Sunday, November 5, 2017

चुनाव, गठबन्धन र साझा पार्टी

चुनावको माहोल छ । सबै तातिएका छन् । आफू पनि केही न केही त गर्नै पर्‍यो । त्यसैले यो लेख ।

विषय १: गठबन्धन । विषय २: पूराना भर्सस् नयाँ, भ्रष्ट भर्सस् इमानदार, असक्षम भर्सस् सक्षम् ! भोट कसलाई दिने त ? बिग्रेको राजनीति कसरी सुधार्ने त ? समृद्धि कसरी हासिल गर्ने ? यिनै २ विषयमा मेरो २ पैसाको च्याँखे दाउ ।

कुरा सुरु गरौँ ‘गठबन्धनको’ लेटेस्ट फेशनबाट ।

चुनावलाई सत्ता र शक्तिको भर्‍याङ्ग बनाउने दक्षिण एसियाको अनुत्तरदायी राजनीतिमा गठबन्धन नौलो कुरा होइन । साना, मझौला, ठूला दल चुनावअघि ट्याक्क मिलेर भोटब्याङ्क आफूआफूमा भाग लगाउने र चुनावपछि मिलेसम्म सामूहिक सत्ताभोग गर्ने परम्परा छिमेकी भारतमा दशकौँदेखि स्थापित छ । UPA NDA नामका यी गठबन्धन भारतको राजनीतिमा हाबी छन् । भारतको संघीय संसद्को चुनावमा पार्टीले चुनाव जित्दैनन्, यिनै ‘गठबन्धन’ले जित्छन् ।

उताको फेशन यो चुनावदेखि नेपालमा पनि राम्रैसँग जमेको छ । नीति, आदर्श, कार्यक्रमलाई पार्किङ् लटमा बिसाएर चुनावको भोट आफूआफूमा बाँड्न दलहरूले ‘गठबन्धन’ बनाएका छन् । चुनाव चिन्ह फेर्न पाएका भए यिनले समानुपातिक तर्फ पनि गजब बाजी मार्ने थिए । गठबन्धनको मिशनमा अलि ढिलासुस्ती भएको हुनाले यो चुनावमा सोचेजति फाइदा नहोला । तर, मिलिभगतमा चुनाव लड्न र प्रत्यक्ष तर्फ सकेसम्म भोट खेर जान नदिन गठबन्धनको आइडियाले गजब काम गर्ने नै छ !

भनिन्छ नेपालमा प्रजातान्त्रिक चेतनाको इतिहास कमसे कम ७० वर्ष पूरानो छ । ००७ सालमा नै प्रजातन्त्र प्राप्तिका लागि लडाइँ भयो । त्यसयता ३ वटा विशाल जनआन्दोलन भएका छन् । यद्दपि, राजनीतिक संस्कार र संस्थाबारेको बुझाइ र तिनबाट गरिने अपेक्षा अझ पनि सतही नै छ । एमाले र माओवादी मिल्दा वा कांग्रेस र फोरम लोकतान्त्रिक मिल्दा तिनका समर्थकमात्र होइन सर्वसाधारणमा पनि खुशियाली देखियो । “दलहरू मिले राम्रो भयो” भनेर मानिसहरू खुशी भए ।

आसन्न चुनावलाई ध्यानमा राखेर दलहरू मिल्न त मिले तर तिनका मुद्दा र एजेण्डाको समायोजन कसरी भयो त ? मधेशी जनअधिकार फोरम लोकतान्त्रिक कांग्रेससँग मिल्दा उसका विशिष्ट राजनीतिक लक्षको भविष्य के हुने हो ? माओवादी केन्द्र भनिने सशस्त्र युद्द लडेर स्थापित भएको पार्टीका कुन कुन मुद्दा कसरी एमालेसँगको गठबन्धनमा समायोजन भए ?

के विगतमा यी पार्टीहरूले उठाएका पृथक मुद्दा सत्तामा पुग्नका लागि मात्र थिए ? यदि यसो हो भने गठबन्धनका आडमा उनीहरूले लिएको नयाँ राजनीतिक अवतारको कसरी सम्मान गर्ने ?!

आसन्न चुनाव हरेक दलको आ-आफ्नो हैसियत नाप्ने माध्यम बन्ने सम्भावना थियो । जनतामाझ कुनै प्रभाव नभएका तर सरकार बनाउने जोड घटाउमा चिनी वरिपरी घुम्ने कमिला झैँ घुमिरहने १ वा २ सांसद भएका दलाल दलहरू नासिएर जाने झिनो आशा पनि थियो । तर, यी सबै अवसरवादीहरू अहिले गठबन्धन र चुनावी तालमेलको (अ)पवित्र छानामुनि गोलबद्ध हुन सफल भएका छन् । नयाँ बनेका गठबन्धनले ती आशा र सम्भावनामा पूर्ण विराम लगाइदिएको छ । देशभरमा ४-५ हजार भोट पाउन सक्नेहरू गठबन्धनका सदस्य बनेपछि भोटको जोडघटाउमा सांसद् बन्न सफल हुनेभएका छन् ।

मलाई लाग्छ गठबन्धनका आडमा चुनावबाट शक्ति बटुल्न सफल हुने नेताहरूले चुनाव सकिन नपाउँदै सत्ता र शक्तिका लागि गर्ने कलह, त्यसपछि पार्टीहरूमा देखिने विभाजन र राजनीतिमा त्यसले ल्याउने थप विकृतिका लागि हामी सबै तयार रहे हुन्छ । यो गठबन्धन होइन, “ठगबन्धन’ हो –चुनावमा भोट खेर जान नदिने मेलो, सत्ता प्राप्तिको अनैतिक दाउपेच ।

यसपालीको चुनावमा चर्चामा आएको विषय गठबन्धनको मात्र होइन -नयाँ, इमानदार र सक्षम विकल्पका रूपमा प्रस्तुत भएको साझा विवेकशीलको पनि हो ।

साझा पार्टी भन्छ नेपालमा संघीयता आयो, विकेन्द्रीकरण भयो, पटकपटक राजनीतिक आन्दोलन भए -तर नेपाली जनताले केही पाएनन् । नेता भ्रष्ट भए, सक्षम, पढेलेखेका भएनन् त्यसैले तिनबाट केही आशा गर्न सकिन्न । सक्षम र इमानदार हामीलाई भोट दिए समृद्धि हाम्रै जीवनकालमा देख्न सकिन्छ ।

साझा पार्टीका नेता, समर्थक र सुभेच्छुकले मेरा लागि प्रस्ट पार्न नसकेका केही प्रश्नः के नेपालका राजनीतिक आन्दोलनका उपलब्धि शून्य नै थिए ? संघीयता, विकेन्द्रीकरण आदिबाट जनताले पाउनुपर्ने ठोस कुरा के हो ? नेपाल सोचेजति विकसित हुननसक्नुको कारण नेताहरू भ्रष्ट भएरै हो त ?

हुन त साझा पार्टीलाई प्रश्न सोधेर काम छैन । प्रश्नहरूमा घोत्लिने पार्टी होइन यो –सजिला जवाफमा रमाउने पार्टी हो । उसका विचारमा बेइमान नेताका ठाउँमा इमानदारलाई जिताउने, राजनीतिमा होइन विकासमा जोड दिने –यति भएपछि नेपाल स्विट्जर्ल्याण्ड बन्छ ।

साझा पार्टीको चुनावी घोषणा-पत्र पढ्दा एउटा कुराको आभाष मिल्छ –उसलाई राजनीतिक प्रक्रिया (संघीयकरण, विकेन्द्रीकरण, गणतन्त्र आदि) मा ठूलो विश्वास छैन । घोषणापत्रका हरफहरू बीचका आशय पढ्दा बुझिन्छ, उसले भनिरहेको छ –यी सबै भएर के भयो त ? आखिर जनताले केही पाएनन् क्यारे ?

हरेक राजनीतिक आन्दोलनले नेपालीलाई राजनीतिक स्वतन्त्रता र समृद्धिका अवसर दिएको छ, अलि बढी नागरिक बनाएको छ । ०४६ को राजनीतिक परिवर्तनपछि नेपालका आर्थिक र सामाजिक सूचकहरू आनका तान फेरिएका हुन् । कुनै नेता वा दलको देनका कारणले सम्भव भएको होइन, राजनीतिक परिवर्तनले निर्माण गरेको सकारात्मक वातावरण लगानी प्रबर्धन र रोजगारी बृद्धिका लागि सहायक बन्यो । स्वास्थ्य क्षेत्रका विभिन् सूचकहरू, विद्यालय भर्ना दरमा भएको अभिवृद्धि, रोजगारी र औसत आयमा आएको सुधार आदिलाई हेर्दा नेपालले ०४६ पछि द्वन्द्वको समयमा पनि उल्लेख्य प्रगति हासिल गरेको छ ।

०४६ को राजनीतिक परिवर्तन, त्यसपछि भएको भिषण सशस्त्र युद्धको शान्तिपूर्ण राजनीतिक समाधान, प्रगतिशील र क्रान्तिकारी मुद्दासहितको दोस्रो जनआन्दोलन, त्यसको पृष्ठभूमिमा भएको संघीय प्रणाली र गणतन्त्र सहीतको संविधान लेखन, सफल स्थानीय निर्वाचन –यी सबै साझा पार्टीले नेपालका पूराना र असान्दर्भिक भनेका राजनीतिक दलके सम्पादन गरेका काम हुन् । एकात्मक संरचनाको राजतन्त्रलाई संघीय गणतन्त्रमा पूनर्संरचना गर्नु सजिलो काम होइन ।

नेपालको नयाँ संविधानले ऐतिहासिक रूपमा तहमा नागरिकलाई शक्तिशाली बनाएको छ । स्थानीय सरकार र प्रदेशले संविधानबाट महत्त्वपूर्ण शक्ति र जिम्मेवारी पाएका छन् । उनिहरूका लागि साधनश्रोतको पनि संवैधानिक सुनिश्चितता गरिएको छ । देश बनाउने काममा नागरिक आफैँ सहभागि हुने अवसर सुनिश्चित भएको छ । यी सबै काम साझा पार्टीले पूराना, भ्रष्ट, निकम्मा, भनेका दलका नेताहरूको नेतृत्वमा भएको हो ।

काठमाडौँको चक्रपथ १० लेनको छैन, धापाथलीको पूलमा फ्लाइओभर छैन, वाग्मती नदी सफा छैन । यी सबै भएको भए राम्रो हुन्थ्यो । तर, यसैलाई दृष्टान्त बनाएर नेपाली जनताले विगतका राजनीतिक उपलब्धिबाट केही पाएका छैनन् भन्न मिल्दैन । किनकी साझा पार्टीले पनि उसले बुनेका रुमानी सपनाहरू कसरी पूरा गर्ने हो अहिलेसम्म कसैलाई भनेको छैन ।

भएका पूराना दलप्रतिको आलोचनामा साझा पार्टी पूर्णरूपमा गलत छैन । नेपालका ठूला राजनीतिक दलले जनताको अपेक्षाअनुरूप काम गर्न सकेका छैनन् । उनीहरूले भ्रष्टाचार र कमिशनखोरीलाई प्रश्रय दिएको र अपराधलाई राजनीतिको माध्यम बनाएको कुरा पनि साँचो हो ।

यद्दपि, राजनीतिमा देखिएका यी ‘इन्डेमिक’ समस्याको समाधानका लागि आवश्यक राजनीतिक सोच साझा पार्टीमा एक औंस पनि देखिन्न । साझा पार्टीको अनुमान छ -अरू नराम्रा भएकाले मतदातालाले साझा पार्टीलाई स्वतः भोट दिहाल्छन् ।

पालै पालो एक-अर्काको डम्फु बजाउने बाहेक साझा पार्टीका नेता र उमेदवारहरू नेपालका राजनीतिक मुद्दा र प्राथमिकतामा संवेदनशील भएको उदाहरण पाइन्न । भारतीय सिनेमाका 'क्यारिस्माटिक' नायकले पर्दामा देखाउने चर्तिकलालाई नै राजनीति मान्छ साझा पार्टी । उसलाई काठमाडौँबाहिरका आम मानिसका चासो, सामाजिक-आर्थिक आवश्यकता, राजनीति र आम मानिसको जीवनबीचको अन्तर्सम्बन्ध आदि बारे साझा पार्टीमा चासो र जिज्ञासा देखिँदैन ।

लेख गोलमटोल भयो । निचोड असहज बन्दै गयो । त्यसैले अबका २ परिच्छेदमा निचोड प्रस्तुत गर्न चाहान्छु ।

आसन्न चुनावको ठूलो महत्त्व छ । यसले ०४६ को परिवर्तनपछि स्थापित र आफूलाई वास्तविक निर्वाचनमा (संविधानसभाको निर्वाचन संविधान लेखनको उद्देश्यका लागि मान्दा) परिक्षण नगरेका दलहरूको सही परिक्षण गर्न सक्छ । यद्दपि, दलहरूले बनाएका गठबन्धनले चुनावको महत्त्वलाई ओझेलमा पारिदियो । राजनीतिक सिन्डिकेट भविष्यमा पनि निरन्तर हुने भए ।

दोस्रो, पूराना राजनीतिक दल र अहिलेसम्मका राजनीतिक आन्दोलनको अवमूल्यन गर्दै स्थापना भएको साझा पार्टीबाट मेरो ठूलो अपेक्षा छैन । राजनीति र विकासका बारे उनीहरूको बुझाइ सतहीमात्र होइन प्रत्युत्पादक पनि छ । विकास भनेको फ्लाइओभर र १० लेनका बाटो मात्र होइन । विकासका लागि राजनीति बाधक पनि होइन । साझा पार्टीले कहिलेकाहीं सोझो र कहिलेकाहीं घुमाउरो रूपमा विकासका लागि गरिरहेको राजनीतिक विश्लेषण अधिनायकवादको पृष्ठपोषण मान्छु म, र आशा गर्छु यो सतहीपनामा मतदाता भुल्नेछैनन् ।

1 comment:

  1. कुरा सहि लाग्यो। राजनिति सत्ता प्राप्तिको लागी नै हो। प्रश्न सत्ता प्रप्ती पछि के गरे भन्ने हो। मेरो विचारमा यहाँ निर्वाचन सधैं निर्धारित समयमा हुने गरेको भए निश्चित नेताको मुठ्ठीमा हुनेथिएन सत्ता।

    ReplyDelete