Thursday, December 19, 2013

मोनसान्टोका सन्दर्भमा गन्थन

केटाकेटी छँदा खाएको बन्दाकोभी, रायोको साग, मुसुरोको दाल र लौकाको तरकारीको सुबास नाकमा झुण्डेको छ । आजभोलीको खानामा त्यो सुबास छैन । तरकारीहरू हेर्दा सुरिला र ठूला देखिन्छन्, पकाउँदा उहिलेको जस्तो स्वाद फिटिक्कै नहुने । भात, दाल, तरकारी खाँदा स्वादका लागि हैन, बाँच्नका लागि खाएझैं लाग्छ । यी खानेकुरा हुन् कि ठूलो मात्रा खानुपर्ने औषधी हुन् छुट्ट्याउन गार्‍हो हुँदैछ ।


हेर्दा चिल्ला र तौलमा बढी तर सुबास पटक्कै नहुने तरकारी र अन्नलाई 'बिकासे' भनिन्छ बोलचालको भाषामा । बिकासे चिजले आँखाको तिर्सना मार्ने तर मन खिन्न बनाउँछन् ।

आजभोलि मलाई अर्को कुराले पनि खुबै सताउँछ -भान्सामा भित्रिने विषादी ।

बजारबाट किनेर ल्याएको तरकारी र अन्नमा हुने विषादी दैनिक खानेकुराको झनझन् ठूलो हिस्सा बन्दै गइरहेको छ । यसबाट स्वास्थ्यमा पर्ने प्रभाव त प्रस्ट नै छ । शरीरका भित्री अङ्गप्रत्यङ्गमा प्रभाव कहिले देखिने हो थाहा छैन -समयको मात्र कुरा हो जस्तो लाग्छ । 

त्यसमाथि, मेरो घर छेवैमा गरिएको व्यवसायिक तरकारी खेतिमा हालिएका विषादी जमीनमुनिबाट मेरो इनारमा पुगेका छन् । यसबाट नुहाउँदा र अन्य काममा हुने पानीको प्रयोगले स्वास्थमा नकारात्मक प्रभाव पारिरहेकै छ ।

युद्ध जित्दैमा शान्ति जितिन्छ भन्ने छैन । हामीले बढी फलाएका 'बिकासे' तरकारी र अन्नबालीले हाम्रो जीवन सहज बनाएका छन् जस्तो लाग्दैन । अन्धाधुन्ध जेनेटिक मोडिफिकेश्न गरिएका बालीनालीले कृषक र आममानिसलाई अत्यन्त खराब चक्रमा फसाएका छन् जसबाट बाहिर निस्कन सजिलो छैन ।

अहिले पनि गाउँगाउँ घुम्दा स्थानीय जातका कम फल्ने, हेर्दा नराम्रा तर स्वादिष्ट तरकारी र अन्न खान पाइन्छ । पोखरा गएका बेला जेठोबुढो र नेपालगञ्ज गएका बेला काला नमक धानको चामल किनेर ल्याउने गर्छु । मलेखुमा किन्न पाइने थकाली सिमी, सुनसरीको अरहरको दाल आदि अझ पनि प्रिय छन् मेरा लागि । तर, यी सबै कुरा अबको दश वर्षपछि पाइने संभावना कम हुँदै गएको छ ।

स्थानीय जातका अन्नबाली र तरकारी भान्साका आवश्यकतामात्र हैनन्, सम्बन्धित समुदाय र क्षेत्रका सम्पत्ति/निधि पनि हुन् । तिनको उचित र व्यवहारिक संरक्षण हामीले गर्नसकिरहेका छैनौं । वन तथा वन्यजन्तु संरक्षणमा नेपालको उपलब्धि नमुना बनेको छ, तर हाम्रा आफ्ना अन्नबाली र तरकारी लोप हुने अवस्थामा छन् ।

म कृषि विशेषज्ञ हैन -तर कृषि क्षेत्रको उचित व्यवस्थापन गर्न राज्य असफल भएका कारणले कृषकहरूको जीवनस्तर सकसपूर्ण हुँदै गएको र हाम्रो कृषि उपजको स्तर खस्कँदै गएको कुरा महसुस गर्न विज्ञ हुनुपर्छ जस्तो लाग्दैन ।

यस्तो बेलामा आएको छ नेपालमा मोनसान्टो ।

किसानहरूलाई आफ्नो चङ्गुलमा फसाएर उनीहरूको बौद्धिक सम्पत्तिमाथिको अधिकार र पेशा चौपट बनाएकोमा संसारभर बदनाम मोनसान्टोले हाम्रा सोझासिधा कृषकहरूलाई के उपहार दिने हो ? समयले देखाउला ।

तर, एउटा कुरा पक्का छ -हाम्रा अन्नबाली र तरकारी भविष्यमा ठूला होलान्, चिल्ला होलान् तर खान योग्य रहने छैनन् । हाम्रा किसानका खेतमा अनाज र तरकारीको थुप्रो होला तर तिनिहरू धनी हुनेछैनन् । 

हाम्रा परम्परागत प्रजातिका बालीनालीको संरक्षण कसले गरिदेला ? नार्कले वा मोनसान्टोले ? दुबैले गर्ने छैनन् । भविष्यमा हाम्रो भान्सामा थप खतरनाक चिजबिज पाकिरहेका हुनेछन् । हाम्रा अस्पतालमा मृगौला र मुटु रोग अनि क्यान्सरका थप बिरामी भरिनेछन् ।

No comments:

Post a Comment