Saturday, March 18, 2017

नयाँ शक्तिलाई सुभेक्षा र सुझाव

केही दिनअघि एउटा ‘नवपार्टी’का पदाधीकारीले फेसबुकमा राखेको भिडियो हेरेपछि लगभग आश्चार्यचकित नै भएँ म । भिडियोमा उनि नयाँ भाँडो र पूरानो भाँडोबिचको फरकका बारेमा कुरा गर्दै थिए र यसलाई राजनीतिमा जोड्न खोज्दैथिए । तर, उनको प्रस्तुति र तर्क सुन्दा फेसबुकको त्यो भिडियो एउटा राजनीतिक सन्देश भन्दा पनि कपालमा लाउने तेलको विज्ञापनजस्तो लाग्थ्यो ।

राजनीति गर्नेले अमुर्त र अस्पष्ट ठूला-ठूला सैद्धान्तिक र वैचारिक भाषणबाजी गर्नुपर्छ भन्ने मेरो विचार होइन । यद्दपि, समाजको शक्तिसम्बन्ध र देश-जनताको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषयलाई सोझो र सरल ढङ्गले सम्बोधन गर्नसक्ने क्षमता राजनीति गर्छु भन्नेहरूमा चाहिन्छ । नयाँ शक्ति भनेर स्थापना गर्न खोजिएका अहिलेसम्मका कुनै समूहमा यस्तो क्षमता भएजस्तो मलाई लाग्दैन ।

आज भने अरू नयाँ शक्तिको नभइ रबिन्द्र मिश्रले स्थापना गर्नुभएको नयाँ शक्ति बारे मलाई लागेका सामान्य र खस्रा कुरा प्रस्तुत गर्दैछु ।

व्यक्तिप्रधानताको लक्षण

रबिन्द्र मिश्रले राजनीतिक समूह बनाएर त्यसको नेतृत्व गर्ने चर्चा धेरै अघिदेखि थियो । त्यसैले केही दिनअघि उहाँले गरेको घोषणा आश्चार्यको विषय थिएन । यद्दपि, जुन शैली र मिडिया क्याम्पेनका साथ राजनीतिमा होमिने उहाँको घोषणा आयो –त्यसबाट भने म थोरै आश्चार्यचकित भएँ।

राजनीतिमा व्यक्ति महत्त्वपूर्ण नहुने होइन । नयाँ शक्ति वा साझा पार्टीमा पनि रबिन्द्र मिश्रकै बारेमा चासोचर्चा हुनु स्वभाविक हो । यद्दपि, नयाँ राजनीतिक संस्कारको वकालत गर्ने रबिन्द्र मिश्रले नयाँ दल खोलेको घोषणामा चलाउनुभएको आफ्नो बारेको चर्चा मलाई अस्वाभाविक लाग्यो ।

नयाँ दल स्थापना भएको सन्दर्भमा दलका विषयमा धेरै चर्चा भएन –बरु उहाँको तलब कति थियो ? सुविधा कस्ता थिए ? भविष्यमा करिअरको सम्भावना के थियो ? घर कतिओटा थिए ? यी सबैको मोह त्यागेर उहाँले राजनीतिमा आउने अदम्य साहस कसरी जुटाउनुभयो ? आदि चर्चाले मिडिया ढाक्यो । त्यही दिन उहाँ सँगै नयाँ दलमा आवद्ध भएका अन्य व्यक्तिहरूका विषयमा कुनै चर्चा भएन ।

मेरो विचारमा नयाँ राजनीतिक शक्तिको स्थापनाका लागि यो एउटा गलत र दुखदायी मिडिया रणनीति थियो । सम्भवत यसको बोध मिडियामै आफ्नो व्यवसायिक जीवन गुजारेका मिश्रजीलाई पनि भइसकेको हुनुपर्छ ।

राजनीतिमा आउने-नआउने व्यक्तिको रुचि वा निर्णयको कुरा हो । आफ्नो रुचिको निर्णय गर्दा समाजबाट यसका लागि जस खोज्नु नयाँ राजनीति होइन । जस पाउनका लागि उपलब्धि चाहिन्छ जसमा रबिन्द्र मिश्रले आफूलाई प्रमाणित गर्न बाँकी नै छ ।


समृद्धिप्रतिको दृष्टिकोण


एकपटक रबिन्द्र मिश्रजीसँगको भेटघाटमा मैले उहाँसँग आफ्नो विचार सेयर गरेको थिएँ –“विकास होस् या आर्थिक समृद्धि, यी केवल प्राविधिक कुरामात्र होइनन् । समृद्धिलाई मूल एजेण्डा बनाएर राजनीति गर्न लाग्नुभएको तपाईंले यसका राजनीतिक-सामाजिक आयामलाई सम्बोधन गर्न सक्नुपर्छ । विकासलाई ऐतिहासिक र राजनीतिक सन्दर्भमा बुझ्ने र नेपालका लागि सकारात्मक परिवर्तनको खाका बनाउने कुरामा जोड दिनुहोला । समाज र मानिसको दैनिक जीवनसँग जोडिन नसक्ने विकासको चर्चा पपुलिज्म मात्र हो जसको जग बलियो हुन्न ।”

रबिन्द्र मिश्रको साझा पार्टीको स्थापनासँग जोडिएका बहसमा समृद्धिको ठोस बुझाइको छनक पाइएको छैन । ‘अहिलेका नेतामा इमान छैन र यस्तो तालले जिडिपी-जिएनपी बढ्न सक्दैन’ भन्ने दृष्टिकोण नै चर्चामा आयो । राजनीतिक जीवनको सुरुआतको घोषणाका सन्दर्भमा आएका उहाँका अन्तर्वार्ता वा विज्ञप्तिमा पनि बाटाघाटा, पुलपुलेसा, कलकारखानालाई नै समृद्धिको आधार भन्ने टिभिमा आउने सिमेन्टको विज्ञापनस्ता सन्देश नै बढी देखिए ।

मैले धेरैपटक भन्दै आएको छु -सिमेन्टका पूर्वाधारलाई मात्र समृद्धि मान्ने गरीब देशको पूरानो रोग नेपालमा पनि व्यापक छ, र यसलाई बदल्न जरुरी छ । पूर्वाधारलाई समृद्धिको सूचकका रूपमा होइन आवश्यकताको प्रतिफल, सम्भाव्यता, क्षमता र दिगोपनका सन्दर्भमा बुझिनु पर्छ । राजनीतिक दलको समृद्धिको बुझाइ परिपक्व हुन आवश्यक छ । साझा पार्टीको मिडिया क्याम्पेनमा यसको छनक पाइएन ।

साझा पार्टीका पृथक भनिएका कल्याणकारी राज्य वा बटम-टु-टपको दृष्टिकोण वा शैलीले मात्र नयाँ दलको औचित्य पुष्टि गर्दैनन् – न त यी अन्य पूराना दलका शैली भन्दा तात्विकरूपमा पृथक नै छन् । व्यक्तिको इमानदारिता वा असल चरित्रले राजनीतिलाई सघाउन सक्छ तर नेतृत्व स्थापनाका लागि यो मात्र पर्याप्त हुँदैन । मेरो बुझाइमा राजनीतिक शक्तिको औचित्य स्थापना गर्न ‘यसमा लाग्ने हामी सबै इमानदार छौँ’ भन्ने तर्क कच्चा र अराजनीतिक हो ।

दल र एनजिओ


राजनीतिक दल बनाउनलाई मेटान्याराटिभ/सैद्धान्तिक व्याख्याको ठेली बनाउनुपर्छ भन्ने होइन । मिश्रले स्थापना गर्नुभएको नयाँ शक्तिका सन्दर्भमा केही विद्वानले लोक कल्याणकारिता र सहभागितामूलक विकास जस्ता दृष्टिकोण नै राजनीतिक विचारधारका लागि पर्याप्त छन् भन्ने धारणा राखेका छन् । यो धेरै हदसम्म सही हुन पनि सक्छ ।

यद्दपि, अहिलेका पूराना दलका राजनीतिक दृष्टिकोण, विचारधारा वा दर्शन र तिनमा समेटिएका एजेण्डा समग्र रूपमा गलत र अनुपयोगी छन् भन्न मिल्दैन । पूराना दल आफ्ना एजेण्डा र नीतिमा इमानदार हुन नसकेको साँचो हो । यसो भन्दैमा उनीहरूले अहिलेसम्म अँगालेका राजनीतिक एजेण्डा फजुल गफ मात्र होइनन् । राजनीतिक दल र तिनका आन्दोलनले केही एजेण्डाको स्थापना गरेका छन् र तिमध्ये केही नयाँ संविधानमा लिपिवद्ध भएका छन् ।

राजनीति गर्छु भन्नेहरूले ति एजेण्डाका बारेमा स्पष्ट दृष्टिकोण सार्वजनिक नगरी सुख छैन । अहिले भएका वा भविष्यमा बन्ने सबै राजनीतिक दलले आफ्नो विशिष्टता प्रमाणित गर्ने तिनै एजेण्डामा टेकेर हो । “एजेण्डा-सेजेण्डाको कुरा छोडौँ, विकासको कुरा गरौँ” भन्ने तर्क एउटा एनजिओका लागि सुहाउला, राजनीतिक दल भनेको एनजिओ होइन ।

सुभेच्छा


केही दिनअघि ट्विटरमा एकजना भलाद्मीले “अब यसले साझा पार्टीको आलोचना गरेर लेख लेख्छ” भनेर टिप्पणी गर्नुभएको थियो । मलाई उहाँ र उहाँजस्ता साझा पार्टीका समर्थक, सुभेच्छुकलाई दुखी बनाउने मनसाय होइन । नयाँ राजनीतिक शक्तिका बारेमा म समग्रमा नकारात्मक पनि छैन र भएर पनि त्यसको अर्थ छैन ।

यो लेखको अभिप्राय आफ्ना सुझाव सम्बन्धितसमक्ष पुर्‍याउने पनि हो । लेखको आशय यतिमात्र हो कि राजनीति गर्छु भन्नेहरूले सही अर्थमा राजनीति गरुन् । उनीहरूको प्रयास कच्चा र सतही भएर कलिलैमा नओइलाओस् । बाबुराम भट्टराईबाट सही राजनीतिको अपेक्षा गर्न सकिन्छ जस्तो लाग्दैन, तर सकारात्मक र शान्तिपूर्ण राजनीति गर्न चाहानेहरूको रहरले सफलता मिलोस् । मेरो सुभेच्छा !

No comments:

Post a Comment