Friday, April 14, 2017

विक्रम सम्वत, धुलो र नो हर्न

विक्रम सम्वतका कुरा

भएका कुरा फेर्ने काम सजिलो छैन -भएकैमा रमाउन भने धेरै सजिलो छ । त्यसमाथि शंका, फरक मत, आलोचनाभन्दा ‘सकारात्मक सोच’ राखेर सबै कुरामा ‘हो हो’ भन्नुपर्छ भन्ने बुझाइ पनि छ कतिको । यो सन्दर्भमा विक्रम सम्बतलाई सरकारी कामकाजमा नेपालले दिएको मान्यताका पक्षमा धेरै मानिस हुनु स्वभाविक हो । विक्रम सम्बतको महिमालाई देश-विदेशमा फैलाएर नेपालको स्वतन्त्र पहिचानलाई बलियो बनाउनु पर्छ भनेर कसैले अहिले भन्यो भने त्यसले प्रशस्त ताली पाउन सक्छ ।

तर, मलाई ताली खाने कुरामा भन्दा गाली खाने कुरा गर्नमा रुचि छ ।

संसारमा सयौँ पृथक साँस्कृत वा धार्मिक क्यालेण्डर छन् । यिनकै आधारमा विभिन्न ठाउँमा मानिसहरूले विभिन्न नयाँ वर्षहरू मनाउँछन् । नेपालमै पनि विभिन्न समुदायका विभिन्न नयाँ वर्षहरू छन् –त्यसमध्ये सक सम्बतमा आधारित विक्रम सम्बतको नयाँ वर्ष एउटा हो । 

सरकारी वा औपचारिक कामकाजका लागि भने संसारका अधिकांश मुलुकले आफ्ना सांस्कृतिक क्यालेण्डर होइन ग्रेगोरियन क्यालेण्डर नै चलाउँछन् । आफ्नै अलग क्यालेण्डर चलाउने देश अफगानस्तान, इरान, साउदी अरब र इथियोपिया हुन् –जसमध्ये अघिल्ला तीनले इश्लामिक धार्मिक क्यालेण्डर चलाउँछन् ।

सरकारी कामकाजका लागि विक्रम सम्बत चलाउँदा असङ्ख्य असजिला र कठिनाइ छन् । सूचना प्रणालीका संरचना विक्रम सम्बतसँग मिलाउँदा देशको सम्पत्ति अनावश्यक कुरामा खर्च भएको छ । यसबाट सूचना प्रणालीको दक्षता र प्रभावकारीतामा पनि प्रभाव परेको छ ।  औपचारिक कागजातमा उल्लेख भएका नेपाली सम्बत ईश्वी सम्बतसँग मिलाउँदा हुने झन्झट कति छ कति । त्यसमाथि, नेपालीहरूले अहिले र नेपालको सन्दर्भमा काम गर्ने विदेशीले पनि २-२ वटा मितिहरूका बारेमा ध्यान दिनुपर्छ । यो वाहियात असजिलो परम्पराको अन्त्य गर्ने हिम्मत र जाँगर कसैमा छैन ।

नेपालको राजनीतिक संरचना त सहजै फेरियो । राजतन्त्रको ठाउँमा गणतन्त्र, एकात्मकताको ठाउँमा संघीयता र हिन्दु राष्ट्रका ठाउँमा धर्मनिरपेक्षतालाई स्वभाविक रूपमा स्वीकारिएको छ । यति ठूला परिवर्तन चाहाने नेपालीलाई परम्परा र संस्कृतिमा जोडिएका केही असान्दर्भिक कुरा फेर्न भने राजनीतिक संरचना फेर्न भन्दा गार्‍हो परिरहेको छ । यसको अर्को उदाहरणका रूपमा एसएलसीको परिक्षालाई पनि लिन सकिन्छ –जसको नाम त फेरियो तर यसले पाएको महत्त्व फेरिन सकेको छैन । असार मसान्तमा बजेट भाषण गर्ने अर्को ‘गौरवशाली’ परम्परा पनि यहाँ बिर्सन मिल्दैन ।

विक्रम सम्बतलाई साँस्कृतिक उपयोगमा सीमित गरेर औपचारिक र सरकारी कामकाजका लागि इश्वी सम्वत चलाउन अब ढिला भइसकेको छ ।

नयाँ वर्ष २०७४ को शुभकामना !

काठमाडौँको धुलो

कहिलेकाहिँ लाग्छ अपराध र अकर्मण्यतालाई सहज, स्वभाविकरूपमा लिने मानसिकता नेपालमा स्थापित भइसकेको छ ।

वार्षिक रूपमा यति अरब र उति अरब नाफा गर्‍यौँ भनेर धाक लगाउने नेपाल टेलिकमले काठमाडौँका सडकमा विद्रुप शैलीमा टाँगिएका तारलाई भूमिगत गर्नमा १ पैसा खर्च गर्दैन । यो उसको प्राथमिकता नै होइन । मानौँ यो उसको सामाजिक दायित्व नै होइन । काठमाडौँ शहरलाई विद्रुप र दृष्यप्रदुषित बनाउनमा सडकमा टाँगिएका टेलिफोनको तारको ठूलो भूमिका छ भन्ने कुरा नेपाल टेलिकमको भेजामा घुस्दैन । यो कुरा उसको भेजामा घुसाउन कसैको चासो छैन ।

अहिले काठमाडौँको धुलोको भयावह प्रकोप यो जिम्मेवारीसँग सम्बन्धित मानिसहरूको अकर्मण्यताको अर्को उदाहरण हो ।

एक सज्जनले केही दिनअघि गरेको तलको ट्विटले धेरै गहन सन्देश दिइरहेको छ ।


संसारमा अन्यन्त्र पनि सडक बनाइन्छ, खानेपानीका पाइप अन्यत्र पनि बिच्छाइन्छन् । यी काम गर्दा धुलो नियन्त्रण गर्ने व्यवहारिक विधि र उपाय नभएका होइनन् । निर्माण कार्यमा संलग्न निजी व्यवसायीलाई जिम्मेवार बनाउने काम सम्बन्धित सरकारी निकायको हो । तर, हाम्रो गैरजिम्मेवार र अकर्मण्य प्रशासनिक संरचनालाई यी सब कुरामा वास्ता छैन ।

केही ठाउँमा सडक टालिएर धुलो नियन्त्रण भएको छ । ति ठाउँहरू हुन् लाजिम्पाट र पुल्चोक –जहाँ मन्त्री, प्रधानमन्त्री र राष्ट्रपतीको आवजतावत हुन्छ । पुल्चोकबाट २ किलोमिटर दक्षिण जावलाखेल चोकमा उडेको धुलो हेर्दा यो देश चाकरीबाज र अकर्मण्यताबाट कतिसम्म ग्रसित छ भनेर प्रस्टै देख्न सकिन्छ ।

काठमाडौँको धुलोको स्रोत निर्माणको काम होला, तर कारण भने अर्कै छ । यसको कारण वा वास्तविक स्रोत भने सुशासनको अभाव, नीतिनियममा भएका कमजोरी, जवाफदेहिताको अभाव र अकर्मण्यता हो । काठमाडौँको निर्माण कार्य र यसको दुर्दशाले नेपालका विद्यमान नीतिनियम र प्रशासनिक संरचना ठूला स्तरको भौतिक पूर्वाधार निर्माणका लागि तयार नभएको देखाइरहेको छ ।

सडकमा महिनौँदेखि धुलोको मुस्लो उडेको छ । शिशुदेखि वृद्धसम्म यही धुलो खान वाद्य छन् । यो अपराधका लागि कसैले अहिलेसम्म जिम्मेवारी स्वीकार गरेको छैन, र यसमा सम्बन्धित मानिसका सार्वजनिक अभिव्यक्ति हेर्दा कसैलाई आफ्नो अपराधको बोध भइरहेजस्तो पनि लाग्दैन ।

चिन्ताको कुरा त के छ भने मानिसहरू यो सब देखेर पनि चुप छन् । बहाना के हो थाहा छैन –तर अपराधलाई स्वभाविक रूपमा स्वीकार गर्ने संस्कृति नेपालमा स्थापित हुँदैछ ।

नो हर्न

बीर अस्पतालको अगाडि धेरै ठाउँमा हर्न निषेधका बोर्डहरू राखिएका छन् । धेरै पहिलादेखि । तर, अस्पतालअगाडिको यो बाटोमा हर्न निषेधका बोर्डहरूले हर्न कम गर्न सघाएका छैनन् । बाटो काट्ने सहज उपाय नभएको र सधैँ जाम भइरहने बीर अस्पताल अगाडिको चोकमा बरु अरु ठाउँभन्दा बढी हर्न बज्ने गर्छ ।

कुनै शहरमा हर्न निषेध गर्ने काम त्यहाँको स्थानीय सरकारको हो । स्थानीय सरकारले आवश्यक नीति नियम बनाएर, जनचेतनाका कार्यक्रम चलाएर, स्थानीय मानिसको अपनत्व कायम गरेर एउटा गतिलो अभियानका रूपमा हर्न निषेध घोषणा गर्न र त्यसलाई प्रभावकारी रूपमा लागु गर्न सक्थ्यो । स्थानीय सरकारले गरेको आव्हानलाई शहरवासीले आफ्नो अभियानका रूपमा स्वीकार गर्न सक्थे । ट्राफिक प्रहरी र यातायात कार्यालयले गर्नुको साटो यही आव्हान काठमाडौँका मेयरले गर्दा कति राम्रो प्रभाव पर्थ्यो !

तर, स्थानीय चुनाव हुन १ महिना बाँकी रहँदा नेपालको केन्द्रीय सरकारलाई काठमाडौँमा हर्न निषेध गर्न हतार भयो । जनताको बृहत् समर्थन र सहयोग चाहिने यस्तो नियमको पालनाका लागि लागि जनचेतना बढाउने र अपनत्व निर्माण गर्ने होइन, जरिवाना र कारवाहीको त्रासको सहारा लिइयो -५००, १००० र १५०० जरिवाना । लठ्ठी देखाएर नियम पालना हुन्छ भन्ने नेपालको सरकारी प्रशासनको पुरातनपन्थी, पत्रु सोचको गौरवशाली निरन्तरतासहित आजबाट काठमाडौँलाई हर्न निषेध घोषणा गरिएको छ ।

२ वर्षअघि काठमाडौँमा प्लास्टिकका झोला निषेध गरियो । सार्वजनिक स्थलमा धुम्रपान गर्न पनि निषेध छ । तर, यसको कार्यान्वयन फिटिक्कै भएको छैन । चिन्ता के छ भने हर्न निषेधको आदेश पनि झोला निषेध जस्तै ठट्टामा परिणत हुने सम्भावना बढी छ । सरकारले जारी गरेका आदेश, नीति नियम कार्यान्वयन नहुने प्रवृत्ति बढ्दै जाँदा सरकार नै असान्दर्भिक हुँदै जान्छ ।

तर, दु:खका साथ भन्नुपर्दा सरकार ठट्टा र घृणाको पात्र बनिरहको हेक्का कसैलाई छैन । सबैलाई लोकप्रिय घोषणा गर्न हतार छ । इतिहासमा नाम लेखाउन रहर छ -ता कि भविष्यमा कुनै दिन उक्त नियम कार्यान्वयन हुँदा आफ्ना छोरानातीलाई भन्न पाइयोस् -त्यो काम त मैले सुरु गरेको हो नि !

निषेध आव्हानको प्रकृयामा विमति रहे पनि, हर्न निषेध काठमाडौँको आवश्यकता हो । सडकमा अनावश्यक रूपमा बज्ने हर्नले शहरवासीको बेबकुफी प्रदर्शन गरिरहेको छ । म आफ्नो तर्फबाट सरकारको आदेशको पूरा पालना गर्नेछु ।


(नोट: केही वाध्यताका कारण यो ब्लग अन्य साइटमा प्रकाशित गर्न नसक्ने व्यहोरा निवेदन गर्न चाहान्छु ।) ;-)

No comments:

Post a Comment