Saturday, December 10, 2016

बात सागर की चले...

सुफी कवी पीर साइद नासीरको कविताको एउटा हरफले भन्छ: बात सागर की चले ज़िक्र मैखाने की !

सतहको कोलाहलभन्दा पर, क्षितिजको कुनै कुनामा धेरैले नखोजेका अर्थहरू लुकेर बसेका हुन्छन्। तिनले कसैको प्रतिक्षा गर्दैनन्। कवी नासीरले अदृष्ट यस्तै केही अर्थ खोतले। एक हुल मानिस, कुरा त ति समुन्द्रको गरिरहेका थिए, तर तिनको दिमागमा रक्सीको सम्मोहन थियो।


नासीरले रक्सीलाई नराम्रो भनेका छैनन्। सुफी कवितामा रक्सीलाई प्रतीकात्मक रूपमा देउताको पर्याय मानिन्छ। कविताकै अर्को एउटा हरफमा नासीर भन्छन् -

बाँध कुछ ऐसी मोहब्बत कि हवा ए साक़ी
फीर बदल जाए ज़माने कि फजा ए साकी

रक्सी, साक़ी र 'मोरालीटी'लाई मिसाएर कवी नासीरले विचारको यस्तो तरङ्ग सिर्जना गरेका छन् जसलाई अनुभव गर्दैजाँदा नपिएको मानिस पनि हल्का मदहोश हुन्छ।

आज म नासीरको गहिरो कवितात्मकताको प्रयोग एउटा रुखो विषयमा गर्न खोज्दैछु -संविधान संशोधनको प्रस्ताव।

सम्भवत नेपालको इतिहास कै सबैभन्दा विवादास्पद र संदिग्ध चरित्रमा नाम कमाएका पुष्पकमल दाहालले 'सबैलाई समेट्न' भनेर संविधानमा हेरफेर गर्ने प्रस्ताव दर्ता गराए। पालो कुरेर बसेका देउबाले त्यसलाई समर्थन गरिहाले।

हजारौँको ज्यान गएको रक्तरञ्जीत निरर्थक युद्धका नाइके पुकदा र सत्तास्वार्थ्यका लागि जुनसुकै मूल्यमान्यतामा पनि सम्झौता गर्न तयार देउबाको प्रस्ताव धेरै मानिसका लागि आकर्षक नहुनु स्वभाविकै हो।

प्रस्तावमा कुरा त नेपाललाई मिलाउने छ, तर यी दुबै नेताको ध्यान नेपाल मिलाउने भन्दा पनि कसरी सत्तामा टिकिरहने भन्ने नै हो -कुरा समुन्द्रको, लोभ रक्सीको।

कुरा यतिमा मात्र कहा टुङ्गिन्छ र ! 'मैखाना'का अर्का नियमित पात्र ओलीको चर्चा नगरी यो कथा अधुरो हुन्छ।

लबेदा सुराल र ढाकाटोपीमा ठाँटिएर खड्गप्रसाद ओली  अर्कोतिर नेपालको चिन्तामा रुग्ण बन्दैछन्। कमजोर शरीर लिएर देश टुक्रन नदिने अभियानमा कटिबद्ध ओली दिनरात धपेडीमा छन्। दिनमा २-३ ठाउँमा भाषण गर्दै हिँड्छन्। रातोंरात नेपालको विकास कसरी गर्ने भनेर सोचमग्न छन्।

ओलीको राष्ट्रियता र विकासको उपध्रो चिन्तामा 'ज़िक्र' केको छ तपाईं पाठकहरू थाहै छ।

अब एकैछिन 'मदमस्ती'को कुरा गरौँ।

नेपाल के हो? कस्को हो? कस्तो हो? यो विषयमा धेरै फुस्रा कुरा गरेर पाठकलाई बोर गर्नुभन्दा म नेपालको राष्ट्रीय गीत सम्झिन अनुरोध गर्छु।

तर राम्रो राष्ट्रीय गीतले मात्र समस्या समाधान गर्ने रहेनछ। गीत गाएर, नाचेर, सबैले एकअर्काका गाला मुसारेर देश जोडीने, सबै रमाउने अवस्था आउने रहेनछ। फुलका थुँगा कोही ओइलाएका, कुनै कक्रक्क परेर सुकेका र कुनै गमक्क परेर ढाडिएका भएपछि माला त्यति ढङ्गको नहुने रहेछ। ओलीको राष्ट्रियतामा बलियो धागो बनाउने कुरा छ, फूलको कुरा छैन।

'मैखाना'को एउटा कुनाको टेबलमा बिछट्टको हल्लाखल्ला छ।

हाम्रा राम्रा कुरा सबै नासिए। राजा गए, धर्म गयो, चौध अञ्चल पचहत्तर जिल्ला, गाविस सबकासब धरापमा परे। देश टुक्रेर प्रदेश बन्नेभए। ५० सचीवमा ३५ मात्र बाहुनक्षेत्री, ७५ सिडिओमा ७४ मात्र पुरुष। यताकालाई उताकाले उकासे। जङ्गे पिलर रातारात सरे। यति सुन्दर हराभरा देश माटोमा मिल्नेभयो।

ओली, पुकदा, देउवा र भट्टीका यी 'जँडाहा'को चिन्तामा 'जिक्र' केको छ -पत्ता लाउने ज़िम्मा पाठकको।

कवी नासीरले झैँ हामीले आज धेरै 'ज़िक्र'हरूको खोजी गर्नुपर्ने भएको छ। यो काम सजिलो कहाँ छ र ?!

लेखाइ लामो हुँदै गयो। पाठकलाई लाग्ला मैले मधेशी पार्टीको कुरा निकालिन। हो, निकालिन। तिनको जिक्रको चर्चा गर्ने ज़िम्मा तपाईंको है !

No comments:

Post a Comment