबोधनकालका दार्शनिकले मध्ययुगका सामाजिक, सांस्कृतिक र बौद्धिक विशेषतालाई नकारात्मक ढङ्गले नै चित्रित गरेका छन् ।

[४]अभिभावक भनेर कान्टले चर्चका पादरी, सम्भ्रान्त वर्ग र सम्राटलाई भनेका हुनसक्छन् ।

[५] दार्शनिक निच (Nietzsche) ले केही समय स्विट्जर्ल्याण्डको बाजल (Basel) विश्वविद्यालयमा प्राध्यापकका रूपमा अध्यापन गरे तापनि उनि पेशाले प्राध्यापक कहलिँदैनन् ।

[६]अङ्ग्रेजीको proposition शब्दलाई मैले यहाँ कथन भनेर अनुवाद गरेको छु ।

[७]यसलाई अ पोस्टेरिओराइ (a posteriori) पनि भन्ने गरिन्छ ।

[८]कान्टले प्रयोग गरेको Judgement शब्दलाई Assertion का भनेर पनि बुझ्नसकिन्छ ।

[९]सन् १४७३ मा Nicolaus Copernicus को On the Revolution of Celestial Spheres पुस्तक प्रकाशित भएको थियो ।

[१०]उदाहरणका लागि यो बिन्दु ईश्वर हुनसक्छ ।

[११]प्रबोधनकालमा परीक्षणको उद्देश्य गलत प्रमाणित गर्नेपनि हो भन्ने धारणा थिएन । गलत प्रमाणित गर्ने (reputation/falsification) पनि विज्ञान अघि बढ्ने आधार हो भन्ने तर्क Karl Popper ले १९६३ मा उनको प्रख्यात पुस्तक Conjectures and Refutations मार्फत् प्रस्तुत गरे ।

[१२]यसलाई जनाउने सरल नेपाली शब्द भेट्न सकिनँ । हिन्दीमा 'आगमन' भनिने रहेछ । 'आगमन'को प्रयोगले द्विविधा बढाउने जोखिमका कारण म अङ्ग्रेजी शब्द Induction नै प्रयोग गर्नेछु ।

[१३]नोम चोम्स्कीले ह्युमलाई Empiricist नभएर Rationalist मानेका छन् । उनको भनाइ छ -ह्युमको परीक्षण विधि र उनका तर्कहरूमा मष्तिष्कको भूमिकाको महत्त्व ठूलो छ ।

[१४]यसका लागि मैले Paul Guyer को सन् २००८ मा प्रकाशित Knowledge, Reason, and Taste: Kant's Response to Hume भन्ने पुस्तकलाई सन्दर्भसामग्रीका रूपमा प्रयोग गरेको छु ।

[१५]त्यसबेला प्रसिअन साम्राज्य अन्तर्गत रहेको कोनिस्बर्ग आज रसाको भूभागमा पर्छ र त्यसलाई कालिनिनग्राद भनिन्छ ।

4 comments:

  1. A great synthetic reading khurak for alche readers like us!

    ReplyDelete
  2. This comment has been removed by the author.

    ReplyDelete
  3. Thanks to the elite thinkers of the era, we are here. In the context of Nepal , the philosophy of Emanuel Kant can be very useful. Instead of believing other and your own senses, it will benefit us if we reason and experiment our thoughts before we carry out any development or reforms. The slogan "Think Global Act Local" would equally be useful to us. Instead of following the thoughts and development of other countries, we need to think what would fit our environment. "Sapere aude" everyone

    ReplyDelete
  4. matra yati bhannu chha ab arko chadai aaos hai

    ReplyDelete