म सोसल मिडिया किन प्रयोग
गर्छु ?
आफ्नो मनमा लागेको कुरा
सुनाउन ।
म ब्लग वा ट्विटर प्रयोग
गर्ने राष्ट्र र समाज बदल्नका लागि होइन । नेपाल बनाउनका लागि पनि होइन । नेपाल
बनेन र बनाउनुपर्छ भन्नेहरूले देख्नेगरेका सपनामा आजभोलि मलाई विश्वास छैन । नेपाल
बनाउने मेरो कर्तव्य हो जस्तो पनि लाग्दैन । जसलाई नेपाल बनाउने आफ्नो कर्तव्य हो
जस्तो लाग्छ ति राजनीतिमा छन् । समाजसेवामा छन् । व्यापारी भएर अरूलाई रोजगारी
दिएका छन् । म यी कामहरू गर्ने हैसियतमा छैन ।
त्यसैले म आजभोलि सोसल
मिडिया आफूलाई लागेका कुरा अरूलाई सुनाउन मात्र प्रयोग गर्छु । मेरो वास्तविक
उद्देश्य थिचिएका, बिर्सिएका, वास्ता नगरिएका न्यारेटिभलाई सतहमा ल्याउने हो ।
यसैका लागि लेख्छु ।
मेरा टिप्पणी किन
नकारात्मक हुन्छन् ?
मेरा धेरैजसो सोचाइ र
बुझाइ बहुसङ्ख्यक मानिसले मन पराउनेभन्दा उल्टा वा विपरित हुने गर्छन् । विभेदको मारमा
परेका, हेपिएका, नसुनिएका मानिसले अनुभव गर्ने कुरामा मलाई बढी रुचि छ । सबैलाई
हुनुपर्छ भन्ने नहोला । मलाई छ । यस्ता न्यारेटिभ बहुमतमा रहेका वा शक्ति र
स्रोतसाधनसम्पन्न मानिसलाई मन नपर्नु स्वाभाविक हो । मानिसहरूले मलाई नकारात्मक
देख्ने किन पनि होला भने म उनीहरूकै कारण विभेदमा परेका मानिसका बारेमा सोसल
मिडियामा धेरै टिप्पणी गर्छु । त्यसैले, हुनेखानेहरूबाट नकारात्मकताको पगरी पाउँदा
मलाई आश्चार्य लाग्दैन, बरु आफूले ठीकै गरिरहेको रहेँछु जस्तो लाग्छ ।
खासमा मेरो काम समाजमा
यस्तो छ है भनेर देखाइदिने हो । समाज सुन्दर, शान्त, विशाल भए ऐनामा देखिने चित्र
सुन्दर, शान्त, विशाल हुन्थ्यो । मानिसहरूलाई बिद्रुप आकृति मन पर्दैन । मानिसहरू ऐनामा
देखिने समाजको आकृतिबाट तर्सिन्छन्, आत्तिन्छन् भने म के नै गर्नसक्छु ?! तर,
आकृति बदल्ने मैले होइन ।
कसका लागि लेख्छु म ?
वास्तवमा विभेदमा परेका
मानिसहरू भोइसलेस हुँदैनन् । उनीहरूको आवाज नसुनिने र वास्ता नगरिने मात्र हो ।
मैले विभेदमा परेका मानिसका पक्षमा बोल्दा उनीहरूको उपकार गरेको होइन, आफ्नो
विवेकको प्रयोग गरेको मात्र हो । जो शक्तिशाली छ उसको न्यारेटिभ सधैं अग्रस्थानमा
छ । यो त सबैले सुनेकै छ । मेरो काम पुरिएका, बिर्सिएका, दबिएका न्यारेटिभको
उत्खनन् गर्ने हो जसले प्राय नसुनिने र दबाइएका आवाजलाई समेट्छ ।
विभेदको कुरा किन उचाल्ने,
यो त बिस्तारै आफैँ घट्दै जान्छ नि
मूल समस्या यही बुझाइमा छ
। विभेद समयको अन्तरमा स्वतः घट्दैन । नघट्ने रहेछ । मानिस चेतनशील भएर, शिक्षित
भएर, भौतिक विकास भएर विभेद घट्ने होइन । तथ्याङ्क र हाम्रो आफ्नै अनुभवले पनि यो
कुरा पुष्टि गरिरहेका छन् । सूचना, शिक्षा वा चेतनाको विकास भयो भनिरहँदा विभेद
झनै उग्र र जटील बन्दैगएको छ । दलीतमाथि हुने दुर्व्यवहारका घटना बढेका छन्, महिला
हिंसा बढेको छ, गरीबलाई आफ्नो स्तर सुधार्न झन् मुश्किल भएको छ । अल्पसङ्ख्यक,
आदिवासी, जनजातिका सांस्कृतिक अधिकार र जनजीविकाका मुद्दाहरू झनै ओझेलमा परेका छन्
।
विभेदको कुरा नगरौँ,
विकासको कुरा गरौँ भन्नेहरूले बुझ्न नसकेको कुरा के हो भने विकासको जग बलियो हुने
वा विकास सुनिश्चित हुने सम्पूर्ण जनसङ्ख्यालाई समेटेर मात्र हो । दलित, जनजाति,
मधेशी, महिला, गरीब वा पिछडिएका क्षेत्रका नागरिकले तथोचित सम्मानजनक स्थान पाउन
नसकेको व्यवस्थामा उनीहरू विकासमा कसरी सार्थकरूपमा सहभागि हुनसक्छन् ? उनीहरू
बलिया नहुँदा वा सक्रिय हुननसक्दा अर्थतन्त्र कसरी बलियो हुन्छ ?
विकासको बेला विभेदको कुरा
नगरौँ भन्नेहरूले अज्ञानतावस आफैंले चाहेको विकासको सपनामा पानी खन्याइरहेका हुन्छन्
।
सरकारको किन सधैं विरोध
गरेको ?
सरकार भनेको सत्ताको मुली
हो । उसँग शक्ति छ र स्रोतसाधन छ । उसले धेरै काम गर्छ र धेरै गल्तीहरू पनि गर्छ ।
इमान र नैतिकताको खडेरी रहेका नेपालजस्ता देशमा त झन् सरकारहरूले राम्राभन्दा
नराम्रा काम धेरै गर्छन् । त्यसैले, स्वतन्त्र, सर्वसाधारण नागरिकको काम सरकारलाई
सचेत बनाउने हो ।
सरकारका काममा आलोचना
गरिरहने मानिसले सरकारबाट लाभको आशा गरेका हुँदैनन् । उसलाई मानपदवी, पैसा वा पद
चाहिँदैन । मलाई पनि चाहिँदैन । वास्तवमा यो सरकारका लागि सेवा हो -सकारात्मक
रूपमा बुझ्ने हो भने ।
मेरो हकमा मैले सधैँ
जुनसुकै र जोसुकैको सरकार सत्तामा रहँदा पनि उसले गरेका नराम्रा कामहरूको आलोचना
गरेको छु । सम्भवतः राम्रा भनेका कामको गुनगानमा समय खर्च गरेको छैन होला, तर यसो
गर्ने मानिसहरू त प्रशस्त छँदैछन् नि । सरकार आफैँले पनि आफ्नो कामको गुनगान
गरिरहेकै हुन्छ ।
सरकारको विरोधका लागि
मात्र लेख्ने ?
होइन ।
अहिले हामी एउटा डरलाग्दो
वर्तमान र झनै डरलाग्दो भविष्यको चक्रमा छौँ । सरकारहरू राम्रो ढङ्गले नचल्ने वा
सामाजिक-आर्थिक विभेदमात्र अहिलेका समस्या होइनन् -सदिऔंदेखि सम्पन्न र शक्तिशाली
समूहहरू नै अहिले आफू कमजोर रहेको भावनाबाट ग्रसित भएर आक्रोसित र थप क्रुर
हुनथालेका छन् । उदाहरणका लागि पश्चिमा मुलुकमा गोरा र क्रिश्चियनहरू, भारतमा
हिन्दु, मुस्लिम बहुल मुलुकमा बहुसङ्ख्यक सम्प्रदाय, म्यानमारमा बौद्ध धर्मालम्बी र
संसारका धेरै मुलुकमा पुरुषहरू महिला र अल्पसङ्ख्यक समुदायमाथि थप अनुदार, थप
हिंसात्मक बन्न थालेका छन् । यो संसारका लागि डरलाग्दो चुनौति हो ।
आफ्नै वरिपरी हेर्दा
अहिलेको युवा पुस्ता यसअघिको भन्दा पनि थप संकिर्ण, अनुदार र असुरक्षित र आक्रामक हुँदैगएको
छ । ब्राम्हणहरू, पुरुषहरू, सम्भ्रान्तहरू आफ्नो धर्म, संस्कार र परम्पराको बचाउमा
आक्रामक रूपमा खडा भएका छन् । अरूप्रतिको आक्रोस र घृणा बढेको छ ।
शक्तिशाली र बहुसङ्ख्यक
समुदायले नै आफू अन्यायमा परेको अनुभव गर्दै अरूमाथि आक्रमण गर्न थालेपछि असुरक्षा
बढ्छ । संसार यतिबेला यही असुरक्षित बाटोमा हिंडिरहेको छ । यसका प्रमुख कारणमध्ये
एउटा इन्टरनेट र सोसल मिडिया, सामाजिक सञ्जाल पनि हुन् । शक्तिशाली समूहहरू यसको
दुरुपयोग गरेर आफ्नो प्रभुत्व विस्तार गर्न सफल हुँदैगएका छन् ।
सोसल मिडियाको प्रयोग गरेर
म यो कुरा सकेसम्म अरूलाई बुझाउन चाहान्छु ।
मेरा कुरा मन नपरे के
गर्ने
म एक सर्वसाधारण मानिस हुँ
। आफ्नो पेशा गर्ने, राज्यलाई कर तिर्ने । म कुनै नीतिनिर्माण गर्ने ठाउँमा छैन ।
बौद्धिक क्षमताका हिसाबले पनि मेरो अध्ययन सामान्य हो -म डाक्टर, प्रोफेसर होइन ।
भविष्यमा राजनीति वा समाजसेवाको क्षेत्रमा काम गर्ने चाहना छैन, भए पनि सम्भवतः
योग्यता पुग्दैन । त्यसैले, सोसल मिडियामा मैले गर्ने टिप्पणीलाई धेरै महत्त्व दिन
वा यसबाट विचलित हुन आवश्यक छैन । मेरा कुरा मन पर्दैन, राम्रा लाग्दैनन् भने ब्लग
नपढे भइहाल्यो । ट्विटरमा फलो नगर्न र ब्लक गर्न सकिन्छ ।
मलाई फरक मतमा पूर्ण
विश्वास छ । जस्तै, म धार्मिक होइन । व्यक्तिको धर्मप्रतिको आस्थामा मलाई समस्या
छैन । मेरो धर्म प्रतिको अनिच्छामा पनि अरूलाई समस्या हुनुहुँदैन भन्ठान्छु । तर,
धर्म र अधार्मिकता दुबै बहसका विषय हुन् र हुनुपर्छ । कसैले ‘धर्मका बारेमा कुरा
नगर’ भन्यो भने त्यो कुरा मलाई स्वीकार्य छैन ।
मेरा विचारको जति पनि
आलोचना गर्न जोसुकै स्वतन्त्र छ । तर, कसैले गाली गर्छ भने त्यो समयको दुरुपयोग
मात्र हो । गाली गर्नेहरूबाट म के बुझ्छु भने मेरा टिप्पणी सही ठाउँमा परेछन् ।
मैले जुन उद्देश्यका लागि टिप्पणी गरे त्यो उद्देश्य पूरा भएछ । गाली र घृणा गर्नेहरूले
आफ्नो धरातल र हैसियत देखाइरहेका हुन्छन् । गाली गर्न सबैलाई आउँछ, मलाई पनि आउँछ
।
जाँदाजाँदै,
मेरा व्यक्त गर्ने विचार
बिल्कुल नयाँ र अरूले सुन्दै नसुनेका होइनन् । मैले आफ्नो विचार बनाउने पनि अरूका
कुरा पढेर हो । उदाहरणका लागि म Michel Foucault,
Arjun Appadurai, James C. Scott, Akhil Gupta, Ernst Friedrich Schumacher,
Pierre Bourbeau, Paulo Freire, Edward Said आदिका
सैद्धान्तिक विश्लेषण र नेपालका सन्दर्भमा महेश चन्द्र रेग्मी, Ludwig
Stiller, Mark Liechty, Laura Kunreuther, Gregory G. Maskarineck,
प्रत्यौश ओन्त, Mary Des Chene, खगेन्द्र
सङग्रौला आदिका कामबाट प्रभावित छु । ट्विटमा मैले लेख्ने फुटकर टिप्पणीहरू यिनै विचारहरूबाट
प्रभावित हुनेगर्छन् ।
आफ्ना विचारहरूमा
थ्यौरेटिकल वा फिलोशोफिकल स्रोत नखुलाए पनि राज्यको भूमिकाका बारेमा जेम्स स्कट,
अल्टरनेटिभ न्यारेटिभको कुरा गर्दा फुःको, विकासको कुरा गर्दा अखिल गुप्ता र
शुमाकर, चेतनाको कुरा गर्दा फ्रेरे र बोर्द्वांका विचारहरूले मलाई निर्देशित
गरिरहेका हुन्छन् । नेपाली समाजका विशेषता र त्यसमा निहित अन्तरविरोध बुझ्न माथिका
विद्वानहरूका योगदान धेरै नै उपयोगी छन् ।
No comments:
Post a Comment