Thursday, February 27, 2014

आमा घर, सामाजिक सुरक्षा र राज्य

दिलशोभाको आमा घरको घटनाले हाम्रो सामाजिक परिवेशको दुखद् र कहालीलाग्दो तस्वीर छर्लङ्ग बनाएको छ । 

लगभग ६ महिनाअघि मेरी आमाको चाहनाअनुसार हामी दिलशोभाको आश्रममा बालबालिका र बृद्धबृद्धालाई भोजन गराउन रविभवन गएका थियौं । मोटर नछिर्ने साँघुरो र अँध्यारो गल्ली पार गरेर पुगिने उनको आश्रम अस्तव्यस्त त थियो तर त्यहाँ आश्रय लिइरहेका बालबच्चा र बृद्धबृद्धाप्रति दिलशोभाले देखाएको स्नेहले भने हाम्रो मन छोएको थियो ।

आश्रमका बालबच्चा सबै स्वस्थ र खुशी नै देखिन्थे । बृद्धबृद्धाहरूमा भने प्रशस्त समस्या देखेका थियौं । परिवारबाट अपहेलित अनि अभाव र गरिबीले ग्रस्त भएर हुनसक्छ बृद्धबृद्धाहरू शारीरिक र मानसिकरूपमा पनि कमजोर थिए । आश्रममा एक दृष्टिबिहिनसहित चार मानसिक सन्तुलन गुमाएका महिला देखेका थियौँ । ठूलो र प्रतिष्ठित घरानाले अलपत्र पारेको भनिएकी एक महिलालाई त दिशापिसाबसमेतको होस थिएन ।

खाना प्रायोजन गर्ने क्रममा दिलशोभासँग फोनमा कुरा गर्दा र पछि आश्रममा भेट्दा  उहाँलाई असल व्यक्तिका रूपमा पाएका थियौं । हाम्रो सानो सहयोगलाई उहाँले सहर्ष स्वीकार गर्नुभएको थियो । समग्र कुराकानीमा उहाँले कुनै अनपेक्षित अनुरोध वा माग गर्नुभएको थिएन । लगभग एकघण्टाको कुराकानीमा उहाँले आश्रमका रमाइला पक्ष र विभिन्न चुनौतीका विषयमा खुला मनले कुरा गर्नुभयो । दिलशोभा लगायत आश्रमका सबै सदस्य एउटा परिवार जस्तै भएर बसेको हामीले पाएका थियौँ ।

भदौ २२ गते साँझको उक्त भेटघाट हामी सबैका लागि अविस्मरणीय क्षणका रूपमा रहिरहेको थियो र छ । हिँजो सञ्चारमाध्यममा आएका विवरणले भने स्तब्ध बनाए ।

हाम्रो राज्य नागरिकको सुरक्षाप्रति कतिसम्म गैरजिम्मेवार छ भन्ने हामीले भोगेकै कुरा हो । अभाव र गरिबीका कारण सडक र घरघरमा पशुको भन्दा निरिह जीवन बिताइरहेका कलिला बालबालिकाको अवस्थाबाट हाम्रो राज्य न पहिला लज्जित थियो न भविष्यमा हुने छाँट छ ।

राज्यको निरिहता र गैरजिम्मेबारीका कारण कतिपय मानिसहरू समाजप्रतिको जिम्मेवारीबोध, रहर वा विभिन्न स्वार्थबाट प्रेरित भएर बालबच्चाको पालनपोषणमा संलग्न छन् । उनीहरूले राज्यको दायित्व बहन गरिरहेका हुन् । तर, राज्य कतिसम्म गैरजिम्मेवार छ भने न त आफू बालबच्चाको सामाजिक सुरक्षामा कुनै ध्यान दिन्छ न त यो जिम्मेवारी बहन गर्न तम्सेकाहरूलाई सहजीकरण गर्ने वा नियमन गर्ने काममा नै कुनै चासो देखाउँछ । सञ्चारमाध्यमबाट अनियमितताका समाचार बाहिर आएपछि उद्दार गर्न तम्सिने सरकार आफूले अत्यन्त महान काम गरेकोमा जस लिन भने यसरी व्यग्र छ मानौँ उसले बृद्धबृद्धा र बालबालिको हितमा कुनै महान काम गरेको छ ।

पश्चिमा समाजमा बृद्धबृद्धाहरूको हेरचाह, पालनपोषणका लागि राज्यले निश्चित संरचना र प्रणाली बसाएको छ । सांस्कृतिकरूपमा पनि निश्चित उमेर पुगेपछि बृद्धबृद्धा आफ्ना सन्तान वा आफन्तको शरणमा बस्नभन्दा उनीहरूका लागि व्यवस्था गरिएको आश्रममा बस्न रुचाउँछन् जहाँ सकेसम्म सबै प्रकारका भौतिक सुविधा र औषधउपचारको व्यवस्था हुन्छ ।

तर, हाम्रो सन्दर्भमा बृद्ध अवस्थामा आश्रममा बस्नु अभाव र बाध्यताको परिणाम हो । गरिबी र अन्य सामाजिक परिस्थितिका कारण असाहाय बनेका बृद्धबृद्धा नमीठा कथाव्यथा बोकेर बृद्धाश्रमको ढोकामा आइपुग्छन् वा अलपत्र छोडिन्छन् । त्यहाँ उनीहरूको दिन त कट्छ तर केवल अरूको दया र सहानुभुतिमा ।

बृद्धबृद्धाले पाएको यो दुखमा सामाजिकरूपमा हामी पनि जिम्मेवार छौँ । सम्पत्तिको आश नभएपछि र आवश्यक स्याहारसुसार गर्ने झन्झटले आफन्तलाई बृद्धाश्रम पुर्‍याउनेहरू प्रशस्त छन् । दिलशोभाको आमा घरमा पनि एक महिला नेपालको प्रतिष्ठित परिवारको सदस्य भएको हामीलाई बताइएको थियो ।

राष्ट्रको इज्जत १० लेनको सडक वा ५० किलोमिटर क्षेत्रमा फैलिएको एयरपोर्टले मात्र बढाउँछ भन्ने भ्रम छ हामीमा । हाम्रो समाजका गरिब र असाहाय मानिसको सामाजिक सुरक्षामा न राज्यसँग कुनै गैरजिम्मेवारी बोध छ न त हामी नागरिकमा आवश्यक चेतना नै ।

हामी बालगृह र बृद्धाश्रम सञ्चालन गर्ने र त्यसमा सहयोग गर्नेलाई महान ठानेर गुनगान गाउँछौ । तर, नागरिकको सामाजिक सुरक्षामा राज्यलाई जिम्मेवार बनाउन कुनै सार्थक प्रयास गर्दैनौँ । यसमा जबसम्म राज्यले प्रभावकारी भूमिका खेल्दैन तबसम्म बेथिति र अव्यवस्थाका यस्ता घटनाहरू अस्वभाविक हुनेछैनन् ।


No comments:

Post a Comment