Sunday, February 28, 2016

फिरफिरे: पीडाको अतिरञ्जना

जीवन मसिनो सिन्कामा उनेको आँपको पातजस्तै हो । विभिन्न दिशाबाट आउने हावाका स्पर्शले यसलाई जोडजोडले रिगाउँछन् । कुनै निश्चित समयमा यो जीवनरूपी 'फिरफिरे' जमिनमा खस्छ र माटो अनि पानीसँगै बिलाउँछ । बाँकी रहन्छन् केवल सम्झनाहरू ।

यस्तै भावना बोकेको छ बुद्धिसागरको नवप्रकाशित उपन्यास फिरफिरेले ।

लेखक वसन्त श्रीमती आस्था र छोरी जुनालाई साथ लिएर आफ्नो पूरानो गाउँ बाँसबारी जान्छ जहाँ उसका अतीतका स्मृतिहरू ताजा भएर आउँछन् । सर्वजीत मास्टरको छोरा पवनसँग बितेको बाल्यकाल; आमा जसोदाको सङ्घर्षपूर्ण जीवन; छोराको मृत्युबाट विक्षिप्त चिलगाडीको वियोगान्त अवसान; जुठी आमैमाथि बोक्सीको आरोपमा गाउँलेबाट भएको दुर्व्यवहार; एक्लो कोहिनुर झाँक्रीको दुखद् जीवनकथा; र अरूलाई सौतेने खोला तार्दातार्दै जीवनको ऊर्जा गुमाएको पिच्कु माझीका असफल रहरहरू वसन्तको स्मृतिमार्फत् उपन्यासमा कोरिएका छन् ।

उपन्यासको मूल कथाक्रम सर्वजीत मास्टर र उसको छोरा पवनको वियोगान्त जीवनको वरिपरि घुमेको छ । स्थानीय विद्यालयको हेडमास्टर, नाम सर्वजीत, तर जीवनबाट सर्वथा हारमात्र खाएको छ । छोरा पवन इन्सेफलाइटिस रोगका कारण जीवनका सबै कलिला रहर र उमङ्गमात्र होइन, होशहवास नै गुमाउँछ, र संसारबाट गायब हुन्छ । कथामा सहायक तर सशक्तरूपमा उपस्थित छे पवनकी बहिनी रमा (फुच्ची) जसले पाठकलाई बेलाबेलामा भावुक बनाइरहन्छे । उपन्यासभरि यो परिवार कथाको केन्द्रबिन्दुमा छ ।

सँगसँगै उपन्यासमा बगेको छ पवन र वसन्त (बन्ते) को मित्रताको कथा । एउटा यस्तो मित्रता जुन दुई परिवारबीचको असहज सम्बन्धबीच पनि प्रगाढ बेनको छ र उनिहरूलाई एकअर्काको अभिन्न बनाएको छ ।




पात्र र परिवेशलाई मिहिनरूपमा केलाउँदै कथा भन्दै जाने बुद्धिसागरको शैली गजबको छ । उपन्यास पढ्दैजाँदा यस्तो लाग्यो पात्रका जीवनका आयाम र उकालीओरालीहरूमा म पनि सँगै हिँडिरहेको छु । पढ्दैजाँदा सर्पले डसेर बेहोस् भएको चिलगाडीलाई कोहिनुर झाँक्रीले विष फ्यालेर जिउँदो बनाइदिन्छ कि भन्ने आश गरेँ । उपन्यासको अन्तिम भागतिर पवनको गुमेको होस् फर्किदिए पनि हुन्थ्यो भन्ने लाग्थ्यो । गाउँ छोडेर काठमाडौँ जानेबेलामा रमाका आँसुले निकै नै भावुक बनाए, र हतारहतार पाना पल्टाउनुपर्यो ।

लेखक वसन्तको स्मृतिबाट सुरु भएको उपन्यास नेपालगञ्ज नजिकैको बाँसबारी गाउँका दु:खी, बेसाहारा र अभागी गाउलेका जीवनका पत्रहरू केलाउँदै ५३१औँ पानामा पुगेर थकाइ मार्छ ।

म मानवशास्त्रको विद्यार्थी -आख्यानको समिक्षा मेरो दक्षताको विषय होइन । यसअघि नेपाली भाषाका केही आख्यानको समिक्षा गरेको त छु तर केवल रहरका लागि । यो भूमिका बाँध्नुको तात्पर्य के भने यो लेखन वास्तविक अर्थमा फिरफिरेको समिक्षा नभइ उक्त उपन्यासका बारेमा आलोकाँचो पाठकको हल्काफुल्का टिप्पणीमात्र हो ।

फिरफिरेको टिप्पणीमा मलाई कमजोर पक्षहरूलाई धेरै ठाउँ दिने मन थिएन । कर्नाली ब्लूज समकालिन साहित्यको एउटा जोडदार कृति हो । बुद्धिसागरको दोस्रो उपन्यासबाट पनि गतिलो स्वादको अपेक्षा थियो । प्रशंसामा धेरै शब्द खर्चिने रहर थियो, तर यो रहर पूरा गर्न सकिएन ।

एउटा लेखकबाट हरेक पटक उत्तिकै सशक्त लेखनको अपेक्षा गर्नु जायज होइन । बुद्धिसागरको पहिलो उपन्यासबाट धेरै नै प्रभावित मजस्ता पाठकले उनिबाट स्वभाविकभन्दा बढी अपेक्षा गरेका पनि हुनसक्छौँ । लेखक जादुगर होइन, हरेक पंक्तिमा 'पन्च' हुँदैनन् । त्यसमाथि एउटा कृतिका विषयमा फरक व्यक्तिका फरक धारणा हुनसक्छन् ।

तर, कर्नाली ब्लूजको सुन्दरता र आख्यानमा बुद्धिसागरको विशिष्ट पकडलाई पर राखेर हेर्ने प्रयास गर्दा पनि मेरो मूल्यांकनमा फिरफिरे औसत श्रेणीको उपन्यासको कोटीभन्दा माथि उठ्नसकेन ।

सर्वप्रथम, उपन्यास अत्यधिक र अस्वभाविक रूपमा दु:ख र पीडाको संगालो बनेको छ । चौथो पानाबाट रमा र पवनबीचको टेलिफोन कुराकानीसँगै बग्नथालेका आँशु उपन्यासको मूल कथा सकिँदा ५१८औँ पानासम्म निरन्तर बगिरहन्छन् । बाँसबारी गाउँमा कसैको जीवन सुखी छैन । सबै गाउँले मृत्यु, विछोड, गरीबी र असफलताले थलिएका छन् । घुइयाराम, सर्वजीत, जसोदा, जुठी आमै, गङ्गा (चिलगाडीकी श्रीमती) सबैका घरमा वियोग वा विछोडमात्र छ । सबै गाउँलेका 'आँखाका कुना' हरेक क्षण रसाइरहन्छन् ।

उपन्यासको कथा यति निरस छ कि बाँसबारी गाउँमा कसैको बिवाह, ब्रतबन्ध हुँदैन । चाडबाड आउँदैनन् । नाचगान हुँदैन । मानौँ बाँसबारी अथाह पीडा र बेदनाको पोखरी हो जहाँ हरेक मानिस आँशु खसाल्नमात्र जन्मिन्छ, पीडा लिएर बाँच्छ र अरूलाई एक्लै छोडेर हराउँछ वा मर्छ ।

पीडाको यो अतिरञ्जनाले उपन्यासलाई अस्वाभाविक र भद्दा बनाएको छ ।

उपन्यासको दोस्रो कमजोर पक्ष पात्रहरूको चरित्र चित्रणमा महसुस गर्नसकिने अस्वभाविकता हो । जुठी आमै, भूल काका र बसिर दादाको चरित्र चित्रणमा लेखक कमजोर देखिएका छन् । जुठी आमैका अभिव्यक्ति र उनले सुनाएका भनिएका कथाहरू अनाकर्षक त छन् नै, अस्वभाविक पनि लाग्छन् । भूल काकालाई यथेष्ट आवश्यकता र पृष्ठभूमिबिना 'भन्छु म' भन्ने थेगोकै लागि जबरदस्ती घुसाइएको भान हुन्छ । बसिर दादा र पवनबीचका संवाद र उनिहरूबीचको सामिप्यता पनि 'फिल्मी' (सतही) लाग्छ ।

केही पृथक प्रवृत्तिका पात्र (जस्तै, पिच्कु, भूल काका, बसिर दादा, जुठी आमै, आदि) ले प्रयोग गर्ने शब्द चयनमा लेखकले यथेष्ट ध्यान पुर्याउन सकेको देखिँदैन । बसिर दादा तथा पिच्कुले बोलेको हिन्दी र भोजपुरी भाषा मिसिएको नेपाली लवजमा लेखकले आवश्यक मेहनत नगरेको प्रस्टै थाहा हुन्छ । जस्तै, उपन्यासमा भनिएजस्तो बाँसबारी गाउँमा बृद्ध जीवन बिताइरहेकी स्कूलको मुख नदेखेकी जुठी आमैले पटकपटक प्रयोग गरेको 'मनोबल' शब्द पढ्दा अप्ठेरो अनुभव भइरह्यो । उखानेका उखानहरू फिक्का र असान्दर्भिक छन् । जुठी आमै र भूल काकाले प्रयोग गर्ने थेगो पनि असुहाउँदा लाग्छन् ।

उपन्यासमा मलाई खट्केको तेस्रो असहज पक्ष पात्र र घटनाको संयोजन हो । कतिपय पात्र र घटनालाई मूल कथासँग नजोडी अनावश्यक रूपमा प्रस्तुत गरिएको छ । जस्तै, प्रारम्भमा सशक्तरूपमा उपस्थित सर्वजीत मास्टरकी बहिनी बृन्दे (पवनकी फुपु) उपन्यासको अन्तसम्म कहीँ कतै देखा पर्दिन । पवन र सर्वजीत मास्टरको जीवनका जटिल आरोहअवरोहमा उसको उपस्थिति कतै छैन । अम्बरपुरका भूल काकाको उपन्यासको कथाक्रममा छोरा हराएको पीडा देखाउनेबाहेक केही भूमिका देखिँदैन । बसिर दादाले उपन्यासमा केही मसला थपेको होला तर उसको सान्दर्भिकता पनि कथामा आफ्नो विरही प्रेमकथा र भतिज आशिफको मृत्युको पीडा थप्नमा मात्र सीमित देखिन्छ । अनावश्यक पात्र र घटनाको वर्णनले उपन्यासलाई अनावश्यकरूपमा लामो बनाएको प्रतित हुन्छ ।

आजभन्दा १६-१७ वर्षअघि त्रिवीमा मानवशास्त्र अध्ययन गर्दा अमेरिकाको मिचिगन विश्वविद्यालयमा अध्ययनरत लोरा नामकी अमेरिकी विद्यार्थीको अनुसन्धान सहायकका रूपमा काम गरेको थिएँ । विद्यावारिधीको अनुसन्धानमा काम गरिरहेकी लोरा त्यसबेला नेपालीले 'दु:ख'लाई कसरी बुझ्छन् र अभिव्यक्त गर्छन् भन्ने विषयमा विशेष अभिरुचि राख्ने गर्थिन् । 'मेरो कथा मेरो गीत' नामको रेडियो कार्यक्रममा स्रोताले पठाउने पत्र र उनिहरूको वास्तविक जीवन पछ्याउँदै लोरा दु:खको अर्थ राजनीति केलाउँदै थिइन् ।

उनि मसँग बेलाबेलामा भन्ने गर्थिन्, "नेपालीहरू आफूलाई दु:खी महसुस गर्न र अरूका अगाडि निरिह देखिन रुचाउँछन् जुन अनौठो र रोचक छ" । लोराले यो कुरा सुनाउनु अघि मैले यसरी सोचेको रहेनछु । पछि हाम्रा सोचाइ र अभिव्यक्तिका शैलीलाई अलि गहिरो गरि हेर्दा मलाई उनको कुरा धेरै हदसम्म ठीकै हो कि जस्तो पनि लाग्यो । वास्तविकतामा दु:ख वा पीडा होस्, नहोस् आफूलाई दु:खी देखाएर सहानुभुती खोज्ने प्रवृत्ति हाम्रो सन्दर्भमा निकै नै गाढा छ ।

सामान्यीकरण गर्न त नमिल्ला, तैपनि दु:खलाई बढाइ चढाईं गर्ने, यसलाई आफ्नो अस्तित्व वा प्रतिष्ठासँग गाँस्ने, दु:खको कुरा गर्न रुचाउने र अरूले आफूलाई दु:खी ठानिदियोस् भन्ने प्रवृत्ति नेपालमा सघन रूपमा छ । एउटा उदाहरण पिडित, विरही, निरस, उदासी, वैरागी, आँशु, रोदन, निष्ठुरी आदि उपनाम राख्ने प्रवृत्तिलाई पनि मान्न सकिएला । लोराले अध्ययन गरेको 'मेरो कथा मेरो गीत' कार्यक्रमले पनि आफ्ना दु:ख र विरहका कथा रेडियोबाट अरूलाई सुनाउन पाउँदा आनन्द मान्ने प्रवृत्ति राम्रोसँग उजागर गरेको थियो ।

आफूलाई अरूबीच प्रस्तुत गर्दा दुखी देखाउने यही प्रवृत्तिलाई आधार बनाएर नेपाली समाज वा ग्रामीण परिवेश वास्तविक रूपमै दु:खको सागरमा छ भन्नचाहिँ मिल्दैन । अरूले देख्नेगरेका अभाव, कष्ट र गरीबीका बीच गहिरो आत्मसम्मान, आत्मविश्वास, सन्तुष्टि र खुशी गाउँमा विद्यमान छ । खुशीका वास्तविक रङ्ग त बरु गाउँमा बढी खूलेका हुन्छन् ।

यद्दपि, समकालिन साहित्यका केही कृतिहरू पढ्दा तिनमा बिछट्ट निराशा र उदासी पाउने गरेको छु । हाम्रा युवा लेखकहरूले पनि दु:खको सतही अभिव्यक्ति र यसप्रतिको अतिरुचिलाई नै प्राथमिकतामा राखेको देखेको छु । मेरो विचारमा हाम्रा साहित्यिक रचनाले यस्तो प्रवृत्तिलाई नै लेखनको आधार बनाउनेमा भन्दा पृथक र सिर्जनात्मक शैली पछ्याउनमा ध्यान दिनु आवश्यक छ जसमा फिरफिरे सफल हुनसकेको छैन । खुशीको मधुरो छायाँ पनि उपन्यासमा पर्न नसकेकाले फिरफिरे अस्वाभाविकरूपमा अँध्यारो र पट्यारलाग्दो बन्नगएको छ ।

फिरफिरेमा बुद्धिसागर ग्रामीण जीवनका रोचक आयाम र त्यहाँको मानवीय संवेदनाको वर्णनमा सफल छन् । यद्दपि, समग्रमा उपन्यासको कथावस्तु र प्रस्तुती औसतभन्दा माथिको लागेन । पढिसकेको फिरफिरेलाई फर्केर हेर्दा समग्रतामा उपन्यास पात्र, प्रतिक र घटनाहरूको भिडभाडमात्र हो कि जस्तो लाग्छ । यो उपन्यासलाई लेखकले लामो बनाउने लोभमा कमजोर बनाएका छन् । पाठकका रूपमा मलाई लाग्यो दु:ख, दर्दका उस्तै गाथाले भरिएका केही सय पेज निकालिदिँदा पनि उपन्यास यतिकै रोचक र पूर्ण हुनसक्थ्यो ।

उपन्यासको पुछारमा सहयोगीहरूलाई धन्यवाद दिने क्रममा लेखकले कर्नाली ब्लूजपछि अर्को उपन्यास लेख्न सुरु गरेको र ६५००० शब्द पुगेपछि रोकेर फिरफिरे लेख्न थालेको बताएका छन् । यो उपन्यास पढेपछि मलाई लाग्यो उनले कुनै नयाँ विषयवस्तुमा लेख्न खोजिरहेका रहेछन् । 'आफूलाई थाहा नभएको' नयाँ विषयवस्तुमा लेख्ने लेखकको प्रयत्न बढी सिर्जनात्मक पो हुनसक्थ्यो कि !? त्यसलाई निरन्तरता दिएको भए अझ राम्रो हुनेथियो कि ?!


आशा छ बुद्धिसागरको अर्को उपन्यासमा घामका केही किरण अवश्य हुनेछन् ।

No comments:

Post a Comment