Saturday, November 24, 2018

सोसल मिडियाको विपक्षमा

सोसल मिडिया तथा इन्टरनेटमा आधारित सामाजिक सञ्जालको प्रभाव र उपयोगिताका विषयमा चर्चा चलिरहेको छ । यो सन्दर्भमा सोसल मिडिया र सामाजिक सञ्जाल कसरी र किन खराब छन् भन्ने विषयमा मेरा धारणा तल प्रस्तुत गरेको छु । लेखको बाँकी भागमा सहजताका लागि सोसल मिडिया मात्र उल्लेख गर्नेछु ।

सोसल मिडिया उपयोगी छ भन्ने पक्षमा असङ्ख्य तर्क गर्न नसकिने होइन । सर्वप्रथम सोसल मिडियाको पक्षमा गरिने यी तर्कहरूलाई हेरौं ।

सोसल मिडियाले सूचना-जानकारीको सहज विस्तार सम्भव बनाएको छ । सर्वसाधारणको पहुँचमा छ । न्याय र समानताका खातिर हुने सामाजिक आन्दोलनलाई बल पुर्‍याएको छ । कमजोर आवाजलाई सशक्त बनाएको छ, आवाज हरिएकाहरूलाई आवाज दिएको छ ।

मूलधारे मिडिया मूलतः शक्तिशाली वर्गको कब्जामा हुन्छ । राज्य, संभ्रान्त वर्ग, स्थापित बुद्धिजीवी, व्यापारीको नियन्त्रणमा हुने मूलधारे मिडियामा सर्वसाधारणको पहुँच हुन्न । यसको विकल्प सोसल मिडियाले दिएको छ । ट्विटर, फेसबुक लगायतका माध्यममा मूलधारे मिडियाको जस्तो औपचारिकता हुँदैन । हरेक व्यक्तिलाई सूचना र विचारको स्रोत र माध्यम हुने अवसर दिएको छ । र, यो चलाउन सजिलो पनि छ ।

यी तर्क मलाई पनि कतिपय बेला सही नै लाग्छन् । मेरो आफ्नो अनुभवमा पनि जीवन र जगतबारे पिको ऐयरका गहिरा मनोवाद, धार्मिक अन्धताका प्रतिरोधमा तसलिमा नसरिनका खरा प्रतिक्रिया, डोनाल्ड ट्रम्पको ‘गोरो’ सनक र नेपाली कसरी शुद्ध लेख्ने भन्नेमा केदार शर्माका सुझाव –यी सबै मेरो टेबलमा सोसल मिडियाबाट नै आइपुग्छन् ।

न्याय र अधिकारको सामाजिक आन्दोलनमा पनि सोसल मिडियाको ठूलो भूमिका छ ।

अरबको लोकतान्त्रिक आन्दोलन देखि नेपालको रेज अगेन्स रेपसम्मका अभियानलाई सोसल मिडियाले न्याय, समानता र अधिकारका मुद्दामा मानिसलाई एकजुट बनाएको उदाहरणका रूपमा पेश गर्न सकिन्छ । यसले नागरिक समाजलाई सशक्त बनाएको छ । लोकतन्त्रलाई बढी सहभागितमूलक बन्ने अवसर दिएको छ ।

सोसल मिडियाको प्रभाव यति जबर्दस्त र ब्यापक बनेको छ कि यसबाट टाढा रहन सजिलो छैन । अरूका कुरा सुन्न र आफ्ना कुरा भन्न फेसबुक, ट्विटर, गुगल, इन्स्टाग्राम,  भाइवर, व्हाट्स्एप वा अन्य यस्तै माध्यमको सहारा लिनै पर्ने भएको छ –पत्रकार, व्यापारी, नेता, कलाकार वा सर्वसाधारण सबैलाई सोसल मिडिया नभइ हुँदैन ।

तर, सोसल मिडियाका पक्षमा हामीले वर्षौंदेखि गरिरहेका र सुनिरहेका यी तर्कहरूमा आज पुनर्विचार गर्नुपर्ने भएको छ । सूचना र जानकारीका सहज माध्यम मानिएका ट्विटर, फेसबुक, व्हाट्स्एप, इन्स्टाग्राम लगायतका सोसल मिडिया प्रायोजित अफवाहका माध्यम भएका छन् । तिनले व्यक्ति र समुदायबीच परस्पर घृणा र द्वेषलाई बढाएका छन् । मानिसलाई सतही र मुर्ख बन्न प्रेरित गरेका छन् । जसको कारण यसबाट सिर्जित समस्याको चाङ् चुलिंदै गएको छ ।

विषयको उठान यो प्रश्नबाट गरौं -के सोसल मिडिया सूचना र जानकारीको निष्पक्ष माध्यम हो ?

सहज उत्तर हो -होइन । मूलधारे मिडियालाई शक्तिशाली वर्गको नियन्त्रणमा रहने भनेर आरोप लाग्ने गरे पनि सोसल मिडिया यसको कैयौं गुना बढी शक्तिशाली वर्गको नियन्त्रणमा हुन्छ । फेसबुक र ट्विटरलाई उदाहरण मान्दा यी दुबै मिडिया अरबौं डलरका नाफामूलक 'कर्पोरेट' कम्पनी हुन् । र, यी दुबै मिडिया आफ्नो व्यापारिक रणनीतिका बारेमा मूलधारे मिडियाभन्दा सयौं गुना बढी अपारदर्शी छन् ।

लोकप्रिय सोसल मिडिया कम्पनीका सबै दृष्य, अदृष्य क्रियाकलाप प्रयोगकर्ताको संख्या बढाउने र उनीहरूका गतिविधिमाथि निगरानी राख्ने उद्देश्यमा केन्द्रित छन् जसबाट प्रयोगकर्तालाई विज्ञापनका उपभोक्ता बनाउन सकिन्छ ।

इन्टरनेट प्रविधिको विकासले सोसल मिडिया कम्पनीको 'क्रुड' नाफामुखी रणनीतिलाई सजिलो बनाइदिएको छ । आफ्नो कुन प्रयोगकर्ताले कस्तो विचार राख्छ, के खान्छ, कहाँ जान्छ, कस्तो लुगा लगाउँछ भनेर सोसल मिडिया कम्पनीसँग सबै सूचना छ । यसका आधारमा ट्विटर, फेसबुक आदि कम्पनीले विज्ञापन रणनीति बनाउँछन् र विज्ञापनदाताको आवश्यकता अनुसार प्रयोगकर्ताका सूचना उपयोग गर्छन् ।  

त्यसैले सोसल मिडिया पैसा हुनेहरूको खेल मैदान हो जसमा गल्तीवश प्रयोगकर्ताहरू आफूलाई खेलाडी ठान्छन् ।

सोसल मिडियालाई न्याय र अधिकारको माध्यम मान्ने तर्क आधारभूत रूपमा गलत छ ।

ट्विटर, फेसबुक, इन्स्टाग्राम, व्हाट्स्एपलाई न्याय र अधिकारका कुरामा कुनै चासो छैन । उनीहरूको चासो प्रयोगकर्ताको संख्या बढाउने र उनीहरूलाई बढीभन्दा बढी प्रयोग गर्न प्रेरित गर्ने हो । यसकारण सोसल मिडियामा हुने नकारात्मकता, घृणा, द्वेष, आक्रोश आदि सोसल मिडिया प्लेटफर्मका मुनाफाका स्रोत हुन् किनकि यी सबैले मानिसलाई सोसल मिडियामा आकर्सित गर्छन् र तिनमा टिकाइराख्छन् ।

आज संसारभर सोसल मिडिया झुठा कुरा फैलाउने सशक्त माध्यम भएको अनुभूति हुनथालेको छ । सोसल मिडिया समुदाय तथा व्यक्ति-व्यक्तिबीच घृणा र द्वेष विस्तार गर्न सफल भएका छन् । मानिसका शंका र पूर्वाग्रहलाई झनै मजबुत भएका छन् । सतही ज्ञान र अपूरा सूचनाको लोकप्रियता बढेको छ । सोसल मिडियाका प्रयोगकर्ता उत्तेजित, आक्रामक, असहिष्णु, असंवेदनशील, मुर्ख, हाँसउठ्दो भएका छन् । मानिसहरू आफ्ना वास्तविक खुबी र सम्भावनामा काम गर्नबाट विमुख भएर ‘नार्सिसिस्ट’ रमाइलोमा मग्न भएका छन् ।

अर्थात्, संसार नशामा छ, र सोसल मिडिया कम्पनी यसबाट भरपूर मुनाफा कमाइरहेका छन् । आफूप्रति अरूको ध्यानलाई महत्त्व दिने मानिसको अस्तित्ववादी विशेषता हो । सोसल मिडियाले यसलाई कमजोरीका रूपमा उपयोग गर्ने प्रविधि बनाएका छन् र हामीलाई सतही र मुर्ख बन्न उक्साइरहेका छन् ।

सोसल मिडिया नक्कली र प्रायोजित विचारका संवाहक हुन् जसको प्रयोग पैशा र शक्ति हुनेले आफ्नो स्वार्थ्यमा गरिरहेका छन् । सोसल मिडिया कम्पनीका माध्यमले भाडामा किनिएका मानिस तथा स्वचालित बोटहरूले गलत सूचना र विचार फैलाएर सर्वसाधारणलाई आफ्ना क्लायन्टको स्वार्थ्यमा परिचालित गरेका छन् । राजनीति र बजारलाई निश्चित व्यक्ति र वर्गको प्रभावमा राख्न सोसल मिडियाले अभूतपूर्व योगदान गरेको छ ।

यसका उदाहरण यति धेरै छन् कि यहाँ उल्लेख गरिरहन आवश्यक नै छैन ।

यस सन्दर्भमा धेरै मानिसले एउटा तर्क उठाउने गरेका छन् -सोसल मिडियाको प्रभावकारिता प्रयोगकर्तामा भर पर्छ । सही प्रयोग गरे त भइहाल्यो नि !

यो तर्कले सोसल मिडियामा मानिसलाई जिम्मेवार बन्नुपर्छ भन्ने सकारात्मक आसय राखेको होला, तर तर्क आफैंमा ‘तार्किक’ भने छैन । बन्दुक, विष, लागु औषध पनि प्रयोगकर्तामा भर पर्छन् -ति आफैंमा कुनै समस्या होइनन् । तर, बन्दुक, विष र लागु औषध नियन्त्रण र नियमनका लागि प्रभावकारी कानुन हुन्छन् । सोसल मिडियाको प्रयोगका कानुन छैनन् । यसलाई अभिव्यक्ति स्वतन्त्रतको माध्यम मानिएको छ र जस्तोसुकै मानसिक वा बौद्धिक हैसियतको मानिस पनि सोसल मिडियामा आफ्ना कुरा व्यक्त गर्न स्वतन्त्र छ ।

सोसल मिडिया प्लेटफर्मले उपयोग गर्ने प्रविधि यति सशक्त छन् कि यसको प्रभावबाट प्रयोगकर्तालाई अलग रहन सजिलो छैन । नजानिदो गरि सोसल मिडियाले यसको प्रयोग गर्ने र नगर्ने सबैलाई गाँजेको छ । प्रयोग गर्न नचाहानेलाई प्रयोग गर्न बाध्य बनाएको छ ।

सोसल मिडियाको विस्तारले सिर्जना गरेको अर्को डरलाग्दो अवस्था के हो भने मानिसका स्वतन्त्र अभिव्यक्ति वा तिनका सूचना अब नाफामूलक कम्पनीका सम्पत्ति बनेका छन् । कस्ता विचारलाई बढावा दिने, कस्तालाई रोक्ने भन्ने निर्णय गर्ने अधिकार व्यापारिक कम्पनीलाई छ । मानिसहरूले आफ्नै विचारमाथि आफ्नो पूर्ण अधिकार गुमाएका छन् ।

सोसल मिडियाको प्रभाव केलाउने अर्थ-राजनीतिक विश्लेषण (political economy analysis) गर्नुपर्छ ।

शक्तिसम्पन्नबाट हेपिएका, अन्यायमा परेका, गरीब, अल्पसंख्यक, निर्धा, निमुखासँग सोसल मिडियामा विज्ञापन गर्ने र स्वचालित ‘बोट’ चलाउने पैसा हुँदैन -न त उनीहरूसँग यसो गर्ने आत्मबल नै हुन्छ । त्यसैले, उनीहरूका आवाज ट्विटर र फेसबुकमा कि त हराउँछन् कि ख्यालठट्टाका विषय बन्छन् । शक्तिशालीहरूले भाडामा किनेका मानिसहरू प्रयोग गरेर सत्यको पक्षमा आवाज उठाउनेहरूको हुर्मत् लिन्छन् ।

बलियाबाङ्गाका आवाजले निर्धाको आवाजलाई परास्त गर्ने ठाउँ हो सोसल मिडिया ।

यस सन्दर्भमा सबैले सोध्ने प्रश्न हो -यसको समाधान के त ?

सोसल मिडियाको जालोबाट उम्कन सजिलो छैन । व्यक्तिका रूपमा कोही ट्विटर, फेसबुक वा व्ह्वाट्स्एप नचलाउला । सोसल मिडियाबाट टाढा रहला तर ऊ वरिपरीको सामाजिक वातावरण सोसल मिडियाले गाँजेको छ । मेरो विचारमा अहिलेको आवश्यकता सोसल मिडियाका हानिकारक पक्षका बारेमा सचेतना फैलाउने हो । यसका हानीकारक पक्षका बारेमा मानिसहरूलाई सचेत गराउन र उनीहरूलाई सिर्जनात्मक र उपयोगी काममा समय खर्च गर्न प्रेरित गर्नसके क्रमशः सोसल मिडियाको गलत प्रभाव घटाउन सकिएला ।

सोसल मिडिया जङ्क फुड जस्तै हो, यसबाट जति टाढा रह्यो उति राम्रो !

1 comment:

  1. -ह्वाट्सएप,भाइबर र मेसेन्जरहरुलाइ त सोसल मिडिया भन्न अलिक नमिल्ला कि? यिनिहरुले त सन्चारलाइ सजिलो बनाएकाछन्।
    - फेसबुक टुइटरहरु त्यत्तिकै त चल्दैनन्। पैसा चाहिहाल्यो। बिज्ञापन गरिएका कुराहरु प्रमोटोड भनेर लेख्छन्।
    - आफुले आफ्नो के के सेयर गर्ने भन्ने कुराहरु आजकल कन्ट्रोल गर्न मिल्ने बनेकाछन्। हामीले यसैगरी सुझाव दिंदै जाने उनीहरुले सिस्टम सुधार्दै जाने। फेक न्युज र हिँसा फैलाउने पोस्टहरुको फिल्टर अझ कसिलो हुँदैजानुपर्यो।

    ReplyDelete