Tuesday, January 26, 2016

हल्काफुल्का ब्लग: नेपाली सोझा कि धुर्त ?!


बेलाबेलामा केही मानिसले भन्ने गर्छन् –नेपाली सार्है सोझा छन् । अर्काथरिले भन्छन् –त्यसो होइन, नेपाली कहीँ नभएका चण्डाल र धुर्त छन् ।

कति मानिस भने घोरिन्छन् र जान्न खोज्छन् नेपाली साँच्चीकै सोझा कि धुर्त ?

यो प्रश्न आफैँमा मिलेको छैन । किनकि सम्पूर्ण जनसङ्ख्याको एउटा चरित्र हुँदैन । जातीय र सांस्कृतिक विविधताले भरिएको नेपालमा फरक-फरक खालका मनोसामाजिक र बौद्धिक प्रवृत्तिहरू छन् । एउटै जातभित्र पनि फरक सोच र व्यवहार भएका मानिस हुन्छन् । व्यक्तिविशेषका सोचाइ र व्यवहारलाई विभिन्न सामाजिक अवस्थाले प्रभाव पारेका हुन्छन् । छोटकरीमा, सोझोपन वा धुर्तपनको सामान्यीकरण गर्न मिल्दैन ।

माथिको प्रश्न मनोविज्ञान, समाजशास्त्र वा मानवशास्त्रको अध्ययनको विषय पनि हुनसक्दैनन् । पहिलो त सोझोपन वा धुर्तपन व्याख्याका कुरा हुन् । केलाई सोझो भन्ने ? केलाई धुर्त भन्ने ? दोस्रो, मानिसको सोच र व्यवहारमा ठाउँ र समयका आधारमा यतिधेरै विविधता हुन्छ कि यसको सामान्यीकरण गर्नु वा अनुमान गर्नु नै समयको दुरुपयोग मात्र हो ।

समाजविज्ञानका केही प्रचलित मान्यतालाई आधार मान्ने हो भने मानिस, कुनै पनि मानिस, चाहे त्यो अरूको बुझाइमा जतिसुकै गरीब, अशिक्षित वा मानसिकरूपमा अविकसित किन नहोस्, चेतनाले सुसम्पन्न हुन्छ । हरेक व्यक्तिसँग दैनिक जीवनका आरोह-अवरोहसँग भिड्ने र जीवन निर्वाह गर्ने दृष्टिकोण र रणनीति हुन्छ ।

समाजको शक्तिसम्पन्न वर्गले सामान्य मानिसका स-साना दृष्टिकोणको अस्तित्वलाई स्वीकार गर्दैन । त्यसैले गरीब वा शक्तिहीनहरूको बुझाइ र दृष्टिकोणका आधारमा इतिहास वा अर्थशास्त्र लेखिँदैन । ठूला, नामचलेका, धनी गुरुहरूले नै 'जीवन जिउने कला' (art of living) सिकाउँछन् । यद्दपि, सामान्य मानिसको जीवन-जगतप्रतिको दृष्टिकोण हुँदैहुँदैन भन्ने तर्क सही होइन ।

यो अर्थमा अरूलाई अविकसित, चेतनाहीन, सोझा वा धुर्तका रूपमा व्याख्या गर्ने प्रवृत्ति नै गलत हो । नेपाली न सोझा छन् न त धुर्त नै –यसरी व्याख्या गर्ने प्रवृत्ति नै शक्तिको अभ्यास हो । एउटा देशको जनसङ्ख्यालाई एउटा चरित्रका आधारमा व्याख्या गर्ने काम शक्तिसम्पन्नले एउटा निश्चित प्रयोजनका लागि गर्नेगर्छन् –जसरी पञ्चायती राजाहरूले नेपालीलाई सिधा, शान्तिप्रिय, उत्साही आदि विशेषण दिन्थे । आज पनि यस्ता डिस्कोर्सको अस्तित्व समाजमा यदाकदा देख्न सकिन्छ ।

त्यसैले मलाई लाग्छ नेपाली वा भनौँ सर्वसाधारण नेपाली नागरिक सोझा छन् वा धुर्त छन् ? भन्ने प्रश्न गम्भीर समाजशास्त्रीय वा मानवशास्त्रीय बहसको विषय बन्न सक्दैन । यो हल्काफुल्का गफगाफको कुरा मात्र हो ।

तसर्थ, कसैले नेपालीलाई सोझा वा धुर्तका रूपमा व्याख्या गर्न खोजिरहेको छ भने बुझ्नुपर्ने कुरा उसले कुन सन्दर्भमा र कुन उद्देश्यका लागि यसो भनिरहेको छ भन्ने हो ।

एमाओवादीका पूर्व नेता र पूर्व प्रम डा. बाबुराम भट्टराईले नयाँ शक्ति नामको राजनीतिक अभियान सुरु गरेका छन् । उनको भनाइ छ –नेपालमा अब विकास केन्द्रित नयाँ राजनीतिक संस्कार चाहिन्छ । यस्तो संस्कार स्थापना गर्न उनले आफ्नो नेतृत्वमा ३५ सदस्य रहेको समूह बनाएका छन् । डा. बाबुराम भट्टराईको यो कदमपछि के साँच्चै उनि नयाँ राजनीतिक संस्कारको नेतृत्व दिन सक्षम होलान् त ? भन्ने छलफल सुरु भएको छ । यससँगै अर्को प्रश्न पनि सिर्जना भएको छ –के बाबुरामलाई मानिसले पत्याउलान् ?

नेपालमा मूल राजनीतिक पार्टी छोडेर जुनसुकै नयाँ नाममा राजनीति गर्नेहरू सफल भएका उदाहरण कम छन् । तसर्थ, राजनीतिक रूपमा बाबुराम सफल हुने सम्भावना कम नै दखिन्छ ।

यद्दपि, बाबुरामले यसपटक विगतमा पार्टी फुटाएर नयाँ पार्टी बनाउने नेताका भन्दा फरक र निकै धारिलो हतियार समाएका छन् । त्यो हो विकास ।

विकासको मानवशास्त्रको विद्यार्थीको नाताले अन्य केही गरीब मुलुकको उदाहरण र नेपालभित्रै विकासका बारेको आम बुझाइ हेर्दा मलाई बाबुरामले धेरै मानिसको विश्वास जित्लान् भन्ने लाग्छ । यो सन्दर्भमा मैले नेपालीलाई 'सोझा' देख्छु । सोझा यस अर्थमा कि आज दुखले पिल्सिएका नेपाली उज्यालो भविष्यको आशामा इतिहास बिर्सिदिन र पढेलेखेका मानिसको कुरा पत्याइदिन निकै नै लालायित छन् । बाबुरामको विकासे राजनितिको नाराले धेरै मानिसलाई लठ्याउने लख काटेको छु मैले ।

नेपाली धुर्त छन् कि सोझा ? यो प्रश्नमा नेपालीको धैर्यता र सहनशीलतालाई पनि हेर्नुपर्छ ।

राज्यले आधारभूत भन्दा पनि आधारभूत सेवा (जस्तै, स्वास्थ्य, पिउने पानी, सडक, सुरक्षा, बिजुलीबत्ती, आदि) प्रवाह नगर्दा हाम्रो गरीब देश यस्तै हो भनेर चुप लागेर बस्ने; नागरिकता, राहदानी, श्रम इजाजत-पत्र बनाउनसमेत घुस माग्ने कर्मचारीलाई उनिहरूको अधिकार झैँ गरि झन्झट पन्छाउन पैसा बुझाउने; शान्तिपूर्ण आन्दोलन गर्दा छातीमा गोली हान्नेलाई केही महिना वा वर्षपछि नै माफ गर्दिने र मन्त्री, उप-प्रधानमन्त्रीका रूपमा उसैका भाषण सुन्ने; हजारौँ मानिसको रगतले सिञ्चित अनुचित युद्धका घाउ बिर्सेर 'भैगो सुध्रिने मौका दिऊँ' न त भनेर उसैलाई भोट हाल्ने; जेब्रा क्रसमा बाटो काट्न पनि गाडी वा मोटरसाइकल कुन बेला रोकिएलान् भनेर पर्खेर बस्ने; भूकम्पले लडाएको घरमा मृत्युसँग भिडिरहँदा महिनौँ सरकारको मुख नदेख्दा पनि वार्ता आज पनि असफल भन्ने समाचार सुनेर चित्त बुझाउने; तुइनबाट खसेर मर्नुलाई आफ्नो नियति ठान्ने; देशमा काम पाइन्न भनेर अरबको मरभूमिमा चुपचाप हड्डी खियाउन जाने र जानेबेलामा एअरपोर्टमा प्रहरी वा अध्यागमनका कर्मचारीलाई घुस पनि खुवाउने –नेपालीलाई सोझा नभनेर के भन्ने ?

सामान्यीकरण गर्न कदापि मिल्दैन –तर, मलाई लाग्छ नेपाली औसतमा सहनशील र सोझा हुन् । यो प्रवृत्ति १७००० मानिसको ज्यान लिने हिंसात्मक युद्धको नेतृत्त्व गर्ने बाबुराम भट्टराईको पाखुरामुनिबाट फुत्त निस्केको नयाँ शक्तिले पनि नेपालीको यो सहनशीलता र सोझोपनबाट भरमार फाइदा उठाउला भन्ने मेरो बुझाइ हो । सुन्दै हाँसो लाग्ने डा. बाबुराम भट्टराईको नयाँशक्तिले अबको चुनावमा राम्रै मत ल्यायो भने यसमा आश्चार्य नमाने हुन्छ ।

No comments:

Post a Comment