Sunday, December 25, 2016

कसरी सहज बनाउने काठमाडौँको ट्राफिक -एक भुक्तभोगीका सामान्य उपाय


हिजो यो ट्विट लेख्दा यसमा यति धेरै मानिसले चासो देखाउँछन् जस्तो लागेको थिएन। यसले पाएको ध्यान र आएका प्रतिक्रिया देखेर रमाइलो लाग्यो।


रमाइलो यस अर्थमा लाग्यो कि नेपालका सबै समस्या हाम्रा नेताले लामालामा खोक्रा भाषणमा बताउने गरेजस्ता ठूला पनि छैनन्। स-साना कुरामा सुधार गरे पनि नेपालीहरू देशको भविष्यप्रति आशावादी हुनसक्छन्। जस्तै -लोडसेडिङ्गको अन्त्यले मानिसहरूमा अथाह सकारात्मक उत्साह जगाइदिएको छ।

ट्विटमा आएका प्रतिक्रिया हेर्दा लाग्यो काठमाडौँको ट्राफिकले धेरैलाई पिरोलेको छ। हुन पनि हो –काठमाडौँको ट्राफिक असाध्यै असहज बन्दै गएको छ। मलाई पनि अफिसबाट घर आउन १० किलोमिटर बाटोका लागि आजभोलि १ घण्टा १५ मिनेट बाटोमा बिताउनुपर्छ।

ट्राफिक सहज भए काठमाडौँको जीवन थप सहज हुन्छ।

मलाई लाग्छ -काठमाडौँको ट्राफिक यतिबिघ्न बाक्लो हुनमा भौतिक पूर्वाधारको कमीको भूमिका ठूलो छ। चौबाटामा क्रसिङ्ग र फ्लाइओभर छैनन्। बाटा ठूला छैनन्। काठमाडौँको जनसङ्ख्याको अनुपातका लागि चाहिने भूमिगत रेल छैन। यसले गर्दा बाटाहरू व्यस्त र असजिला छन्।

यद्दपि, योभन्दा पनि ठूलो समस्या व्यवस्थापनको छ।

पहिलो त काठमाडौँका बाटा निजी गाडी र मोटरसाइकलले भरिएका छन्। निजी सवारी साधन वाध्यता र संस्कृति दुबैको मिश्रित उपज हुन्। सार्वजनिक साधन सजिला र भरपर्दा छैनन् र निजी साधनलाई हाम्रो जस्तो अल्पविकसित मुलुकमा प्रतिष्ठाको रूपमा लिइन्छ।

दोस्रो समस्या नीति नियमको छ।

काठमाडौँका बाटाहरू सकेसम्म कार र मोटरसाइकललाई सजिलो हुनेगरि बनाइएका छन्। सार्वजनिक बसका लागि अलग लेन, साइकल ट्रेल र पैदलयात्री काठमाडौँका बाटाको प्राथमिकतामा पर्दैनन्। यसका कारण पनि मानिसका लागि निजी साधन नै सहज हुन्छन्।

तेस्रो समस्या छाडा र अव्यवस्थित निजी सिन्डिकेटले चलाउने सार्वजनिक साधनको छ। गाडी मालिकहरू यात्रीको सुविधा र सजिलो होइन –थोरै लगानीमा प्रशस्त नाफा गर्न सकिने बाटो खोज्छन् जसलाई सरकारी संयन्त्रले सहज बनाइदिन्छ। केही अपवादबाहेक –गाडीहरू साना र असजिला छन्; गाडी चलाउनेहरूमा तालिम र अनुशासन छैन; गाडी सञ्चालनलाई नियमन गर्ने कुनै संयन्त्र छैन। सबै भार ट्राफिक प्रहरीको काँधमा छ।

मैले यी सबैको उल्लेख किन गरेको भने काठमाडौँको ट्राफिक यति असहज हुनुमा पूर्वाधारको भन्दा पनि नीति र व्यवस्थापनको समस्या छ। यो समस्याको समाधान बाटो बढाएर वा केही फ्लाइओभर बनाएर मात्र सम्भव छैन।

के गर्नुपर्छ त ?!

मेरो विचारमा काठमाडौँको सार्वजनिक सवारी साधनको सञ्चालनका नीतिनियमलाई ओभरहलिङ्ग गर्नुपर्छ जसबाट यात्रु, सवारी धनी र ट्राफिक प्रहरी सबै लाभान्वित हुनसकुन्। यसका लागि दीर्घकालिन भिजन र योजना अवश्य चाहिन्छ।

तर, तत्काल केही महत्त्वपूर्ण काम गर्न सकिन्छ जसबाट ट्राफिक व्यवस्थापनमा पनि विद्युत प्राधिकरणजस्तै आमूल सुधार हुनसक्छ।

१. साना सवारी साधन (टेम्पु, माइक्रो आदि) लाई फिडर रूटमा मात्र चलाएर मुख्य रुटमा साझाका जस्ता BRT सुहाउँदा ठूला बसमात्र चल्न दिने।

२. सानालाई विस्थापित गरेर ठूला बस चल्न सुरु हुनासाथ मोटरसाइकल र कारको आयात र सञ्चालनलाई सकेसम्म नियन्त्रण/नियमन गर्ने। यसका लागि विभिन्न सहज उपाय छन् र यसले जनसमर्थन पाउने पनि निश्चित छ।

३. काठमाडौँका फुटपाथ व्यापारी र घरधनीको कब्जाबाट खाली गराउने; पार्किङ्ग नभएका ठाउँका पसल, कार्यालय, बैंक आदि अन्यत्र सार्न लगाउने।

४. काठमाडौँका बाटामा चल्ने विभिन्न प्रकारका ठूला लरी वा ट्रकहरूका लागि रातीको निश्चित समय तोक्ने, दिउँसो चल्नै नदिने। चल्न दिएर ट्राफिक प्रहरीले ‘माल’ नखाने।

५.  Active Transport का फाइदाबारे चेतनामूलक कार्यक्रम चलाउने –मानिसलाई सम्भव भएसम्म छोटो दुरीका लागि हिँड्न वा साइकल चलाउन प्रेरित गर्ने, यसका फाइदाबारे जानकारी गराउने। कार, मोटरसाइकललाई प्रतिष्ठाको विषय बनाउनु सही होइन भन्ने चेतना प्रवाह गर्ने। 

६. असक्षमता र भ्रष्टाचारले थलिएका यातायात व्यवस्था विभाग -जसको काम यातायात व्यवस्थापन गर्ने होइन, लाइसेन्स बाँड्ने र कर उठाउने मात्र हो –मा कुलमान घिसिङ् जस्तै सक्षम नेतृत्व स्थापना गर्ने। अल्पकालिन र दीर्घकालिन योजना बनाएर लागु गर्न लगाउने।

७. ट्राफिक नियम मिच्नेलाई गरिने कारवाही अहिलेको भन्दा ३ दोब्बर गर्ने। पटकपटक नियम उल्लङ्घन गर्ने चालकको अनुमति-पत्र आजीवन खारेज हुनेसम्मको व्यवस्था गर्ने।

८. सडकमा ट्राफिकको कम र प्रविधिको बढी प्रयोग गर्ने। सवारी साधनको लाइसेन्स प्लेटलाई डिजिटाइज गर्ने। सवारी नियम उल्लङ्घन गर्नेको सूचना व्यवस्थित गर्ने र कर तिर्नेबेलामा सप्रमाण एकमुष्ट जरिवाना तिर्न लगाउने। अहिलेको जस्तो प्रविधिको प्रयोग मिडियावाजी गर्न वा नाफा खान मात्र गर्ने प्रवृत्ति रोक्ने।

९. ट्याक्सीको अनुमति र सञ्चालनलाई व्यवस्थित गर्ने। यसका लागि ठूला कम्पनीलाई आकर्षित गर्ने। प्रविधिको प्रयोग र सञ्जालीकरणमार्फत् सबै ट्याक्सी जुनसुकै बेला सडकमा रहने अहिलेको चलनको अन्त्य गर्ने। मानिसले चाहिँदा फोन वा एपबाट बोलाउन सकिने व्यवस्था मिलाउने।

१०.  सडकमा बिग्रने गाडीको अभिलेख राख्ने। हरेक साधनले नियमित मर्मतसम्भार गरेको विवरण आवश्यक पर्दा ट्राफिकलाई र रिन्यु गर्नेबेलामा यातायात कार्यालयमा देखाउनु पर्ने नियम बनाउने।

बाटा अझ चौडा पार्ने काम, फ्लाइओभर वा मेट्रो रेलको काम पनि गर्दै गर्नुपर्छ। यस सँगै सडक निर्माण र मर्मतका क्षेत्रमा हुने अनियमितता सुधार्न पनि नीतिगत सुधारको आवश्यकता छ। यद्दपि, ठूला पूर्वाधार वा समग्र नीतिगत सुधा मात्र पर्खेर बसे हाम्रो जस्तो देशमा दशकौँसम्म काम नहुने र आम मानिसले दु:ख पाइरहने परिस्थिति रहन सक्छ। माथि उल्लिखित कम खर्च लाग्ने १० काम गर्न सकेमा मानिसलाई धेरै राहत मिल्ने छ। 

No comments:

Post a Comment